site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
ईपीएस कार्यालयमा जे देखें ! 

यतिबेला वैदेशिक रोजगारीमा जानेहरुका लागि आम्दानीका दृष्टिले दक्षिण कोरिया आकर्षणको केन्द्र बनेको छ । हालै लिन लागिएको भाषा परीक्षाको लागिमात्र १ लाख ४७ हजार जनाको आवेदन परेको छ । तीमध्ये भाषा परीक्षामा उत्तीर्ण भएर प्रतिष्पर्धामा पुग्ने १८ हजारले मात्र कोरिया जान पाउने छन् ।

परीक्षा ईपीएस कार्यालय भैँसेपाटीमा धमाधम चलिरहेको छ । सोही परीक्षाका लागि आवेदन दिएकी मेरी आफन्त नानीलाई जेठ ८ गते हुने परीक्षाका लागि परीक्षा केन्द्र देखाउन लगेको थिएँ । ती नानी काठमाडौं पहिलोपटक आएकीले मेरो घरसम्म पुग्ने बाटो र गाडीको बारेमा जानकारी नहुँदा परीक्षा अवधिभर मैले कुरेर बस्नुपर्ने भयो । त्यसैले परीक्षा नसकिउन्जेल कार्यालय अगाडिको होटलमा चियाखाजा खाँदै समय बिताएर बसिरहेको थिएँ ।
 
होटलमा अगाडिको सिफ्टमा परीक्षा दिएर खाजा खान आउनेको निकै भिड थियो । परीक्षा राम्रो हुनेहरू हाँसीखुसीका साथ गफ गर्दै खाजा खाइरहेका थिए भने परीक्षा बिग्रिएका तनामा थिए र खाजा के खाने भन्नेसमेत निर्णय गर्न सकिरहेका थिएनन् । होटलवाला साहुनीले दुईतीनपटक सोधिरहँदा पनि उत्तर दिइरहेका थिएनन् ।

लाग्थ्यो – परीक्षा पास गर्नेले संसारै जिते र फेल हुनेले संसारै हारे । परीक्षामा ४० वटा प्रश्नको उत्तर दिनुपर्ने र पास हुनलाई ३८ वटा मिलाउनुपर्ने नियम बनाइएको रहेछ । यस्तै ३७ लाई कटलाइन भनिदोरहेछ अर्थात् ३७ भन्दा तल आउने फेल हुने रहेछन् । यसरी ३८ भन्दा माथि आउने खुसी, कम आउने दुखी । 
मापदण्डअनुसार फेल हुनेहरूबीच एकआपसमा छलफल चल्दै थियो - अब कुन देश जाने ? कसरी जाने ? पैसाको जोहो कसरी गर्ने ? कुन देशमा जाँदा पैसा धेरै र छिटै कमाउन सकिन्छ ? आदिइत्यादि ।

Dabur Nepal
NIC Asia

उनीहरूको हतास, अत्तालिएको, हारेको, असन्तुलित मनःस्थिति देख्दा लाग्थ्यो – नेपालमा गरिखाने कुनै अवसर नै छैन । ठाउँ नै छैन । वातावरण नै छैन । परिस्थिति नै छैन । के वास्तवमै नेपालको अवस्था उनीहरूले सोचेजस्तै, बुझेजस्तै हो त ? गहिरिएर सोच्नुपर्ने बेला आएको छ । कतै सही ठाउँमा, सही समयमा नपरेर अवसर नपाएको हो कि खोजी नै नगरिएको पो हो ? अपेक्षा गरिएअनुसार नपाएर पो हो कि ? योग्यता र क्षमताअनुसारको काम र दाम नपाएर पो हो ? कहाँ कुरो मिलिरहेको छैन खोजी गर्नु जरुरी छ । साँच्चै अवसर नै छैन, वातावरण नै छैन वा परिस्थिति नै छैन भने राज्यले मिलाउनु जरुरी छ । 

हामीसँग अथाह प्राकृतिक स्रोत र साधन छन् । प्रशस्त जल, जमिन र जङ्गल छन् । यिनको सदुपयोग गरेर देशमा थुप्रै उद्योगधन्दा खोल्न सकिन्छ र रोजगारीको सिर्जना गर्न सकिन्छ । राज्यले स्वदेशमै रोजगारीको सिर्जना गर्ने हो र योग्यता, विज्ञता, क्षमताअनुसारको काम, माम र दामको व्यवस्था मिलाउने हो भने कुनै पनि नेपालीले विदेसिनुपर्ने अवस्था आउने थिएन । विदेसिनुपर्दाको पीडा महसुस गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गए पुग्छ । त्यहाँको कोलाहलले पुष्टि गर्छ नेपाली युवा रहरलेमात्र विदेसिएका छैनन् । जानेको आँखामा आँसु, बिदा गर्नेको आँखामा आँसु । 

अध्यागमनको विवरणअनुसार सन् २०२३ जनवरी १ देखि डिसेम्वर ३१ सम्म १ वर्षको अवधिमा ८ लाख ८ हजार ४ सय १५ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । स्थलमार्गबाट विदेश जानेको संख्या यसमा जोडिएको छैन ।

एक वर्षको यो अङ्कबाट सहजै अनुमान लगाउन सकिन्छ कति नेपाली युवा विदेशीएका छन् ? अझै पछिल्लो समयमा त विदेसिनेको संख्या दिनानुदिन बढिरहेको छ । एसईई पास गर्नासाथ २० वर्ष पनि उमेर नपुगेका कलिला केटाकेटी ईपीएसमार्फत कोरिया जाने तरखर गरिरहेका हुन्छन् । प्लस टु र ब्याचलर गर्नेको त कुरै छाडौँ । पढेलेखेकाहरू जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका विभिन्न मुलुकहरूमा जाने गरेको पाइन्छ । अनि नपढेका र जति सबै खाडी मुलुकतिर । यसरी नेपालमा कोही पनि बस्न चाहँदैनन् ।
 
र त यतिखेर गाउँमा मलामीको समेत अभाव खड्किरहेको छ । गाउँबस्ती सुनसान भएको छ । खेतीयोग्य जमिन बाँझो पल्टिएर झाडीमा परिणत भएको छ । यतिबेला बनमारा, तितेपाती, सिस्नोलगायतका बुट्यानले ढाकिएको छ । मकै, भटमास, कोदो, फापर फल्ने बारीका पाटा काँढाघारीमा भएका छन् ।

गाउँमा पात बजाएर मीठो धुन निकाल्दै गाई चराउने गोठाला छैनन् । गाउँको पहिचान बनेको असारे भाका पनि सुनिदैन अचेल ।  'कोदो रोप्दा लाएको पिरती, छुट्यो तोरी फुल्ने बेलामा’ भन्ने गीत हराएको छ किनभने न कोदो रोप्ने मान्छे छन् न त तोरी छर्ने नै । यसरी गाउँ पूरै उजाड बनेको छ ।

मलामी जाने, गोठाला लाग्ने, खेत रोप्ने, कोदो रोप्ने, तोरी छर्ने सबै श्रम योग्य पाखुरा विदेशी भूमिमा छन् । उनीहरू कतारको, साउदी अरबको ५० डिग्री तापक्रममा भेडा चराइरहेका छन् । कोरिया, मलेसियाका खेतबारीमा पो तरकारी रोप्दै, गोड्दै र टिप्दै छन् । 

कोही फलाम कारखानामा, कोही कागज कारखानामा, कोही बङ्गुर फर्ममा, कोही पोल्ट्री फर्ममा श्रमसँग, पसिनासँग पैसा साँटिरहेका छन् । त्यसैगरी कोही जापान, अमेरिका, युरोपियन देशमा आफ्नो योग्यता, विज्ञता, क्षमता, सीप र श्रम बेचिरहेका छन् । रहरले भन्दा पनि बाध्यताले । 

अझ दुःखद त चर्को ब्याजमा ऋण काढेर ठूलो सपना बोकेर विदेसिएका नेपाली छोराछोरीमध्ये कतिपय सपना तुहाएर बाकसमा फर्किएर आएका हुन्छन् । कतिले दर्दनाक यातना भोगिरहेका हुन्छन् भने कति जेलमा हुन्छन् । जेल जीवन बिताइरहेका, यातना भोगिरहेका, मृत्युदण्डको सजाय पाएकाहरू सरकार र विभिन्न संघसंस्थासँग जीवनको भिख मागिरहेका हुन्छन् । यसैबाट पनि पुष्टि हुन्छ वैदेशिक रोजगारीमा जानेहरूको जीवन कति पीडादायी छ भन्ने ।

हामीसँग भएका अथाह प्राकृतिक स्रोत र साधनको सदुपयोग गरी आफ्नै देशमा उद्योगधन्दा सञ्चालन गरेर रोजगारीको सिर्जना गरौँ र वैदेशिक रोजगारीमा जाँदा सिर्जना हुने पीडाबाट नेपाली युवालाई बचाउने काम गरौँ । गएकाहरूलाई स्वदेश फर्काउने वातावरण तयार गरौँ । उनीहरूले विदेशमा सिकेका ज्ञान, सीपलाई नेपालमा प्रयोग गरी नेपालको विकासमा टेवा पुग्ने काम गरौँ । यसैमा सबैको भलो हुनेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro