site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुख र उपसभामुख एउटै पार्टीको भएपछि गण्डकी सरकारविरुद्ध मुद्दा 

पोखरा । प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । मुद्दाको विषय छः सभामुख र उपसभामुख एउटै पार्टीको हुन हुँदैन । संविधानको धारा १८२ ले प्रदेशसभाको सभामुख र उपसभामुखको व्यवस्था गरेको छ । उपधारा २ ले प्रदेश सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुने गरि गर्नुपर्ने र फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने स्पष्ट व्यवस्था छ ।

माओवादी केन्द्रबाट निर्वाचित सभामुख नेत्रनाथ अधिकारी र साविकको एमालेबाट समानुपातिकमा निर्वाचित उपसभामुख सिर्जना शर्माको पार्टी अहिले नेपाल कम्युनिष्ट पार्टी बनेपछि पनि एउटै पार्टीका भएको भन्दै एकसाता अघि रिट परेको छ । नेपाल कम्युनिष्ट पार्टीबाट नै दुई जना सभामुख–उपसभामुख हुन नहुने भन्दै उच्च अदालतमा प्रदेश सरकारविरुद्ध मुद्दा परेको हो । मुद्दा परे पनि हालसम्म एकपटक पनि रिटमाथि बहस भने भएको छैन ।

मुख्य न्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी सिता अधिकारी भन्छिन्, “कहिले पेशी स्थगित हुने, पालो नआउने, हेर्न नभ्याइनेमा पर्ने गरेको छ ।” गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि केही दिन यस विषयमा सदनमा कुरा उठायो । अहिले उक्त कुरा यत्तिकै सेलाएको छ ।  यो समस्या गण्डकी प्रदेशको मात्रै होइन । गण्डकीसहित २ नं. बाहेकका अन्य प्रदेशमा पनि एउटै दलका सभामुख र उपसभामुख छन् । संघीय संसदमा पनि सत्तारुढ नेकपाकै सभामुख र उपसभामुख छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस विषयमा सर्वोच्चमा एक वर्षअघि नै रिट दायर भइसकेको छ । तर, यस सम्बन्धमा भने कुनै फैसला चाहिँ आएको छैन ।

मंगलबार पनि मुख्य न्यायधिवक्ताको कार्यालयका उपसचिव दयाशंकर अधिकारी बहसका लागि उच्च अदालत गए । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ प्रगतिटोलका तुलबहादुर थापाले गण्डकी प्रदेश सरकारलाई खानेपानीको पाइप बिच्छ्याउँदा आफ्नो जमिन धेरै लिइएको भन्दै अदालत गुहारेका थिए । 

जिल्ला अदालतले उनको मागमा अन्तरिम आदेश दिइ काम यथास्थितिमा राख्नु भने पनि काम रोकिएन । यसपछि थापाले अदालतको अवहेलना भन्दा उच्च अदालतमा मुद्दा दायर गरे । सोही मुद्दामा बहसको लागि उपसचिव अधिकारी उच्च अदालत गएका थिए ।

प्रदेश सरकार स्थापनायता सरकारविरुद्ध हालसम्म १५ वटा मुद्दा परेका छन् । सरकार गठनको १६ महिने अवधिमा योसहित अन्य विभिन्न विषयमा मुद्दा परेका छन् । संसदीय पत्रकार मञ्च गण्डकीले मंगलबार प्रदेशका मुख्य न्यायधिवक्ता राजेन्द्र घिमिरेसँग गरेको साक्षात्कार कार्यक्रममा घिमिरेले प्रदेश सरकारविरुद्ध परेका मुद्दाको विषयमा आफ्ना धारणा राखे । 

उनका अनुसार प्रदेश सरकारलाई विपक्षी बनाएर अहिलेसम्म १५ वटा मुद्दा परेका छन् । जमसध्ये ४ वटाको भने फैसला भइसकेको छ ।  फेवाताल संरक्षणको लागि पोखरा महानगरले निकालेको सूचनाविरुद्ध पनि गण्डकी सरकार विपक्षी बन्यो । स्थानीय सीता देवकोटासहितका २८ जनाले प्रदेश सरकारलाई विपक्षी बनाएर मुद्दा दायर गरे ।

यीसहित कर्मचारी समायोजनदेखि गाउँपालिका केन्द्रको विषयमा पनि प्रदेश सरकारलाई मुद्दा परेको छ ।  स्याङ्जाको कालीगण्डकी गाउँपालिका केन्द्र हेरफेरबारे असन्तुष्ट स्थानीयले सरकारविरुद्ध मुद्दा दायर गरेका छन् । ग्रामीण सडक विस्तारको क्रममा व्यक्तिको जग्गा, क्रसर उद्योग, सीटीईभीटी, अस्पतालका विषयमा पनि प्रदेश सरकारविरुद्धमा मुद्दा परेका छन् ।

सरकारको कानुनी सल्लाहकारसमेत रहेका घिमिरे भन्छन्, “बेलाबेलामा अदालत गइरहनुपर्छ, सर्वोच्चदेखि उच्च र बाग्लुङमा समेत मुद्दा छ, कार्यालय एउटा मात्रै हुँदा असहज पनि हुन्छ ।” साक्षात्कार कार्यक्रममा घिमिरेले प्रदेशले बनाउने कानुनमा दण्डको पनि व्यवस्था हुनुपर्ने बताए । “सभाले ऐन बनाउँछ, दण्ड सजायको व्यवस्था भने प्रचलित कानुन अनुसार भनेर भनिएको हुन्छ, ऐन बनाउने भएपछि त्यसको अभियोजन पनि प्रदेश सरकारलाई दिइनुपर्छ,” उनले भने ।

मुख्य न्यायधिवक्ताको कार्यालयको काम कानून नबनाउने भएतापनि प्रदेशको सरकारलाई सघाउन कानून निर्माणमा नै बढी समय खर्चिएको उनको भनाइ छ । यस्तै, उनले प्रदेश सरकारले २० वटा कानूनको मस्यौदा तयार गरेको जानकारी दिए । घिमिरे, कानुन मस्यौदा समितिमा, स्थानीय तहमा कानुन निर्माण सहजीकरण समितिको संयोजक सहित विभिन्न समितिमा रहेका छन् ।  उनी २०७४ फागुन २१ गते मुख्य न्यायधिवक्तामा नियुक्त भएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro