site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फाइनलको लक्ष्यसहित मैदान उत्रिँदै जनकपुर र कर्णाली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा बिहीबार जनकपुर बोल्ट्स र कर्णाली याक्स मैदान उत्रिँदा दुवै टोलीको लक्ष्य जितसहित फाइनल पुग्ने हुनेछ ।

प्रतियोगितामा जनकपुर लिग चरणको दोस्रो स्थानमा रहँदै प्लेअफमा आएको हो । तर, पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति आउँदो शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसअघि सुदूरपश्चिमले पहिलो प्लेअफमा जनकपुरलाई आठ विकेटले निराश बनाउँदै फाइनल यात्रा तय गरेको थियो ।

लिग चरणबाट चौथो स्थानमा रहँदै प्लेअफमा आएको कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ । यी दुई टिमबीच लिग चरणमा भएको खेलमा भने जनकपुरले कर्णालीविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

दोस्रो क्वालिफायरअघि बुधबार जनकपुरका कप्तान आसिफ सेखले राम्रो खेल्ने टिमले खेल जित्ने बताएका थिए ।

“भोलि जसले राम्रो खेल्छ उसैले जित्छ । फाइनलमा सुदूरपश्चिमसँग खेल्छौँ र उहाँहरूलाई हराएर उपाधि जित्छौँ भन्ने हाम्रो विश्वास छ,” दोस्रो क्वालिफायरअघि आसिफले भनेका थिए ।

यता, कर्णालीका कप्तान सोमपाल कामी पनि आफ्नो टिमले फाइनलसम्मको यात्रा तय गर्ने विश्वास व्यक्त गरे ।

फाइनलको भावना त म सुरुदेखि नै देखिरहेको थिए । यहाँसम्म खेल्न पाउँदा एकदमै खुसी छु । अब हामीसँग दुई खेल छ । दुई खेलमा म्याच विनर बन्ने । त्यसैको प्रतिक्षामा छौँ,” कर्णालीका कप्तान सोमपाल कामीले भने ।

लिग चरणको नतिजा
जनकपुरले प्रतियोगिताको सुरुआती चार खेलमा लगातार जित निकालेको थियो । तर, लिग चरणका अन्तिम तीन खेल खेल्दा भने जनकपुरले दुई खेलमा हार व्यहोरेको हो ।

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटको नै, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो । पाँचौँ खेलमा भने जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनको हार व्यहोरेको हो । छैटौँ खेलमा काठमाडौंविरुद्ध पाँच विकेटको जित निकालेको जनकपुरले सातौँ खेलमा चितवन राइनोजसँग ३२ रनको हार व्यहोरेको हो ।

यता, कर्णालीले भने पहिलो र दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजविरुद्ध क्रमशः आठ र तीन विकेटले पराजित भएको थियो ।

कर्णालीले तेस्रो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेट, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध सात रन, पाँचौँ खेलमा पोखराविरुद्ध सात विकेट र छैटौँ खेलमा लुम्बिनी लायन्ससँग पाँच रनको जित निकालेको थियो । सातौँ खेलमा भने कर्णालीले सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro