site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालको निष्कर्ष– चीनसँग स्तब्ध अमेरिका गम्भीर सङ्कटतर्फ, मोदी अझै हौसिन सक्छन्  

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ठूला पुँजीपति वर्गको इसारामा चालेको आरोप लगाएका छन् । 

शुक्रबारबाट ललितपुरमा सुरू भएको एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको १५ पृष्ठको राजनीतिक प्रतिवेदनमा उक्त आरोप लगाइएको छ । 

अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनले अमेरिकी राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर जारी गरेका थुप्रै नीतिगत निर्णय र कार्यकारी आदेशहरूले विश्व राजनीतिमा गम्भीर असर पुयाउन सक्ने नेपालले जनाएका छन् । 

Dabur Nepal
NIC Asia

ट्रम्पले अमेरिकाको हितरक्षा गर्ने बहानामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ, पेरिस सम्झौता (पेरिस एग्रिमेन्ट) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत दिँदै आएको आर्थिक सहयोग रोक्का गर्ने आदेश जारी गरेको आरोप समेत लगाएका छन् ।

ट्रम्पले अमेरिकी सैनिक खर्च बढाउने, राजनीतिक प्रभाव क्षेत्र विस्तार गर्ने र मिसाइल प्रतिरक्षा प्रणाली सुदृढ गर्ने प्रतिवद्धता जाहेर गरेको कुरालाई अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा समेटेका छन् । 

अमेरिकी प्रभुत्वलाई विस्तार गर्न ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने र क्यानाडालाई ५१औँ राज्य बनाउने सोंचसमेत अघि सारेको तर्क अध्यक्ष नेपालको छ । 

यस्ता गम्भीर नीतिगत निर्णयको विश्वव्यापी रूपमा कडा प्रतिक्रिया व्यक्त भएको र आलोचना पनि भएको उनले जनाएका छन् ।

“उनले अमेरिकाभित्रै पनि घोर दक्षिणपन्थी विचारलाई अंगाल्दै कानूनी कागजात नभएका ठुला पुँजीपति वर्गको इसारामा राज्यसत्ता सञ्चालन गर्ने, विविधता र समवेशीताको नीति परित्याग आप्रवासीलाई निष्कासन गर्ने, वोक जस्ता आन्दोलन र विचारलाई दमन गर्ने, जातिवादलाई प्रश्रय दिने, रक्षाको नाममा भन्सार दर बढाएर छिमेकि मुलकहरूलाई दवाव दिने र समाजवादी चीनको आर्थिक विकासको गतिलाई निस्तेज पार्न चिनियाँ उत्पादनलाई भन्सार महसुल बढाउने कार्य गर्न थालेका छन्,” अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् । 

पनामाले चीनसँग बीआरआई सम्झौता गरेको र चीनलाई पनामा नहरमा सहज पहुँच दिएको आरोपमा ट्रम्पले पनामा नहर आफ्नो कब्जामा लिने धम्की दिएपछि पानामा बीआरआई सम्झौताबाट पछि हटेको दाबी अध्यक्ष नेपालको छ । 

“ट्रम्पका यस्ता नीतिले गर्दा आर्थिक रूपमा पछिपर्दै गएको अमेरिकी साम्राज्यवाद गम्भीर सङ्कटतर्फ धकेलिन सक्ने देखिन्छ,” अध्यक्ष नेपाले भनेका छन् । 

पार्टीको दशौं महाधिवेशन पश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा गम्भीर प्रकृतिका अनेकौँ घटनाहरू घटेको उनले जनाएका छन् । उक्त घटनाले गर्दा विश्वका आधारभूत अन्तर्विरोधहरूमा गुणात्मक परिवर्तन त भएको छैन तथापि शक्ति सन्तुलनमा भने केहि हलचल पैदा गरेको बुझाई उनको छ । 

मोदीबाट अल्पसंख्यकमाथि दमन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अवलम्बन गरेको घोर हिन्दुवादी तथा दक्षिणपन्थी र सर्वसत्तावादी रणनीतिले यस क्षेत्रमा असर गरेको बुझाइ अध्यक्ष नेपालको छ ।

प्रतिवेदनमा उनले भनेका छन्, “भारतमा अहिले प्रतिपक्षी दललगायत अल्पसंख्यक आदिवासी, उत्पीडित समुदाय, किसान र मजदुरहरूमाथि व्यापक दमन भइरहेको छ । सञ्चार माध्यमलाई स्वतन्त्र अस्तित्व जोगाउन कठिन भइरहेको छ ।” 

सेन्टर फर स्टडी अफ सोसाइटी एण्ड सेकुलरिजम् (सीएसएसएस)लाई उद्वृत गर्दै प्रतिवेदनमा गत बर्षको तुलनामा भारतमा यस वर्ष हिंसात्मक घटना ८४ प्रतिशतले बढेको तथ्याङ्क प्रस्तुत गरिएको छ । 

भाजपा सरकारको सर्वसत्तावाद विरुद्धमा २०२४ को अन्त्यमा सीपीआई, सीपीआई–एम, सीपीआई–एमएल लगायत २६ वटा विपक्षी दलहरूले संयुक्त रूपमा आवाज उठाउने निर्णय गरेको स्मरण प्रतिवेदनमा गरिएको छ ।

“हालै भएको विभिन्न राज्यका साथै दिल्ली विधानसभाको निर्वाचनमा भाजपाको जितले गर्दा प्रधानमन्त्री मोदी अझ बढी हौसिन सक्ने देखिन्छ,” अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् ।

चीनको विकासले अमेरिका स्तब्ध

अध्यक्ष नेपालले चीनले हासिल गरेको उपलब्धी र त्यसले विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षामा खेलेको भूमिकाले गर्दा अमेरिकालगायत पश्चिमी मुलुकहरू स्तब्ध भएको बताएका छन् ।   चीनलाई निरन्तर दवाबमा राख्ने रणनीतिका बावजुद चीनले गतवर्ष ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको उनले उल्लेख गरेका छन् ।

“चीनले बीआरआई, ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ्स (जीएसआई)मा लगानी बढाउने र पश्चिमा प्रभुत्वलाई कमजोर बनाउने नीति लिएको छ । यसैविच चीनले एआईमा गरेको अभूतपूर्व विकासले अमेरिकी प्राविधिक महारथी र अमेरिकी सरकार स्तब्ध बनेका छन् । यसले पुँजीवादको विज्ञान र प्रविधिमा रहेको प्रभूत्वलाई विस्थापन गरिदिएको छ,” अध्यक्ष नेपालले भनेका छन् ।

प्यालेस्टाइन–इजराइलबीच युद्ध

अध्यक्ष नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले पटक–पटक पारित गरेको प्रस्ताव, स्वतन्त्र राष्ट्रहरूको दवाव र स्वतन्त्रताको पक्षमा विश्वव्यापी रूपमा उठेको आवाजले गर्दा प्यालेस्टाइन र इजराइलविच युद्ध विराम भएको उल्लेख गरेका छन् । 

युद्ध विरामले त्यहाँका जनतालाई केहि राहत प्रदान गरेको जनाउँदै उनले त्यहाँ केहि मानवीय सहायताको आपूर्ति र बन्दीहरूको आदान प्रदान भएको जनाएका छन् । अब नेपाली युवा विपिन जोशी पनि मुक्त हुन सक्ने सम्भावना बढेको ठम्याई उनको छ । 

“यसैविच प्यालेस्टिनी भूमिमा देखिएको शान्तिको आशालाई तुसारापात हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाक्षेत्रलाई अमेरिकाले नियन्त्रणमा लिने गैर जिम्मेवार विचार व्यक्त गरेका छन्,” अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् । 

प्यालेस्टिनी राज्य र मध्यपूर्वको चीरशान्तिको लागि पहल गर्नुपर्ने समयमा राष्ट्रपति ट्रम्पबाट आएको यस्तो अभिव्यक्तिप्रति अरव मुलुकलगाएत संसारका थुप्रै सरकार प्रमुखले असहमति प्रकट गरेको कुरालाई पनि प्रतिवेदनमा समेटिएको छ ।  

हालै वासिंगटनमा अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीविच भएको छलफलपश्चात् अमेरिकाले इन्टरनेसनल क्रिमिनल कोर्ट (आईसीसी)लाई प्रतिबन्ध लगाउने निर्णय गरेको स्मरण प्रतिवेदनमा गरिएको छ । 

प्रतिवेदनमा अगाडि भनिएको छ, “आईसीसीले प्यालेस्टिन– इजराइल युद्धमा प्रधानमन्त्री न्यातन्याहुको भूमिकालाई युद्ध अपराध ठहर गरी उनका विरुद्ध प्रक्राउ पुर्जी जारी गरेको थियो । अमेरिका इजरायलको प्रतिरक्षाको लागि सामरिक मात्रै होइन सबैखाले हत्कण्डा अपनाउन सक्छ भन्ने कुरा यसवाट प्रमाणित भएको छ ।”  

गाजा क्षेत्र खाली गराउने र अमेरिकाले आफ्नो नियन्त्रणमा लिने कुरा अस्वीकार्य र अन्तरास्ट्रिय कानुन विरुद्ध रहेको अध्यक्ष नेपालको ठहर छ । 

रुस–युक्रेन युद्ध

प्रतिवेदनमा रुस–युक्रेन युद्ध अन्त्य नभएको र अन्त्य हुने कुनै सम्भावना पनि अझै नदेखिएको उल्लेख छ । युक्रेनमा रहेका दुर्लभ र बहुमूल्य धातुमा रुसको मात्रै नभई अमेरिका र युरोपेली मुलुकको पनि ध्यान गएको उनले जनाएका छन् ।

“त्यसैले उनीहरू सबै युक्रेनमा आफ्नो पहँुच बढाउन चाहन्छन् । रुसले यस युद्धमा हरतरहले सफल हुने प्रयत्न गरिरहेको छ । नेटो सम्बद्ध राष्ट्रहरूले युक्रेनलाई निरन्तर रूपमा हातहतियार, युद्ध सामग्री र आर्थिक सहयोग गरिरहेका छन् । युक्रेन–रूस युद्धले विश्व शान्ति र अर्थव्यवस्थामा पारेको असर यथावत छ,” अध्यक्ष नेपालले भनेका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले आफु अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि तुरुन्तै युद्धविराम गराउने घोषणा गरेको भएपनि अहिलेसम्म युद्धविराम वा शान्ति वार्ताको कुनै प्रभावकारी प्रस्ताव तयार नभएको उनले जनाएका छन् ।

“ट्रम्पको घोषणामा पनि दुबै पक्षलाई मान्य हुने कुनै प्रभावकारी प्रस्ताव रहेको छैन । अमेरिका रुसलाई दबावमा राखेर युद्धविराम गराउन चाहन्छ । त्यसैले उसले थप नाकाबन्दीको नीति अवलम्बन गर्न सक्ने देखिन्छ,” अध्यक्ष नेपालको भनाई छ । 

अफिकी महादेशमा वामपन्थी 

अफ्रिकी महादेशका दक्षिण अफ्रिका, नामिविया र सेनेगलमा बामपन्थी पक्षधर शक्ति सत्तामा रहेकोमा खुसी व्यक्त गरिएको छ । युरोपेली उपनिवेशवादको चपेटामा परेका अधिकांश अफ्रिकी मुलुकहरू अहिले पनि स्वतन्त्रता र सार्वभौमिकताको रक्षाका लागि लडिरहेको भनाइ अध्यक्ष नेपालको छ ।

पश्चिमी पुँजीवादी शक्तिहरू सस्तो मानवीय श्रम र अपार प्राकृतिक श्रोतमाथि ब्रम्हलुट मच्चाउन लागिपरेको आरोप उनको छ । यस्ता नवउपनिदेशवादी हर्कतहरूको विरुद्धमा एकजुट हुन २०२४ को नोभेम्बरमा नाइजेरियामा एउटा बृहत ऐतिहासिक सम्मेलन सम्पन्न भएको प्रतिवेदनमा जनाइएको छ । 

सिरियाली गृहयुद्ध 

लामो समयदेखि राजनीतिक द्वन्द्व र अतिवादी इस्लामिक शक्तिको चपेटामा परेको सिरिया विश्व शक्ति केन्द्रहरूको क्रिडास्थल बनेको आरोप अध्यक्ष नेपालको छ ।

लामो समयदेखि सङ्घर्षरत इस्लामिक विद्रोहीहरूले २०२४ डिसेम्बर ८ मा सिरियाको राजधानी दामस्कस सहर कब्जा गरेका थिए । त्यसपछि सिरियाका रुस तथा इरान समर्थित राष्ट्रपति वसिर अल अहमद देश छाडी भागेर शरण लिन रूस पुगेका थिए ।  

“त्यहाँ आर्थिक तथा सुरक्षा व्यवस्था अत्यन्त कम्जोर भएको थियो । त्यही आधारभूत कारणले गर्दा इस्लामिक विद्रोहीहरू अत्यन्त तीव्र गतिले विस्तार हुँदै मुलुक कब्जा गर्ने अवस्थामा पुग्न सफल भएका छन् । अहिले त्यहाँ –अहमद अल सहाराको नेतृत्वमा सङ्क्रमणकालीन सरकार बनेको छ,” प्रतिवेदनमा भनिएको छ ।

लामो समयदेखि द्वन्द्वग्रस्त सिरियामा शक्ति राष्ट्रहरूको प्रभावबाट बाहिर रहेर शान्ति सुरक्षा कायम राख्दै आर्थिक समृद्धि हाशिल गर्न र स्थिरता एवं स्थायित्व कायम गर्न ज्यादै कठिन देखिएको बुझाई उनको छ ।

दक्षिण कोरियामा राजनीतिक अस्थिरता

दक्षिण कोरियामा तत्कालीन राष्ट्रपति युन सुक येओलका कारण खैलाबैला उत्पन्न भएको जनाइएको छ ।  युनले २०२४ डिसेम्बर ३ मा राजनीतिक सङ्कट र उत्तर कोरियाबाट हुने सुरक्षा खतराको सामना गर्न भन्दै सैनिक शासन लागू गर्ने घोषणा गरेपछि त्यस्तो अवस्था आएको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण कोरियाका सांसदहरु, विश्वभरिका लोकतन्त्र पक्षधर राजनीतिक शक्ति र प्रबुद्ध व्यक्तिहरूले लोकतन्त्रको पक्षमा आवाज बुलन्द पारेपछि सैनिक शासन लागू गर्ने निर्णयबाट युन पछि हटेको अध्यक्ष नेपालले जनाएका छन् । 

संसदले युनलाई महाअभियोग लगाएर १४ डिसेम्बरमा राष्ट्रपतिबाट हटाएको छ । युनलाई महाअभियोग लगाएर हटाइएपछि कार्यवाहक राष्ट्रपति बनेका तत्कालीन प्रधानमन्त्री हान दुक सूलाई पनि २७ डिसेम्बरमा महाअभियोग नै लगाएर हटाइएको छ । उपप्रधानमन्त्री चोइ साङ मोक कार्यवाहक राष्ट्रपति बनेका छन् । 

“यस घटनाले दक्षिण कोरियामा राजनीतिक अस्थिरता निम्ताएको छ, यद्यपि लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र भने विफल भएको छ,” अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro