site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गढी–६ मा उपनिर्वाचन, मतदाता आफ्नै काममा व्यस्त

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ की ३० वर्षीया ममता साह खेतमा धान काट्दै थिइन् । विभिन्न पार्टीका नेता मत माग्नका निम्ति घरदैलो कार्यक्रम गरिरहेका बेलामा साह आफ्नै काममा व्यस्त थिइन् ।

उनीजस्तै गढी–६ कै ५० वर्षीया रोना साह धान काट्नमा नै व्यस्त थिइन् । यही मंसिर १६ गते गढी–६ मा वडाध्यक्ष पदका निम्ति हुने उपनिर्वाचनका विषयमा उनलाई खासै मतलब थिएन । उनीहरू गढी–६ का प्रतिनिधि पात्र मात्र हुन् ।

कोही ज्याला मजदुरीमा त कोही सानोतिनो व्यापार–व्यवसाय गरेर दैनिक गुजारा टार्दै आएकाले सोही काममा व्यस्त हुने गरेको स्थानीय मतदाता अञ्जुदेवी साहले बताइन् । “चुनावले घरखर्च चलाइदिँदैन, त्यसका लागि काम गर्नैपर्‍यो । चुनावका दिन जाऊँला, कुनै एकजनालाई मतदान गरौँला,” उक्त क्षेत्रकी मतदाता अञ्जु साह भन्छिन् । प्रायः मतदाता घरमा नभेटिने गरेको र चुनावप्रति धेरै चासो नरहेको पाइएको छ ।

मतदाता घरमा नभेटिँदा चुनावी प्रचारप्रसारमा हिँड्ने उमेदवार र नेतालाई समस्या भएको छ । कसको पक्षमा नतिजा जान्छ भन्ने ठम्म्याउन पनि कठिन भएको छ ।

वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा गढी–६ मा नेकपा (एमाले)का षडानन्द उराँवले जितेका थिए । उनले ७१२ मत ल्याएका थिए । उनको निधनपछि यस वडामा पुनः चुनाव हुन लागेको हो ।

गत चुनावमा नेकपा (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले ४२४ मत ल्याएर दोस्रो स्थान ओगटेका थिए । नेपाली कांग्रेसका तिलेश्वर चौधरी ४१६ मतका साथ तेस्रो स्थानमा थिए ।

जनता समाजवादी पार्टीको साथ पाएको माओवादी केन्द्र यसपटक जसरी भए पनि गढी–६ मा जित निकाल्ने कसरतमा छ । गढी–६ मा यसपटक माओवादी केन्द्रबाट कुशेश्वर खेरवार, कांग्रेसबाट तेतर साह र एमालेबाट सन्तु उराँव चुनावी मैदानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविताकुमारी उराँव, जनमत पार्टीबाट सीताराम यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशीकुमार साह चुनावी मैदानमा उत्रिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार, उक्त वडामा एक हजार ८७३ पुरुष र एक हजार ७४९ महिला मतदाता छन् । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro