site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपेन्द्र यादवलाई चार दलको साथ, जनताको त्रास– जसरी पनि रोक्न चाहन्छन् सीके राउत 

काठमाडौं । गएको मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट दोब्बर बढी मतान्तरले पराजित भए । 

पहिलोपटक संदीय राजनीतिमा होमिएका जनमत पार्टीका अध्यक्ष चन्दकान्त (सीके) राउतसँग उनी १८ हजार ६३ मतान्तरले पराजित भएका थिए । उक्त निर्वाचनमा राउतले ३५ हजार ४२ ल्याउँदा यादवले १६ हजार ९७९ मत पाएका थिए । 

उनै यादव पाँच महिनापछि हुन लागेको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट उमेदवार बनेका छन् । 

Dabur Nepal

बारा–२ बाट चुनाव जितेका जसपाकै सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति चुनिएपछि रिक्त पदमा आगामी वैशाख १० गते उपचुनाव हुँदै छ । 

चार दलको साथले अंकगणितमा ढुक्क यादव

मंसिर ४ को निर्वाचनको परिणाम हेर्ने हो भने यादव अंकगणितका हिसाबले ढुक्क छन् । मंसिर ४ को निर्वाचनअघि सत्ता गठबन्धनमा रहेको जसपाले चुनावी भागबन्डा नमिल्दा प्रतिपक्षी नेकपा (एमाले)सँग गठबन्धन गरेको थियो । एमालेको मात्रै साथ पाएको जसपाले तत्कालीन सत्ता गठबन्धनलाई पराजित गरेको थियो ।

बारा–२ मा जसपाका रामसहायप्रसाद यादव १३ हजार ८२२ मत ल्याएर निर्वाचित भएका थिए । गठबन्धनका उमेदवार नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवचन्द्र कुशवाह १३ हजार ४६८ मत पाएका थिए । कुशवाह ३५४ मतान्तरले मात्र पराजित भएका थिए । 

उपचुनावअघि नै गठबन्धनमा फेरबदल भइसकेको छ । सत्ता साझेदार दलहरू ९ वटा रहे पनि उपचुनावमा पाँचदलीय गठबन्धन बनेको छ ।

अहिले यादवलाई नेपाली कांग्रेस, ‍माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को साथ छ । 

मंगलबारमात्रै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, र जसपा अध्यक्ष यादवले संयुक्त विज्ञप्ति जारी गर्दै साझा उमेदवारलाई निर्वाचित गर्न आह्वान गरेका छन् । बारा–२ मा गठबन्धनबाट यादव साझा उमेदवार बनेका छन् ।

समानुपातिक मतलाई दलले प्राप्त गर्ने मतको रूपमा लिइन्छ । चार महिनाअघि भएको चुनावको यो क्षेत्रको मत हेर्ने हो भने यादव अंकगणितमा सुरक्षित देखिन्छन् ।

यहाँ समानुपातिकतर्फ सबैभन्दा धेरै मत जसपाले नै पाएको थियो । उसले १३ हजार २४२ मत पाएको थियो । दोस्रो दलको रूपमा कांग्रेसले ११ हजार १७९ मत पाएको थियो । लोसपाले चार हजार २३५ मत पाएको थियो । माओवादीले तीन हजार २६५, एकीकृत समाजवादीले एक हजार ९९६  प्राप्त गरेका थिए । पाँच दलको मतलाई जोड्ने हो भने ३३ हजार ९१७ मत छ ।

तर, मंसिर ४ को निर्वाचनमा फराकिलो हार बेहोरेका यादव ढुक्क नदेखिएको गठबन्धनका एक नेता बताउँछन् । 

“मंसिर ४ गतेको चुनावको यहाँको परिणाम हेर्दा उहाँलाई सजिलै पर्ने जस्तो देखिन्छ । तर, सप्तरी–२ को नतिजाले अहिले उहाँ ढुक्क जस्तो देखिनुभएको छैन,” ती नेताले बाह्रखरीसँग भने ।

पहिलोपटक संसदीय चुनावमा होमिएका सीकेले भारी मतान्तरले यादवलाई पराजित गरे । उनै राउत यादवलाई संसद् छिर्न जसरी पनि रोक्न चाहन्छन् । उनले यादवलाई 'फिरंगी उमेदवार'को संज्ञा दिइरहेका छन् ।

मंसिर ४ को चुनावमा पराजित माओवादीका कुशवाहलाई पार्टीमा भित्र्याएर टिकट दिएका छन् । राउत कुशवाहलाई जिताउन मतदाताका घरदैलोदेखि खेतसम्मै पुगिरहेका छन् ।

उपेन्द्र र सीकेको प्रतिष्पर्धा !
'स्वतन्त्र मधेस'को हुनुपर्ने माग राख्दै आएका सीके ०७५ फागुन २४ गते  केपी शर्मा ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरेर खुला राजनीतिमा आएका थिए । मंसिर ४ को पहिलो चुनावमा नै जनमत पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच गरी कुल ६ सिट जित्यो ।

उनले पुराना दलहरू जनताको पक्षमा नउभिएको भन्दै आफू राजनीतिमा आएको बताएका थिए । सीके पुराना पार्टीलाई पन्छाएर मधेसको राजनीतिमा उदाउन खोजिरहेका छन् । बारा क्षेत्र नम्बर २ मा मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ जनमतका उमेदवार राजेश साहले दुई हजार ७२५ मत ल्याएका थिए । समानुपातिकतर्फ यो क्षेत्रमा चौथो बनेको उक्त दलले आठ हजार ८४६ मत प्राप्त गरेको थियो । 

पटक–पटक पार्टी टुक्रिँदा पनि उपेन्द्र यादव नेतृत्वको जसपाले मंसिर ४ को निर्वाचनमा १२ सिट जितेको छ ।

०६३/०६४ पछि मधेसमा उदाएका यादव ०६४, ०७० र ०७४ को चुनावबाट लगातार संसद् छिरे । उनी ०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा मोरङ–५ र सुनसरी–५ क्षेत्रबाट निर्वाचित भएका थिए । ०७० सालको दोस्रो संविधान सभामा मोरङ–५ बाट पराजित भएका उनी सुनसरी–५ बाट निर्वाचित भए । ०७४ मा सप्तरी–२ बाट निर्वाचित भए ।

०७९ मंसिर ४ को निर्वाचनमा सप्तरी–२ बाट पराजित भए । संसद् छिर्ने हुटहुटीलाई पूरा गर्न उनले विश्वासपात्र रामसहायलाई उपराष्ट्रपति बनाएका छन् । 

बारा–२ को चुनावलाई उपेन्द्र र सीकेको अस्थित्वको टक्करको रूपमा हेरिएको छ । विश्लेषक डा. विजयकान्त कर्ण मधेसको नेता को बन्ने भन्ने प्रतिष्पर्धा चलिरहेको बताउँछन् । संविधान संशोधन, नागरिकताका विषय ओझेलमा परेको र नेता भन्ने होड चलिरहेको उनको भनाइ छ ।  

“मधेसको नेतृत्व कसको हातमा भन्ने प्रतिष्पर्धा भइरहेको छ । मधेसको नेता बन्न सीके राउत कसरत गरिरहनुभएको छ । सीके राउतजी मधेस आन्दोलनको विरोधमा हुनुहुन्थ्यो । संघीयताको विरोधमा नै हुनुहुन्थ्यो । मधेसको स्वतन्त्र देश बनाउनुपर्छ भनेर लाग्नुभएको थियो,” उनी भन्छन्, “अहिले केही कुरा स्वीकार गरेर राजनीतिमा हुनुहुन्छ । त्यतिबेला उपेन्द्र यादव र महन्थ ठाकुर संघीयता, संविधानमा मधेसका मुद्दाका लागि लडिरहेका थिए । अहिले मधेसको मुद्दा, संविधान संशोधन, नागरिकता विधेयकसँग सम्बन्धित छैन । मधेसको नेता को हुन्छ भन्ने मात्रै छ ।” 

उपेन्द्रलाई फेरि हराएर मधेसको ठाउँ लिने पक्षमा सीके देखिएको कर्ण बताउँछन् ।

“मधेसमा उपेन्द्रजीलाई हराउन सकेँ भने त्यसले ठूलो स्पेस दिन्छ भनेर लागिरहनुभएको छ । तर, उहाँले उमेदवार त्यस्तो खोज्न सक्नुभएन । शिवचन्द्रजी एउटै पार्टीमा अडिएका नेता होइनन् । गठबन्धनमा पनि एक्लिनुभएको छ  । गठबन्धनमा स्पेस क्रियट गर्न सक्नुभएको छैन,” उनले बाह्रखरीसँग भने । 

एमाले र रास्वपाको अवस्था कस्तो ? 
मंसिर ४ को चुनावमा जसपालाई सघाएको एमालेले बारा क्षेत्र नम्बर २ मा अहिले आफ्नै उमेदवार उभ्याएको छ । पार्टीका पोलिटब्युरो सदस्य एवं पुरुषोत्तम पौडेल उमेदवार छन् । एमालेले यो क्षेत्रमा ०४८ र ०५६ पछि चुनाव जित्न सकेको छैन । सोमबार उमेदवारी दर्तापछि उमेदवार पौडेलले अहिलेको चुनाव जित्ने संकेत देखिएको बताएका छन् ।

बाह्रखरीसँगको कुराकानीमा उनले आफूले चुनाव जितेर चमत्कार गर्ने दाबी गरे । मंसिर ४ को चुनावमा एमालेले यो क्षेत्रमा समानुपातिकतर्फ ९ हजार १९३ मत ल्याएको थियो । यो क्षेत्रमा समानुपातिकतर्फ मत पाउने एमाले तेस्रो दल हो । 

मंसिर ४ को चुनावबाट उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उमेदवारको पनि यो क्षेत्रमा चर्चा छ । मंसिर ४ को चुनावमा रास्वपाले प्रत्यक्षतर्फ सात सिट जित्दै २० सिट ल्याएको थियो । बारा–२ मा भने प्रत्यक्ष उमेदवारी दिएको थिएन् ।

उक्त क्षेत्रमा रास्वापाले एकहजार ४५५ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । बारा–२ मा रास्वपाले पूर्वडीआईजी रमेश खरेललाई उमेदवार बनाएको छ । नेपाल सुशासन पार्टीको तर्फबाट उमेदवार बनेका खरेल मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । उनै खरेललाई रास्वपाले उमेदवार बनाएको छ । 

'उपेन्द्रका प्रतिष्पर्धी कमजोर देखिए'
विश्लेषक कर्ण उपनिर्वाचनमा जसपा अध्यक्ष यादवलाई उपनिर्वाचनमा चुनौती कम भएको बताउँछन् । राष्ट्रिय नेताका हिसाबले पनि उनको पक्षमा मतदाता जान सक्ने आकलन उनको छ । 

“उपेन्द्रजीको विरुद्धमा काउन्टर अलायन्स बन्न सकेन । शिवचन्द्र कुशवाह माओवादीबाट लडेका थिए । उनको पुरानो पार्टी (माओवादी)ले उपेन्द्रलाई सहयोग गरेको छ,” कर्णले भने । 

चुनाव क्षेत्र नेपाली राजनीतिमा नौलो कुरा नभए पनि पार्टीबाटै प्रतिष्पर्धी नेताहरूले त्यो विषय उठाउन सक्ने कर्णले बताए । यादवको पक्षमा गठबन्धका शीर्ष नेताहरूबीच सहमति हुँदैमा मत ट्रान्सफर भने नहुने उनको भनाइ छ । तर, उपनिर्वाचनमा उपेन्द्रका प्रतिष्पर्धी कमजोर भएको दाबी गरे ।  

“दलहरूको एकता हुने बित्तिकै मत ट्रान्फर हुँदैन । कांग्रेस, माओवादीका कार्यकर्ताहरूले कति सहयोग गर्छन हेर्नुपर्नेहुन्छ,” उनले बाह्रखरीसँग भने, “स्थानीय चुनावमा जसपाले राम्रै सिट ल्याएको रहेछ । उपेन्द्रजीको प्रतिष्पर्धी चर्चित भएनन् । उहाँको तुलनामा कमजोर देखिए ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro