site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थ समितिले बोलाएको बैठकमा सभापति मात्रै उपस्थित

पोखरा । गण्डकीको बजेट विवाद बालुवाटारदेखि खुमलटारसम्म पुगेको छ । माओवादीका अर्थमन्त्री र कांग्रेसका मुख्यमन्त्री रहेको गण्डकीमा बजेट ल्याएको दिनदेखि नै विवाद छ । जसका कारण असारको दोस्रो साता बितिसक्दा पनि बजेट वक्तव्यमाथिको छलफल सुरु हुन सकेको छैन ।

गण्डकीको वार्षिक विकास कार्यक्रम लिक भएको छ भने अर्थमन्त्रीले योजना फेरे/नफेरेको बारेमा विभागीय मन्त्रालयका कर्मचारीहरूले वार्षिक कार्यक्रम पुस्तिकाका योजनासँग क्रसचेकिङ गरिरहेका छन् ।

गण्डकीको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेट छलफल चल्नुपर्ने कि अर्थमन्त्रीलाई मुख्यमन्त्रीले हटाउनुपर्ने अथवा मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको छ । सत्ता गठबन्धनले संसद्लाई बन्धक बनाउन नहुने एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यता अर्थमन्त्रालय कार्यक्षेत्र रहेको संसद्को अर्थ तथा विकास समितिले बिहीबार बजेट सम्बन्धमा छलफल गर्न बैठक बोलाएको थियो । 

दिउँसो १ बजे डाकिएको बैठकमा २ बजेसम्म कुर्दा पनि सभापति दीपक कोइरालाबाहेक अन्य सदस्य उपस्थित भएनन् । २ बजेसम्म कोही पनि नआएपछि उनले पत्रकारसँग कुराकानी गरेर समितिको कार्यालयबाट बाहिरिए ।

बुधबार नै एमालेले पत्रकार सम्मेलनमा बजेटमाथिको छलफल संसद्मा हुनुपर्नेमा अर्थ तथा विकास समितिमा छलफल गर्न लागिएको भन्दै आपत्ति जनाएका थिए । यो समितिमा १४ सदस्य छन् । जसमध्ये सभापति बाहेकका ६ सदस्य एमालेका हुन् भने ६ जना सदस्य चाहिँ गठबन्धन सरकारमा मन्त्री भएका छन् ।

बुधबार आपत्ति जनाएकै कारण एमालेका सदस्य नआएको हुनसक्ने सभापति कोइरालाले संकेत गरे । “उहाँहरूले पत्रकार सम्मेलनमा बजेटको छलफल समितिमा गर्न लागिएको भन्नुभएको रहेछ, वास्तवमा त्यो होइन । बजेट छलफल किन हुन सकेको छैन भनेर हामीले मन्त्रीसहित सबै सदस्यलाई उपस्थित हुन भनेका थियौँ । तर कोही पनि आउनुभएन ।”

समितिमा एमालेबाट इन्द्र लाल सापकोटा, चन्द्रमोहन गौचन, जनकलाल श्रेष्ठ, किरण गुरुङ, मिनप्रसाद गुरुङ र रामशरण बस्नेत सदस्य छन् ।

यस्तै सभापति कोइराला र विनोद केसी माओवादी केन्द्रका हुन् ।

बाँकी ६ जना मन्त्री भएका छन् । जसमध्ये कुमार खड्का र मणिभद्र शर्मा कांग्रेसका हुन् भने हरिशरण आचार्य जसपाका हुन् ।

अर्थमन्त्री रामजीप्रसाद बराल, चन्द्रबहादुर बुढा र दीपक घर्तिमगर माओवादी केन्द्रका हुन् ।

संसदीय समितिको परम्परामा नै नभएको व्यवस्था यो समितिमा राखिएको छ । प्रदेशसभा नियमावलीले नै मताधिकारसहित मन्त्रीहरूलाई समितिको सदस्यमा राखेको यो पहिलो समिति हो ।

मन्त्रीहरू नआएको खण्डमा र एकजनामात्रै सांसद पनि अनुपस्थित भएको खण्डमा यो समितिमा कोरम पुग्दैन । पछिल्लो समय गण्डकी प्रदेशसभाको सबैभन्दा निष्क्रिय समिति पनि अर्थ तथा विकास समिति नै बनेको छ ।

“मन्त्रालय, निर्देशनालय र अन्तर्गतका निकायको राजश्व र व्ययसम्बन्धी अनुमानको जाँच गरी वार्षिक अनुमान तयार गर्ने तरिका, वार्षिक अनुमानमा निहित नीतिको सट्टा अपनाउन सकिने वैकल्पिक नीति र वार्षिक अनुमानमा रहेको रकममा के कति किफायत गर्न सकिन्छ भन्ने सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र आफ्नो राय सहितको वार्षिक प्रतिवेदन बैठकमा पेस गर्ने” महत्वपूर्ण कार्यक्षेत्र समितिको भएतापनि सदस्यहरूकै अनुपस्थितिका कारण बैठक बस्नै सकेको छैन ।

बिहीबार पनि ‘आगामी आव २०७९/८० को वजेट सम्बन्धमा छलफल गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको सहभागितामा बैठक बस्ने’ भनेर सबै सदस्यहरूलाई खबर गरिएको थियो ।

तर, प्रदेशकै ‘हटकेक’ बनिरहेको बजेट विवादको बारेमा छलफल गर्न न सांसद उपस्थित भए, मन्त्रीहरूले त समितिको बैठक अवज्ञालाई निरन्तरता नै दिए ।

“असार ५ गतेबाट संसद्मा छलफल हुनुपर्ने बजेट अनिश्चित भएको अवस्थामा अर्थमन्त्रीसहित बैठकमा बोलाएर संसद् बैठकमा बजेटको छलफल छिटोभन्दा छिटो अगाडि बढाउनुपर्‍याे भनेर अनुरोध र मन्त्रीलाई निर्देशन गर्न बैठक बोलाएका थियौँ” कोइरालाले भने, “अरू बेला पनि नियमित बैठक बस्न सकिरहेको थिएन । तर, यसपटक बुझाइमा पनि समस्या देखा प¥यो ।”

एमालेको बुधबारको पत्रकार सम्मेलनमा संसद् छलेर अर्थ तथा विकास समितिमा छलफल गर्न लागिएको भन्ने गलत बुझाइ परेका कारण एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीलाई आफूले बिहान सम्पर्क गरेको पनि उनले जानकारी दिए ।

अर्थमन्त्री बरालले अरू सदस्य उपस्थित भएपछि आउने भनेका थिए । समिति सदस्य माओवादीका सांसद विनोद केसी खाना खाएर आउने बताएका थिए । एमालेका सांसद जनकलाल श्रेष्ठ नवलपुरबाट हिँडेको तर चितवनबाट फर्किनुपरेको जानकारी गराएका थिए ।

समितिका सदस्य इन्द्रलाल सापकोटाले संसद्मा नै छलफल नभएको महत्वपूर्ण विषय संसदीय समितिको बैठकमा छलफल गर्नुको कुनै औचित्य नरहेको बताए । यो विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको र सदनमा नै बजेट छलफल हुनुपर्ने उनको भनाइ छ ।

“दलको तर्फबाट मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छौँ, पत्रकार सम्मेलनमार्फत पनि दलको भ्वाइस आएको छ । अर्कातर्फ संसद्मा नै प्रवेश नगरेको बजेटमाथि समितिमा छलफल गर्नुको कुनै अर्थ छ र ?” उनले प्रश्न गरे ।

अर्थमन्त्रीले के गरे दलको विषय हुने, तर आफूहरूले मुख्यमन्त्रीकै ध्यानाकर्षण गराइएको उनले जानकारी दिए । यस्तो अवस्थामा मुख्यमन्त्रीले नै विशेष पहल लिएर सदन सुचारु गर्न अग्रसरता देखाउनुपर्ने उनले माग गरे ।

“दलको बैठकमा नजाने भन्ने कुनै ह्विप त थिएन, तर त्यहाँ जानुको औचित्य के ? यो विषयमा त मुख्यमन्त्रीले नै निर्णय लिने हो,” उनले भने ।

बजेटमाथिको विवाद सल्टाउन बिहीबार माओवादी केन्द्र र कांग्रेसको बैठक बसेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro