site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विश्वकै एक सफल महिला प्रधानमन्त्रीको 'गुडबाई'

काठमाडौं । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको राजीनामाले राजनीतिक वृत्तमा एक प्रकारको तरंग ल्याएको छ । नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले जसिन्डाको राजीनामालाई नेपालका राजनीतिकर्मीहरूसँग जोडेर चर्चा गरिरहेका छन् । 

कुल ५० लाख जनसंख्या भएको टापु राष्ट्र न्युजिल्यान्ड विश्वका शक्तिशाली मानिने राष्ट्रमध्येको एक हो । शक्तिशाली मुलुकको हेन्ली ग्लोबल इन्डेक्स सूचीमा २०२३ मा न्युजिल्यान्ड सातौँ स्थानमा छ ।

जसिन्डाले अर्को महिना पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । देशका लागि धेरै योगदान गर्न नसक्ने भन्दै उनले राजीनामाको घोषणा गरेकी हुन् । जसिन्डाले आफ्नो कार्यकाल ‘चुनौतीपूर्ण’ रहेको बताउँदै आएकी थिइन् । उनले फेब्रुअरी ७ अघि लेबर पार्टीको नेताबाट राजीनामा दिनेछिन् ।

Dabur Nepal

उनको उत्तराधिकारीका लागि अब पार्टीमा चुनाव हुनेछ । करिब पाँच वर्षको उनको कार्यकालबारे तल चर्चा गरिएको छ ।

दयालु जसिन्डा

आफ्नो पाँच वर्षे कार्यकालमा जसिन्डाले न्युजिल्यान्डलाई विश्वको मानचित्रमा राख्न सफल भएकी छन् । उनी वामपन्थी राजनीति र नेतृत्वमा महिलाहरूका लागि विश्वव्यापी प्रतिमा बनेकी छन् । उनले अर्थव्यवस्था र विश्वव्यापी कोभिड–१९ का प्रतिबन्धहरूसँग संघर्ष गर्नुपरेको थियो ।

४१ वर्षीया जसिन्डाले आफ्नो कार्यकालमा धेरै क्रान्तिकारी कदमहरू चालिन् । बच्चा बोकेर संयुक्त राष्ट्रसंघको बैठकमा सहभागी भएकोदेखि मुस्लिमहरूलाई लक्षित गरेर भएको नरसंहारको विरोधस्वरूप हिजाब लगाएर विश्वको ध्यानाकर्षण गराइन् । उनले बिहीबार नाटकीय रूपमै तीन हप्ता भन्दा कम समयभित्र राजीनामा दिने घोषणा गरिन् । 

न्युजिल्यान्डको सबैभन्दा कान्छी प्रधानमन्त्रीले आफ्नो कार्यकालभर दोहोर्‍याइरहने वाक्य हो– बलियो हुनुहोस्, दयालु हुनुहोस् ।

उनको सरकारमा कमीकमजोरी पक्कै थिए । तर, ती कमजोरीहरू सहानुभूतिपूर्ण नेतृत्व र संकट व्यवस्थापन कौशलले ढाकछोप भएको रोयटर्सको टिप्पणी छ । 

सन् २०१७ मा सत्तारोहण गरेकी मनमोहक र आकर्षक व्यक्तित्वको धनी जसिन्डाले सन् २०२० विपक्षीविरुद्ध सहज जित हासिल गरेर दशकयताकै देशको पहिलो पूर्ण वाम झुकाव भएको सरकार बनाएकी थिइन् । 

मिलेनेरियन क्रिश्चियन समूहको अनुयायी आमा र पुलिस अफिसर बुवासँग हुर्किएकी उनले सन् २००० को सुरुवातमा एलजीबीटीक्यू मानिसहरूमा आफ्नो अडानलाई लिएर चर्च छोडिन् । त्यसपछि आफूलाई अज्ञेयवादी (भगवान् छ छैन भनेर स्पष्ट हुन नसक्ने) को रूपमा वर्णन गर्न थालिन् । 

धेरैले उनको गर्भावस्था र प्रधानमन्त्रीको प्रसूति बिदा महिला नेताहरूका लागि परिवर्तनको प्रतीकको रूपमा लिएका थिए । उनले महिला अधिकार र देशमा बाल गरिबी तथा आर्थिक असमानताको अन्त्यका लागि जोशका साथ अभियान चलाएकी थिइन् । 

चुनौतीको चाङमा जसिन्डा

उनको कार्यकाल अभूतपूर्व घटनाहरूको साक्षी रह्यो । सन् २०१९ मा क्राइस्टचर्चमा श्वेत सर्वोच्चतावादीद्वारा ५१ मुस्लिम उपासकहरूको नरसंहार, ह्वाइट आइल्यान्ड ज्वालामुखी विस्फोटन र विश्वव्यापी कोरोना महामारीले उनको नेतृत्वको परीक्षा लियो । 

क्राइस्टचर्चको आक्रमणलाई आतंकवादको नाम दिएकी जसिन्डाले बन्दुकधारीको नाम नलिने कसम खाँदै भनेकी थिइन्, “म तपाईंहरूलाई बिन्ती गर्छु । ज्यान गुमाएकाहरूको नाम बोल्नुहोस्, उनीहरूको ज्यान लिने व्यक्तिको नाम भन्दा पनि । ऊ आतंकवादी हो । ऊ अपराधी हो । ऊ अतिवादी हो । तर जब म बोल्छु, ऊ नामहीन हुनेछ ।”  

टाउकोमा स्कार्फ लगाएर मुस्लिम समुदायलाई भेटेकी उनले न्युजिल्यान्ड ‘दुःखको घडीमा एकजुट भएको’ सन्देश दिन सफल भइन् । घटनाको कुशलतापूर्वक व्यवस्थापन गरेकी उनले त्यतिबेला विश्वव्यापी प्रशंसा बटुलेकी थिइन् । 

उनले नरसंहार भएको एक हप्ताभित्र अर्धस्वचालित हतियार र अन्य बन्दुक नियन्त्रणहरूमा प्रतिबन्धात्क कानुन ल्याइन् । जुन अमेरिकाले दर्जनौँ हृदयविदारक सामूहिक गोलीबारीको घटनाको बाबजुद पनि अहिलेसम्म निषेधित गर्ने कानुन ल्याउन सकेको छैन ।

सन् २०२० मा उनले अनलाइनमा हुने गरेको घृणा हिंसाको अन्त्य गर्न विश्वव्यापी अभियान सुरु गरिन् । तर, उनी आफैँ प्रायः अनलाइन दक्षिणपन्थी चरमपन्थीहरूको निशाना बन्ने गरेकी छन् ।

जसिन्डाले सन् २०२० मा न्युजिल्यान्डको सबैभन्दा विविधतायुक्त संसद्को अध्यक्षता गर्दै आधाभन्दा बढी महिला सदस्य र सबैभन्दा बढी माओरी आदिवासी सांसदहरूको साथमा विश्वव्यापी हेडलाइन बनेकी थिइन् । 

कोभिड महामारी दैलोमा आएपछि देशको सीमानाका बन्द गर्ने र शून्य कोभिड रणनीति अपनाउने कम राष्ट्र प्रमुखहरूमध्ये उनी पनि एक थिइन् । जहाँ चीन अहिले पनि कोभिड नियन्त्रणमा नराम्ररी असफल भइरहँदा महामारीले उग्र रूप लिँदा समेत विकसित राष्ट्रको तुलनामा न्युजिल्यान्डको मृत्युदर धेरै कम थियो । यसको जस पनि जसिन्डाको कुशल व्यवस्थापनलाई नै जान्छ ।

तर, उनको व्यवस्थापनमा सबै खुसी पनि थिएनन् । कोभिडको एउटा मात्र केस हुँदा पनि पूरै देश लकडाउन गर्दा केही जनता रिसाएका थिए ।

अन्तर्राष्ट्रियस्तरमा लोकप्रियता बढ्दै जाँदा उनले आफ्नै देशमा भने राजनीतिक परिस्थितिहरूको सामना गर्नुपर्‍यो । संकट व्यवस्थापन र दयालु नेत्रीभन्दा पर आफ्नो नेतृत्व फैलिएको प्रमाणित गर्न उनले संघर्ष गरिरहिन् । 

हालैका महिनाहरूमा खस्किँदै गएको आवास संकट, बढ्दो जीवनयापनलागत र धितो दरहरू तथा अपराधको बारेमा बढ्दो चिन्ताका कारण उनको तेज केही घटेको छ । तर, उनी अझै आफ्ना प्रतिद्वन्द्वीहरू भन्दा लोकप्रिय छिन् ।

एजेन्सीहरूको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro