site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालले कहिलेदेखि गर्ला पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादन ? 

काठमाडौं । खानी तथा भूगर्भ विभागले केही दिनअघि एउटा तस्बिर आफ्नो वेबसाइटमा राख्दै भनेको थियो, ‘दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा भइरहेको पेट्रोलियम अन्वेषण ड्रिलिङ (खन्ने) कार्य ४ हजार २ मिटर गहिराइमा सम्पन्न भई ऐतिहासिक उपलब्धि हासिल भएको छ ।”

तस्बिर ड्रिलिङ कार्य भइरहेको स्थानको थियो । तस्बिरको बीचमा ठूलो ड्रिलिङ मेसिन छ । ड्रिलिङ कार्य पहाडको फेदीमा भइरहेको तस्बिरमा देखिन्थ्यो ।

उक्त तस्बिर र क्याप्सन पढेपछि खानी तथा भूगर्भ विभागकी प्रवक्ता तथा उप–महानिर्देशक मोनिका झालाई सोध्यौं, ‘दैलेखको जलजलेमा भइरहेको पेट्रोलियम अन्वेषण ड्रिलिङ किन भयो, ऐतिहासिक ?’

जटिल प्राविधिक विषयलाई सामान्य रुपमा बुझाउने प्रयास गर्दै प्रवक्ता झाले बाह्रखरीसँग भनिन्, “दुई कारणले यो घटना ऐतिहासिक बन्यो । पहिलो, नेपालमा पेट्रोलियम पदार्थको खोजी गर्दा यति गहिरो खाडल यसअघि खनिएको थिएन । दोस्रो, ड्रिलिङ गर्दा पहिलोपटक नेपालमा पेट्रोलियम पदार्थ भेटिएको छ ।” 

नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य २०३६ सालबाट सुरू भएको हो । यो ४५ वर्षको इतिहासमा नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने उद्देश्यले हालसम्म दुईपटक मात्र ड्रिलिङ गर्ने काम भएको छ ।  

पहिलो ड्रिलिङ २०४६ जेठ महिनामा सुरू गरिएको थियो ।  मोरङको तत्कालीन बाहुनी गाविसको राधानगरमा भएको थियो । ड्रिलिङ गरी ३ हजार ५२० मिटर गहिराइको एक इनार (खाडल) खन्ने काम गरिएको थियो । 

खानी तथा भूगर्भ विभागका वरिष्ठ भू–वैज्ञानिक दिनेशकुमार नापितले आफ्नो अनुसन्धान पत्र ‘नेपालमा पेट्रोलियम अन्वेषण र विकास’ मा मोरङमा भएको ड्रिलिङका सम्बन्धमा लेखेका छन्, “यस ड्रिलिङ होलबाट नतिजामा हाईड्रोकार्बनका संकेतहरू नदेखिएता पनि ड्रिलिङ डाटाहरू पेट्रोलियम अन्वेषण तथा प्रवद्धनका लागि अत्यन्त उपयोगी तथा महत्वपूर्ण देखिन्छ ।” 

पहिलो ड्रिलिङ गर्दा पोट्रोलियम पदार्थ नभेटिएपछि दोस्रो ड्रिलिङ्गको लागि ३५ वर्ष कुनुपर्यो । ३५ वर्षपछि २०८१ वैशाख २८ गतेबाट दैलेख जिल्लाको जलजलेमा ड्रिलिङ सुरू गरिएको थियो । यो नै नेपालमा पेट्रोलियम पदार्थको खोजी गर्न गरिएको दोस्रो ड्रिलिङ हो । ड्रिलिङका लागि ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

“६ महिनामा ड्रिलिङ्को काम सक्ने योजना बनाइएको थियो । जसअनुसार गत असोजमा यो काम सकिनु पर्थ्यो । केही समय बढी लाग्यो,” विभागकी प्रवक्ता झाले बताइन् । 

दैलेख जिल्लाको जलजलेमा ड्रिलिङ्ग कार्यमा चिनियाँ प्राविधिक टोलीले सघाइरहेको छ । 

चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरेको थियो । त्यसपछि ड्रिलिङको काम सुरू गरिएको थियो । 

“हाम्रो जियोफिजिकल अध्ययनले ४ हजार मिटरको हाराहारीमा तेल भेटिने सम्भावना देखाएको थियो । सोही अनुसार चार हजार मिटरको लक्ष्य हामीले राखेका थियौं,” विभागकी प्रवक्ता झाले भनिन्, “हामीले ४ हजार १३ मिटर खन्ने काम सकेका छौं ।” 

अब खन्ने काम सकिएको उनले बताइन् । 

प्रवक्ता झाका अनुसार, चीनको २ अर्ब ५० करोड रुपैयाँ अनुदान सहयोगमा दैलेख जिल्लाको जलजलेमा पेट्रोलियम पदार्थ खोजी गर्ने परियोजना सञ्चालन गरिएको हो । अन्वेषणमा नेपाली र चिनियाँ गरी ८० जना संलग्न छन् ।

पेट्रोलियम पदार्थ खोजी कार्यमा खानी तथा भूगर्भ विभाग, सबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी र चाइना जियोलोजिकल सर्भे संलग्न छन् । 

“२०७२ सालमा नाकाबन्दीका बेला पेट्रोलियम पदार्थको अभाव भएको थियो । त्यतिबेला सरकारले हाम्रोमा पेट्रोलको सम्भावना के कति छ भनेर जानकारी मागेको थियो । हामीले त्यतिबेलासम्म एउटा मात्र इनार खनेको जानकारी दियौं । भारत र पाकिस्तानमा पनि तेल भेटिएकोले हाम्रोमा पनि छ भन्यौं । तर अध्ययन गर्न ठूलो खर्च लाग्ने भएकोले हामी लगानी गर्न सक्दैनथ्यौं,” प्रवक्ता झाले भनिन् ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री (हालका पनि) केपी शर्मा ओलीले २०७२ चैत ७ गतेदेखि १४ गतेसम्म चीनको भ्रमण गर्दा नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्ने सहमति गरिएको थियो । 

“चिनियाँ पक्ष नेपालका लागि तेल भण्डारण सुविधा निर्माण गर्न सहमत भएको छ र तेल तथा ग्यासको स्रोत अनुसन्धानको लागि सम्भाव्यता अध्ययन गर्न विज्ञहरू नेपाल पठाउनेछ,” ओलीको चीन भ्रमणका बेला २०७२ चैत १२ गते नेपाल र चीनले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको थियो । 

यो सहमतिपछि दैलेख लगायत अन्य स्थानमा ग्यास तथा पेट्रोलियम पदार्थको खोजी गर्ने सम्झौता नेपाल र चीनबीच भएको थियो ।  २०७४ भदौ ९ गते नेपाल र चीनबीच तेल तथा ग्यासको स्रोत सर्वेक्षण परियोजना गर्न सम्झौता भएको थियो । 

त्यसपछि २०७५ फागुन १६ गते नेपाल र चीनबीच उक्त सर्वेक्षण परियोजना कार्यान्वयन गर्ने सम्झौता भएको थियो । 

“कार्यान्वयन सम्झौता भएलगत्तै कोभिड–१९ महामारी सुरू भयो, यसका कारण परियोजना समयमै सुरु हुन सकेन र केही पछाडि धकेलियो,” प्रवक्ता झाले बताइन् । 

कोभिडको प्रभाव कम हुँदै गएपछि नेपालमा पेट्रोलियम पदार्थ खोजीको बाँकी काम गर्न चिनियाँ टोली २०७९ असार १२ गते नेपाल आएको थियो । त्यसपछि ड्रिलिङ साइटको पहिचान गरिएको थियो, जुन थियो– दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ स्थित जलजले । 

“यसअघि पनि विभिन्न सर्भे भएका थिए । नेपाललाई १० वटा ब्लकमा विभाजन गरेर पेट्रोलियम पदार्थ भेटिन सक्ने सम्भावित क्षेत्रको अध्ययन गरिएको थियो । अनि हामीले सम्भावना बढी रहेको क्षेत्रको रुपमा दैलेख रोजेको हो,” विभागकी प्रवक्ता झाले जानकारी दिइन् । 

उनका अनुसार, २ हजार ७ सय मिटर खन्ने कार्य कटेपछि हरेक दुई÷दुई मिटरको गहिराइको ‘स्याम्पल’ (नमुना) संकलन गर्दै गइएको थियो ।  यो कार्य ४ हजार १३ मिटर खन्दासम्म कायम थियो । स्याम्पल भनेको खन्ने क्रममा निस्कने ढुंगा, बालुवा लगायतका पदार्थ हुन् । 

“खन्दै जाँदा निकालिएका स्याम्पलहरू अध्ययन र विष्लेषणका लागि चीन पठाउँदै गरेका छौं । पछिल्ला स्याम्पल पठाउन बाँकी छ र यो हामी छिट्टै पठाउँछौं,” प्रवक्ता झाले भनिन् । 

चिनियाँ प्रयोगशालामा स्याम्पलको अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने काम गरिन्छ । स्याम्पलमा के–कति तेल र ग्यास भेटिन्छ अनुसन्धानले देखाउँछ । यो काम चिनियाँ टोलीले गर्छ ।  

स्याम्पल पठाएपछि प्रतिवेदन आउन चार महिना लाग्छ । अर्थात् नेपालले अन्तिम प्रतिवेदन प्राप्त गर्न कम्तिमा पनि चार महिना बाँकी छ । 

“प्रतिवेदनका आधारमा सम्भावना भए हामी फेरि त्यो इनारमा गएर तेल निकाल्छौं । त्यसको फेरि विश्लेषण हुन्छ । गुणस्तर जाँच गर्ने काम हुन्छ । यदि आर्थिक र व्यावसायिक रुपमा ग्यास तथा पेट्रोलियम पदार्थको उत्पादन सम्भव भए मात्र उत्पादन र बिक्री वितरण सुरू हुन्छ,” प्रवक्ता झाको भनाइ छ । 

डिलिङ गरेका बनाइको खाल्डो (इनार)मा तेल र ग्यास छ भेटिँदैमा परियोजना अघि बढ्दैन ।  ग्यास र तेल ठूलो मात्रामा भेटिनुपर्छ, ताकि त्यसलाई व्यावसायिक रुपमा उत्पादन गर्न सकियोस् ।  थोरै मात्रामा ग्यास र तेल भेटिए परियोजना अघि बढाउन गाह्रो हुन्छ किनकि त्यो खर्च धान्न सकिँदैन । 

“धेरै मात्रामा तेल र ग्यास छ भने त्यसलाई हामी व्यावसायिक रुपमा अघि बढाउन सक्छौं, यसका लागि ती वस्तुको गुणस्तर पनि राम्रो हुनुपर्छ । भेटिएको ग्यास र तेलको गुणस्तर विष्लेषण पछि मात्र कमर्सियल रूपमा सम्भव छ या छैन थाहा हुन्छ । चार महिनापछि विस्तृत प्रतिवेदन आउँछ, त्यसपछि सबै कुराको टुङ्गो लाग्छ,” प्रवक्ता झाले भनिन् । 

दैलेखको जलजलेमा गरिएको ड्रिलिङमा तेलभन्दा पनि ग्यासको मात्रा बढी भेटिएको छ । २ हजार ७ सय मिटर खन्दा नै ग्यास भेटिएको थियो । तेल ४ हजार मिटर वरपर पुगेपछि मात्र भेटिएको थियो ।

“तेल र ग्यास त भेटियो तर कति मात्रामा छ हामीलाई अझै थाहा छैन । हामीलाई व्यावसायिक रुपमा अघि बढाउन सक्ने मात्रामा चाहिन्छ,” उनले स्पष्ट पारिन् । 

उनका अनुसार, दैलेखको जलजलेमा अब ड्रिलिङ गर्नु पर्दैन ।  पेट्रोलियम अन्वेषण एकदमै महँगो काम हो र एकदमै जोखिम पनि हुन्छ ।  महँगो यसकारणले पनि हुन्छ– १० प्रतिशत मात्र सफल मिल्छ । अर्थात १० वटा इनार खन्यो भने एउटा इनारमा मात्र तेल तथा ग्यास भेटिने सम्भावना हुन्छ । 

“हाम्रो देशमा तेल छ भनेर धेरै अध्ययनले देखायो तर हामीले लगानी गर्न सकेका थिएनौं । यो ४५ वर्षमा हामीले जम्मा दुईवटा इनार खन्न सक्यौं । अझै ८ वटा इनार खन्न बाँकी नै छ । किनकि १० वटा इनार खन्दा एउटामा तेल तथा ग्यास भेटिने सम्भावना हुन्छ । हामीले त दोस्रो इनारमा नै तेल तथा ग्यास भेटेका छौं । यसकारण पनि यो ठूलो र ऐतिहासिक सफलता हो,” प्रवक्ता झाको तर्क छ । 

पेट्रोलियम पदार्थको खोजी कार्य निकै महङ्गो हुने कारणले नेपालमा यसको अध्ययन हुन सकेको छैन । भौगर्भिक, भू–भौतिक, भू–रसायनिक आदि विभिन्न चरणको अध्ययनपश्चात मात्र ड्रिलिङ्ग गर्ने कार्य गरिन्छ । ड्रिलिङ गरेपछि पनि पेट्रोलियम पदार्थ भेटिन्छ भन्ने ग्यारेन्टी हुँदैन । यसका लागि समय पनि निकै लाग्छ । पेट्रोलियम पदार्थ नभेटिए समय र खर्च दुवै खेर जान्छ । 

नेपालमा सुरूदेखि नै यस्तो अध्ययन तथा अनुसन्धान खानी तथा भूगर्भ विभागले गर्दै आएको छ ।  नेपालमा पेट्रोलियम पदार्थको खोजी कार्यलाई तिव्रता दिन विभागले २०३९ जेठ महिनामा पेट्रोलियम अन्वेषण परियोजनाको स्थपना गरेको थियो । 

चिनियाँहरूले अहिलेको ठाउँमा तेल ग्यास प्रयाप्त भेटिए पनि अन्य ठाउँमा पनि अध्ययन गर्न सघाउने जानकारी प्रवक्ता झाले दिइन् ।  उनका अनुसार, दुई तीनवटा ठाउँ उनीहरूले पहिचान गरेका छन् । पाल्पाको तानसेन क्षेत्रमा चीनले अध्ययन गरेको छ । विभागले चितवन र लुम्बिनीको लागि टेन्डर आह्वान गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro