site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौं, ललितपुर र पोखराका स्वतन्त्र मेयर उमेदवार के भन्छन् ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि उमेदवारहरू प्रचारप्रसारका क्रमामा घरदैलो कार्यक्रममा व्यस्त छन् ।

नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयर पदकी उमेदवार सुनीता डंगोलले एक कार्यक्रममा स्वतन्त्र रूपमा मेयरका उमेदवार बनेका बालेन साहलाई ‘प्रणाली नै नबुझी मेयरमा उठेको र हारेपछि एम्पिथिएटरमा गीत गाउने अवसर दिने’ भन्दै कटाक्ष गरिन् । उनको कटाक्षले सामाजिक सञ्जाल तातिएको छ ।

मेयरमा उठ्न विगत पाँच वर्षदेखि तयारी गरेका बालेन डंगोलको भनाइले आफूलाई कुनै फरक नपर्ने बताउँछन् । उनी भन्छन्, “यसलाई मैले सकारात्मक रूपमा लिएको छु । किनभने, नरदेवीमा घरदैलो गएको बेला केशव स्थापितले गाली गरेको मान्छे उहाँ नै हो । यसरी मलाई मतदातामाझ चिनाइदिनु भएर झन् सजिलो भएको छ ।”

Agni Group
NIC Asia

शिक्षामा व्यापक सुधार गर्ने, इन्फ्रास्ट्रकचर एम्बुलेन्स, यातायात व्यवस्थापन, नगरप्रहरी बढाउने, सरसफाइ कर्मचारी थप्ने, १० हजार सीसीटीभी जडान गर्ने बालेनका घोषणापत्रका बुँदाहरू हुन् ।

उता, ललितपुर महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र रूपमा उठेकी सरिना लाखे श्रेष्ठ आफूले जित्नेमा आशावादी रहेको बताउँछिन् । उनी भन्छिन्, “पाटन दरबार स्क्वायरमा दिउँसै लागुपदार्थका दुर्व्यसनीहरू बस्छन् । तिनलाई हटाउन उहाँ (चिरीबाबु महर्जन)लाई चासो छैन । पर्यटकहरूले सुविधा पाएका छैनन् । धेरै काम उहाँले गर्नुभएको छैन । त्यो हामीलाई थाहा छ ।”

Global Ime bank

यता, पोखरा महानगरपालिकाको मेयरका लागि अटेरी अभियानबाट स्वतन्त्र रूपमा उठेका लेखक गनेस पौडेल पर्यावरण, शैक्षिक हब, स्वास्थ्य, स्वरोजगार र संवेगात्मक सुरक्षा अधिकारलगायत मुद्दा उठाएर निर्वाचनमा होमिएका छन् ।

उनी भन्छन्, “स्वतन्त्र व्यक्तिले काम गर्न सक्छ । यो कार्यकारी पद हो । ऊसँग आफ्ना अन्तरनिहित अधिकार हुन्छन् ।”

पालिकाहरूमा शिक्षा, स्वास्थ्य, न्यायिकलगायत समिति हुन्छन् । पार्टीका मान्छे पदमा पुग्दा ती समितिमा राजनीतिक भागबन्डा हुने पौडेलको मत छ । उनी भन्छन्, “पोखराको हकमा महानगरका आम्दानीहरू प्राकृतिक स्रोत, भूमि कर, बहाल कर, मनोरञ्जन करलगायत स्रोतहरू छन् । ती स्रोतको बाँडफाँडसम्बन्धी ऐनले पहिले नै स्पष्ट व्याख्या गरिदिएको छ । त्यो स्थानीय सरकारले उठाउने हो र प्रदेश या केन्द्रमा पठाउने हो ।”

पोखराका १५ हजारभन्दा बढी रोपनी जग्गा अतिक्रमणमा परेका छन् । अधिकांश जग्गा पार्टीकै भातृसंगठनले अतिक्रमण गरेको उनको आरोप छ । उनी भन्छन्, “राजनीतिक व्यक्ति मेयर बने ती जग्गा सरकारलाई फिर्ता गराउन सक्दैन । कुनै पार्टीको मेयर पनि सक्दैन । तर, स्वतन्त्र व्यक्तिले सक्छ । किनकि, उसलाई कसैको दबाब हुँदैन ।”

बालेन र पौडेलले चुनाव चिह्न लौरो र श्रेष्ठले चिह्न पुतली पाएकी छन् ।

एजेन्डा पारित गर्न सकिन्छ
स्वतन्त्र उमेदवारले नगरपरिषद्को बैठकमा आफ्नो एजेन्डा पारित गराउन सक्दैनन् भन्ने तर्क गलत भएको बालेन बताउँछन् । उनी भन्छन्, “सामाजिक सञ्जालबाट लाइभ टेलिकास्ट गर्‍यौँ भने त्यो नगरवासीले प्रत्यक्ष हेर्न सक्छन्, कुन–कुन वडाध्यक्षले सहयोग गरे, को अनुपस्थित रहे, कसले बैठक बहिष्कार गरे । यसपछि जनप्रतिनिधिले चाहेर पनि भ्रष्टाचार गर्न सक्दैनन् ।”

यस्तै मत छ पौडेलको पनि । स्वतन्त्र रूपमै जिते पनि एजेन्डा पारित गर्न कठिन नहुने दाबी गर्छन् । उनी भन्छन्, “कार्ययोजना प्रस्तुत गर्दा परिषद्को बैठक प्रत्यक्ष प्रसारण गर्‍यौँ भने उपयुक्त योजना को कसले पास हुन दिइएन भनेर नगरवासीले आफैँ थाहा पाउँछन् ।”

स्वतन्त्र उमेदवारले पार्टीको भविष्य हेर्नु नपर्ने, चन्दा उठाउनु नपर्ने, कार्यकर्ता रिझाउनुपर्नेजस्ता कार्य गर्नु नपर्ने उनीहरूको भनाइ छ ।

स्वतन्त्र उमेदवारलाई भोट नआउनेजस्ता टीकाटिप्पणी सुनिन्छ । तर, र्‍यापर र स्ट्रकचरल इन्जिनियर समेत रहेका रहेका बालेन भन्छन्, “सामाजिक सञ्जाल चलाउने पनि मान्छे नै हुन् । रोबोट होइन । सोसल मिडियाको ट्रयाकिङ गरिरहेका छाँै । त्यसमा रहेका मतदाताको ध्यान खिचिरहेका छाँै ।”

उनी थप्छन्, “पहिला बुवाआमाले छोराछोरीलाई यसमा भोट हाल भन्नुहुुन्थ्यो । अब भने छोराछोरीले नयाँ अनुहारमा भोट हाल्नुस् भन्नेमा म ढुक्क छु ।”

यसमा पौडेलको अनुभव भने फरक छ । निर्वाचनका लागि घरदैलो गरिरहँदा ज्येष्ठ नागरिक र ३० वर्षमुनिका युवाको आकर्षण स्वतन्त्र उमेदवारमा पाएको उनी सुनाउँछन् । उनी भन्छन्, “बरु, ३० देखि ४० उमेरकालाई बुझाउन कठिन रहेछ । किनकि, उहाँहरूले कुनै न कुनै हिसाबले पार्टीबाट फाइदा लिइराख्नुभएको हुँदो रहेछ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय