site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शाहरुखको पठानलाई मोदीको समर्थन, तर रोकिएन 'बहिष्कार बलिउड' अभियान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पछिल्लो समय निरन्तर ह्यासट्याग ‘बोइकट बलिउड’ (बलिउडलाई बहिष्कार गरौँ) ट्विटरको ट्रेन्डिङमा छ । यही ट्विटर ट्रेन्डिङमा अभिनेता शाहरुख खानको चलचित्र पठान पनि परेको छ । जनवरी २५ मा प्रदर्शन हुने चलचित्र पठानको पहिलो गीत बेसरम रङ एक महिनाअघि युट्युबमा रिलिज भएको थियो ।

बोल्ड नृत्य र पहिरन रहेको गीत रिलिज भएको केही समयपछि नै विवादमा पर्‍यो । यसैपनि मुस्लिम कलाकारले खेलेको भन्दै ‘बोइकट बलिउड’ ट्विटरमा चलिरहेको थियो । तर, बेसरम रङको गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएको सुन्तला रङको बिकिनी पहिरनले धार्मिक भावनामा ठेस पुर्‍याएको भन्दै विवाद सिर्जना भयो । त्यसपछि पठान चलचित्रको बहिष्कारको ट्रेन्ड व्यापक रूपमा चल्न सुरु भयो । जुन अहिलेसम्म जारी नै छ ।

गीतमा अभिनेत्री पादुकोणले लगाएको पोशाक अश्लील  र भगवानसँग जोडिएको रङको अपमान भयो भनेर भारतीय जनता पार्टी (भाजपा) हिन्दु अतिवादी संगठन र आईटी सेलले व्यापक विरोध गरिरहेका छन् । उनीहरूले चलचित्र पठानको प्रदर्शनमा रोक लगाउन र सर्वसाधारणलाई नहेर्न सामाजिक सञ्जालबाट अपिल गरिरहेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विवाद चर्किंदै गएपछि खानका फ्यानले भाजपा केन्द्रीय मन्त्री र नेता स्मृति इरानीको छोरीले सोही रङको लगाएको बिकिनी लगाएको तस्बिर सामाजिक सञ्जालमा राखी उनीहरूको पाखण्डीपनको पर्दाफास गरेका थिए । चलिरहेको विवादको बिचमा तृणमूल कांग्रेसका नेता र राष्ट्रिय प्रवक्ता रिजु दत्तले भाजपा नेत्री इरानीको मिस इन्डिया १९९८ को बेला लगाएको सुन्तला रङको पहिरन लगाएर र्‍याम्प वाक गरेको भिडियो सेयर गरेर आलोचना गरेका थिए । भिडियो सेयर गर्दै दत्तले लेखेका छन्, "रंग दे तू मोहे गेरुवा (सुन्तले रङले रङ्ग्याऊ मलाई) ।

जवाफमा भाजपा नेता लकेट चटर्जीले ममता बनर्जीको नेतृत्वमा रहेको पार्टीको आलोचना गर्दै मुख्यमन्त्रीले पार्टीको पदाधिकारीको रूपमा ‘स्त्रीद्वेषी पुरुषहरू’ नियुक्त गरेको टिप्पणी गरेका थिए । 

Royal Enfield Island Ad

डिसेम्बर २१ मा अयोध्या मन्दिरको प्रमुख पुजारी परमहंस आचार्यले अभिनेता शाहरुखलाई जिउँदै जलाउने भन्दै मिडियासामु अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, “म फिल्मका निर्माता तथा निर्देशक शाहरुख खान ‘जिहादी’ लाई जिउँदै जलाउनेछु । गीत बजाउने युट्युब च्यानलका मालिकहरूको पनि त्यही हाल हुनेछ ।”

घटना व्यापक उछालेपछि त्यहाँको सेन्सर बोर्डले ती दृश्यहरू चलचित्रबाट हटाउन निर्देशन दियो । जसमा १० भन्दा बढी सम्वादसहितका दृश्यहरू हटाइएको छ । खासगरी अभिनेत्रीको नितम्ब र वक्ष देखिएका भागहरू सेन्सर बोर्डले हटाउन लगाएको छ ।

pathan pics1674567573.jpg

जबकि बेसरम रङको गीतले युट्युुबमै २३५ मिलियन भ्युज बटुलिसकेको छ । ग्लोबल टप म्युजिकमा नम्बर ६ मा परेको छ । 

तर, कहानी यतिमै टुंगिँदैन । पठान रिलिज रोक्नका लागि भाजपा नेताको एकपछि अर्को बयानबाजी पछि फ्यानहरूले पठान फस्ट डे फस्ट सो भन्दै ट्विटरमा ट्रेन्डिङ पनि चलाए । त्यसपछि गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  पठान चलचित्रलाई लिएर आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरूलाई अनावश्यक बयानबाजी नगर्न निर्देशन दिएका थिए ।

भाजपाको राष्ट्रिय कार्यकारिणी बैठकको दोस्रो दिन सम्बोधन गर्दै उनले फिल्महरू जस्ता अप्रासंगिक मुद्दाहरूमा अनावश्यक टिप्पणीहरूले पार्टीको विकास एजेन्डालाई असर गर्नै भन्दै घुमाउरो पारामा बलिउडको सपोर्ट गरेका थिए । भाजपा नेताहरू मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले पठानको केही दृश्य ‘सच्याइएन’ भने रिलिजमा रोक लगाउने धम्कीसमेत दिएका थिए । उनले दृश्यहरू ‘अत्यधिक आपत्तिजनक’ र ‘फोहोरी मानसिकता’का साथ खिचिएको आरोप लगाएका थिए ।

गत अक्टोबरमा पनि उनले रामायणमा आधारित चलचित्र आदिपुरुषमा गलत तरिकाले हिन्दु धार्मिक व्यक्तित्वहरू देखाइएको दृश्यहरू नहटाए कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए । भाजपा सांसद राम कदमले पनि गीतलाई हिन्दू धर्मको अपमान भएको भन्दै आपत्ति जनाउँदै ट्विट गरेका थिए । 

तर, कार्यकर्ताहरू रोकिने नाम लिँदैनन् । उनीहरूले अझै सामाजिक सञ्जालमा बहिष्कारको प्रोपोगान्डा चलाउन रोकेका छैनन् । यसैक्रममा केही दिन अघि आसाममा फिल्मको स्क्रिनिङलाई लिएर भिडन्त भयो । बजरङ दलले गएर हुलदंगा गरेपनि चलचित्र चलाउन समस्या देखियो । त्यसबेला पत्रकार सम्मेलनमा आसामका मुख्यमन्त्री एवम् भाजपा नेता हिमान्त विश्व शर्माले ‘को हो शाहरुख खान’ भनेका थिए ।

त्यसको भोलिपल्ट शनिबार उनले ट्विट गर्दै भने, “श्री शाहरुख खानले २ बजे राति फोन गर्नुभयो र हालचाल सोध्नुभयो । चलचित्र चलाउन कुनै समस्या छैन ।”

उनको ट्विटलाई खिल्ली उडाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताले अघिल्लो दिन ‘को शाहरुख बाट श्री शाहरुख खान’ भन्दै व्यंग्यात्मक ट्विट गरेका थिए ।

बहिष्कार गरेपनि चलचित्रले भारतमै पाँच लाखको टिकट बिक्री गरिसकेको छ भने सात दिनमा ३५० करोड भारतीय रुपैयाँ कमाउने अनुमान गरिएको छ । नेपालका समेत अधिकांश हलमा अग्रिम टिकट बिक्री भइसकेको छ । यता प्रधानमन्त्री मोदीको फिल्मको विषयलाई लिएर दिएको अभिव्यक्तिलाई अभिनेता अक्षय कुमारले समर्थन जनाएका छन् भने पठानको अग्रिम बुकिङलाई लिएर ट्विटरमा अभिनेता अजय देवगनले खुसी व्यक्त गरेका थिए ।

किन बलिउड बहिष्कारमा ?
जनवरी १४, सन् २०२० मा अभिनेता सुशान्त सिंह राजपूतको रहस्यमयी मृत्युपछि सुरु भएको बोइकट बलिउडले त्यसपछि जनताको चरम आक्रोश भोग्दै आएको छ । विशेषगरी इन्टरनेटमा सामाजिक सञ्जालमा बलिउडमा हुने गरेको नातावाद, कृपावाद र सिन्डिकेटतर्फ लक्षित गर्दै बलिउडका चलचित्र नहेर्न सामूहिक बहिष्कारको आह्वान गर्ने गरिएको छ । त्यसमा पनि भाजपाका नेताहरूले खुलमखुला बलिउड बहिष्कार गर्न भड्काउलो अभिव्यक्ति दिँदै आएका छन् ।

बलिउडमा लामो समय राज गरेका तीन अभिनेताहरू मुस्लिम भएकै कारण र हिन्दु अतिवादी मुलुक बनाउने राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) को सय वर्ष पुरानो योजना भाजपाले लिएर हिँडेको छ । जसअनुसार सन् २०१४ मा भाजपा सत्तामा पुगेपछि भारतीय मिडियालाई मुस्लिम विरोधी, हिन्दु पीडित समाचारहरू प्रकाशन र प्रसारणमा बढी लगानी गरेको छ ।

फलस्वरूप, भारतका अधिकांश मुलधारका मिडियामा आतंकवाद, पाकिस्तानमा राजनीति जस्ता समाचारले विशेष स्थान पाउने गरेका छन् । तर मोदी सरकारले दिन नसकेको रोजगारी, लथालिंग विश्वविद्यालय, डिमनिटाइजेसनले पारेको प्रभाव, धार्मिक अल्पसंख्यकमाथि हुने गरेका हिंसाबारेका समाचारले स्थान नै पाउन छोडेका छन् । भारतीय च्यानल एनडीटीभीका पूर्व सम्पादक रविश कुमारले भारतका सरकारको मुखपत्र भएका यस्ता मिडियालाई ‘गोदी मिडिया’ नामाकरण गरेका छन् ।

यसबाहेक ह्वाट्स्एपबाट प्रोपागाण्डा फैलाउनेलाई ह्वाट्स्एप युनिभर्सिटीमा पढेको भनेर रविशले नै नाम दिएका थिए । भारतमा अधिकांश प्रोपोगान्डा ह्वाट्स्एपबाट फैलाइएको पाइन्छ ।

एक अरब बढी जनसंख्या रहेको भारतमा मात्र १७ प्रतिशत मुस्लिम समुदायलाई पूर्ण रूपमा बेवास्था गरी 'भाजपाले मुस्लिमरहित समाजको परिकल्पना गरेको' छ । त्यसमा बलिउडको राजाको रूपमा रहेको बादशाहलाई बक्सिने त कुरै छैन ।

सन् १९९० देखि बलिउडमा तीन खानले राज गर्न सुरु गरेका थिए, शाहरुख, सलमान र आमिर । बलिउड उद्योगलाई धान्दै आएका यी खानहरूको पछिल्ला चलचित्र बहिष्कारमा पर्न थालेका छन् । त्यसको पछिल्लो उदाहरण हो, आमिर अभिनित लाल सिंह चड्डा ।

आमिरले सन् २०१५ मा एउटा टिभीलाई दिएको अन्तरर्वार्ताको प्रसंग झिक्दै चलचित्र बहिष्कार गर्न प्रोपोगान्डा चलाइएको थियो । उनले ‘भारतमा असहिष्णुता बढ्दै गएको र यसले गर्दा यहाँ बस्न डर लागेको पूर्व पत्नी किरणको’ भनाइ उदृत गरेका थिए । जब–जब उनको फिल्म आउन थाल्छ अनि सोही अभिव्यक्तिलाई ल्याई चलचित्र बहिष्कार गर्ने प्रवृत्ति बढेको छ ।

pathan pics11674567645.jpg

शाहरुखको चलचित्र बहिष्कारमा असहिष्णुताको विषयलाई लिएर पनि जोड्ने गरेको छ । जबकि उनले त्यस विषयमा आफूले कहीँ कतै कुनै अभिव्यक्ति नदिएको भन्दै आएका छन् । कुरा यतिमै रोकिन्न । ३ अक्टोबर २०२१ मा शाहरुखका छोरा आर्यन खानलाई लागुऔषध दुरुप्रयोग गरेको भन्दै पक्राउ गरियो । पछि बेचेकोसमेत आरोपमा उनलाई २८ दिन जेलमा राखेर निर्दोश भएको भन्दै थुनामुक्त गरियो ।

