काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले वितण्डा मच्चायो । बस्ती, खेत, बजार वगरमा परिणत भए । मंगलबार साझँबाट आएको बाढीको बहाब घटेको छैन् । बाढीले तिम्बु, किउल, चनौटे ग्याल्थुम, मेलम्चीमा ठूलो क्षति भयो र क्षतिको क्रम जारी पनि छ । बाढीमा परी ७ जना मानिस बेपत्ता भएका छन् ।
बाढीको क्षतिबारे जानकारी लिन सभामुख अग्निप्रसाद सापकोटा बुधबार मेलम्ची पुगे । उनले त्यहाँँको अवस्थाबारे जानकारी लिए र सहयोगको प्रतिबद्धता गरेर फर्किए ।
मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्यालले त्यहाँको अवस्थाबारे सभामुखलाई जानकारी गराएका थिए ।
उनले बाढी गतिले मेलम्ची नरहने खतरा रहेको बिफ्रिङ गरे– “यो जुन ढङ्गले बढी रहेको छ । यस हिसाबले मेलम्ची बजार बाँकी रहन्छ भन्ने नै देखिदैन । तर, खोलाको बहाव कसरी जान्छ त्यसमा भरपर्छ,” उनले भने ।
अर्यालले त्यसपछि भएको संक्षिप्त कार्यक्रममा हिजोदेखिको घटना र आगामी योजनाबारे सुनाए (उनकै शब्दमा)ः
“सबैभन्दा पहिले मेलम्चीघयाङमा जाने पुल बगायो । त्यसपछि क्रमशः तलका पुलहरू, झोलुङ्गे पुलहरू बगायो । मेलम्चीबजार डुब्दै गयो । खोलाका दायाँबायाँका खेत, गोठ, भैँसी, गाई सबै बगाएर लगेको छ । अत्यन्त ठूलो विपद् आइलाग्यो ।
हामीले धेरैले रातभर निरन्तर सुचना गर्ने र सचेत गराउने काम गर्याैँ । नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेनाले निरन्तर सचेत गराउन र सुरक्षित ठाउँमा बस्नका निम्ति आग्रह गर्नुभयो । इन्द्रेश्वरी माविलाई आश्रयस्थल बनाउने निर्णय गर्याैँ। त्यहाँ भएका मानिसलाई लगेर राख्यौँ । खाना बनाएर खुवाउन सम्भव भएन । चिउरा दालमोठ, चाउचाउ बिस्कुट जे–जे पाउन सकिन्छ खुवायौँ । घरमा फसेका मानिसहरूलाई उद्धार गर्नका निम्ति बिहान गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यलयसँग हेलिकप्टर माग गर्याैँ । काठमाडौंको आकाश सबैरे खुलेन । जसका कारण ढिलो भएपनि हेलिकप्टर आयो र मानिसलाई उद्धार गर्याैँ ।
हामीले बेलुकीका लागि तीन सय जनालाई इन्द्रेश्वरी माध्यामिक विद्यालय र तीन सयलाई नेपाली सेनाको ब्यारेकमा व्यवस्थापनका लागि सल्लाह गरेका छौँ । मेलम्ची नगरपालिकामा हेल्प डेस्क बनाएका छौँ ।
हाम्रो मुलुकमा मात्रै होइन कोभिडले आक्रान्त पारेको छ । यस बेलामा जुन खालको जमघट बढेको छ यसले कोभिड बढाउने आशंका गरेका छौँ । स्वास्थ्यका निम्ति हेल्प डेस्क बनाएर अघि बढाउने काम सुरु गर्न भनेका छौँ । मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी गाउँपालिकामा विपद् आएको छ । विपद्मा एकलेअर्कालाई सघाउने परम्परा रही आएको छ । त्यसैले हामी समुदायमा रहेका समाजसेवी, सामाजिक अभियन्ताहरू, व्यवसायीहरू सबैलाई सहयोगको निमित्त आग्रह गर्न चाहन्छौँ । संघ र प्रदेशबाट आशा गछौंँ । मेलम्ची निरन्तर डुबिरहेको हामी आतंकित पनि भएका छौँ ।
हामी पुनर्वास गर्नु पर्न अवस्थामा पनि पुगेका छौँ । त्यसैले तत्कालका निम्ति राहत र त्यसपछि पुनःस्थापनाका निम्ति योजनाबद्ध ढंगले बढ्नु आवश्यक छ ।”
किन यस्तो भइरहेको छ ? जवाफ खोज्नुपर्छ
सभामुख अग्नीप्रसाद सापकोटाले अहिलेको अवस्था आउनुको कारणबारे खोजी गर्नुपर्ने बताए । उनले त्यसका लागि आफू काठमाडौं फर्कनेबित्तिकै पहल गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
उनले भनेका छन्– “मेरो दिमागमा निकै प्रश्नहरू छाल जसरी नै आइरहेको छ । किन यस्तो भइरहेको छ ? यस्तो हुनुको पछाडीको कारण के हो ? मेलम्ची खानेपानीमा केही भएको छ कि ? अरू नै प्राकृतिक रूपमा भएको छ कि अनुमान गरिएका छौँ । यो हेर्दा के लाग्छ भने सामान्य छैन । यो असामान्य र असाधारण छ ।
तत्कालका लागि किन यस्तो भएको छ । यो अध्ययन अनुसन्धान गर्नुपर्छ । यो अध्ययन अनुसन्धानमा मैले नै काठमाडौं फर्किसकेपछि आवश्यकता अनुसार प्रधानमन्त्री लगायत अन्यसँग पनि कुरा गरेर... । विज्ञ विशेषज्ञहरूले नै के भएको हो यथार्थता पत्ता लगाउने कुरा... ।”
बाढीको निरिक्षणका लागि सभामुख, मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सांसद लगायत मेलम्ची पुगेका थिए । मेलम्चीमा भेटिएका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले बाढी रोकिएपछि पुननिर्माण गरिने बताए ।
बाढीले पुर्याएको क्षति र भावी योजनाबारे उनले यसरी ब्रिफिङ गरे– “मेलम्चीमा हिजो बेलुकीदेखि अकल्पनीय बाढी आइरहेको छ । हेलम्बुको नाखोते चौकीपुलभन्दा ५ सय मिटरमाथि पहिरो गएको छ । त्यो पहिरोले खोला थुनिने, बग्ने फेरि थुनिने भइरहेको छ । पहिरो र बाढीका कारण मेलम्ची खानेपानीको हेडवार्ड, तिम्बुको पुल, हल्दे पुल, चनौटेको पुल (लाने अवस्थामा छ), खट्टे पुल, मेलम्ची पुल बगाइसेको अवस्था छ । धेरै भौतिक क्षति भएको छ । मेलम्ची बजारमा सबैभन्दा बढी प्रहार भएको छ । बजारको आधि भाग खोलाले डुबाइसकेको छ । चनौटे बजार एकदमै जोखिम अवस्थामा रहेको छ । नदी किनाराका सम्पूर्ण संरचनाहरू ध्वस्त भएका छन् । केही माछा फार्म बगाएको छ । यो अवस्था हेर्दा अरबौँको क्षति भएको छ । अब टेन्ट, खाद्यान्नको व्यवस्था हुँदैछ । खोला घटिसकेपछि भत्किएका संरचनाको पुन म्यापङि गर्छौँ । नाप्ने काम सुरु हुन्छ । कति क्षति भयो त्यसको पुनःनिर्माण हुन्छ ।”