site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केआईआईटीबाट फर्किएका विद्यार्थीले अनुहार छोपेरै गरे पत्रकार सम्मेलन, कायमै छ डर !

काठमाडौं । आँखामा चस्मा, अनुहारमा मास्क र ज्याकेटको टोपी । शुक्रबार फरक हुलियामा ११ जना विद्यार्थीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरे । फेरि कलेज फर्किँदा निर्मम कुटपिट हुने डरले ती विद्यार्थीहरु यस्तो हुलियामा देखिएका थिए ।

आफूहरुले सरकारबाट कुनै पनि आशा नगरेको र कलेजले यातना दिने भन्दै मास्क नखोल्ने र परिचय पनि नदिने बताए ।  भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थीहरु विभिन्न मार्गबाट नेपाल आइपुगेर काठमाडौंमा पत्रकार सम्मेलन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार अहिलेसम्म विभिन्न मार्ग हुँदै एक सय ५९ जना विद्यार्थी स्वदेश फिर्ता भइसकेका छन् ।   केआईआईटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु पछि सिर्जित परिघटना हो यो । 

गत आइतबार दिउँसोको २ बजे भुवनेश्वरको पटिया क्षेत्रस्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा लम्सालको रहस्यमय मृत्यु भएपछि ५०० जना नेपाली विद्यार्थीहरुलाई निर्घात कुटपिट गर्दै विभिन्न रेल स्टेशनमा छोडिएको थियो । 

लम्सालको न्यायको लागि आन्दोलनरत विद्यार्थीहरुलाई तितरवितर पार्नको लागि छुट्टा–छुट्टै रेलवे स्टेशनमा छोडिएको थियो ।  होस्टेलमा कुटपिटमा परेका एक विद्यार्थीले चार दिन लगाएर स्वदेश फर्किएको बताए । 

उनले अन्य देशका विद्यार्थीहरु पनि त्यहाँ पढ्ने गरेको तर आफूहरु नेपाली भएकै कारण यस्तो अपमान सहनुपरेको बताए । 

“कलेजका सेक्युरेटी गार्डले पहिले हामीलाई एकदमै सम्मानमा साथ बोल्थे । पढाइ राम्रै चलिरहेको थियो । तर, प्रकृति दिदीको रहस्यमय मृत्युपछि सबै विद्यार्थीहरु अपमानित भएर निकालिनुप¥यो,” उनले भने । 

“कलेजले निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । त्यो भिडियो त केही पनि होइन । शिक्षकहरुले नै आफूहरुलाई गुण्डा परिचालन गरेर कोठाभित्र थुनेर कुटपिट गरे । हामीहरु सुरक्षाका लागि कलेज प्रशासनसम्म पुगेका थियौँ । तर, आफैँलाई पढाएका गुरुहरु हामीविरुद्ध आइलागे । आफैँले पढाएका गुरुहरुबाट कुटिनुपर्ने भनेपछि हाम्रो आत्मसम्मान कहाँ रह्यो,” ती विद्यार्थीले भने । 

विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीहरुले प्रशासनसमक्ष निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गर्दै आएका थिए । 

मृतक छात्रा बि–टेक तेस्रो वर्षमा अध्यनरत थिइन् । सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङमा अध्ययरत अड्विक श्रीवास्तव साथीले ‘ब्ल्याकमेलिङ’ गर्दै यातना दिएकाले उनले आत्महत्या गरेको आशंका गरिएको छ । 

अर्का विद्यार्थीले आफूहरुलाई कलेज प्रशासनले पशुलाई जसरी कुटपिट गरेको बताए । 

“हामी पढ्ने विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरको हो । त्यहाँ अष्ट्रेलिया, बंगलादेशलगायतबाट पनि विद्यार्थीहरु आउछन् । उनीहरुलाई राम्रै सम्मान छ । यसअघि त नेपाल हेपिएर बसेको थियो । अहिले यस्तोसम्म हुँदा पनि राज्य चुप लागेर बसेको छ,” उनले भने । 

नेपाल फर्किएका विद्यार्थीहरुले आफूहरुको पढाइको लागि सो विश्वविद्यालयमा फर्किनै पर्ने बाध्यता रहेको पनि बताए । तर, आफूहरु त्यहाँ सुरक्षित नभएको बताए । 

जुनसुकै अवस्थामा पनि फेरि कुटिनुपर्ने बाध्यता आइलाग्ने उनीहरुको भनाइ छ ।  श्रीवास्तवसहित ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।  सरकारको तर्फबाट घटना मिलेको कुरा आए पनि आफूहरुसँग कुनै पनि प्रकारको वार्ता  नगरेको विद्यार्थीहरुको भनाइ छ । 

“सरकारले घटना मिल्यो भनेको छ । तर, हामी पीडितलाई थाहै छैन । कलेजबाट विद्यार्थीहरु फर्किने क्रम जारी छ, कसरी मिल्यो घटना ?,” उनले प्रश्न गरे । 

निष्पक्ष छानबिन गरेर आफूहरुसँग लिखित सहमति गरेमात्रै सो कलेजमा पढ्नका लागि फर्किने बताएका छन् ।  त्यस्तै कलेज प्रशासनकै पदाधिकारीहरु पनि कुटपिटमा सामेल भएकाले ती पदाधिकारीहरुलाई हटाउनुपर्ने माग विद्यार्थीहरुको छ ।

उनीहरुले लम्सालको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र विद्यार्थीहरुलाई निर्घात कुटिपिट गर्ने डीआई, होस्टेल वार्डेन, सेक्यूरेटी गार्डलगायतलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्र्नेे माग राखेका छन् । 
मृतक लम्साललाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल लगिएको थियो । 

सो अस्पताल पनि कलेजकै भएको विद्यार्थीहरुले बताए ।  लम्सालको गृह जिल्ला रुपन्देही ल्याएर स्वर्गद्धारी घाटमा अन्त्येष्टि पनि भइसकेको छ ।  विश्वविद्यालयले मृतक लम्साल आफ्नो पार्टनरसँगको तनावपूर्ण सम्बन्धका कारण उनले त्यस्तो कदम चालेको दाबी गर्दै आएको छ । 

मृतक लम्सालको परिवारले प्रमाणसहित उजुरी पर्दा समेत कलेजले पीडकलाई नै साथ दिँदा ज्यान गएको बताउँदै आएको छ ।  कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटक–पटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित दुईपटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेको छ । 

गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई प्रकृतिले आफूमाथि दुव्र्यवहार भएको रिपोर्ट पनि गरेकी थिइन् ।  तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

घटनापछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका थिए ।  यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको पनि उनले बताएका थिए ।  परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा निरन्तर फलो अप गरिरहेको बताएकी छन् ।

भारतीय दुतावासले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ ।  विश्वविद्यालयले नेपाली विद्यार्थीहरुलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्रावासमा बस्न अपील पनि गरेको छ ।

“भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरु दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्वपूर्ण पक्ष हुन् । भारत सरकारले नेपाली विद्यार्थीहरुको हकहित सुनिश्चित गर्न आवश्यक कदम चाल्नेछ,” दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारको कूटनीतिक पहलपछि विश्वविद्यालय प्रशासनले माफी मागेको छ । 


 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro