site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कतारका अमिरले सम्झाइदिएको नेपालको हैसियत– विदेशी पाहुना चढाउने अलग्गै ‘बुलेट प्रुफ कार’ समेत छैन  
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानी दुईदिने नेपाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किइसकेका छन् । 

दिनका हिसाबले दुई भए पनि घण्टाका हिसाबले उनले २४ घण्टा पनि नेपालमा बिताएनन् ।  मंगलबार दिउँसो चार बजेतिर काठमाडौं ओर्लेका उनी बुधबार दिउँसो दुई बजेतिर स्वदेश फर्केका थिए । 

छोटो अवधिका लागि नेपाल आएका कतारका अमिरले नेपाललाई आफ्नो हैसियत पुनः एकपटक स्मरण गर्ने अवसर प्रदान गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

कतारका अमिरको नेपाल भ्रमणको मिति तय भएलगत्तै कतार पक्षले नेपालले सोधेको थियो– अमिर आउँदा चढ्ने कारको व्यवस्था के कस्तो छ ? कतारले कारका विषयमा प्रश्न गर्नुको खास कारण थियो । 

जवाफमा परराष्ट्र मन्त्रालयले अमिर आउँदा चढ्ने सुविधा सम्पन्न कार रहेको जानकारी दिएको थियो ।  नेपालमा पछिल्लो पटक विदेशी राजाले सन् १९८७ मा राजकीय भ्रमण गरेका थिए । त्यसपछि नेपालको राजकीय भ्रमण गर्ने विदेशी राजामा कतारका अमिर थानी पर्छन् । 

Global Ime bank

amir5-1714047350.jpg
 

यसअघि सन् १९८७ नोभेम्बर २२–२५ सम्म स्पेनका राजा जुआन कार्लोस र रानी सोफियाले नेपाल भ्रमण गरेका थिए । उनीहरु नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह देव र रानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहको निमन्त्रणामा नेपाल आएका थिए । त्यसपछि नेपालको राजकीय भ्रमणमा आउने विदेशी राजा कतारका अमिर थानी हुन् । 

कतारका अमिरको नेपाल भ्रमण वैशाख ११–१२ गतेलाई तय गरिएको थियो । उनी फिलिपिन्सबाट बंगलादेश हुँदै नेपाल आउने कार्यक्रम थियो । उनी आउनु चार–पाँच दिनअघि रेकी गर्नको लागि कतारी टोली काठमाडौं आएको थियो । 

रेकी गर्ने क्रममा कतारका अमिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा ओर्लेपछि उनलाई राख्ने कार देखाइयो ।  उक्त कार थियो– मर्सिडिज बेन्ज । यो मर्सिडिजको पुरानो मोडल थियो, सन् २००२ को । 

उक्त कारमा कतारका अमिर सहज तरिकाले बस्न नसक्ने निष्कर्ष रेकी गर्न आएको टिमले निकाल्यो, किनकि अमिर थानीको हाइट ६.३ फिट थियो ।  मर्सिडिज बेन्ज उपयुक्त नभएपछि परराष्ट्रको टोलीलाई आपत् परेको थियो । 

किनकि कतारले सुरुमै कारका बारेमा सोध्दा आफूसँग कार रहेको जानकारी परराष्ट्रले दिएको थियो ।  कतारले सुरुमै यसकारण नेपाललाई कारको बारेमा सोधेको थियो, किनकि उसलाई नेपालसँग राम्रो कार नभएको र भएका कारको अवस्था बारे पनि जानकार थियो । यो बुझ्न १० वर्ष अगाडि पुग्नुपर्छ । 

amir6-1714047350.jpg
 

सन् २०१४ नोभेम्बर २६–२७ सम्म नेपालले दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को १८औं शिखर सम्मेलनको आयोजना गरेको थियो । सार्कमा नेपालसहित ८ राष्ट्र सदस्य छन् ।  शिखर सम्मेलनमा आठ राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख सहभागी हुन्छन् । परम्परा र सुरक्षाका दृष्टिकोणले राष्ट्राध्यक्ष तथा सरकार प्रमुख चढ्ने कार अनिवार्य रुपमा बुलेट प्रुफ हुन जरुरी हुन्छ । 

बिडम्बना सरकारसँग आवश्यक मात्रामा बुलेट प्रुफ कार थिएन ।  त्यसपछि अति विशिष्ट व्यक्ति (भीभीआईपी) हरुको लागि आधा दर्जन बढि बुलेट प्रुफ कार त्यतिबेला भारतबाट झिकाइएको थियो ।  सम्मेलन सम्पन्न भएपछि ती बुलेट प्रुफ कार भारतलाई फिर्ता गरिएको थियो । 

बुलेट प्रुफको अलावा सम्मेलनको लागि अन्य ३२ वटा मर्सिडिज् तथा बीएमडब्लु कार पनि सरकारले भाडामा भारतबाट ल्याएको थियो । 

amir7-1714047350.jpg
 

सार्कको १८औं शिखर सम्मेलन अघि कतारसँग बुलेट प्रुफ मर्सिडिज बेन्ज किन्ने कुरा अघि बढेको थियो ।  भारतले फिर्ता गर्नुपर्ने सर्तमा केही बुलेट पु्रफ कार उपलब्ध गरेपछि कतारसँग खरिद गर्ने प्रक्रिया रोकिएको थियो । 

नेपालको अवस्था राम्रोसँग बुझेको कतारले त्यसपछि नेपाललाई ९ वटा बुलेटप्रुफ कार उपहारस्वरुप उपलब्ध गराउने घोषणा गरेको थियो । कतारले ती कार सन् २०१६ मे ४ का दिन नेपाललाई हस्तान्तरण गरेको थियो । 

नेपालका लागि कतारका तत्कालीन राजदूत अहमद जसेम मोहम्मद अली अल–हमरले ९ वटा बुलेटप्रुफ मर्सिडिज बेन्ज कारको साँचो तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रम सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरिएको थियो ।

कतारले दिएको मर्सिडिज बेन्च कारहरू स्न २०१८ अगष्ट ३०–३१ सम्म नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथौं शिखर सम्मेलन काठमाडौंमा आयोजना गर्दा प्रयोगमा ल्याइएको थियो । त्यसपछि ती कारहरु शक्तिशाली व्यक्ति तथा मन्त्रीहरुले प्रयोग गर्दै आएका छन् । 

हो, यसै कारण कतारका अधिकारीले सोधेका थिए– हाम्रो अमिर आउँदा चढ्ने कारको व्यवस्था के कस्तो छ ? परराष्ट्र मन्त्रालयले कार रहेको बताएपछि कतारी अधिकारीले नेपाल पक्षले बुझोस् भनेर घुमाउरो शैलीमा भनेका थिए– “मर्सिडिज् बेन्ज हो नयाँ सिरिज चाहिन्छ ।” 

यसलाई नेपाली पक्षले बुझेन ।

परराष्ट्र मन्त्रालयका अधिकारीले कतारले उपहारस्वरुप दिएका कार कतारी अधिकारीलाई नै देखाएका थिए, जसका बारेमा उनीहरू पहिले नै जानकार थिए ।  देखाइएको मर्सिडिज बेन्ज कार उपयुक्त र सहज नहुने कतारी अधिकारीले बताएपछि परराष्ट्रका कर्मचारीको पसिना छुटेको थियो । 

amir2-1714047348.jpg
 

त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रयोग गर्दै आएको बुलेटप्रुफ कार लिमोजिन देखाइयो । उक्त कारमा पनि कतारका अमिर सहज तरिकाले बस्न नसक्ने निष्कर्ष रेकी गर्न आएको टिमले निकाल्यो ।

त्यसपछि उपराष्ट्रपति रामसहाय यादवले प्रयोग गर्दै आएको बुलेटप्रुफ ज्यागुअर कार मगाइयो । उक्त कार पनि ठिक भएन । कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रगोग गर्दै आएको ल्यान्डक्रुजरसम्म पुग्यो । तर कुनै पनि उपयुक्त भएनन् । 

भ्रमणको मिति आइसकेको थियो । नयाँ कार किन्नको लागि समय पनि थिएन । नेपालको निजी क्षेत्रसँग पनि यस्तो कार भेटिएन । त्यसपछि नेपालका लागि कतारका राजदूत मिशाल बिन मोहम्मद अली अल–अन्सारीले चढ्ने गरेको कार मागियो, राजदूतले नाइ भन्ने कुरै भएन । 

दुई दिन नेपाल बस्दा कतारका अमिर आफ्नै राजदूतको गाडीमा कहिले राष्ट्रपति भवन त कहिले होटल सोल्टी, कहिले होटल द्वारिकाज तथा कहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । नेपालको ‘लाज’ यसरी छोपियो । 

कतारका अमिर नेपाल आउँदा उनीसँगै कतारका १० जना मन्त्री पनि आएका थिए । उनीहरुलाई सन् २०१६ मा कतारले नेपाललाई उपहारस्वरुप दिएको मर्सिडिज बेन्ज नै उपलब्ध गराइएको थियो । 

एकजना विदेशी भीभीआईपी आउँदा दुईवटा बुलेट प्रुफ कार चाहिन्छ । दुवै गाडी सँगै कुदाउनुपर्छ । कारणवश चढेको कार बिग्रिएमा अर्को कारमा राखेर अघि बढाउनु पर्छ । 

अर्को कारण सुरक्षा पनि हो । दुईवटा कार सँगै कुदाउँदा सुरक्षाका दृष्टिले भीभीआईपी कुन कारमा चढेको छ भन्ने थाहा हुँदैन ।  “एक जना भीभीआईपीको लागि दुईवटा बुलेटप्रुफ कार चाहिन्छ । तर हामीकहाँ विदेशी भीभीआईपीकै लागि भनेर अलग्गै बुलेट प्रुफ कार राखिएको छैन । कोही आए माग्न दौडनुपर्छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो । 

भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा सधैँ उतैबाट आफूलाई आवश्यक पर्ने बुलेट प्रुफ कार पहिल्यै पठाउने गर्छन् । चीनका राष्ट्रपति र प्रधानमन्त्री आउँदा पनि पहिले नै आफूलाई चाहिने बुलेट प्रुफ कार नेपाल पठाउने गर्छन् । 

“विदेशी राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल बोलाउन पनि हामीलाई अप्ठेरो छ । उनीहरू आइहाले कारको व्यवस्था कसरी गर्ने, कोसँग माग्ने भन्ने हुन्छ,” परराष्ट्र स्रोतले भन्यो ।

तस्बिर/हरिशजंग क्षेत्री
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !