site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तनहुँ–१ मा एमाले आकलन : स्वर्णिमले कांग्रेसको मत काट्दा हामी अघि जान्छौँ 

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दलहरू चुनावी अभियानमा जुटिसकेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा पनि उपनिर्वाचनको चटारो छ । 

दलका नेताहरू घरदैलो र चुनावीसभामा लागेका छन् । तनहुँ–१ मा नेकपा (एमाले)का उमेदवार सर्वेन्द खनाल, सत्ता गठबन्धनका साझा उमेदवार गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णीम वाग्लेको चर्चा छ । चुनाव आफ्नो पक्षमा पार्ने प्रयासमा उमेदवारहरू सक्रिय छन् ।  

मंसिर ४ मा भएको चुनावबाट निर्वाचित कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । 

मतदातालाई आफ्नो पक्षमा ल्याउनका लागि नेकपा (एमाले)का उमेदवार खनाल चुनावी घरदैलोमा व्यस्त छन् । चुनावी कमान्डरको रुपमा एमालेले पार्टी स्थायी कमिटी सदस्य किरण गुरुङलाई तोकेको छ । गुरुङ यो क्षेत्रमा चुनाव जित्ने सुनिश्चितता रहेको दाबी गर्छन् । एमालेका चुनावी कमाण्डर गुरुङसँग उपचुनावकाबारे गरिएको कुराकानी :

पार्टीले तपाईंलाई चुनावी कमाण्डर तोेकेको छ । उपचुनावको तयारी के कसरी भइरहेको छ ?

विशेषगरी दुईवटा टोली निर्माण भएको छ । एउटा नेतृ भगवती न्यौपानेको नेतृत्वमा निर्वाचन क्षेत्र मूल समिति गठन गरिएको छ भने अर्को मेरो नेतृत्वमा हाइकमाण्ड टोली बनेको छ । 

पार्टीको कार्यकर्ता परिचालन गरेर उनीहरूमा केन्द्रित रहने, योजना बनाउने, कार्यान्वयन गर्ने, राजनीतिक व्यक्तिहरूसँग भेटघाट कुराकानीमा केन्द्रित हुनेगरी मेरो नेतृत्वको टोली अघि बढ्ने तयारी छ । अर्को टोली उमेदवारसँगै घरदैलो अभियानमा रहन्छन् ।

त्यस्तै, यसअघि उठेका उमेदवारहरू, निर्वाचन जितेकाहरू आ– आफ्नै हिसाबले लाग्ने गरी तयारी भइरहेको छ । घरदैलो र चुनावीसभा हुन्छ । बन्दीपुर गाउँपालिकामा घरदैलो गरिसकेका छौँ । 

चुनावी अभियानमा लाग्दा पार्टीको अवस्था कस्तो पाउनुभयो ? 

अहिले पहिलेको भन्दा धेरै राम्रो अवस्था छ । पहिलेचाहिँ आमरुपमा बुझ्दा पनि गठबन्धन अघि छ भन्ने बुझाई हुन्थ्यो ।

अहिले बाहिरबाट पनि कसले जित्छ, जित्छ भन्ने आँकलन सुरु भएको छ । त्यो हाम्रो लागि अनुकूल स्थिति हो । 

मंसिर ४ को चुनावमा एमाले पाँच हजार बढी मतले पराजित भएको थियो । अहिले नै अवस्था कसरी सुध्रियो त ? 

चुनावपछि पार्टीले ग्रासरुट अभियान चलायो । ग्रासरुटले निकै फाइदा भयो । पार्टीका बैठक राख्ने, टोलसम्म जाने काम भइरहेको थियो । त्यसले पार्टीलाई चुस्तदुरुस्त बनाउने, चलायमान बनाउने काम भयो । त्यसले चुनावी अभियानमा धेरै सहयोग पुगेको छ । 

त्यस्तै, यस्तो वातावरण बनेको एउटा कारण स्वर्णीमले कांग्रेस त्यागेर उमेदवार बन्नु पनि हो । यसले नेपाली कांग्रेसको मत काटिने अवस्था बनेको छ । 

गठबन्धनको कहिँ पनि उमेदवार छैन । पहिलेजस्तो गठबन्धनलाई बलियो बनाएर जिताउनैपर्छ भनेर लागेको देखिँदैन । समाजवादी पनि गठबन्धन जिताउनुपर्छ भन्ने पक्षमा देखिँदैन ।

स्वतन्त्र उमेदवार बनेका गोविन्द जोशीको पनि त्यस्तो अवस्था छैन । भोट विभिन्न हिसाबले बाडिँन्छ । अर्थात् यहाँ पहिलाको मत गठबन्धनमा जाँदैन । यसले पनि हाम्रो स्थिति सुदृढ देखिएको  छ ।

तपाइँले गठबन्धन नै छैन भन्नुभयो । गठबन्धनका प्रमुख नेताले संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेसका उमेदवारलाई जिताउन  निर्देशन दिएका छन् नि !

गएको चुनावमा माओवादीको पनि उमेदवार थिए । उनीहरूले पनि सक्रिय रुपमा लागेर उमेदवारलाई भोट हाल्ने स्थिति बन्थ्यो । अहिले त माओवादी र समाजवादीको उमेदवार छैन । केन्द्रबाट त पार्टीगत हिसाबले साझा गठबन्धनका उमेदवार भन्नेछ । तल त जसरी पनि जिताउनुपर्छ भनेर लागेका छैनन् ।

त्यहाँ रास्वपाका उमेदवार पनि छन् ।  मंसिर ४ को चुनाव २० सिट जितेको रास्वपाको बहावले असर गर्दैन र ? 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विषयमा हामीले पहिले केही बोलेनौं, वास्ता नै गरेनौं । चुनावमा अचानक मत देखियो । अहिले रवि लामिछानेकै दोहोरो नागरिकता, पासपोर्टको कुरा आयो ।  

रविलाई राज्यले साँच्चै अन्याय गरेको हो कि, लखेट्ने खोजेको हो भन्ने थियो । सर्वोच्चको निर्णयपछि उनलाई भोट हाल्ने आम वौद्धिक जनमानसमा छर्लंग भएको छ । हिजो भोट हाल्ने मान्छे रास्वपालाई भोट हाल्ने पक्षमा छैन । 

अहिले नयाँनयाँ काण्ड बाहिर पनि आइरहेको छ । नयाँले केही गर्छ की भन्ने हिजो जनमानसमा परेको थियो । अहिले टेस्टेड पनि भयो । रास्वपामा  पहिलेजस्तो लहर देखिदैन । 

मंसिर ४ को चुनावमा काठमाडौं–६ मा पराजित व्यक्तिलाई तपाईंहरूले उमेदवार बनाउनुभएको छ । त्यसले पनि असर गर्ला नि ?

चुनावमा हारजित त हुन्छन् नै । चुनाव भएको केही समयमा नै उपचुनाव भयो । त्यसले असर गर्दैन । अहिले उहाँ उमेदवार बन्नुभएको निर्वाचन क्षेत्र फरक हो ।

तनहुँ सर्वेन्द्र खनालजी जन्मेको ठाउँ पनि हो । २५–३० वर्ष प्रहरी संगठनमा रहँदा पनि विवादित छवि होइन । प्रहरी संगठन संञ्चालन गरेको, देशको शान्ति सुरक्षामा भूमिका निर्वाह गरेको निर्विवादित छवि भएको व्यक्तित्वका कारणले पनि उहाँलाई सहज छ ।

त्यसो त पार्टी एकजुट बनेको अवस्था छ । जन्म ठाउँ भएकाले उहाँलाई धेरै त कांग्रेसको भोट आउने सम्भावना देखिन्छ । चुनाव जितिन्छ । 

कति मतान्तरले जित्ने आकलन गर्नुभएको छ ? 

अहिले प्रारम्भिक चरणमा छौँ । ३–५ हजार मतान्तरले जित्छौँ भन्ने आँकलन हो । भर्खरै बन्दीपुर गाउँपालिकामा घरदैलो सकिएको छ ।

त्यहाँ अत्यन्त राम्रो देखिएको छ । अरु पालिकामा पनि हाम्रो पक्षमा मत बढोत्तरी भएको छ । एमालेको जित सुनिश्चित छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro