काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका सङ्घसङ्गठन तथा पदाधिकारीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहले भोगेका समस्या, क्वारेन्टिनको निर्माण, स्वास्थ्य सामग्रीको अवस्था, आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेटको बारेमा भएको गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा स्थानीय तहले खेलेको भूमिकाको सराहना गर्दै कोभिड–१९ को रोकथाम र नियन्त्रण सङ्घ, प्रदेश र स्थानीय तहले मिलेर गरेमात्र सफलता प्राप्त गर्न सकिने बताए ।
उनका अनुसार प्रधानमन्त्रीले कोभिड–१९ नियन्त्रण गर्नका लागि स्थानीय तहका समस्याका बारेमा सुझावसमेत लिएका थिए । उनले लामो समय बन्दाबन्दी (लकडाउन)का कारणले मुलुकको आर्थिकलगायतका गतिविधि ठप्प रहेका भन्दै उक्त गतिविधि चलायनमान गराउनुपर्ने र कोभिड–१९ को नियन्त्रण पनि गर्नुपर्ने भएकाले दुवै चूनौतिलाई सँगैसँगै लैजानुपर्ने बताउनुभएको महासङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्यान्जुका अनुसार प्रधानमन्त्री ओलीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले कोभिड–१९ नियन्त्रण गर्न स्थानीय तहले भूमिका खेल्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले स्थानीय सरकार जति सक्रिय भयो त्यति नै चाँडो कोभिड–१९ नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले स्थानीय तहको सवलीकरण गरेर मात्र मुलुकमा आर्थिक विकास गर्न सकिने धारणासमेत व्यक्त गरे ।
छलफलमा प्रधानमन्त्रीलाई स्थानीय तहमा कोभिड–१९ नियन्त्रण गर्न खेलेको भूमिका र समस्याका बारेमा आफूहरुले जानकारी गराएको अध्यक्ष ब्यान्जुले बताए ।
उनले सांसदलाई छुट्टाइएको स्थानीय पूर्वाधार विकास कोषको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खर्च गर्न प्रधानमन्त्रीसँग माग गरे । छलफलमा रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दासलगायतको सहभागिता रहेको थियो । - रासस