
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक भनिएको बैठक सकिएको छ । मंगलबार सिंहदरबारमा बसेको बैठक करिब ढेढ घन्टा बसेर सकिएको हो ।
बैठकपछि कुनै मन्त्री सञ्चारकर्मीसँग बोल्न मानेन् । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भोलिमात्र आजको बैठकबारे बोल्ने बताए ।
सञ्चारकर्मीहरूले अर्थमन्त्री जनार्दन शर्मालाई उनको नजिकै गएर प्रश्न सोधेका थिए । तर, उनले पनि बोल्न मानेन् ।
आजको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीबारे केही निर्णय गर्ने अपेक्षा गरिएको थियो । तर, मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीको विषयले प्रवेश नै नपाएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
“बाहिर अर्थमन्त्रीका विषयमा यतिका धेरै प्रश्न उठ्दा हामीलाई पनि मन्त्रिपरिषद्मा कम्तीमा छलफल हुन्छ भन्ने लागेको थियो । तर, त्यस्तो भएन,” ती मन्त्रीले बाह्रखरीसँग भने, “मन्त्रिपरिषद्ले नियमित विषयहरूमा निर्णय गरेको छ ।”
बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिको संलग्नतामा करका दरमा हेरफेर गरेको आरोप लागेपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।
सडकदेखि सदनसम्म उनले राजीनामा दिनुपर्ने अन्यथा सरकारले बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी