site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वामदेवको 'छटपटाहट' : ओलीले चासो दिएनन्, नेपालले अपमान गरे !

काठमाडौं । गएको फागुन १७ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको निवासमा पुगे । भैँसेपाटीस्थित निवासमा भएको उक्त भेटवार्तामा ओलीले गौतमलाई एमालेमै फर्कन आग्रह गरेका थिए ।

त्यति बेला गौतमको माग थियो– ७० वर्षे उमेरहदको प्रावधान हटाउनोस् । तत्कालीन उपाध्यक्ष गौतमले ०७८ भदौ १८ गते एमाले परित्याग गरेका थिए ।

एमालेको विधानमा सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्य बन्न ७० वर्ष पूरा नभएको हुनुपर्ने व्यवस्था छ । “सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्छ,” विधानमा उल्लेख छ ।

यस्तै, कुनै कमिटीको पदाधिकारी वा सदस्य अर्को कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन उमेदवार भएमा निज कार्यरत पद स्वतः रिक्त हुने प्रावधान छ । पदेन सदस्यका लागि भने यो व्यवस्था लागु नहुने विधानमा उल्लेख छ ।

७४ वर्षीय गौतमले उक्त प्रावधान संशोधन गरे आफू पार्टीमा फर्कने जवाफ ओलीलाई दिएका थिए । त्यसयता गौतम ओलीनिवास बालकोट पुगेका छन् । ओली पनि भैँसेपाटी पुगेका छन् ।

गौतमको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डे नेताहरूबीच त्यसबारे पटक–पटक भेटवार्ता भएको बताउँछन् । “त्यसयता वामदेव कमरेड र एमाले अध्यक्षबीच पटक–पटक भेटवार्ता भएको छ । उहाँ एमाले अध्यक्षको निवास पुगेर भेटवार्ता गनुभयो,” पाण्डेले बाह्रखरीसँग भने, “एमाले अध्यक्ष पनि उहाँको निवासमा पुगेर भेटवार्ता भएको छ ।”

सो क्रममा ओली ७० वर्षे प्रावधान हटाउन सकारात्मक देखिएको उनको भनाइ छ । पार्टीका नेताहरू र आफैँलाई पनि बाधक हुने भन्दै ओलीले त्यो प्रावधान संशोधन हुने बताएको पाण्डेको जिकिर छ ।

“मैले पनि एमाले अध्यक्षलाई भेटेको थिएँ । भेटमा उहाँले ७० वर्षे प्रावधानले पार्टीका केही नेतालाई र आफूलाई पनि अप्ठ्यारो पर्ने भएकाले प्रावधान संशोधन हुने कुरा गर्नुभएको छ,” उनले भने ।

पछिल्लो समय ओली र गौतमबीच संवाद भएको छैन । गौतमले एमालेमा फर्कने सन्देशसहित केही दिनअघि कान्तिपुर दैनिकमा लेख पनि लेखेका थिए ।

साथै, नेता पाण्डेले ७० वर्षे उमेदरहद निष्क्रिय गर्न मागसहित निर्वाचन आयोगमा निवेदन दिएका छन् । गएको शुक्रबार उनले आयोगमा बुझाएको निवेदनमा ‘असंवैधानिक’ प्रावधान हटाउनुपर्ने माग गरेका छन् । उमेरहदको व्यवस्था खारेज गर्न माग गरेका हुन् । उनको निवेदन आयोगको कानुन शाखामा पुगेको छ ।

आयोगका उपन्यायाधिवक्ता गुरु वाग्ले पार्टीको विधान खारेज गर्न आफूहरूले निर्देशन दिन नमिल्ने बताउँछन् । “पार्टीको विधानमा व्यवस्था भएका कुरा हो । कुनै पार्टीले उमेरहद राखेमा खारेज गर भन्न आयोगले मिल्दैन । पार्टीको विधानमा भएका कुरा खारेज गर्न आयोगको भूमिका हुँदैन,” उनले भने ।

गौतम भन्छन्– एमालेमा चासो देखाएनन्, माधवले अपमान गरे 
गौतम तत्कालीन नेकपा विवादका बेला पार्टी एकताको पक्षमा उभिएका थिए । उनल एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताको प्रस्ताव गरेका थिए ।

तर, त्यो तत्काल सम्भव नदेखेपछि एमाले वा एमालेबाट विभाजित एकीकृत समाजवादीमा प्रवेशका लागि उनले छलफल थाले । एमालेमा उमेरहदको प्रावधान र गौतम एकीकृत समाजवादीमा जान ‘जबज’ बाधक बनेको नेताहरू बताउँदै आएका छन् ।

नेता पाण्डे उमेरहदको प्रावधानबाहेक एकताका लागि एमालेसँग नजिक भएको बताउँछन् । “हामीले एकीकृत समाजवादी, माओवादीलाई पनि पार्टी एकताको प्रस्ताव राखेका थियौँ । तर, एमालेमा ७० वर्षे प्रावधानबाहेक अरू कुरामा एकताका लागि नजिक छौँ,” उनले भने ।

केही समयअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरूसँगको भेटमा गौतमले आफ्नो दस्तावेज प्रस्तुत गरेका थिए । सो दस्तावेज लागु भए पार्टीमा आउने बताएका थिए । त्यसपछि उनीहरूबीच छलफल भएको छैन ।

नेताहरूले आफ्नो अपमान गरेको महसुस गौतमले गर्न थालेका छन् । बाह्रखरीसँगको कुराकानीमा उनले एमाले नेताहरूले आफ्नो प्रस्तावमा चासो नदेखाएको बताए ।

“आयोगले के गर्छ ? कहिले गर्छ ? थाहा छैन । हामीले जायज कुरा उठाएका छौँ । एमालेभित्र रहेर आधा जीवन बिताएको छु,” गौतमले भने, “त्यो पार्टीमा त्यस्तो प्रावधानले असर गर्‍यो भन्ने चिन्ताले मैले आर्टिकल लेखेँ । त्यसपछि एमालेका केही नेताहरूलाई फोन गरेँ । उहाँहरूले चासो देखाउनु भएन ।”

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि आफ्नो अपमान मात्र गरेको आरोप उनले लगाए । “माधव नेपालले त अपमान मात्रै गर्नुभयो । आइहाल्नुस् भन्नुभयो,” उनले भने, “म पार्टी एकता गरेर सम्मानजनक पद भए पुग्छ भनेर, हाम्रो व्यवस्थापन के गर्नुहुन्छ ? त्यही सुन्नका लागि आएको हुँ भनेको त त्यससम्बन्धमा कुरै गर्नु भएन । त्यसपछि बोलाउनुभएको छैन ।”

नेता नेपाल सकारात्मक भए पनि आफूविरुद्ध उक्त पार्टीमा बहुमत रहेको अनुमान गौतमको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro