झापा । नेकपा माओवादी केन्दका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस संस्थापक बीपी कोइराला युग नायक भएको बताएका छन् । झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले यी दुई नेताले मुलुकको राजनीतिक इतिहासमा युग परिवर्तनको आन्दोलनको नेतृत्व गरेको बताए ।
कोही इतिहास बदल्ने र कोही नियमित नेता हुने भन्दै पुनले बीपी र प्रचण्ड इतिहास बदल्ने नेताका रुपमा स्थापित भएको उल्लेख गरे ।
"नेता त्यसै जन्मिँदैन । नेता इतिहासले जन्माउने हो । बीपी कोइरालाले जहाँनिया राणशासन फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो । प्रचण्डले सामान्तवादी राजतन्त्र फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो," पुनले भने, "यी नेपाली राजनीतिका इतिहास बदल्ने आन्दोलनहरु हुन् । त्यस अर्थमा प्रचण्ड माओवादीको मात्र नेता होइन । उहाँ युग बदल्ने नेता हो, राजनेता हो ।"