पोखरा । संसदीय चुनावमा समानुपातिक मतको अन्तर हेर्ने हो भने कांग्रेसको लागि कास्की निकै कमजोर जिल्ला हो ।
प्रदेशसभाका ६ मध्ये ५ र प्रतिनिधिसभाका तीनवटै संसदीय निर्वाचन क्षेत्र तत्कालीन वाम गठबन्धनले जितेको थियो ।
स्थानीय तह ०७४ को निर्वाचनमा पनि एक महानगरसहित चार गाउँपालिका रहेको कास्कीमा कांग्रेसले अन्नपूर्ण गाउँपालिका प्रमुख मात्र जितेको थियो ।
कास्कीमा एमाले बलियो रहेको आधार अघिल्लो निर्वाचन र त्यसका उमेदवारहरुले ल्याएको मत एउटा हो ।
तर, नेकपा एमालेको विभाजन र क्षयीकरण, एमालेभित्रका चर्चित नेताको नेकपा एकीकृत समाजवादीमा प्रवेशसहित पोखरा महानगरपालिकामा जितेको एमालेले गरेको विवादित कामहरुको कारणले अहिले कांग्रेसले एक्लै चुनाव जित्न सक्ने आधार बनाएको दाबी गरेको छ ।
यसबाहेक संगठन निर्माणमा क्रियाशीलता, टोल कमिटी गठनदेखि घरदैलोलगायतका कामहरुले पनि कांग्रेसका मतदाता थपिएको दाबी कांग्रेसपंक्तिमा छ ।
०७४ को स्थानीय तहको मतपरिणाम हेर्दा एमालेका मानबहादुर जीसीले ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए ।
माओवादीको समर्थनमा उमेदवार बनेका कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याए । १४ हजारको अन्तरमा विजयी भएका मेयर जिसीको पार्टी विभाजित बनेको छ ।
एमाले कमजोर बन्दा र गठबन्धन चुनावमा जाँदा जित हासिल पार्न सकिनेमा गठबन्धनका नेताहरु विश्वस्त छन् ।
अर्कातर्फ, भरतपुरको गठबन्धनको प्रभाव पनि पोखरामा पर्न सक्ने आकलन छ । कारण, भरतपुरमा अहिले कांग्रेसले नगरप्रमुख पाएको खण्डमा माओवादीलाई पोखरा दिने चर्चा पनि उत्तिकै छ ।
त्यस्तै, माधव नेपाल नेतृत्वको समाजवादी पार्टीको पनि पोखराकै मेयरमा दाबी छ । यसको निर्णयले केन्द्रले टुंग्याउने भएता पनि अघिल्लो चुनावको मत, इतिहास हेरेर पनि यसपटक पोखराको मेयर कांग्रेसले नै पाउने दाबी गर्छन्– कास्की कांग्रेस सभापति किशोरदत्त बराल ।
कांग्रेसले चाहिँ केन्द्रले नै तत्काल प्रत्यक्ष रुपमा कुनै पनि माध्यमबाट उमेदवारी घोषणा नगर्न निर्देशन दिएको छ । अर्कातर्फ विधानले पनि महानगरको नेतृत्व केन्द्रले टुंग्याउने भएका कारण र गठबन्धनसहित चुनावमा जाने नीतिका कारण कास्की कांग्रेसका आकांक्षीहरुले खुलस्त रुपमा म उमेदवार भनेर भन्न सकेका छैनन् ।
यद्यपी, केही आकांक्षीहरुले चाहिँ आफ्नो चाहना भने देखाएका छन् । आकांक्षीको रुपमा मिडियाहरुमा नाम आइसकेपछि सभापति बरालले आकांक्षीहरु सबैलाई बोलाएर उनीहरुको कुरा सुनेका छन् । यो दुईहप्ता अगाडिको कुरा हो । सबै आकांक्षीको कुरा सुनेपछि उनले जो उमेदवार भएता पनि एकताबद्ध भएर अगाडि बढ्नको लागि आग्रह गरे ।
आकांक्षा राख्नेमा पूर्वप्रशासकदेखि बहालवाला मन्त्रीसम्मको नाम रहेको छ ।
यी हुन् कांग्रेसबाट मेयरको लागि तयारीमा रहेका नेताहरु
विन्दुकुमार थापा : बहालवाला कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री रहेका थापाको नाम पनि पोखराको मेयरमा चर्चामा छ । गत ०७४ को प्रदेशसभा निर्वाचनमा कास्कीका ६ वटा प्रदेशसभा क्षेत्रमा विजयी हुने उनी एकमात्र कांग्रेस सांसद पनि हुन् ।
व्यापारिक पृष्ठभूमिका मन्त्री थापा पहिलो निर्वाचनमा नै कास्कीबाट विजयी भएर कास्की कांग्रेसको इज्जत राखेका थिए । कास्की २ (ख) बाट निर्वाचित थापा पोखराको मेयरमा चर्चामा छन् ।
यद्यपी उनी आफैँले भने मेयरको आकांक्षा नरहेको प्रष्टिकरण दिँदै आएका छन् । पार्टीले निर्णय गरेर चुनाव लड्न भनेको खण्डमा चाहिँ आफू पछि नहट्ने उनले बताए ।
बाबुराम आचार्य : तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको प्रशासनिक सल्लाहकारसमेत भएर काम गरेका पूर्वसचिव बाबुराम आचार्यलाई कांग्रेसवृत्तमा पोखराको मेयरको रुपमा हेरिएको छ । प्रशासनिक क्षेत्रमा उनी नापीविभागको महानिर्देशक बनिसकेका व्यक्ति हुन् भने अख्तियारको आयुक्तसम्म सिफारिस भएका थिए ।
पछिल्लो एक दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय आचार्यको सरकारी कार्यकाल विवादित रहेन । स्वच्छ छविका प्रशासकका रुपमा चिनिएका आचार्य आफ्नो प्रशासनिक अनुभवलाई पोखराको मेयरको रुपमा लगाउन चाहान्छन ।
विश्वशंकर पालिखे : पोखराका चर्चित व्यवसायी विश्वशंकर पालिखे पोखराको मेयरका अर्का आकांक्षी हुन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल ल्याउन सिंहदरबारसम्म धाउनेदेखि लिएर उज्यालो पोखरा बनाउन चीनसँग समन्वय गर्ने पालिखे अर्का बलिया दाबेदार हुन् ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य रहिसकेका पालिखे पोखराको पर्यटन विकासका लागि योगदान गरिरहने उद्यमी हुन् ।
कृष्ण केसी : कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले पनि पोखराको मेयरको लागि भित्रि लबिइङ निकै तीव्र पारेका छन् । रामचन्द्र पौडेल समूहका केसी गत संसदीय चुनावमा प्रदेशसभा १ (ख) बाट चुनाव लडेर पराजित भएका थिए ।
यसपटक उनले चुनाव लड्नकै लागि पोखरा महानगरपालिका १३ मा आफ्नो मतदाता नामावली सारेका छन् ।
किरण केसी : चर्चित व्यावसायिक घराना केसी ग्रुपका सञ्चालक, चर्चित उद्योगी सूर्यबहादुर केसीका माइला छोरा किरण केसीको नाम पनि मेयरको चर्चामा छ ।
आफ्नै बाबुले स्थापना गरेको व्यावसायिक साम्राज्यको नेतृत्व सम्हालिरहेका छन् । पछिल्लो समय राजनीतिमा सक्रिय किरण युवा उद्यमी व्यवसायीमाझ लोकप्रिय छन् । उद्योग, कन्ट्रक्सन, हाइड्रो पावर, बैंकिङलगायत क्षेत्रमा ठूलो लगानी छ ।
कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका केसीलाई नै उमेदवार बनाउनुपर्ने दबाब बढेको कांग्रेस नेताहरु बताउँछन् । लोकप्रिय युवाले नै जित हासिल गर्न सक्ने भन्दै केसीलाई उमेदवार बनाउन दबाब बढेको जिल्लाकै नेताहरु बताउँछन् ।
सरस्वती गुरुङ : अघिल्लोपटक पोखराको उपमेयरको निर्वाचन लडेकी गुरुङ अहिले मेयरको आकांक्षीमा चर्चामा छन् । उक्त चुनावमा गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन् । गत निर्वाचनपछि कांग्रेसमा आफूलाई स्थापित गर्न सफल गुरुङ प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा नजिक छन् । विपक्षीले महिला उमेदवार उठाएको खण्डमा उनले टिकट पाउने सम्भावना पनि बलियो रहेको मानिन्छ ।
आनन्दराज मुल्मी : नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुल्मी पनि पोखराको मेयरको आकांक्षीको चर्चामा छन् ।
पृथ्वनीरायण क्याम्पसमा अर्थशास्त्र प्राध्यापन समेत गरेका मुल्मी राजधानी बाहिरबाट नेपाली निजी क्षेत्रको छाता संगठनको अध्यक्ष बन्ने उनी पहिलो व्यक्ति हुन् । उनी अध्यक्ष भएकै बेलामा नेपालमा नयाँ कर प्रणाली भ्यालु एडेड ट्याक्स (भ्याट) सुरु भएको हो । मुल्मी २०३९ सालमै पोखरा नगरपालिकाको प्रधानपञ्चमा उठेका थिए ।
गणेशबहादुर भट्टराई : पर्यटन क्षेत्रमा प्रख्यात भट्टराईको लेकसाइडमा होटल र रेस्टुरेन्ट छन् । पोखराको चर्चित स्ट्रिट फेस्टिबल लगातार दुई दशकदेखि चलिरहँदा त्यसको सुरुवात भट्टराईले नै गरेका थिए । रेबान र पोखरा पर्यटन परिषद अध्यक्ष भइसकेका उनले भूकम्पपछि पर्यटन पुनरुत्थान गर्ने अभियानको नेतृत्व गरिसकेका छन् ।
सुरेन्द्र बिजुक्छे : पोखरा महानगरपालिकाका कांग्रेस सभापित विजुक्छे पनि मेयरका अर्का आकांक्षी हुन् ।
जिल्ला सभापति किशोदत्त बराल पनि आफैँमा आकांक्षी हुन् । उनले बोलाएको उक्त भेलामा व्यवसायी बिमल बसेल, कृष्ण कार्की लगायतका व्यक्ति पनि सहभागी थिए ।
२०७४ सालमा कसले कति मत प्राप्त गरेका थिए ?
मानबहादुर जिसी– नेकपा एमाले : ६०११८
रामजी कुँवर– नेपाली कांग्रेस : ४६४१६
हुमबहादुर गुरुङ– संघीय समाजवादी फोरम : ३१७०
गीता गुरुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी : २२७२
उपप्रमुख
मञ्जुदेवी गुरुङ– नेकपा एमाले : ५६४४८
सरस्वती गुरुङ– नेपाली कांग्रेस : ४४३३८
गोमा ढकाल– नेकपा माओवादी केन्द्र : ८७९६
रमेश बहादुर खत्री– राष्ट्रिय प्रजातन्त्र पार्टी : २८४०