site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भूकम्पको पूर्वानुमान गर्न सकिँदैन तर बिर्सियौँ भने समस्या पर्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज वैशाख १२ गते । चार वर्षअघि अर्थात् २०७२ साल वैशाख १२ गतेको मितिलाई सम्झिँदा हामी नेपाली झस्किने गर्दछौं । त्यो दिन बिहान ११ः५६ बजेको समयमा आएको ७ दशमलब ८ म्याग्निच्यूडको भयानक भूकम्पबाट हामीले ठूलो जनधनको क्षति बेहोर्नुपर्‍यो ।

त्यसबेला भूकम्पमा परेर झण्डै ९ हजार मानिसको ज्यान गयो, करिब २२ हजार मानिस घाइते भए र कैयौं संरचना ध्वस्त भए । त्यसबाट उत्पन्न कथा र व्यथा अनि पीडाको अन्त्य अझै भइसकेको छैन । त्यो भूकम्पलगत्तै एउटा नाम सधैँ मिडियामा छाएको थियो । त्यो नाम थियो– लोकविजय अधिकारी । भूकम्पलगत्तै फोन पनि अबरुद्ध भएको बेलामा भूकम्पको बारेमा रेडियो नेपालमार्फत् सर्वसाधारणसम्म सूचना दिने व्यक्ति उनै अधिकारी थिए । 

सरकारी निकाय भूकम्प मापन केन्द्रका प्रमुख रहेका उनी त्यतिबेला २४ सै घण्टा मिडियाको सम्पर्कमा थिए । बाहिरबाट अध्ययन अनुसन्धानमा आउनेसँगको भेटघाट, मिडियासँगको उपलब्धता तथा विभिन्न भागमा निरीक्षण गर्न जाने मात्रै होइन लगातारका परकम्पपछिको अपडेट गराउने काममा पनि उनको टोली त्यसरी नै युद्धस्तरमा खटिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबारको दिन परेकोले भूकम्प आएको समयमा घरमै रहेका उनी २० मिनेट भित्रमा कार्यालय पुगेको बताउँछन् । त्यसदिन उनको कार्यालयमा १ लाख २० हजार कल त फोन मात्रै रेकर्ड भएका थिए । ४८ घण्टा सम्म उनी नेतृत्वको टोली लगातार कार्यालयमा खटिएको थियो । तर, पछिल्ला दिनमा उनको फोन लाग्दैन । उनी अक्सर पहिला जस्तो मिडियासँग नियमित सम्पर्कमा पनि छैनन् । आखिर उनी के गर्दैछन् त ? अहिले फ्रान्समा रहेका वरिष्ठ भूगर्भविद् समेत रहेका अधिकारीले बुधबार राति बाह्रखरीसँग लामो कुराकानी गरे ।

प्रस्तुत छ, उनीसँग बाह्रखरीका लेखनाथ अधिकारीले गरेको वार्ताः 

Global Ime bank

भूकम्प भन्नासाथै तपाईंको नाम सुनिन्थ्यो कता हराउनुभयो आजकल ?

म हराएको छैन । अध्ययनको सिलसिलामा अहिले फ्रान्सको पेरिसमा छु । म अहिलेपनि भूकम्प मापन केन्द्रकै प्रमुखका रुपमा  छु । तर, अहिले बिदा लिएर आएको हुँ ।

के अध्ययन गर्दै हुनुहुन्छ ?

गोरखा भूकम्पकै बारेमा पीएचडी गर्न म यहाँ आएको हुँ । तीनवर्ष पढें । अब १ वर्ष बाँकी छ । म बेलाबेलामा नेपाल पनि जाने गरेको छु । नेपाल गएकोे बेलामा कार्यालयमा हाजिर हुन्छु । अरु बेला बिदामा छु । 
मैले युनिभर्सिटी अफ पेरिसमा गोरखा भूकम्पबारेमा पीएचडी गर्न लागेको हुँ । 

सरकारले पठाएको हो कि आफैं जानु भएको ?

सरकारकै सिफारिसमा गएको हुँ । 

२०७२ सालको भूकम्प र त्यसपछिको परकम्पका क्रममा समग्र मुलुकले नै तनाव बेहोर्नुपरेको अवस्थामा यहाँले पनि रातदिन नभनी खटेको चर्चा त्यतिबेला सुनिएको हो । त्यसबेलाको अनुभव कस्तो थियो ?

झण्डै १ वर्ष निकै गाह्रो भयो । १ वर्षको अवधिमा झण्डै ३० हजार भन्दा बढी परकम्प गए । सुरुका दिनमा त साना ठूला गरेर दैनिक नै झण्डै ३०–४० वटा परकम्प गएका थिए । परकम्पको क्रम अझै रोकिएको छैन । त्यतिबेला हामी चौबीसै घण्टा जस्तो खट्यौं । केही दिन त लुगा फेर्नकालागि मात्रै घर जाने गरेका थियौं । हुनत अहिलेपनि हामी २४ सै घण्टा खट्छौं । रातिपनि हाम्रा स्टाफहरु उत्तिकै सक्रिय हुनुहुन्छ । हामी कार्यालय समयपछि घरमै गएर पनि कम्प्युटरबाट काम गर्न सक्छौं । भूकम्प कहाँ गएको कत्रो गएको भनेर घरबाटै पनि भन्न सकिन्छ ।

२०७२ सालको भूकम्पपछि जुन चिन्ता र चासो सबैमा थियो, अहिलेको अवस्थामा आउँदा हामीले त्यतिबेला गरेको चिन्ताअनुसार काम गर्न सक्यौं जस्तो लाग्छ कि लाग्दैन ?

त्यो चाहिँ सके जस्तो लाग्दैन । जस्तो कि हामीले निर्माणका कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधक बनाउनुपर्नेमा पूर्ण रुपमा हुन नसकेको हो कि जस्तो लागिरहेको छ ।  हामीले बिस्तारै बिर्सन लागेका छौं । २०७२ सालको भूकम्प आएको दिन वैशाख १२ र १९९० को भूकम्प आएको दिन माघ २ का दिन मात्रै हामी चर्चा परिचर्चा गर्न थालेका छौं ।

अरु बेला चाहिँ बिर्सेको जस्तो देखिएको छ । यसरी बिर्सन थाल्यौं भने हामीले फेरि पहिलाकै समस्या बेहोर्नुपर्ने हुन सक्छ । त्यस्तो अवस्था आउनु भनेको चिन्ताको विषय हो । हामीले चाँडै बिर्सिहाल्नु हुँदैन । वर्षैभरी हरेक नीति नियम बनाउँदाखेरी भूकम्पलाई केन्द्रमा राखेर काम गरिनुपथ्र्यो र पर्छ ।
 

फेरि ठूलो भूकम्प आउने सम्भावना छ र ?

त्यो कुरा पूर्वानुमान गर्न सकिँदैन । तर, भौगर्भिक रुपमा हाम्रो देशको अवस्थिति जस्तो छ त्यो हिसाबले हेर्दा हामी कहाँ भूकम्प आइरहन सक्छन् । परकम्पहरु त आइ नै रहेका छन् । त्यसैले हामी सधैं सचेत भएर अघि बढ्नुपर्ने जरुरी रहेको छ । तर, भूकम्प कहिले आउँछ भनेर कसैले पूर्वानुमान गर्न सम्भव हुँदैन । विकसित मुलुकले पनि सकेका छैनन् ।

नेपालको भूकम्प मापन केन्द्रलाई पनि अत्यधुनिक बनाउने भनेर त्यतिबेला चर्चा भएको थियो कतिको सम्भव भयो त ?

मैले अघि पनि भनें । हामीले चाडै बिर्सने गरेका छौं । त्यसले गर्दा समस्या उत्पन्न भएको हो । हामीले अरु देशमा जस्तो अत्यधुनिक प्रविधि विकास गर्न सकेका छैनौँ । सामान्य प्रविधि मात्रै प्रयोग गरिरहेका छौं । अहिलेको प्रविधिमा काम गर्न यथेस्ट स्टाफ भएपनि नयाँ प्रविधि ल्याएपछि स्टाफ त्यहीअनुसार थप्नुपर्ने हुन सक्छ । त्यता तर्फ हामीले ध्यान दिनु जरुरी छ ।

भूकम्पको पूर्वानुमान गर्न सम्भव नभएपनि भूकम्पका तरंग सुरु भएपछि तत्कालै जानकारी पाएमा जोगिन सकिन्छ भन्ने चर्चा उतिबेला भएको सुनिएको हो । चाँडो भन्दा चाँडो सूचना दिने खालको प्रविधि पनि हुन्छ भनिन्छ, त्यो तपाईहरुको केन्द्रसँग छ कि छैन ?

‘नाउ कास्ट’ भन्ने प्रविधि हुन्छ । हुनत त्यसलेपनि भूकम्प आएपछि नै काम गर्ने हो । हामीसँग त्यस्तो प्रविधि छैन । त्यो प्रविधि नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट) सँग भएको सुनेको छु । तर, प्रयोग भए जस्तो लागेको छैन । 

२०७२ सालको भूकम्पपछि तपाईंलाई सबै भन्दा खट्किएको प्रसंग  के हो ?

सबैभन्दा खट्किएको कुरा भनेको हामीले हाम्रो पाठ्य सामग्रीमा भूकम्पलाई समावेश गर्न नसक्नु नै हो । जस्तो जापानको पाठ्य सामग्रीमा भूकम्पलाई समेटिएको छ । तर, हामी कहाँ कुनैपनि तहमा यसबारेमा पढाइ हुँदैन । जबकि हाम्रो मुलुकमा भूकम्पको हिसाबले निकै नै जोखिम छ ।

यस्तो जोखिम भएका मुलुकमा त्यसबारेमा शिक्षा दिइने गरेको छ । त्यसैले पढाइको विषय नेपालमा प्राथमिकतामा नपरेकोमा दुःख लागेको छ । हाम्रोमा जस्तै भूकम्पको बढी जोखिम भएका जापान, चिली, मेक्सिको, इण्डोनेसिया, फिलिपिन्सजस्ता मुलुकमा भूकम्पबाट कसरी बच्ने, के के गर्ने भन्ने कुरा सिकाइएको हुन्छ । तर हाम्रोमा त्यसलाई त्यति ध्यान दिएको देखिँदैन । त्यसैले यसतर्फ ध्यान दिनुपर्छ । 

निष्कर्षमा भन्नुपर्दा हामीले भूकम्पपछि जसरी काम गर्नुपर्थ्यो त्यसरी गर्न सकेनौं होइन त ?

त्यसरी पुरै नकारात्मक रुपमा मात्रै लिन पनि हुन्न । केही न केही काम त गरेका छौं । पुनर्निर्माणको कार्य भइरहेको छ । तर, जसरी हुनुपर्ने हो त्यसरी हुन नसकेको भने पक्कै हो  । हुनत आर्थिक कारणले पनि त्यसो भएको हुन सक्छ ।

तपाईं कति वर्ष भयो भूकम्प मापनको क्षेत्रमा लागेको ?

म लोकसेवा पास गरेर २०५१ साल फागुनबाट सेवामा प्रवेश गरेको हुँ । यसमा लागेको २४ वर्ष भयो । अहिलेपनि पढाइ सकेर फर्किएपछि त्यही कामलाई पुनः निरन्तरता दिनेछु । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC