टुँडिखेल खुला हुँदा अर्थात् साढे छ दशकपूर्व काठमाडौं उपत्यकाको जनसंख्या १ लाख हाराहारी थियो । साँझ बिहान मात्र होइन, दिउँसो पनि टुँडिखेलमा फुर्सदिला मानिसहरू यताउति भौतारिइरहेका हुन्थे ।
मध्याह्न हुँदा त्यहाँ एक व्यक्ति खुब चिच्याउन आइपुग्थे, ‘आउनुहोस्, आउनुहोस् यहाँ चटक देखाइँदैछ । यो चटक हेरेपछि तपाईंहरूको दिनचर्यामा अपत्यारिलो परिवर्तन आउने छ ।’
तिनले उपस्थित हुने भुरा–भुरी, युवा–युवती तथा अन्यलाई गोलबन्द गर्न लगाउँथे । बीचमा तिनले एउटा सानो ढाकन राखेका हुन्थे । बीच–बीचमा तिनी त्यो टोकरीमा टाउको निहुर्याएर कहिले कुकुरले जस्तो गरेर भुक्थे त कहिले मुसाले जसरी आवाज निकाल्थे भने कहिले बिरालो जसरी ।
अनि तिनी ताली बजाउन लगाउँथे । जब ताली बज्थ्यो । ‘टोकरीबाट के निस्कन्छ ?’ जिज्ञासासहित सबै दर्शक हेर्न आतूर हुन्थे ।
बेला–बेलामा तास निकालेर खुब फिट्थे । दर्शकमध्ये एकलाई बीचको तास निकालेर पहिचान गर्न लगाउँथे । तास फिट्थे । अनि तिनै दर्शकका सामुन्ने एउटा तास देखाउँदै प्रश्न गर्थे, ‘यही हो, तपाईँले देखेको तास ?’
तास हेर्ने दर्शक अचम्मित हुँदै भन्थे, ‘हो’ ।
त्यसपछि तिनले पुनः सबैलाई ‘जोडदार ताली’ बजाउन लगाउँथे । बेला–बेलामा तिनी टोकरी नजिक पुगी त्यसलाई हल्लाउँदै भन्थे, 'पख्नुहोस यहाँ के छ म देखाउँछु ?' दर्शक झन् उत्साहित हुन्थे । ताली पिटे्थे । तालीको आवाजले दर्शक संख्या बढ्दै जान्थ्यो ।
दर्शकको संख्या निकै धेरै भएपछि ती चटकीले एउटा टिनको बाकस खोलेर स–साना सिसी देखाउँदै घुम्थे । प्रश्न गर्थे, “तपाईंहरू कसैलाई टाउको दुःखेको छ ? घाउ भएको छ ?”
त्यसमा एक–दुई दर्शक अघि सर्दै भन्थे, ‘छ’ ।
तिनले सिसीबाट औषधि निकालेर टाउको दुख्नेको कञ्चटमा दलीदिन्थे भने घाऊ हुनेको घाऊमा । अनि चिच्याएर भन्थे, ल, हेर्नुहोस् यिनको कपाल दुखाई चटक्कै निको भयो । घाउ पनि निको हुँदैछ ।
टाउको दुःखेका तथा घाऊ भएकाहरू पल्याकपुल्लुक हेर्दै टाउको हल्लाउँथे । अनि ती चट्के बोलिरहन्थे, “यो औषधि रामवाण हो, तपाईंहरूका सबै प्रकारका दर्द हरण गर्छ, यसले । टाउको दुखेको, जिऊ दुखेको, निद्रा नलागेको, घाऊ भएको छ भने यो औषधिको प्रयोगले तुरुन्तै निको पार्छ । त्यतिमात्र होइन बच्चा पाउन नसकेका महिलाका निमित्त यसले सहजै बच्चा पैदा गराउँछ... ।”
तिनी रोकिँदैनथे, भन्दै जान्थे, “डाक्टरकहाँ जानुस् अथवा वैद्यकहाँ जानुस्, तपाईंले यो औषधि पाउनु हुने छैन । यस्तो प्रभावकारी औषधि उनीहरूसँग छैन ।”
ठूलो स्वरमा फलाक्दै तिनले भन्थे, “आज केवल आजैका दिनका निमित्त तपाईंहरूलाई यो सिसी म १ रुपैयाँमा दिन्छु । दुई सिसी किन्नु हुन्छ भने केवल तीन मोहर (१ रुपैयाँ पाच पैसा) होइन, घर परिवारका निमित्त नै खरिद गर्ने हो भने ५ सिसी म पाँच मोहर (२ रुपैयाँ ५० पैसा) मै दिन्छु ।”
भीडमा उपस्थित हुने केही ब्यक्ति ‘मलाई, मलाई’ भनी हातमा पैसा लिएर चिच्याउँथे । औषधि बिक्री गरेपछि गोलाकारको भीड हट्थ्यो । तर चटकेले ढकना चाहिँ खोल्दै, खोल्दैनथिए । न त तिनले कुनै चटक नै देखाउँथे । तर, दर्शक ढकनाभित्र केही छ भन्ने विश्वास गर्थे । त्यही विश्वासलाई थाति राखेर उ औषधि बिक्री गर्थ्यो ।
औषधि खरिदकर्ता औषधि नक्कली भन्दै आइलाग्लान् भनी उ केही दिन बेपत्ता हुने गथ्र्यो । केही दिनपश्च्यात् ऊ पुनः टुँडिखेलमा देखापथ्र्यो, त्यही ढाकन माँझमा चिच्याइरहन्थ्यो, ‘‘आउनुहोस्, आउनुहोस्, चटक हेर्न ।”
समकालीन नेपाली राजनीतिक परिघटनाहरूका विषयमा माथापच्चिसे गरिरहँदा टुँडिखेलको त्यो चटके र रमिते दृश्य घरिघरि सम्झनामा आइरहन्छ ।
निर्वाचनको समयमा उमेदवारको हातमा पर्चा हुन्छ चटकीले राखेको ढकनाको बदलामा । तिनले मतदाताको ढोका चाहार्न जाँदा अघि–पछि दलका झण्डा बोक्ने ‘कार्यकर्ता’ तथा सकेसम्म स्थानीय मान्यजनलाई सामेल गरेका हुन्छन् ।
तिनैलाई चटकीले दर्शक आकर्षण गर्न माइक समाउन लगाउँदै कोणसभा आयोजना गर्छन् । वक्ताहरूले उमदेवारका भए/नभएका क्षमता, दक्षताको बेली बिस्तार लगाउँछन् ।
चटकेको अनुरोधकै हाउभाऊमा सभा सञ्चालक ताली बजाउन उपस्थित जनसमुदायलाई आह्वान गर्छन् । उक्त कोणसभामा उमेदवारले पर्चामा उल्लेख गरिएका कण्ठस्थ प्रतिवद्धता वर्णन गर्छन् । टुँडिखेलको चटके झैँ औषधि बिक्री गर्ने शैलीमा जस्तै उमेदवारले समाज तथा देश बदल्न तिनीसँग मात्रै सबै रोग निवारण गर्ने औषधि भएको पट्यारलाग्दो ब्याख्या गर्न भ्याउँछन् ।
निर्वाचन समापन हुन्जेलसम्म मतदाताको ढोकामा पुग्दा प्रस्तुत भएका पर्चा कसैले पनि संकलन गर्दैनन् । ती पर्चामै सीमित हुँदै सडक गल्लीको फोहोरमा परिणत हुन्छन् ।
कोणसभामा ब्यक्त प्रतिवद्धताहरू श्रोताले बिर्सिसकेका हुन्छन् । जुन उमेदवारबाट उनीहरू बढी प्रभावित हुन्छन्, तिनलाई विश्वास गर्दै मतदान गर्छन् । उमेदवारको कथन विश्वास गर्ने मतदातालाई अत्तोपत्तो हुँदैन कि सेवक हुन मत माग्ने पात्र भोलि मालिक भएर शासन गर्छन् भन्ने ।
वर्तमान राजनीतिक माहोल, सर्वसाधारणका हालत छ–सात दशकपूर्व टुँडिखेलमा चटकेले निर्माण गरेको गोलबन्दी गर्ने दर्शकको जस्तो भएको छ ।
निर्वाचनयाममा मतदाताका निमित्त कुन दलको उमेदवार को हो छुट्टाउन हम्मे परेको थियो, दुई प्रमुख गठबन्धनको कारणले गर्दा । ‘कांगे्रस–माओवादी, माओवादी–कांग्रेस’ । ‘राप्रपा–एमाले, एमाले–राप्रपा’मा परिणत भएको चुनावी माहोल थियो त्यो ।
कांग्रेसका मतदातालाई कांग्रेसकै नेता/कार्यकर्ताले माओवादीलाई मत दिन फकाए, फुलाए । त्यसरी नै एमालेले राप्रपाका उमेदवारलाई ।
कसलाई किन मत दिने भन्ने विषय गौण तुल्याइयो । परिणाम केन्द्रमा १५ महिनामा ३ सत्ता परिवर्तन हुन पुग्यो । सर्वोपरि संसद्ले एकै प्रधानमन्त्रीले नेतृत्व गरेको दल सम्मिलित गठबन्धनलाई पटक–पटक विश्वासको मत दिनुपर्ने अवस्था ।
प्रान्तीय सरकारको हालत त वर्णन गर्न कठिन छ । कुन प्रदेशमा रातारात कुन दलले नेतृत्व गरेको सरकार विघटन र गठन भए कसले गन्ती गर्ने । हुँदाहुँदै अब त कुनै दल श्रीमानको समर्थनमा, कुनै श्रीमतीको समर्थनमा । अर्को तथा घुर्की लगाउन सफल हुनेको अर्कै प्रदेश सरकार ।
चटकेले चटक केवल ढकनाभित्र भएको बहाना गर्थ्यो । नेताले देशलाई सुशासन दिने आश्वासन बाँडेजस्तै गरेर । चटकेको उद्देश्य औषधि बिक्री गर्ने नेताको सत्ता प्राप्ति ।