यता आएपछि एउटा बेग्लै अनुभव भयो । अर्काको देशमा आँखाले नेपाली चेहरा खोजिरहने रहेछ ।
लाग्छ, कतैबाट नेपाली आवाज सुनियोस् । यतै कतै भीडभाडमा कसैले सोधोस्, ‘तपाईं नेपाली हो ?’
‘नमस्कार ! हजुर हो, म नेपाली नै हुँ । म महोत्तरी, जलेश्वरको । अनि, तपाईं कहाँको नि ?’ मैले पनि यसरी सोध्न सकूँ । यसरी हामीबीच कुराकानी होस् ।
तर, क्यानबेरा भित्रिएको दुई सातासम्म यसरी सोध्ने मौका मलाई जुरेन । न त मैले बाटो हिँड्दा नै कसैलाई भेटेँ ।
यी नेपाली नै हुन् कि ! मनले अनुमान गरे पनि सिधै बोल्न नसकिने । कतै अर्को देशका पर्ने हुन् कि ! त्यो डर पनि रहने ।
त्यसो त साँझपख हामी दुवै बुढाबुढी घुम्न निस्किन्छौँ । सिशम भन्छिन्, ‘आज त कसैसँग भेट होला कि !’ तर, सोचेजस्तो कहाँ हुन्छ र !
०००
छोरीज्वाइँ बसेको अपार्टमेन्ट ग्रेजर लेनबाट थोरै पश्चिम एउटा ठूलो पार्क छ, जोन नाइट मेमोरिएल पार्क । मानवनिर्मित जिनेन्डेरा तालको किनारमा अवस्थित उक्त पार्कको छेवैछेउ पैदलमार्ग बनेको छ । त्यहाँ हामी हिँड्दैहिँड्दै निकै परसम्म पुग्छौँ, मौसम अनुकूल हुँदा ।
बीचबीचमा पैदलयात्रुलाई आराम मिलोस् भनेर बस्ने ठाउँ बनाइएको छ । त्यतै पिकनिकमा आउनेहरूका लागि पनि उचित व्यवस्था गरिएको देखिन्छ । हामी त्यहाँको पार्क व्यवस्था देखेर नै दंग पर्छौं । हाम्रो गफगाफको विषय त्यही बन्छ ।
हाम्रो घुमाइको बीचमा पिकनिक मनाउने मैले भेटिनँ । बरु, एउटा कठघराजस्तो ट्रलीगाडीमा खानेकुरा बेच्न राखेको भेटियो ।
आफ्नो जीपले ट्रलीपसल तानेर ल्याई साँझसम्मै पसल चलाएको देखेँ । वरिपरि बसेर खानपान गर्नेहरू पनि भेटिए । रमाइलो लाग्यो, त्यस किसिमको व्यापार देखेर ।
तीनचार दिनअघि, हामी इभिनिङ वाकमा थियौँ । नेपाली भेटिन्छन् कि ! मनले यस्तै सोचिरहेको थियो । मनले त भन्छ, कोही भेटे भीष्म उप्रेतीको पुस्तक ‘तपाईंको पहाड कहाँ ?’ शीर्षकले भनेजस्तै ‘नेपालमा तपाईंको कहाँ ?’ भन्न सकियोस् ।
योपटक भने सिशमले अनुमान गरेझैँ भयो । एकजोडी नेपाली भेटियो, सोही पार्कमा । कुर्ता, सलवार र बाक्लो ज्याकेटमा देखिए पनि यी नेपाली नै हुन् भन्ने स्पष्ट थियो । किनभने, उनीहरू आपसमा कुराकानी गर्दै आइरहेका थिए ।
‘नमस्कार ! तपाईंहरू नेपालबाटै हो ?,’ हामीले एकसाथ बोल्यौँ ।
‘नमस्कार, तपाईंहरू नेपाली नै हुनुहुँदो रहेछ !’
‘हो, हामी जनकपुरका हौँ । काठमाडौं बस्छौं । तपाईंहरू नि ?’
‘हामी स्याङ्जाको । म कृष्ण पाण्डे । यहाँ आएको दुई महिनाजति भयो, छोरीले बोलाएकी थिइन् । बस्न त एक वर्ष बस्ने भनेर आइएको छ । हेरौँ, कति बस्न सकिन्छ ।
‘तपाईंहरू नि ?’
हामीले छोरीज्वाइँले बोलाएको र दुई महिनामा फर्किने बतायौँ । र, कुराकानीकै क्रममा बितेको शनिबार आयोजना गरिएको नेपालीको पिकनिकमाथि चर्चा भयो ।
पाण्डेले आफूहरू समुद्र हेर्न भनेर सिड्नी गएको बताए । उनी भन्दै थिए, ‘यसपटक पिकनिक छुट्यो । अर्कोपटक पनि त होला नि !’
०००
हामी वनभोज कार्यक्रममा सहभागी भयौँ । सहभागिता निःशुल्क थियो ।
अघिल्लो शनिबार एनआरएनएको आयोजनामा एउटा पिकनिक कार्यक्रम भएको थियो । जाऊँ नजाऊँ दोमन गर्दैगर्दै हामी पाँच/छजनाको समूह त्यहाँ पुगेका थियौँ ।
‘नेपालदेखि अस्ट्रेलिया भ्रमणमा रहनुभएका अभिभावकहरूको लागि समर्पित कार्यक्रम’ लेखिएको ब्यानर टाँगिएको थियो, ब्ल्याक माउन्टेन, पेनिन्सुलाको त्यस पार्कमा । छेवैमा मानवनिर्मित ताल टक्क अडिएको थियो ।
एकातिर एनआरएनएको लामो स्ट्यान्डी ठड्याइएको थियो भने बीचमा उल्लिखित विवरणसहितको ब्यानर राखिएको थियो । त्यहाँ आएका धेरैले पालैपालो ब्यानरको अगाडि उभिएर फोटो खिचे । हामीले पनि खिच्यौँ ।
त्यो वनभोज कार्यक्रमलाई नेपालीले नै सञ्चालन गरेका विभिन्न व्यापारिक/व्यावसायिक संस्थाहरूले प्रायोजन गरेका थिए ।
१० बजे बोलाइएको उक्त पिकनिक कार्यक्रममा हामी ११ बजेतिर पुगेका थियौँ । एक सयभन्दा बढी मानिस पुगिसकेका थिए कार्यक्रमस्थलमा । त्यहाँबाट क्यानबेराको प्रसिद्ध टेल्स्ट्रा टावर आँखैअघिल्तिर उभिएको लाग्यो । चारैतिर पहाडैपहाड । त्यसकै बीचमा उभिएको त्यो टावरले ध्यान घरीघरी तानिरहेको थियो ।
पिकनिकको जमघटमा यताउता हेर्न थालेँ, परिचित अनुहार फेला पर्छ कि भनेर । मस्तिष्कले त्यही भनिरहेको थियो र अह्राइरहेको थियो यताउता गर्न ।
अहँ, चिनेको हाम्रै टोलीका पाँच/छजनाबाहेक अरू कोही देखिएनन् । परिचित अनुहार आँखाले स्क्यान गर्दै गरेन । अबको काम भनेको भ्याएसम्म एकापसमा परिचय गर्नु नै रह्यो ।
चौरमै अलिक पर निलो ब्यानर देखियो । लेखिएको थियो– नेपाल अभिभावक समाज एडिसन पार्क क्यानबेरा, अस्ट्रेलिया । सायद यो सहयोगी संस्था थियो ।
त्यही ब्यानरअगाडि उभिएर फोटो खिच्दै गर्दा अरूसँग परिचय हुँदै गयो । कोही बुटवलका, कोही चितवनका । कोही पोखराका त कोही काठमाडौंंका ।
हामी पाँच/छजना भने बारा र महोत्तरीका थियौँ ।
त्यस भीडमा कोसँग परिचय गर्ने कोसँग नगर्ने ! सबैसँग परिचय गरेर पनि साध्य नहुने । त्यसैले जहाँजहाँ जोजो फेला पर्यो, त्यसरी नै परिचय हुँदै गयो ।
मैले आयोजकमध्येका एक प्रज्वल भण्डारीलाई फोन गरेँ । उनीसँग भेटघाट गरौँ, केही कुरा पनि गरौँ भन्ने लागेर फोन गरेको थिएँ । तर, उनी व्यस्त थिए । फुर्सद भएपछि फोन गर्छु भने ।
नेपाली अभिभावकहरूको भीड बढ्दै गयो । एकदुई सय गर्दै पिकनिकमा आउनेहरूको संख्या बढ्दै गयो । पछि आयोजक समितिका विक्रम सुवेदी जानकारी गराउँदै थिए, करिब साढे पाँच सयको हाराहारीमा उपस्थिति रहेको । सायद प्रज्वलले त्यसैले पनि फोन गर्न सकेनन् । त्यो भीडमा मैले पनि फोन गर्नु उचित ठानिनँ ।
त्यो जमघटमा गोठाटारका बालमुकुन्द श्रेष्ठसँग भेट भयो । उनी निस्फिक्री रमाइला रहेछन् । मेरा आत्मीय मित्र बालमुकुन्द (बाले)लाई सम्झाए । बाले पनि त्यस्तै रमाइलो छ । नामसँगै स्वभाव पनि मिलेको मलाई लाग्यो ।
सोचेँ– बीचमा केही कार्यक्रम होला । तर, तत्कालै कुनै कार्यक्रम भएन । आयोजक सदस्यहरू चिया, खाजा र खानाको प्रबन्धमा जुटिरहेका थिए ।
परिचित अभिभावकहरूको आफ्नोआफ्नो समूह बन्यो । कोही दोहोरीमा रमाउन थाले । र, त्यही दोहोरीमा अरू पनि मिसिँदै गए ।
अन्डा, चना, पाउरोटी र चियाबाट सुरु भएको खाजापछि फलफूल खानेहरूका लागि त्यसै किसिमको व्यवस्था गरिएको थियो । एकातिर कोक, स्प्राइट र जुस खानेहरू पेयका साथ थिए ।
त्यहीँ भेट भए, पाका उमेरका केशव पराजुली । उमेरले ७५/८० पुग्न लागे कि ! चितवनतिरका उनी केही वर्षदेखि यतै रहेछन् ।
छोराछोरी सबै यतै भएकाले लामो समयदेखि उनको बसोबास यतै रहेको उनी भन्दै थिए । आफ्ना नातिनातिनासँगै पिकनिकमा आएका उनी पनि रमाएका थिए ।
त्यहीँ भेटिए, एक अर्का पोखरेली मित्र । उनी केही दिनअगाडि मात्रै क्यानबेरा आइपुगेका रहेछन्, हामीजस्तै ।
पिकनिकमा आफ्नै किसिमको रमाइलो थियो । कोही दोहोरीमा रमाएका थिए त कोही तासमा । कोही तालतिर घुम्दै थिए भने कोही परिचय गर्दै गफगाफमा व्यस्त थिए ।
एकजना अभिभावक भन्दै थिए, ‘यो तालमा बोटिङ गर्न पाएको भए झनै रमाइलो हुन्थ्यो ।’
पक्कै रमाइलो हुन्थ्यो । समूहसमूह बनाएर सबै ताल भ्रमणमा रमाउँथे ।
अपराह्न ३ बजेतिर खानाको समय भएको जनाउ दिइयो । सबै खानाको लामामा बसे । कोही चोखो खाने पनि थिए । तिनका लागि फरक व्यवस्था थियो । जे होस्, कार्यक्रममा आयोजक सदस्यहरूले स्वादिलो खाना खुवाए । पेट त भर्यो, तर मन भरिएन भनेजस्तै भयो ।
पिकनिकमा जब खानपानको कार्यक्रम सकियो, त्यसपछि सुरु भयो आयोजक संस्थाको कार्यक्रम ।
यही कार्यक्रम खाना खानुभन्दा अगाडि गरेको भए राम्रो हुने मेरो मनले भन्दै थियो । त्यसो गरिएको भए आयोजक संस्थाका अधिकारी तथा अन्य सहयोगीहरूसँग पछि भेटेर कुराकानी गर्न सकिन्थ्यो । तर, त्यसो हुन सकेन ।
विक्रम सुवेदी आयोजक संस्थामा आबद्ध रहेछन् । उनी यतै क्यानबेरामै बस्दा रहेछन् । उनले नेपालबाट क्यानबेरा आएका आमाबुवा, दाजुभाइ, दिदीबहिनीबीचमा भेटघाट र चिनजान होस् भन्ने उद्देश्यले यस किसिमको कार्यक्रम पहिलोपटक गरिएको बताए ।
उनको सम्बोधनपछि पिकनिकमा सहयोग गर्ने विभिन्न संस्थाहरूलाई कदरपत्र प्रदान गरियो ।
मलाई लाग्यो, कार्यक्रममा एकजना अभिभावक छुटे । अस्ट्रेलियाका लागि नेपाली राजदूतको उपस्थिति एक अभिभावकका रूपमा हुनुपर्थ्यो । दूतावास क्यानबेरामै भएकाले उनको उपस्थितिले उपस्थित सबै अभिभावकहरूलाई ठूलो भर हुन्थ्यो ।
चिसो मौसम । खुला पार्क र तालको किनार । त्यसैले फर्किने हतारो हुन थाल्यो । विस्तारै सबै फर्किन थाले, हामीजस्तै ।
०००
दुई दिनअघि जिनेन्डेरा तालछेउमा राखिएको बेन्चमा ढाकाटोपी लगाएर बसिरहेका थिए, आरपी रेग्मी ।
ढाकाटोपीले तान्यो । नमस्कार गर्यौँ । अनि, गफिन थाल्यौँ । चितवनका उनी पिकनिकमा थिए रे !
उनीसँग कुरा गर्दा उनले यता कसरी रमाउने भनेर बताए । बितेको लामो समयदेखि उनी क्यानबेरामै रहेछन् ।
यतै रमाउनुपर्छ भन्दै रमाएका छन् । उनीसँगै उनको परिवार पनि यतै रमाएका छन् । यहाँ बसुन्जेल म पनि यसरी नै रमाउनुपर्ला भन्ने सोचिरहेको छु ।