पोखरा । ‘उनले आफैंलाई जितिन् । आफूलाई जित्नु नै सबैभन्दा ठूलो जित हो’– दार्शनिक प्लेटोले भनेथे ।
उनी त दार्शनिक थिए, तर उनले त्यसलाई व्यवहारमा उतारिन् । हाम्रो कानूनले उनको उमेरको अंक हेरेर नाबालिग भन्यो । तर, उनी परिपक्व बनेकी छन् । उनी अब नाबालिगमात्रै होइनन्, एक योद्धा हुन् ।
अघिल्लो हप्तासम्म दमौलीको सडकमा उनीविरुद्ध प्रदर्शित त्यो हजारौँको भीडले नाराबाजी गरिरहँदा उनले त्यसलाई अंक मात्र सम्झिइन् । एउटा अबुझ भीडको संज्ञा दिइन् । अहिले त्यो भीड साम्य छ । लुकेको छ । उनले त्यो भीडलाई सामना गर्ने हिम्मत देखाइन् र त उनी योद्धा बनिन् ।
दमौलीका सडकमा पीडकको पक्षमा उर्लिएका र पीडितलाई लगातार शब्दवाणले हानिएका ती निशानाहरुलाई उनले मोडेकी छन् । उनको विरुद्धमा लगाइएका अनेकौँ लाञ्छना र चरित्रहत्याका ती असफल प्रयासलाई उनले परास्त गरिन् ।
पीडित किशोरी आफूमाथि भएको हिंसाको बारेमा बोल्न हिचकिचाउँदिनन् । त्यो हिंसाविरुद्धको कानूनी लडाइँमा उनी लागेकी छन् ।
महिला हाँस्यो कि नास्यो भन्ने समाज र पुरुषवादी सोचाइको हैकम भएको गाउँलाई उनले जितिन् ।
उनी जित्नुपूर्व कति सहिन्, के सहिन् सिर्फ उनलाई थाहा छ । त्यो नासमझ समाजमा उनलाई सुरुमा कसैले बुझेनन् । त्यसमाथि समाजको संकीर्ण सोचाई त छँदै थियो ।
गायकीले उनले चिनाएको त्यो समाज र उचाइमा पुर्याएको त्यही समाजका मान्छेहरुले उनको पीडा बुझेनन् । समाजको के कुरा चार दिवारभित्र रहने उनका बा आमाले त सुरुमा बुझेनन् ।
त्यो सामाजिक परिवेशको लक्ष्मण घेरा नाघ्ने हिम्मत गर्दा नै उनी योद्धा बनिसकेकी थिइन् । आफूमाथि भएको त्यो मानसिक पीडा र शारीरिक हिंसाबारे न उनले कसैलाई भन्न सकिन्, न सुनाउन नै ।
हो, पीडितले विद्रोह गर्छन् । यो हर इतिहासको प्रमाण हो ।
उनको प्रेम मात्र मरेको थिएन, जसलाई सबैथोक ठानेकी थिइन्, तर, उसले नै खेलौनाको व्यवहार गरेपछि उनी न्यायको खोजी गर्न थालिन् । आफूमाथि घात भएको उनले ८ महिनाअघि नै थाहा पाएकी थिइन् । आफ्नो शारीरिक शोषणपछि सम्पर्कविहीन भएका पल शाहले अर्कै ‘गर्लफ्रेन्ड’ भएकाले बिहे गर्न नसक्ने र ‘जे भयो बिर्स’ भन्ने अभिव्यक्ति दिएपछि उनी बेचैन बनेकी थिइन् ।
तर, कसलाई सुनाउनु, के भनेर सुनाउनु ?
उनले आफ्नै मनलाई सम्झाइन् । रातभरि रोइन्, खाना खाइनन् । न्यायिक प्रक्रियामा गएपछि न्याय पाइन्छ कि पाइँदैन भन्ने उनको मनमा शंका थियो । जे होला, उनले ठानिन्, “अब कानूनी लडाइमै जान्छु, पछि हट्दिन ।”
अहिले तनहुँ र नवलपुरमा उनले आफूमाथि, ‘नाबालिग जबर्जस्ती करणी’ मुद्दा दर्ता गराएकी छन् । नाबालिग उनलाई हिंसा गर्ने पूर्णविक्रम शाह (पल) अहिले हिरासतमा छन् । दुवै जिल्लाका प्रहरीले उनीमाथि भएको हिंसाको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
तर, यो प्रक्रियामा आइपुग्नुअघि उनी कैयौँपटक विचलित भएकी छन् । सुरुमा उनलाई परिवारले नै रोक्यो, पीडक पक्षबाट आश्वासनहरु आए, उनले नमानेपछि परिवारलाई पनि सोही आश्वासन दिइयो ।
अन्ततः जब परिवारले आफ्नी छोरीमाथिको हिंसा बुझ्यो, उनलाई बलियो साथ मिल्यो । अनि, फागुन ११ गते तनहुँ प्रहरीमा मुद्दा दर्ता भयो ।
गाउँमा भैँसी पाल्ने र कृषिकर्म गरेर बसेका बुबाआमा र उनको मनमा एउटै डर अनि शंका थियो, “उ ठुलो मान्छे हो, उसैका धेरै मान्छे छन्, न्यायको लडाईँ जितिन्छ त ?”
हुन पनि फागुन ११ गते मुद्दा दर्ता भएता पनि पाँच दिनसम्म पल शाह फरार थिए । पाँचौंदिन जब उनले आत्मसमर्पण गरे, त्यसपछिको हप्ता दिनहुँ दमौलीमा शाहको पक्षमा नाराबाजी गर्न थाले ।
त्यो भीड र जमात देखेर उनीहरुले फेरि सोचे, “उसैका मान्छे धेरै रहेछन् ।”
युट्युब र सामाजिक सञ्जालभरि पीडितमाथि अनेकौँ लाञ्छना लगाइए । कतिसम्म भने ‘हार्दिक श्रद्धाञ्जलीसम्म’ लेखिए, चल्तीका अभियन्तादेखि नायिकाहरुले पनि पीडकको गल्ती नभएको भन्ने खालका अभिव्यक्ति दिए । समाजमा पनि उस्तै टिकाटिप्पणी चले ।
दिनहुँ युट्युब हेर्ने पीडितकी आमा भन्छिन्, “युट्युब हेर्न सकिन, एक हप्तासम्म म खाना खाइन, रोएर बिताएँ ।”
पीडितको हालत पनि उस्तै थियो ।
११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चिता’ नाराका साथ मनाउँदै गर्दा चल्तीकी नायिकाले बलात्कारको परिभाषा नबुझेको भनेर अभिव्यक्ति दिएकी थिइन् ।
पीडितको पीडामाथि पीडा थप्ने अभिव्यक्ति आएका कारण, कथित अभियन्ताहरुको पीडकको पक्षमा सक्रियता, कानूनको बर्खिलापमा उनको सामाजिक सञ्जालमा चरित्रहत्या । उनी निकै मानसिक तनावमा परेकी थिइन् ।
लगातारको मनोपरामर्श, उनका बाबुआमालाई लगातार सम्झाइबुझाई गरेपछि उनको परिवार उजुरी दिन तयार भएको हो ।
माघमा पहिलोपटक कानूनी प्रक्रिया बुझ्न पीडित बालिका जिल्ला प्रहरी कार्यालय कास्कीमा एक्लै गएकी थिइन् । उनले कास्की प्रहरीलाई आफूमाथि पटकपटक करणी भएको र त्यसपछि मानसिक हिंसा भएको सुनाइन् ।
नाबालिग बालिकाले गम्भीर प्रकृतिको हिंसाबारे सुनाएपछि आफूहरुले अभिभावक लिएर आउन भनेको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए ।
तर, परिवारले सुरुमा आउन मानेन । लगातार फोनमार्फत् सम्झाइबुझाई गरेपछि तीन दिनपछि मात्रै पीडितका अभिभावक प्रहरी कार्यालयमा आइपुगे । तर, मुद्दामामिला गर्ने विषयमा उनीहरुको असहमति रह्यो ।
एसपी थापा भन्छन्, “हामीले लगातार चार घण्टासम्म उहाँहरुलाई सम्झाइबुझाई गर्यौँ, हिंसाबारे डेमोसहित बुझायौँ, त्यसपछि बल्ल उहाँहरु तयार हुनुभयो ।”
बालिकाले प्रहरीमा आफूमाथि हिंसा भएको बताएता पनि पोखराको घटनाको हदम्याद भने नाघिसकेको थियो । बाल यौन दुरुपयोग मात्रैको मुद्दा कमजोर हुने भएको र तनहुँ तथा नवलपुर घटनाको हदम्याद नसकिएपछि यी जिल्लामा नै मुद्दा दर्ता गराउन प्रहरीले जिल्ला न्यायधिवक्तासँग राय लियो ।
तनहुँमा जाहेरी दिने विषयमा सुझाव आएपछि कास्की प्रहरीले तनहुँ प्रहरीका डीएसपी युवराज खड्का र अनुसन्धान अधिकृत नरहरि अधिकारीलाई नै पोखरा बोलायो ।
कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारी भन्छन्, “हामीले जानकारी मात्र गराइदिएको भए पनि हुन्थ्यो, तर, मुद्दाको प्रकृति हेरेर हामीले उहाँहरुलाई बोलायौँ, अनि पीडित र उनका आमाबुवासँग नै छलफल गर्यौँ ।”
तनहुँको दुलेगौँडामा ०७८ वैशाख १४ गते जबर्जस्ती करणी भएको थियो । सोही वारदातस्थलका आधारमा मुद्दा स्थापित गर्न सहज हुने भनेर तनहुँमा जाहेरी दिने तयारी भयो । अधिवक्ता टंक पौडेलले जाहेरीको मस्यौदा तयार गरे ।
तर, घरमा नै आउने, उमेर पुगेपछि विवाह गर्छु भनेर भनेका कारण परिवारको मन दोधारमा नै थियो । त्यही दोधारले गर्दा माघ ९ गते तनहुँ प्रहरीमा जाहेरी दिन पुगेकी पीडितकी आमाले त्यसदिन दर्ता रोकिन् ।
दर्ता गर्ने क्रममा नै उनलाई पलशाह पक्षबाट फोन आयो । फोनमा भनिएको थियो, “जाहेरी दिए दुवैको करियर सकिन्छ ।”
पीडितका बुवाले हस्ताक्षर गरेनन् । असइको सुरक्षामा कास्की प्रहरीले पीडितसहित उनका बुवाआमा र अधिवक्तालाई तनहुँ पठाएता पनि जाहेरी दर्ता भएन ।
उनीहरु फर्के ।
भोलिपल्टै पल शाह सञ्चारकर्मीसहित पोखरा आए । छलफल गरे । पलले उही पुरानो आश्वासन दिए, “अहिले उमेर पुगेको छैन, उमेर पुगेपछि विवाह गरौँला, मुद्दा मामिलामा नफसौँ ।”
परिवारले सोच्यो होला त नि ! अहिलेलाई रोकौँ ।
तर, काठमाडौँ फर्केपछि पल शाहले फेरि बेवास्ता गर्न थाले ।
पीडित बालिकासँग सम्पर्क नभएको त धेरै नै भएको थियो । बालिकाले सम्पर्क गर्न खोज्दा उनी बेवास्ता गर्थे, अनि बालिकाकी आमालाई फोन गरेर भन्थे, “उनी कता छन्, मेरो फोन नै उठाउँदिनन् ।”
उनको यो दोहोरो चरित्र बुझेपछि बुबा पनि झोँक्किए । “प्रेमको नाटक गरेर मेरी छोरीलाई खेलौना बनाएपछि मलाई रिस उठेको हो,” उनले भने ।
माघ ९ पछि दुईपटक उनीहरुबीच छलफल भयो । तर, उनले एउटै कुरा दोहोर्याउँथे, अनि सम्पर्कविहीन हुन्थे ।
“पछिल्लोपटक त लिखित नै गर्ने भन्ने पनि भएको थियो, तर उहाँले (पल) लिखित गरेपछि माया हुँदैन, मलाई विश्वास गर्नुहोस् भन्नुभयो, हामीले होला त नि भन्यौँ,” बालिकाकी आमाले भनिन् ।
उनको दोहोरो भूमिका खेलेर झुलाउने चाल बुझेपछि दोस्रोपटक फागुन ११ गते परिवार तनहुँ प्रहरीमा पुगे । बालिकाका बुबाले जाहेरी दिए । उनीहरुलाई आइरहेका लगातार फोनहरु जाहेरी दर्तापछि आउन छाडेका छन् ।
जाहेरी दर्तापछि उनीहरुले दमौलीमा जे देखे, त्यसलाई पचाइसकेका छन् । भीड आफैँ पछि हटेको छ । चरित्रहत्या गरि राखिएका अनेकौँ दृश्यहरु हटाइएका छन् ।
उनीहरुलाई कास्की प्रहरीले लगातार सम्पर्क गरिरहेको छ, आवश्यक परामर्शदेखि सुरक्षा दिएको छ ।
“हामीलाई हिम्मत दिएकै कास्की प्रहरीले हो, अब छोरीको न्यायको लागि लड्छौँ, पछाडि हट्दैनौँ,” बालिकाका बुबाले भने ।
समाजको बुझाई पनि फेरिएको छ । कानूनी प्रक्रियामा गइसकेपछि कानूनकै बर्खिलापमा पीडितलाई पीडा थप्नेहरु साम्य भएका छन् ।
युट्युब हेर्न नसक्ने अवस्थामा पुगेकी बालिकाकी आमा छोरीमाथि भएको हिंसाबारे लड्न तयार छन् । उनलाई समाजले के भन्छ भन्ने परवाह अब छैन ।
पीडित बालिका झनै निश्चिन्त छन् । आफूमाथि हिंसा गर्नेले सजाय पाउनेमा उनी विश्वस्त छन् । आफूमाथि भएको पीडाबारे बोल्दा करियरलाई केही असर नगर्नेमा उनी ढुक्क छन् ।
“म काठमाडौं फर्किनेछु, र गायनमा नै केन्द्रित हुनेछु, मेरो करियर अगाडि बढ्नेछ, म ढुक्क छु,” उनी भन्छिन् ।
करियर बिग्रन्छ भन्ने धम्की दिएर गरिएका शोषणका धेरै घटनाहरु अब बाहिर आउने र आफू त्यसको पक्षमा सधैँ लड्ने उनको प्रतिबद्धता छ ।
रविकुमार सिंदलले लेखेको एउटा पुस्तक छ, “अहंस्मि योध :”, जसको अर्थ हुन्छ, म एक योद्धा हुँ ।
त्यसमा लेखिएको छ, “हर मान्छेमा एक योद्धा लुकेको हुन्छ, जरुरत त त्यसलाई जगाउनको छ । बलशाली व्यक्तिमात्रै योद्धा हुँदैन । जोसँग नैतिकताको बल हुन्छ, असली योद्धा त्यो नै हो ।”
हो– उनी योद्धा बनेकी छन् ।