site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला फुटबल लिग सर्ने निश्चित, एन्फा प्रवक्ता भन्छन्– गृहकार्यमै छौं  
Sarbottam CementSarbottam Cement

काठमाडौं । छिमेकी भारतले व्यावसायिक महिला फुटबल लिग सञ्चालन गरेको तीन वर्ष पुगिसकेको छ । नेपालकी सावित्रा भण्डारी र अनिता बस्नेतले केही महिनाअघि तेस्रो संस्करणको भारतीय महिला लिगमा सहभागिता जनाउने अवसर पाए । स्वदेश फर्किएलगत्तै सावित्रा र अनिताले लामो समयको लिगले खेलाडीको प्रदर्शन सुधारमा निकै मद्दत मिल्ने बताएका थिए । 

तर नेपालको अवस्था भने फरक छ । व्यावसायिक लिग त टाढाको कुरा, वर्षमा एकपटक आयोजना हुने महिला लिग पनि एक सातामै सकिन्छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने उपराष्ट्रपति महिला लिगमा ३ विभागीय क्लब र ७ प्रदेशका टोली सहभागि हुन्छन् ।

त्यसो त व्यावसायिक र एकसाते लिगलाई तुलना गर्न मिल्दैन । व्यावसायिक लिगबाट खेलाडीले आर्थिक लाभ मात्र उठाउँदैनन् । आफ्नो स्तर वृद्धि र मापन गर्ने अवसर पाउँछन् । तर एकसाते लिगबाट खेलाडीको न आर्थिक अवस्था उकासिन्छ, नत धेरै खेल्ने अवसर नै । जसमा विभागिय टोलीका खेलाडी राज गर्छन् र विजेता घोषणा गर्दै सकिन्छ लिग । 

Prabhu Bank
Agni Group
NIC Asia

व्यावसायिक लिगबारे एन्फाले रणनीति बनाउन नसकेपनि यसपटक ६ महिना लिग सञ्चालन गर्ने घोषणा गरेको छ । तर मिति नजिकिँदै गए पनि एन्फाले आन्तरिक तयारी समेत थालेको छैन । एकसाते लिगबारे सर्वत्र आलोचना भएपछि एन्फा नेतृत्वले यसपटक परिमार्जन गर्दै महिला फुटबलको विकासका लागि ६ महिने लिग सञ्चालन गर्ने ३ महिनाअघि घोषणा गरेको थियो । 

मिति तय भएको लामो समय बितेपनि लिग कहाँ र कहिलेबाट सुरु गर्नेबारे एन्फा नेतृत्व अलमलमा छ । घोषणा गरेअनुसार महिला लिग यही भदौ २० गतेबाट सुरु हुनुपर्ने हो । तर आयोजकको गृहकार्य हेर्दा महिला लिग सर्ने निश्चितप्रायः छ ।  एन्फाका प्रवक्ता किरण राईले पनि लिग सर्ने र समय पनि कटौती हुनसक्ने बताए । उनले भने, “हामी गृहकार्य गरिरहेका छौं । कहिले, कहाँ र कस्तो लिग सञ्चालन गर्ने छलफलमै छौं । छिट्टै निष्कर्षमा पुग्नेछौं ।” 

Global Ime bank

उनका अनुसार अहिले कस्तो लिग सञ्चालन गर्नेबारे छलफल भइरहेको छ । अझै एन्फाले घोषणा गरेको मिति आउन दुई साता रहेपनि लिग समयमै नहुने पक्का जस्तै छ । प्रवक्ता राईले भने, “समय त छ तर भनेकै मितिमा गर्न अप्ठ्याारो छ । प्रदेशका लागि जिल्ला छनोट लगायत काम गर्नुपर्ने हुन्छ । हामी खेलाडीलाई व्यावसायिक रुपमा अघि बढाउन क्लबसँग पनि छलफल गरिरहेका छौं । समय लाग्छ ।”

त्यसो त मिति घोषणा गरेर समयमै प्रतियोगिता सञ्चालन गर्न एन्फा चुक्दै नआएको भने होइन । हतारमा मिति घोषणा गर्ने तर समयमै प्रतियोगिता सञ्चालन गर्न नसक्ने एन्फाको पुरानै रोग हो । प्रवक्ता राईले मिति घोषणालाई गलत तवरले भन्दा सकारात्मक रुपमा सोच्नुपर्ने बताए । “हतारमा नभई हामी मिति घोषणा गरेर आफूलाई नै दबाब दिइरहेका हुन्छौं । वार्षिक कार्यक्रममा धेरै प्रतियोगिता छन् । जसअनुसार महिला लिगको मिति घोषणा गरिएको हो,” राईले भने । 

मंसिरमा घरेलु मैदानमा एसियाली खेलकुदको कुम्भ मेला १३ औं साग आयोजना हुँदैछ । खेलाडी अहिले त्यसैको तयारीमा छन् । मैदानको अभावमा खेलाडीले एउटै मैदान बाँडेर खेल्नु परिरहेका बेला एन्फालाई लिग गर्न चुनौती पनि उत्तिकै छ । 

तर, एन्फा प्रदेशमा लिग सारेर भए पनि गर्ने गृहकार्य गरिरहेको प्रवक्ता राई बताउँछन् । लिगको समयसँगै अर्को आलोचना हुने पुरस्कार राशिमा पनि एन्फा परिवर्तन हुने दाबी गर्छ । त्यसो त अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने महिला र पुरुष खेलाडीको तलब र पुरस्कार राशि समान छैन । नेपालमा पनि पुरुष र महिला खेलाडीको पुरस्कार राशि तुलना गर्ने अवस्थामा छैन । 

प्रवक्ता राईले पुरस्कार राशि विस्तारै समायोजन गरिरहेको बताए । उनले यसपटकदेखि महिला लिगको पुरस्कार राशिमा वृद्धि हुने बताए “अन्तर्राष्ट्रिय रुपमा नै समान भएको छैन । यसको मतलब हामी गर्दैनौं भन्ने होइन । परिमार्जन पक्कै गर्नेछौं,” उनले भने । अहिले एन्फाले महिला खेलाडीको तलबमा पनि केही परिमार्जन गरेको छ । यद्यपि पुरुष खेलाडीभन्दा महिलाको तलब आधामात्रै छ । 

यता एक साताको लिगबाट दिक्क भएका खेलाडी लामो लिग खेल्न पाउनेमा उत्साहित भए पनि एन्फाको तयारी हेर्दा निराशा छन् । एक खेलाडीले भनिन्, “पुरुषको लिग भए महिनौंदेखि तयारीमा लाग्थे । घोषणा गरेको मिति आइसक्यो, तयारी छैन ।  हुन्न जस्तो लाग्छ ।”

लिगलाई खेलाडी उत्पादनको मेरुदण्ड मानिन्छ । नयाँ खेलाडीको आगमनका रुपमा लिइन्छ भने क्षमता वृद्धिमा सहयोग पुर्याउँछ लिगले । नेपालमा एक साताको महिला लिगले खासै प्रभाव पारेको देखिँदैन । खेलाडीको क्षमता वृद्धि त कहाँ पुरानै खेलाडी टोलीमा देखिन्छन् । 

कर्माछिरिङ शेर्पा एन्फा अध्यक्ष भएपछि महिला फुटबलका गतिविधि भने केही बढेका छन् । महिला टोलीले गत वर्ष ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाए । जसमा ओलम्पिक छनोट, पाँचौं महिला साफ च्याम्पियनसिप, हिरो वुमेन्स गोल्डकप लगायतका प्रतियोगिता थिए । 

घरेलु मैदानमा साफको उपाधि भारतलाई सुम्पिए पनि हिरो वुमेन्समा महिला खेलाडीले भारतमाथि कीर्तिमानी जित निकालेका थिए । अर्को महत्वपूर्ण उपलब्धि ओलम्पिक छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो । तर, दोस्रो चरणमा सुखद् नतिजा भने निकाल्न सकेन । त्यसैगरी चीनमा मैत्रीपूर्ण खेल्ने अवसर पनि पाएको थियो महिला टोलीले । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय