मासुको भाउ बढाउनका लागि ३० लाख जिउँदा चल्ला खाल्टामा हाल्नु क्रूर र अमानवीय कार्य त हुँदै हो निन्दनीय अपराध पनि हो । नेपाल ह्याचरी उद्योग संघले बजारमा कुखुराको मासुको भाउ बढाउन कुखुराका ३० लाख जिउँदा चल्ला खाल्डोमा गाडेर मारेको छ । प्रचलित बजार भाउअनुसार त्यसरी नष्ट गरिएका कुखुराका चल्लाको मूल्य करिब १५ करोड हुने बताइएको छ । यसैगरी, देशका विभिन्न भागमा ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत संघको निर्णयअनुसार नष्ट गरिएको समाचार छ । अर्थात्, भाउ बढाएर उपभोक्ताबाट असुल गर्न ह्याचरी उद्योग संघका पदाधिकारीले पहिल्यै राष्ट्रको ६० करोड रुपियाँ नोक्सान पारेका छन् । र यो आत्मघातलाई उनीहरूले ‘बजार सुधार’ को संज्ञा दिएका रहेछन् ।
नेपाल कुखुराको फुल र मासुमा आत्मनिर्भर हुन लागेको थियो । साना किसानले घरघरै पाल्न सक्ने हुनाले पनि कुखुराको मासु आयात गर्न नपर्ने भएको हो । तर, यसरी अपेक्षाकृत ठूला व्यापारीको सिन्डिकेटले चल्ला नै नष्ट गरिदिन थालेपछि साना किसानहरू हतोत्साही हुनेछन् । भएका चल्ला नष्ट गर्नुका साथै मंसिर २९ देखि पुस ८ सम्म चल्ला उत्पादन गर्न पनि नदिने घोषणा गरिएको छ । यसको तात्पर्य, नेपाल ह्याचरी उद्योग संघका पदाधिकारीहरू देशमा कुखुराको मासुको कृत्रिम अभाव उत्पन्न गर्न चाहन्छन् भन्ने नै हो । नेपालको प्रचलित कानुनअनुसार उपभोग्य वस्तुमा यसरी ‘कार्टेलिङ’ गरेर कृत्रिम अभाव उत्पन्न गर्नु दण्डनीय फौजदारी अपराध हो । कालोबजारको परिभाषाभित्र पर्ने यस्तो अपराध सरकारवादी हुन्छ ।
यसरी चल्ला र अण्डा नष्ट गरेपछि बजारमा अभाव हुन्छ र त्यसपछि महँगोमा बेचेर अहिले नोक्सान भएको पैसा पनि असुल गर्न सकिन्छ भन्ने तिनको सोच हुनसक्छ । तर, कुखुराको मासु नभई नहुने खाद्य पदार्थ त हैन । धेरै महँगो भयो भने उपभोक्ताले विकल्प खोज्नेछन् । अर्कातिर, सरकारमाथि मासु र अण्डाको आयात खुकुलो बनाउन दबाब पर्नेछ । चल्लाको सामूहिक हत्याको ‘पाप’ त छँदैछ यस्तो गलत कार्यका कारण बजार गुम्ने जोखिम पनि उत्तिकै छ । विगतमा जस्तै नेपालको कुखुरा उत्पादन घटेका बेलामा आयातित मासुले बजार कब्जा गर्न सक्छ । त्यसपछि नेपालको कुखुरा पालन व्यवसाय बौरिनका लागि निकै समय लाग्नसक्छ । ह्याचरी उद्योगीहरूले चल्ला र अण्डा नष्ट गरेजस्तै घानको बीउ उत्पादकले एक वर्षको बाली नाश गरेर अर्को वर्षदेखि महँगोमा बेच्ने रणनीति अपनाए भने देशको अवस्था के होला ?
सत्तारुढ दलका नेता ‘साम्यवाद’ र ‘समाजवाद’को समुद्र मन्थनमा व्यस्त भएकाले कृषि तथा पशुपंक्षी मन्त्रीलाई कुखुराको चल्ला र अण्डा नाश गर्ने अपराधका बारेमा बुझ्ने र हस्तक्षेप गर्ने फुर्सद भएन होला । परन्तु, ह्याचरी उद्योग संघले अपनाएको आत्मघाती रणनीति तत्काल रोकेर बजारमा कुखुराको चल्ला र मासुको अभाव हुन नदिनु सरकारको दायित्व हो । सरकारले तत्काल हस्तक्षेप गरोस् । उद्यमीका मर्का सुनोस् तर उत्पादन रोक्ने निर्णय फिर्ता गराउन आवश्यक भए बल पनि प्रयोग गर्नुपर्छ । पंछीहरूलाई क्रूरतापूर्वक मारेको र बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव बनाउन मिलेमतो र जबर्जस्ती गरेकोमा नेपाल ह्याचरी उद्योग संघका पदाधिकारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरेर देशमा सरकार भएको सन्देश पनि देओस् !