युट्युबमा भक्त बेनर्जीको नाममा कार्यक्रम चलाउने आकाश बेनर्जी मोदी र 'मोदी भक्त'लाई ठ्ट्यौलो शैलीमा व्यङ्ग गर्दै राजनीतिक र सामाजिक विषयमा कार्यक्रम चलाउछन् । उनले सिने पत्रकार फरिदून शर्यारसँगकोसँगको अन्तर्वार्तामा भनेका थिए, “पहिला खानहरू अभिनेताका रूपमा चिनिन्थे भने अहिले मुस्लिम अभिनेताको रूपमा दर्शाइएको छ । यसले हिन्दुको मनमा मुस्लिमलाई लिएर घृणा पैदा गर्न खोजिएको छ ।”

जसमा आरएसएस, 'गोदी' मिडिया र आईटी सेल सफल भएको देखिन्छ । बहिष्कार बलिउडमा सुरु भएदेखि शाहरुखले दिएको ३० वर्षको योगदानलाई विभिन्न आक्षेप लगाउने गरेको छ । जसमा उनको बोल्ने शैलीलाई 'भकभके' भनेर गिज्याउनेदेखि नातावाद र कृपावादको प्रश्रय दिएको, आफैँ नातावादबाट बलिउडमा प्रवेश गरेको, बाहिरको होइन भन्दै सूचनाहरू सामाजिक सञ्जालमा भेटिन्छ । कयौँले सो सूचनालाई पत्याएको पनि देखिन्छ । 

त्यसो त अभिनेत्री पादुकोणले सन् २०२० मा विद्यार्थीको आन्दोलनमा मौन समर्थन जनाउँदै भारतको जवाहलाल नेहरू विश्वविद्यालयमा हालका कांग्रेस नेता कन्हैया कुमारको भाषण हेर्न गएकी थिइन् । ‘टुकडे टुकडे ग्याङ’को समर्थन गरेको भनेर ट्रोलको सिकार भएकी थिइन् । त्यसबेला उनको चलचित्र एसिड पीडितको कहानीमा आधारित छपाक सिनेमाघरमा चल्दै थियो । सो चलचित्रको निर्माता समेत रहेकी उनको फिल्म त्यही घटनाले फ्लप भयो । त्यसपछि पनि प्रदर्शन हुन लागेका उनका चलचित्रहरू सोही विषय र लागुुऔषध दुरुपयोग गरेको आरोपलाई लिएर बहिष्कारमा पर्ने गरेको छ ।

बहिष्कारको घानमा खान र पादुकोण मात्र होइन, अक्षय कुमार जसलाई क्यानडा कुमार भनेर खिल्ली उडाइन्छ, अभिनेता अजय देवगन, अभिनेत्री करिना कपुर, आलिया भट्ट, निर्माता निर्देशक करण जोहरलगायतका अधिकांश व्यक्तिहरू परेका छन् । 

साथमा कोभिड १९ पछि विश्व परिस्थिति फेरिएको छ । बलिउडका चलचित्रहरू त्यति चलेका छैनन् । त्यसमाथि नातावाद, कृपावाद, लागु औषधको दुरूपयोग (कलाकारहरूले लागुऔषध दुरूपयोग गरेको) हिन्दु धर्ममा ठेस पुर्‍याएको, अश्लिलतालाई बढाएको जस्ता आरोपहरू लगाएर बलिउडमाथि बारम्बार आक्रमण हुने गरेको छ । यसले विस्तारै दर्शकमाझ बलिउडले आफ्नो साख गुमाउँदै छ भने हिजो आइडल मानेका कलाकारहरू दर्शकको नजरबाट गिरिरहेका छन् ।

हुनत कलाकारको अन्धभक्त हुने, उनीहरूले लगाएको पहिरन, शैलीलाई अनुसरण गर्ने बलिउडमा व्यापक छ । दक्षिण भारतमा त कलाकारहरूलाई मन पराएर, जस्तो रजनीकान्तको मन्दिरै बनाएर पुजा गर्ने चलन छ । 

हिरो खोज्ने समाज पक्कै पनि सन्तुलित होइन । तर, बलिउडमा जसरी आक्रमण भएको छ, त्यसको पछाडि ठूलै राजनीतिक चलखेल रहेको पनि बुझ्न सकिन्छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशमा फिल्म सिटी बनाउन लागेकाले बलिउडलाई उद्योगलाई धरासायी गर्न खोजेको जानकारहरू बताउँछन् । जसका लागि बलिउडमा यो वा त्यो नाममा आक्रमण हुने गरेको छ ।

अन्ततः बोल्यो बलिउड
कला स्वच्छन्द हुन्छ । कलाकारहरू बोल्ड हुन्छन् । जस्तासुकै तानाशाहीको अगाडी पनि डराउँदैनन् भन्ने आम मान्यता छ । तर बलिउडका कलाकारहरू त्यसमा विपरीत छन् । हलिउडमा जस्तो बलिउडका कलाकारहरू खुलेर राजनीतिक विषयमा आफ्ना विचारहरू राख्ने, समर्थन वा विरोध गर्न पाउँदैनन् । ट्रयाजिडी किङ दिलीपकुमारको (जसले बलिउडमा नयाँ शैलीको अभिनय भित्र्याए) पालोदेखि नै बलिउड मौन रहने गरेको देखिन्छ ।

सन् १९५४ देखि नै नैतिकताको कुरा उठाउँदै चलचित्रमा हुने चुम्बन दृश्यहरू सेन्सर बोर्डले प्रतिबन्ध गरेको थियो । तत्कालीन कांग्रेस नेत्री लिलावती मुन्सीले दिलीप कुमारको हेयर स्टाइलले युवाहरूलाई बिगार्न मद्दत गरेको भन्दै टिप्पणी गरेकी थिइन् । जवाहरलाल नेहरू प्रधानमन्त्री रहेको त्यसबेला उनको चलचित्र ‘गंगाजमुना’ नैतिकता र विविध कारणले २५० वटा दृश्य परिमार्जन गरेपछि मात्र हलमा चलेको थियो ।

बलिउडको यो नबोल्ने रोगमा मुलधारका कलाकारहरू प्रायः एकै खेमाका थिए । तर अभिनेत्री पादुकोणपछि शाहरुख र अमिताभ बच्चनले बहिष्कार बलिउडलाई लिएर सम्बोधन गरेका छन् । गत डिसेम्बर २०२२ मा २८ औँ कोलकाता अन्तर्राष्ट्रिय चलचित्रको उद्घाटन समारोहमा ‘पठान’लाई लिएर मानिसहरूको सामाजिक सञ्जाल प्रतिक्रियाहरू उल्लेख नगरी संकीर्ण मानसिकता बढ्दै गएकोमा 'किङ खान'ले चिन्ता व्यक्त गरेका थिए ।

उनले भने, “आज मानव भावना र अनुभवहरू व्यक्त गर्ने प्राथमिक माध्यम सिनेमा र सामाजिक सञ्जाल प्लेटफर्महरू भएको छ । हाम्रो समयको सामूहिक कथालाई सामाजिक सञ्जालले आकार दिएको छ र सामाजिक सञ्जालको फैलावटले सिनेमालाई नकारात्मक असर पार्छ भन्ने विश्वासको विपरट्ठत, मलाई लाग्छ सिनेमाले अहिले अझ महत्त्वपूर्ण भूमिका खेलेको छ ।”

यसैगरी, सोही कार्यक्रममा बच्चनले भारतीय सिनेमामा सेन्सरशिपको इतिहासलाई उल्लेख गर्दै वाक स्वतन्त्रताको कुरा उठाएका थिए । उनले भने, “अहिले पनि, मञ्चमा भएका मेरा सहकर्मीहरू सहमत हुनेछन् भन्नेमा विश्वस्त छु, नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा प्रश्नहरू उठिरहेका छन् ।”

अनन्तकालपछि बोलेका शताब्दीका सुपरस्टार शाहरुख र मेघास्टार बच्चनलाई बलिउडका अन्य सहकर्मीले भने कुनै साथ दिएका छैनन् । यही नै दुखको कारण भएको युट्युबर आकाश बेनर्जी बताउँछन् । 

एजेन्सीहरूको सहयोगमा । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro