
काठमाडौं । नेपालको वैदेशिक व्यापारको तथ्यांक हेर्दा आयात र निर्यात दुवैतर्फ सबैभन्दा व्यापार हुने एउटै वस्तु देखिन्छ । त्यो हो, तेल ।
नेपालको कुल आयातमध्ये सबैभन्दा ठूलो हिस्सा ओगट्ने वस्तु हो, सवारीसाधन तथा उद्योगमा इन्धनका रूपमा प्रयोग हुने तेल । निर्याततर्फ चाहिँ केही वर्षदेखि एउटा उत्पादनको चर्चा चुलिँदो छ । त्यो हो पाम आयात अर्थात् ताडीको तेल । केही महिनायता अर्को निर्यातजन्य वस्तुको पनि चर्चा छ, त्यो हो भटमासको तेल ।
आयातमा जैविक इन्धनको कुरा गर्दा यसले लामो समयदेखि व्यापार घाटा बढाइरहेको छ । सवारीसाधनदेखि कलकारखानासम्म जैविक इन्धन नै निर्विकल्प ऊर्जाको स्रोत बनेको छ । नेपालको विद्युत् उत्पादन क्षमता बढेर वा भारतबाटै आयात गरेर भए पनि विद्युत् प्रयोग बढाउन खोजिएपछि पछिल्लो समय त्यस्तो इन्धन आयातको वृद्धिदर डरलाग्दो छैन ।
चालू आर्थिक वर्षको साता महिनासम्म आयात हुने वस्तुहरूमध्ये सबैभन्दा बढी १ खर्ब २७ अर्ब रुपैयाँको जैविक इन्धन आयात भएको छ जसको निर्यात भने शून्य छ ।
जैविक इन्धनमध्ये पनि डिजेल ५८ अर्बको आयात हुन्छ । यस अवधिमा २१ अर्बको पेट्रोल र १७ अर्बको एलपी ग्यास आयात भएको छ ।
तेल आयातको यो भयावह रूपले नेपाली अर्थतन्त्र कुन दिशातर्फ उन्मुख भइरहेको छर्लंगै छ । विद्युत् उत्पादन क्षमता बढाउँदा पनि इन्धन आयातमा सबैभन्दा बढी हिस्सा ओगट्ने डिजल तथा पेट्रोल नै निर्किकल्प ऊर्जा स्रोत बनेको तीतो वास्तविकता हामीकहाँ छ । त्यसैले यतिखेर त्यस्ता अत्यावश्यक चीज आयात कम गर्नुको सट्टा निर्यात हुने वस्तु प्रवर्द्धन गरेर व्यापार घाटा न्यूनीकरणमा जोड दिनुपर्ने दिन आएको छ ।
इन्धन तेल आयातले शोधनान्तर स्थितिमा पैदा गरेको घाउमा मलम बन्न अहिले तेल नै सक्षम छ कि भनेर आकलन गर्न थालिएको छ । तर, त्यो तेल पेट्रोल र डिजेल भने होइन ।
नेपाल प्रशोधित खानेतेल निर्यात गरेर वैदेशिक व्यापारको तथ्यांकमा राहत महसुस गर्न सक्षम देखिएको छ । कुनै समय पाम तेलले निर्यातको सर्वाधिक ठूलो हिस्सा ओगटेको वस्तु हुने गरेकोमा यतिखेर त्यसलाई भटमासको तेलले पनि साथ दिएको छ । कच्चा तेल आयातपछि यहाँ प्रशोधन गरेर पाम तेल निर्यातमा योगदान दिने नम्बर एक उत्पादन बनिरहँदा भटमासको तेलले पनि उस्तै योगदानले पछ्याउँदो छ ।
तर, यथार्थ केही फरक छ । हालका लागि यी दुवै वस्तुको कच्चा पदार्थ विदेशबाट आउँछ । नेपाली तेल उत्पादकले सो तेल प्रशोधन गरेर भारत निर्यात गर्छन् । जसले गर्दा निर्यात बढेको र व्यापार घाटामा केही कमी आएको देखिन्थ्यो ।
तर भारतले यसको आयातमाथि कडाइ गरेपछि अल्पकालमा नेपालले केही असहज स्थितिको सामना गर्नुपरेको छ । पछि भारतले अनुमतिप्राप्त आयातकर्ताले मात्र पाम आयात गर्न पाउने व्यवस्था गरेपछि केही सहज हुने आकलन गरिएको छ ।
जसको प्रभाव चालु आवको सात महिनासम्मको वैदेशिक व्यापार तथ्यांकमा देखिएको छ । पाँच महिनासम्म ११ अर्ब ५२ करोडको निर्यात भएको पाम तेल निर्यातमा केही ब्रेक लागेको छ । थप दुई महिनामा २ अर्ब ३७ करोड रुपैयाँको मात्र पाम तेल भारत निर्यात भएको छ ।
समीक्षा अवधिमा भटमासको तेलको निर्यातमा पछिल्लो वर्षको पाँच महिनाभन्दा २ हजार ७ सय ७३ दशमलव ४ प्रतिशतले वृद्धि भई ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
चालु आवको सात महिनामा पाम आयललाई पछ्याउँदो भटमासको तेल निर्यात उत्साहजनक छ । सात महिनामा ५ अर्ब ९४ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ ।
पाम र भटमासमा नेपाली व्यवसायीहरू साफ्टा विश्व व्यापार संगठनको व्यवस्थाबाट लाभ उठाउन माहिर देखिएका छन् । सरकारी अधिकारीहरू नेपाली व्यवसायीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को लाभ उठाएर पाम आयल निर्यात गरेको दाबी गर्छन् ।
नेपाल व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका एक अधिकारीले बाह्रखरीसँग भने, “अतिकम विकसित मुलुकबाट हुने वस्तुजन्य आयातमा शून्य ट्यारिफको व्यवस्था विश्व व्यापार संगठनको रुगिरो इनिसिएटिभमा छ । साफ्टामा पनि यस्तै व्यवस्था छ ।”
यसकारण नेपाली व्यवसायीले कच्चा सामग्री आयात गरेर शून्य ट्यारिफ भारतमा आयात गराउने गरेका हुन् । मलेसिया वा इन्डोनेसियाबाट हुने आयातमा ट्यारिफ ४० प्रतिशतको हाराहारीमा छ । सोहीकारण भारतीय व्यवसायीले नेपाली व्यवसायीसँग मिलेर नेपालमा प्रशोधन गर्ने र सस्तोमा भारत आयात गर्ने गरेका छन् । आयातित कच्चा तेल प्रशोधन गरेर नेपाली व्यवसायीले ३० प्रतिशतसम्म मूल्य अभिवृद्धिसहित नाफा गर्ने गरेको व्यवसायीहरू स्वयं दाबी गर्छन् ।
भारतले पनि विगतमा केही छुट दिएको देखिन्छ । एलसी खोल्न सहज हुने, भारतीय व्यवसायी पनि लाभान्वित हुने र उपभोक्ताले पनि कम मूल्यमा पाम तेल किन्न पाउने भएका कारण मलेसियाबाट भन्दा नेपालबाट तेल आयात गर्दा भारतलाई फाइदा छ ।
तर, यी दुवै उत्पादनका कच्चा पदार्थ नेपालमा उपलब्ध छैनन् । सात महिनामा कच्चा पाम आयलको आयातमा १२ अर्ब ४३ करोड पुगेको छ । यस अवधिमा कच्चा भटमासको तेलको आयात ९ अर्ब ६६ करोड रुपैयाँको छ ।
तर, तथ्यांकले नेपाली प्रशोधनकर्ताले ठूलो परिमाणमा कच्चा भटमास तेल आयात गरी होल्ड गरेको देखाउँछ । हालसम्म ५ अर्ब ९४ करोड रुपैयाँको मात्र भटमास तेल निर्यात भएको छ । नेपालको सानो बजारमा बाँकी परिमाणको तेल खपत नभएको अनुमान गरिन्छ ।
भन्सार विभागका अनुसार कच्चा पामको आयात इन्डोनेसिया (सबैभन्दा बढी अर्थात् ११ अर्ब ६६ करोड रुपैयाँ बराबर), मलेसिया, सिंगापुर र पपुवान्युगिनीबाट हुन्छ भने कच्चा सोयाबिन तेल अर्जेन्टिना (सबैभन्दा बढी अर्थात् ६ अर्ब ४९ करोड रुपैयाँ बराबर), ब्राजिल (१ अर्ब ७७ करोड रुपैयाँ बराबर), पाराग्वे, युक्रेन र इन्डोनेसियाबाट हुने गरेको छ ।
पाम र भटमास नेपाल नेपालको ‘अर्ग्यानिक’ उत्पादन नभएको तथ्यमै पुष्टि हुँदा यी वस्तु नेपालमै उत्पादन गरेर व्यापार घाटा कम गर्नुपर्ने देखिएको छ । पाम नेपालमा कम उत्पादन हुने भए पनि भटमास भने सम्भावना बोकेको कृषि उपज हो ।
कच्चा पदार्थ आयात गरेर प्रशोधन गरेर तेल भारत पठाउँदा व्यापार घाटा सुधारमा खासै ठूलो योगदान नदिए पनि निर्यातको बढेको भनेर चित्त बुझाउने ठाउँ सिर्जना गरेको थियो । तर, पाम तेल वा भटमासको दीर्घकालमा नेपालको निर्यात धान्ने उत्पादन भने होइन ।
पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा भन्छन्, “पाम तेल र भटमास तेल निर्यात स्थायी र दीगो प्रकारको प्रबन्ध होइन । किनभने अहिले भइरहेको निर्यात पनि नेपालबाट हुने आयातमा छुट पाउने भएका कारण भएको हो ।” आयात शुल्क (ट्यारिफ) कम हुने भएकाले भारतीय व्यापारीले नेपालबाट तेल आयात गर्ने गरेको दाबी उनले गरे । उनका अनुसार पाम र भटमासले नेपालको दीगो निर्यात समस्याको समाधान दिन सक्दैनन्, तत्कालका लागि राहत मात्र हुन् ।
पूर्वसचिव ओझाले भने, “नेपालको व्यापारी र राजस्व संकलनमार्फत् राज्यले केही लाभ लिन सक्छ ।” उनले दीगो निर्यातका लागि प्रतिस्पर्धी क्षमता भएको छ दीगो किसिमबाट प्रतिपर्धी हुनसक्ने वस्तु पहिचान गरेर उत्पादन प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।
उनले पाम आयलको वनस्पति घिउको झैं स्थिति आउन सक्ने शंका गरे । सन् २००१ सम्म निर्यात उच्च रहेको वनस्पति घिउको निर्यातमा भारतले कोटा लगाउने बित्तिकै कम भएको सम्झना उनको छ ।
पाम आयल र भटमास तेल नेपालको कच्चा पदार्थबाट उत्पादन भएका होइनन् । त्यसकारण यस्ता तेल निर्यातले जैविक इन्धन आयात धान्न नसक्ने जिकिर उनको छ ।
नेपाल चाँडै नै अतिकम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा ग्र्याजुएट हुँदै छ । सोही कारण पामको कच्चा पदार्थ आयात गरेर, प्रशोधन गरी भारत बेच्दा भारतीयका लागि महँगो पर्न जाने जानकार बताउँछन् ।