site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेन्ट्रल जोन भलिबलः घरेलु कोर्टमा फाइनल पुग्‍ने लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल आगामी सोमबारबाट नेपालमा सुरु हुँदैछ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पाँच दिनसम्म चल्ने प्रतियोगितामा घरेलु टोली नेपालसहित बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, माल्दिभ्स, तुर्किमिनिस्तान र उज्वेकिस्तान सहभागी हुँदैछन् । 

एसियन भलिबल संघको संयोजनमा पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पाएको नेपाल ऐतिहासिक नतिजा निकाल्ने रणनीतिमा छ । चार दशकको भलिबल यात्रामा ठूलो अन्तर्राष्ट्रिय पदकका रुपमा नेपालले अहिलेसम्म कास्य पदकमात्र भित्र्याएको छ । त्यो पनि साढे २ वर्षअघि अर्थात् २०७३ सालको चैतमा माल्दिभ्समा सम्पन्न तेस्रो एभिसी सेन्ट्रल जोन भलिबलमा पाएको हो । सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय भलिबलको यात्रा सुरु गरेको नेपालले सेन्ट्रल जोनका सबै संस्करणमा सहभागिता जनाएको छ ।

पहिलो पटक सेन्ट्रल जोन भलिबल आयोजना गर्ने अवसर पाएको नेपाललाई घरेलु कोर्टमा अन्तर्राष्ट्रिय पदकमा फड्को मार्ने अवसर पनि छ । त्यही अवसरलाई सदुपयोग गर्न नेपाल विगत दुई महिनादेखि नेदरल्याण्डका प्रशिक्षक हान एबिङको नेतृत्वमा अभ्यास गरिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिता सुरु हुनु केही दिनअघि नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल पनि खेलेको छ । मैत्रीपूर्ण खेल नेपालका लागि कमजोरी औल्याउँदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने पाटो बन्नेछ ।  

विपक्षीमा विशेषतः तीन टोलीहरु (किर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान र अफगानिस्तान)लाई मुख्य चुनौती रुपमा लिएको नेपाल अन्तिम कमजोरी सुधार्दै फाइनल पुग्ने रणनीतिमा छ । 
कप्तान इम रानाले फाइनल पुग्ने लक्ष्यका साथ टोली अन्तिम तयारीमा रहेको बताए । “तीन टोलीहरु निकै बलिया छन् । उनीहरुका खेलाडीको उचाइदेखि प्रदर्शन धेरै राम्रो छ । खेलस्तर पनि माथि छ । पछिल्लो समय बंगलादेशले पनि राम्रो तयारी गरिरहेको छ । तर हामी चुनौतीका लागि तयार छौं,” इमले भने ।

Global Ime bank

स्पाइक लाइन राम्रो रहेको बताएका कप्तान इम रिसिभ र ब्लकलाई सुधार्न आवश्यक रहेको बताउँछन् । “हाम्रो स्पाइक राम्रो छ । मैत्रीपूर्ण खेलले पनि रिसिभ र ब्लक सुधार्न आवश्यक छ भन्ने पुष्टि गरेको छ । अझै दुई दिनमा हामी कमजोरी सुधार्नेछौं,” कप्तान इमले भने । 

विदेशी प्रशिक्षक हान एबिङ आएपछि उत्साहित भलिबल टोली अवसरलाई खेर जान दिने पक्षमा छैन । उनले भने, “हाम्रो लागि निकै ठूलो अवसर हो । घरेलु मैदान र दर्शकको साथ छ हामीलाई । अन्तर्राष्ट्रिय पदकमा फड्को मार्ने अवसर छ । मैत्रीपूर्ण खेलमा दर्शकको उपस्थितिले थप उत्साहित बनाएको छ ।”

विदेशी टोलीले एभिसी भलिबलका लागि लामो तयारी गर्दा नेपाल भलिबल संघ भने प्रशिक्षणका लागि चुकेको कप्तान इमले गुनासो गरे । “संघलाई पहिले थाहा रहेछ सेन्ट्रल जोन आयोजना गर्नेबारे । त्यहिअनुसार हाम्रो तयारी सुरु गरेको भए अरु टोलीसँग दबाबमा खेल्न पर्दैन थियो । सहज रुपमा खेल्न पाउँथ्यौं । तर दुई महिनामात्र तयारी गर्न पाइयो । समय धेरै भएको भए अझै खेल निखार्न पाइन्थ्यो,” उनले भने । 

पछिल्लो समय भलिबलमा ठूलो फड्को मारेको बंगलादेशले इरानी प्रशिक्षकको नेतृत्वमा लामो समयदेखि तयारी गर्दा नेपालले तयारी सुरु गरेको दुई महिनामात्र भयो । “बंगलादेश बलियो टोलीका रुपमा आउँदैछ । उनीहरुले इरानी प्रशिक्षकसँग इरानमै अभ्यास गरे । अरु तीन टोलीको वर्षभरी नै अभ्यास हुन्छ । हामी प्रतियोगिता आएपछि आत्तिने हो । मैत्रीपूर्ण खेल अझैबलियो टोलीसँग भए आफ्नो परीक्षा गर्न सजिलो हुनेथियो,” कप्तान इमले भने । 

नयाँ खेलाडीको आगमनले टोली थप मजबुत रहेको बताएका कप्तान इमले भलिबल समर्थकले टोलीबाट फरक स्तरको खेल हेर्न पाउने दाबी गरे । “खेल फर्म्याट परिवर्तन गरेका छौं । मैत्रीपूर्ण खेलमा त्यो प्रयोग गर्यौं तर केही मिलेन । टिम सेट सुधार हुँदै गइरहेको छ । स्तर माथि उठेको महसुस भएको छ । नयाँ टेक्निकहरु पनि लागू भएका छन्,” उनले भने । 

सेन्ट्रल जोन भलिबलपछि नेपालले घरेलु मैदानमा नै हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागिता जनाउनेछ । सन् १९८७ को तेस्रो साग प्रतियोगितादेखि निरन्तर सहभागि हुँदै आएको नेपालले कुनै पनि पदक जित्न सकेको छैन । सागअघिको ठूलो प्रतियोगिताले समेत टोली सागमा समेत पदकको अपेक्षा गरेको छ ।

तस्बिरहरूः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement