site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी हुन् नेपालका वर्षा ‘पकेट क्षेत्र’, जहाँ प्रिमनसुन र पोस्ट मनसुनमा पनि पर्छ पानी
फाइल तस्बिर ।

काठमाडौं । मनसुनबाहेकका सिजनमा सामान्यतः कोसी, वाग्मती र गण्डकी प्रदेशमा अरू क्षेत्रको तुलनामा बढी वर्षा हुन्छ । यी तीन प्रदेशका पनि केही स्थानमा अरू क्षेत्रको तुलनामा बढी वर्षा हुन्छ ।

कोसीको संखुवासभा, गण्डकीको कास्कीको लुम्ले र आसपासका केही क्षेत्र र वाग्मतीका दोलखाको जिरी, सिन्धुपाल्चोक र रसुवाका केही भूभागमा अरू स्थानमा भन्दा बढी वर्षा हुने गरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने बताउँछन् ।

प्रिमनसुन र पोस्ट मनसुनको समयमा यी क्षेत्रमा अरू भूभागको तुलनामा वर्षा बढी हुने गरेको महाशाखाका अर्का मौसमविद् मीनकुमार अर्यालको भनाइ छ । 

स्थानीय वायु धेरै सक्रिय रहने ठाउँमा बढी वर्षा हुने गरेको हो । तर, स्थानीय वायु सक्रिय हुँदैमा वर्षा हुन्छ नै भन्ने हुँदैन । “जहाँ जलवाष्पयुक्त वायु धेरै हुन्छ, त्यहाँ स्थानीय प्रणाली सक्रिय हुँदा ती स्थानमा वर्षा हुन्छ,” मौसमविद् अर्यालले बाह्रखरीसँग भने ।

ताल, नदी तथा पानी धेरै भएको स्थानमा वर्षाको सम्भावना बढी हुने उनले जानकारी दिए । “जहाँ तालतलैया र नदी धेरै छन्, त्यहाँ हपक्कै गर्मी भएको अवस्थामा स्थानीय वायु सक्रिय हुँदा पानी पर्छ,” उनले भने, “गर्मीले जलवाष्पयुक्त वायु बनाउँछ । र, स्थानीय प्रणाली सक्रिय हुँदा पानी पर्छ । यस्तो अवस्था सामान्यतः प्रिमनसुन र पोस्ट मनसुनमा हुन्छ ।” अरू सिजनमा भने यस्तो हुँदैन ।

हिमाल, अग्ला पहाड र जंगलले ‘ब्लक’ गरेको खण्डमा त्यसको कुनै ठाउँविशेषमा वर्षा हुने गरेको मौसमविद् बताउँछन् । “जलवाष्पयुक्त वायु बनेर स्थानीय प्रणाली विकास भयो र त्यसलाई हिमाल र पहाडले ब्लक गर्दा त्यसलाई छिचोलेर अर्कोपट्टि जान नसक्दा त्यस्तो हिमाल र पहाडका अगाडितिर वर्षा हुन्छ,” मौसमविद् अर्यालले भने, “यही भएर लुम्ले, जिरी, संखुवासभा क्षेत्रमा अलि बढी वर्षा हुने भएको हो ।”

सामान्यतः प्रिमनसुन र पोस्ट मनसुनमा कम वर्षा हुन्छ । जल तथा मौसम विज्ञान विभागले जारी गर्ने दैनिक बुलेटिनमा हरेक दिनजसो कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना पूर्वानुमान गरिएको हुन्छ ।

मार्च, अप्रिल र मे तीन महिना प्रिमनसुन अवधि हो । पोस्ट मनसुन अवधि अक्टोबर र नोभेम्बर हो । जुनदेखि सेप्टेम्बरसम्म चार महिना मनसुन अवधि मानिन्छ ।

महाशाखाकै अर्का मौसमविद् प्रतिभा मानन्धरका अनुसार, पोस्ट मनसुन सकिएपछि विन्टर सिजन (जाडो महिना) सुरु हुन्छ । डिसेम्बर, जनवरी र फेब्रुअरीलाई जाडो महिना भनिन्छ ।

नेपालमा सबैभन्दा सुक्खा महिना नोभेम्बर हो । यहाँ नोभेम्बरमा सबैभन्दा थोरै पानी पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro