काठमाडौं । “आयातित कच्चा पदार्थ प्रशोधन गरेरै भए पनि निर्यात बढाऔं,” निर्यात दिवसका अवसर पारेर अर्थमन्त्री युवराज खतिवडाले भनेका थिए । मूल्य अभिवृद्धिसहित औद्योगिक उत्पादन निर्यात गर्न सके तथ्यांकमै भए पनि अवस्थामा सुधार आउने अभिप्राय अर्थमन्त्रीको थियो ।
तर, उनको यो आह्वानले जुटाएको उत्साह लामो समय टिकेन । नेपालबाट सर्वाधिक निर्यात हुने पाम तेलको आयातमा भारतले बुधबार प्रतिबन्ध लगाइदियो । कारण थियो, ‘मेड इन इन्डिया’ प्रवर्द्धन गर्ने भारत सरकारको नीतिविरुद्ध मलेसियाबाट आयात हुँदै आएको प्रशोधित पाम तेल रोक्नुपर्ने भारतीय व्यवसायीको माग ।
अर्कातर्फ भारतले काश्मीरमा गरेको कारबाही र नयाँ नागरिकता नीतिप्रति मलेसियाली आलोचनाको प्रतिकार स्वरूप भएको रोयटर्सले लेखेको छ । भारतका लागि मलेसिया पाम तेलको सर्वाधिक ठूलो निर्यातकर्ता हो । भारतले मलेसियालाई तह लगाउन र आफ्ना उद्योगीका माग सम्बोधन गर्न, जुनसुकै कारण पाम तेलको आयातमा प्रतिबन्ध गरे पनि नेपालको निर्यात तथ्यांकमा भने नमीठो झट्का बेहोर्नुपर्ने स्थिति सिर्जना भएको छ ।
निर्यातको सबैभन्दा ठूलो हिस्सा ओगट्ने पाम तेल एकमात्र आयातकर्ताले रोकेपछि अब नेपालको व्यापार घाटाले पुरानै स्वरूप लिने पक्का झैं छ । अर्कातर्फ इन्डोनेसिया, मलेसिया र थाइल्यान्डबाट कच्चा पदार्थ आयात गरी प्रशोधनपछि तेल भारत पठाउँदा व्यापार घाटा सुधारमा खासै ठूलो योगदान नदिए पनि निर्यात बढेको भनेर चित्त बुझाउने ठाउँ थियो । नेपाली उत्पादकका लागि भारतबाहेक पाम तेलको दोस्रो बजार छैन । विश्वमै सबैभन्दा बढी पाम तेल भारतले नै आयात गर्छ । अर्को छिमेकी मुलुक चीनले आफैं उत्पादन गरेको पाम तेल प्रयोग गर्छ ।
सरकारी अधिकारी पनि नेपाली व्यवसायीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को लाभ उठाएर पाम आयल निर्यात गरेको दाबी गर्छन् । नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका एक अधिकारीले बाह्रखरीसँग भने, “अतिकम विकसित मुलुकबाट हुने वस्तुजन्य आयातमा शून्य ट्यारिफको व्यवस्था विश्व व्यापार संगठनको ‘रुगिरो इनिसिएटिभ’ मा छ । साफ्टामा पनि यस्तै व्यवस्था छ ।”
यसकारण नेपाली व्यवसायीले कच्चा सामग्री आयात गरी शून्य ट्यारिफ भारतमा निर्यात गराउँछन् । मलेसिया वा इन्डोनेसियाबाट हुने आयातमा ट्यारिफ ४० प्रतिशतको हाराहारीमा छ । सोही कारण भारतीयले नेपाली व्यवसायीसँग मिलेर नेपालमा प्रशोधन गर्ने र सस्तोमा भारत आयात गरिरहेका छन् । आयातित कच्चा तेल प्रशोधन गरी नेपाली व्यवसायीले ३० प्रतिशतसम्म मूल्य अभिवृद्धिसहित नाफा गर्ने गरेको दाबी गर्छन् ।
भारतले पनि विगतमा केही छुट दिएको देखिन्छ । एलसी खोल्न सहज हुने, भारतीय व्यवसायी लाभान्वित हुने र उपभोक्ताले कम मूल्यमा किन्न पाउने हुँदा मलेसियाभन्दा नेपालबाटै आयात गर्दा फाइदा छ ।
तर, पाम तेल दीर्घकालमा नेपालको निर्यात धान्ने उत्पादन भने होइन । नेपाल चाँडै अतिकम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा प्रवेश गर्दै छ । सोहीकारण पामको कच्चा पदार्थ आयात गरी, प्रशोधनपछि बेच्दा भारतीयका लागि केही महँगो पर्न जान्छ ।
यता नेपाल सरकार भने अल्पकालीन लाभका लागि भए पनि भारततर्फ पाम तेल निर्यात गराउने कसरतमा छ । यही छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला व्यवसायीलाई डाकेको छ । “पाम तेल भारत निर्यात गर्न रोकिनुहुन्न भन्ने हाम्रो मान्यता हो । आज छलफल गर्छौं र व्यवसायीको सुझावअनुसार निर्यात गर्ने तेलमा प्रतिबन्ध नलगाउन भारत सरकारसँग पहल गर्छौं,” मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘‘उद्योगीको लगानी प्रवद्र्धन गर्ने र हाम्रो निर्यात बढाउने विषयमा प्रतिबद्ध छौं ।”
नेपालबाट निर्यात हुने पाम आयलमा भारतको रोक
भारतले वैदेशिक व्यापारसम्बन्धी ऐन, १९९२ अन्तर्गतको वैदेशिक व्यापार नीति, २०१५–२०२० भित्र ‘आयातित वस्तुको भारतीय व्यापार वर्गीकरण (एचएस), २०१७’ को च्याप्टरमा १५ मा संशोधन गर्दै प्रशोधित तेलमा प्रतिबन्ध लगाएको हो ।
वैदेशिक व्यापार नीति, २०१५–२०२० को हरफ २.०१ मा नियमन नगरुन्जेलसम्म आयात हुने वस्तु सामेल छन् । संशोधनमा एग्जिम कोड १५११९० अन्तर्गत रहेको पाम तेल तथा पामोलिन आयात ‘फ्री’ बाट ‘प्रतिबन्धित’ बनाइएको छ । एग्जिम कोड १५११९० मा पाम तेल र पामका रेसिडुअल पर्छन् । यो भारतको वाणिज्य विभागको वैदेशिक व्यापार महानिर्देशनालयले जारी गरेको हो । चालु आवको पाँचौं महिनासम्म पाम आयल गत वर्षको सोही अवधिको तुलनामा ७ सय ५६ दशमलव १ प्रतिशतले बढेर ११ अर्ब ५२ करोडको निर्यात भएको थियो ।
पामपछि भटमास
नेपाली व्यवसायीहरू साफ्टा विश्व व्यापार संगठनको व्यवस्थाबाट लाभ उठाउन माहिर देखिएका छन् । भन्सार विभागका अनुसार मंसिरसम्म पामलाई पछ्याउँदै भटमासको तेल निर्याजन्य वस्तुको सूचीमा दोस्रो स्थानमा देखिन्छ ।
यस अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा पाम, भटमास तेलसँगै पोलिस्टर तथा अन्य धागो, ऊनी गलैंचा आदि छन् । समीक्षा अवधिमा भटमासको तेलको निर्यातमा पछिल्लो वर्षको पाँच महिनाभन्दा २ हजार ७ सय ७३ दशमलव ४ प्रतिशतले वृद्धि भई ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
चालु आवको प्रथम पाँच महिनामा पाम र भटमासको तेलको निर्यात उत्साहजनक देखिएको हो । ती वस्तुको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः २४.२ प्रतिशत र ६.५ प्रतिशत छ । तर, यी दुवै उत्पादनका कच्चा पदार्थ नेपालमा उपलब्ध छैनन् । समीक्षा अवधिमा कच्चा पामको आयातमा २ सय ३ दशमलव ४ प्रतिशतले वृद्धि भई ९ अर्ब ९५ करोड पुगेको छ । चालु आवको प्रथम पाँच महिनामा कच्चा भटमासको तेलको आयातमा २३.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ६२ करोड रुपैयाँ छ ।
भन्सार विभागका अनुसार कच्चा पामको आयात इन्डोनेसिया (सबैभन्दा बढी अर्थात् ९ अर्ब ४८ करोड रुपैयाँ बराबर), मलेसिया, सिंगापुर र पपुवा न्युगिनीबाट हुन्छ भने कच्चा सोयाबिन तेल अर्जेन्टिना (सबैभन्दा बढी अर्थात् ३ अर्ब ३९ करोड रुपैयाँ बराबर), ब्राजिल (१ अर्ब ४७ करोड रुपैयाँ बराबर), पाराग्वे, युक्रेन र इन्डोनेसियाबाट हुने गरेको छ ।