site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
नागरिकता खोई ? नेपालको आवश्यकता होइन ?

छोरीको दीक्षान्त समारोह नजिकिँदै थियो  । त्यसका लागि म अमेरिकाको सानफ्रांसिस्को जानुपर्ने तर मेरो स्वास्थ्यका कारण डाक्टरले मलाई हवाई यात्रा निषेध गरेका थिए । फलस्वरूप म चिन्तित थिएँ । बिहानै भगवान पुकार्दै डाक्टरकोमा पुगेँ र सोधेँ - के म उँड्न सक्छु ?  केहीबेरको परीक्षणपछि डाक्टरले हाँस्दै भन्नुभयो - तपाईँ मजाले हवाईयात्रा गर्न सक्नुहुन्छ । निदाँउरो अनुहार लगाएर गएको म खुसी हुँदै फर्किएँ । 
 

त्यत्तिकैमा छोरीको फोन आयो । सोधी - "आर यु कमिङ ?" । मैले  भने - यस डिएर आई एम  कमिङ । उसले खुसी हुँदै फोन राखी । सोच्न थालेँ  उस्लाई के उपहार दिऊ ! ऊ हामीले दिएको उपहार लिँदैनथिई । उस्लाई लाग्थ्यो  हामीले आवश्यकता भन्दा बढी नै ऊनीहरूका लागि गरिरहेका थियौँ । भन्थी - यो हजुरहरूले कमाएको आफ्नै लागि खर्चिनुस् । रोजेको विश्वविद्यालयमा पढाइ दिनुभएको छ । हामीलाई पुग्यो !  
 

सामाजिक संजालका भित्ताहरू दीकान्त समारोहका तस्बीरले भरिन थाले । मेरो मन कति हर्षित भयो भने म घरबाहिर गएर चिच्याउँदै भगवानलाई धन्यबाद दिन चाहन्थेँ । किनभने हजारौ नेपालीका सन्तान विख्यात् विश्वविद्यालयबाट दीक्षित भइरहेका थिए ।
 

मेरो आखा न्यानो आसुँले रसाउँदै चिसो हुँदै गए । म झसङ्ग भएँ । ती हजारौका संख्यामा दीक्षित अधिकांश युवाले नेपाल सरकारको सामान्य जागिर पनि खान पाउने छैनन् । किनभने उनीहरूका बाबुआमाको वंशज नागरिकता  राज्यले  खोसेर दिएको गैरआवासीय  नागरिकताले परिचयपत्रको मात्र काम गर्छ । त्यसले न त प्रतिनिधि छान्न सक्छ न  प्रतिनिधि बन्नै सक्छ, न त राहदानी पाइन्छ न त सरकारी जागिर । आफैँलाई प्रश्न गर्छु - यो कस्तो नागरिकता हो ?

किन राज्य यस्ता होनहार युवालाई  देश फर्काउन चाहँदैन ? मेरो छेउमै एक नेता थिए । उनलाई सोधेँ - के साच्चै ई युवाले सरकारी जागिर खान पाउँदैनन् ? केही मानिस भन्छन् - विदेशी नागरिकता छोडे आफ्नो नागरिकता पुनःप्राप्त भइहाल्छ । दुवै हातमा लड्डु त हुन्न नि ! यस्ता अदूरदर्शी बहस ले हामी कहीँ पुग्दैनौ । 

डा. गोविन्द केसीको आन्दोलनमा उहाको असल नियत र निष्ठामा प्रश्न गर्ने ठाउँ छैन । तर, राम्रो नियतले गरिएको आन्दोलनले स्वास्थ्य क्षेत्र तहसनहस  भयो । गैरआवासीय नागरिकता पनि स्वास्थ्य क्षेत्रजस्तै महत्त्व पूर्ण विषय हो । देशको भविष्य र अर्थतन्त्र जोडिएको दूरगामी प्रभाव पर्ने विषय  हो यो 

नेपाल सरकारको बजेटको १०४ बुँदामा -  विदेशीको लगानी स्वदेशमा अन्तर्गत गैरआवासीय नेपालीको पुँजी,  प्रविधि र सीपलाई  मातृभूमिसँग जोड्ने  जन्मस्थानमा र उनीहरूका सन्ततिलाई नेपालको भूगोल, कला र संस्कृतिसँग परिचित हुन पुर्खौली थलो मा  गैरआवासीय नेपाली अभियान सञ्चालन  गरिने लेखिएको छ ।

यस्तो हास्यास्पद वाक्य बजेटजस्तो दस्तावेजमा नलेखेको भए हुन्थ्यो । जे लेखे पनि राज्य चलाउनेहरू वंशज गैरआवासिय नेपालीलाई स्वदेश फर्काउनै चाहँदैनन् ।  अधिकार  पनि कस्तो हिजो विवाहका कारण नेपाली भएका बुहारी वा ज्वाइँले राज्यको ५ प्रमुख पदबाहेक सम्पूर्ण अधिकार पाउने तर वंशज गैरआवासीय नागरिक भने अधिकार विहीन ! गैरआवासीय वंशज  नागरिकलाई तेस्रो दर्जाको नागरिक बनाउने सर्तमा उनीहरू फर्किएलान् ? राज्य १० लाख पर्यटक भित्र्याए भनेर दङ्ग छ । तीमध्ये झन्डै ४ लाख त विभिन्न देशमा रहेका गैरआवासीय नेपाली र तिनकै सन्तान होलान् !

पहिलो पुस्ताका नेपालीलाई समयमै पूरा नागरिक अधिकार दिएर सम्बोधन नगरिए राज्यलाई ठूलो नोक्सान हुनेछ । युरोप, अमेरिकामा कामदारको टूलो अभाव छ । भीसा पाउन गाह्रोजस्तो  देखिए पनि धेरै नेपाली अस्ट्रेलिया, अमेरिका ,क्यानडा  र युरोप गइरहेका छन् ।

लाखौंको संख्यामा रहेका  उनीहरूले आफ्ना नातेदारलाई ‘ग्रिन कार्ड’ भरिदिएका छन् । अब एकजना नेपालीले   औसतमा  ५ जनाका दरले आफ्ना परिवार का सदस्यलाई नेपालमै ग्रिनकार्ड दिलाए भने   २० लाख नेपाली केही वर्षमै  सदाका लागि अमेरिका पुग्नेछन् । अरू देशले र खाडीका मुलुकले समेत ग्रिन कार्ड र स्थायी बसोवासका लागि नयाँ नियम लागु गर्दैछन् । 

विदेशमा रहेका शिक्षित, अनुभवी र सिप भएका अनि धन लिएर फर्किन चाहने नेपालीलाई सरकार रोकिरहेको छ । सरकारलाई  लाग्दो हो  गैरआवासीय नेपालीले यो नागरिकता ग्रहण गरेका छन् । किनभने उनीहरूले न त खुलेर विरोध गरे न आन्दोलन । तर, कारण के हो उनीहरूलाई थाहा छ सरकारले सुन्दैन ।  

अब यो आन्दोलन गैरआवासीय नेपालीले होइन उनीहरूका आमाबुवा, दाजुभाइ र नातेदारले गर्नेछन् । किनभने बुढेसकालको सहारा सरकारले  खोसिरहेको छ ।  अहिलेकै अवस्थामा केहीले गैरआवासीय नागरिकता लेलान् तर आफूले वर्षौं लगाएर कमाएको सामाजिक भत्ता सकिने गरी नेपाल फर्किने अवस्था आउँदैन । 

पूर्ण अधिकारसहित गैरआवासीय नेपालीलाई नागरिकता दिएमा अधिकांश पहिलो पुस्ताका नेपाली नेपाल फर्किनेछन् । यसो भएमा पाँच लाखभन्दा बढी नेपाली नेपाल फर्किन सक्छन् । तिनमा डाक्टर, इन्जिनियर, वैज्ञानिक, प्रोफेसर, वकिललगायत विभिन्न विधामा महारथ प्राप्त नेपालीको भिड लाग्नेछ नेपालमा ।

यिनले  ल्याउने सामाजिक सुरक्षा भत्तामात्र  मासिक २०औँ हजार डलरमा  हुन्छ । सरदर एक व्यक्तिले मासिक तीन हजार डलर ल्याए भने २ खर्ब रुपैयाँ मासिक नेपाली बजारमा आउँछ । उनीहरूले आफू आउँदा कम्तीमा पनि ५ लाख डलर लिएर  आए भने खर्बौं रुपैयाँ नेपालमा पुँजीको रूपमा भित्रिन्छ  ।

तिनले उद्योग व्यवसायमा लगानी गरेर प्रतिव्यक्ति १० जनालाई रोजगारी दिए भने १८ लाख नेपालीले रोजगारी पाउनेछन् र ३६ अर्ब बजारमा आउनेछ । पुँजी र रोजगारी थिपँदा बजारमा एकपछि अर्को सकारात्मक प्रभाव पर्छ । ठूला आईटी कम्पनीमा काम गरेका नेपालीले नेपालमै आफ्ना कम्पनी खोल्नेछन् ।

स्वाथ्य क्षेत्रको रिसर्च सेन्टर खुल्नेछ । कम्पुटरको चिप्स नेपालीले नै अमेरिकामा बसेर बनाइरहेका छन् । उनीहरूले  चाइनामा  बनाउनुको सट्टा नेपालमै बनाउने छन् । विश्वको सबैभन्दा व्यस्त लसएन्जलस एयरपोर्ट बनाइरहेका नेपालीले नेपालको  त्रिभुवन विमनस्थललाई प्रविधिसहित विश्वस्तरको बनाउने छन् । बालीमा उम्रने  घाँसबाट  कृषकलाई छुटकारा दिलाइरहेका नेपाली वैज्ञानिकको सेवा नेपालले पाउनेछ ।

अब नेपाली जनताले भन्नुपर्छ पूर्ण अधिकार सहितको गैरआवासीय नागरिकता विदेशमा बस्नेलाई चाहिएको हो कि नेपालको आवश्यकता हो ?

(खुमलटार, ललितपुर)
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro