काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्न निर्देशन दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लामिछानेले प्राकृतिक प्रकोपका घटनामा निर्देशन कुरेर बस्दा उद्धारका काममा ढिलाइ हुने र क्षति पनि धेरै हुन सक्ने भएकाले केन्द्रको निर्देशन कुरेर बस्न नहुने बताए ।
घटना भइसकेपछि तत्काल राहत वितरणको विषयमा यसअघि नै आफूले आवश्यक निर्देशन दिइसकेको भन्दै उनले कुनै पनि प्रशासनले तत्काल दिने राहतमा ढिलाइ नगर्न समेत आग्रह गरे ।
आपत्का बेला सरकार दुई–चार सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थामा सरकार नरहेको र प्रयाप्त स्रोत परिचालन गरेको उनले बताए ।
उनले प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि यसअघि भएका गल्तीलाई नदोहोर्याउने गरी आवश्यक तयारी गर्न जरुरी रहेको बताए ।