site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राजा महेन्द्रसँगको त्यो अन्तर्वार्ता
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


डिजिटललाई छोड्ने हो भने पत्रकारिताका तीनवटै माध्यम— रेडियो, छापा र टेलिभिजनसँग जोडिएको नाम हो, यादव खरेल । रेडियो नेपाल स्थापनाको एक दशक बित्न नपाउँदै रहरैरहमा आफ्नो आवाज घन्काएका यादवले बीबीसी नेपाली सेवा शुरुआतको पहिलो महिनामै प्रवेश पाए । त्यही बीबीसीमा राजा महेन्द्रको अन्तर्वार्ता लिए, जुन बीबीसीमा राजा महेन्द्रको पहिलो अन्तर्वार्ता थियो । महेन्द्रसँगको त्यही चिनजानले यादव शाही नेपाल चलचित्र संस्थानको संस्थापक कार्यकारी अध्यक्ष भए । केही पत्रपत्रिकामा पनि काम गरेका यादवले निजी क्षेत्रको पहिलो टेलिभिजन ‘च्यानल नेपाल’मा पनि काम गरे । उनी अग्रज गीतकार तथा फिल्म निर्देशक पनि हुन् । हामीले यहाँ बहुप्रतिभावान यादवको पत्रकारिता यात्रालाई खोतल्ने प्रयास गरेका छौं—

० ० ०

Prabhu Bank
Agni Group
NIC Asia

पत्रपत्रिका सीमित थिए । भएका पनि निकै कम संख्यामा छापिन्थे । त्यसमा पनि नियमित छापिने निकै कम थिए । ‘गोरखापत्र’ मात्रै थियो, जो नियमित छापिन्थ्यो । २००७ सालबाट रेडियो नेपाल प्रसारण आरम्भ भएको थियो । पत्रिका पढ्न नसक्नेले पनि सुन्न सक्ने भएकाले रेडियोको ‘चार्म’ बढी नै थियो । त्यसमा पनि सञ्चारको नयाँ माध्यम भएकाले रेडियो नेपालको लोकप्रियता शिखरमा हुनु नौलो थिएन । घरमा रेडियो हुने र ब्याट्री किनेर हाल्न सक्नेहरूका घरमा रेडियो प्रसारण जति घण्टा हुन्थ्यो, त्यत्ति नै बज्थ्यो ।

डिल्लीबजार धोबीधारामा बस्थे यादव । रेडियो नियमित सुन्थे । रेडियोमा त्यो बेला रुचाइएका कलानाथ अधिकारीलगायतको स्वर सुनेर उनलाई पनि रेडियोमा गएर बोलौंबोलौं जस्तो लागथ्यो । तर, सजिलो थिएन ।

Global Ime bank

उस्ताद भैरव, तारादेवी, धर्मराज थापा, नातिकाजी, बच्चु कैलाश, शिव शंकर, हरिप्रसाद रिमाल, जनार्दन सम, पन्नाकाजी, ज्ञानबहादुर, लक्ष्मण लोहनीलगायत रेडियोमा गीत गाउँथे । उनीहरूले पनि यादवलाई रेडियोतर्फ आकर्षित गरेका थिए ।

दिल्लीराज उप्रेती यादवका छिमेकी थिए । उनी रेडियो नेपालीमा विद्यार्थी कार्यक्रम चलाउँथे । यादवलाई रेडियो नेपालमा बोलेको हेर्नु र सिक्नु थियो । जसरी हुन्छ– रेडियो नेपाल प्रवेश गर्नु थियो । आफ्नो आवाज पनि रेडियोको ध्वनि तरंगमा घन्काउनु थियो । त्यसैले ०१६ देखि दिल्लीराजको सहायक भएर काम गरे । उनी दिल्लीराजको कार्यक्रमका सामग्री मिलाइदिन्थे । विद्यार्थीका सिर्जना वाचन गरिदिन्थे ।

उनले सोचेको दिन पनि आयो । रेडियोमा बोल्ने सपना पूरा हुने समय आयो । अहिलेको जस्तो स्टुडियोमा फेड–इन र आउट आफैंसँग हुँदैनथ्यो । कन्ट्रोल रुममा बसेका प्राविधिकसँग माइकको कन्ट्रोल हुन्थ्यो । स्टुडियोको बीचमा ठूलो माइक झुन्ड्याइएको थियो । यादव विद्यार्थी कार्यक्रम चलाउन पसे । स्टुडियोमा उनले के बोले, त्यो त उनलाई याद छैन । तर, ५९ वर्षपछि पनि उनलाई याद छ— रेडियोमा बोलेर निस्किएको पहिलो दिन । “मलाई लाग्यो— संसारले मलाई मात्रै सुनिरहेको छ । बाटोमा हिँडेका मान्छे देख्दा यसले पनि आज म बोलेको पक्कै सुन्यो भन्ने लाग्थ्यो,” यादव सम्झिन्छन्, “रेडियो त्यो बेला कतिका घरमा थियो होला ? त्यो आफैंमा प्रश्न छ । तर, म पहिलो पटक बोल्दा सारा संसारले मलाई नै सुनेर बसिरहेको छ जस्तो भएको थियो । त्यो उमेरै त्यस्तै हो । कच्चा उमेर ।”

पछि त्यही कार्यक्रम दमननाथ ढुंगानाले चलाए । हरिप्रसाद रिमाल, लक्ष्मण लोहनी, जानार्दन सम, दिल्लीराज उप्रेतीमध्ये केही सिनियर, केही समकालीन थिए । यी सबै व्यक्ति अहिले धर्तीमा छैनन् । यसर्थ रेडियोका जीवित इतिहास हुन् यादव, जोसँग दुर्लभ अनुभव छ ।

यादव रेडियोमा चलाएको ‘बालबाटिका’ कार्यक्रमतर्फ फर्किन्छन् । त्यो कार्यक्रम आफूले चलाउँदा त्यसमा आफ्नो सिर्जना प्रस्तुत गर्न आउने केही प्रतिनिधि पात्रहरूलाई सम्झिन्छन् । राजनीतिज्ञ नरहरि आचार्य, गीतकार तथा जर्नेल राजेन्द्र थापा, हास्यकलाकार सन्तोष पन्त, कलाकार लक्ष्मी गिरी, बाध्यवादक न्हुच्छेमा डंगोल, नायक भुवन केसी, मानवअधिकारकर्मी कपिल श्रेष्ठ, संगीतकार शम्भुजित बाँस्कोटा र दीपक जंगमलगायत थुप्रै पात्र उनको कार्यक्रममा आउँथे, जो अहिले राष्ट्रिय तहको उच्चस्थानका पुगेर आफ्नो स्थान बनाए ।

“उहाँहरू बच्चै हुनुहुन्थ्यो । पछि उहाँहरूमा भएको प्रतिभा र संघर्षले उच्च स्थानमा पुर्‍यायो । बच्चा हुँदा उहाँहरूले आफूसँग भएको प्रतिभा बालबाटिका कार्यक्रममा सुनाउन आउनुहुन्थ्यो । कतिलाई त मैले बिर्सिसकेको थिएँ,” यादव भन्छन्, “पछि उहाँहरूले नै विभिन्न कार्यक्रममा आउँदा सम्झाएपछि चिनें । नरहरि आचार्यलाई पनि उहाँले भनेपछि नै चिनेको हुँ । कपिल श्रेष्ठले त मलाई आफ्नो कुरा राख्न सक्ने बनाउनमा तपाईंको ठूलो भूमिका छ भनेर धेरै पटक भन्नुभयो ।”

रेडियोमा व्यापारिक सेवा कार्यक्रमको पहिलो प्रस्तोता यादव नै हुन्, जसमा फर्माइस गीत बजाइन्थ्यो । कवि मन भएका यादव गीतको सारांशलाई टपक्क टिप्थे । कविता बनाउँथे र त्यसैलाई पढिदिन्थे । आम स्रोताले उनको त्यो शैलीलाई असाध्यै मन पराए । रेडियोको त्यही कार्यक्रममा पछि विज्ञापन बज्न थाल्यो । रेडियोमा विज्ञापन बज्ने पहिलो कार्यक्रम नै त्यही बन्यो । अहिलेको व्यापारिक स्वरूपको प्रसारण त्यही कार्यक्रमबाट शुरु भएको थियो । रेडियोलाई व्यापारिक बनाउने श्रेय उनकै कार्यक्रमले पायो ।

कार्यक्रम ‘बालबाटिका’, ‘विद्यार्थी’, ‘प्रश्नोत्तर’, व्यापारिक सेवासँगै उनले ‘काव्यकुञ्ज’ पनि चलाए । ‘काव्यकुञ्ज’ साहित्यिक कार्यक्रम थियो । यसमा कविता वाचन गर्थे उनी । रेडियो रूपक अथवा नाटक ध्रुवप्रसाद देउजाले लेख्थे । हरिप्रसाद रिमालले निर्देशन गर्थे । त्यसमा पनि संलग्न भए यादव । प्रत्येक शनिबार दिउँसो प्रसारण हुने नाटक निकै लोकप्रिय थियो । अरू कार्यक्रम छुटाउनेले पनि यो नाटक छुटाउँदैनथे । त्यो नाटकका मूल पात्र (नायक) नै यादव थिए ।

रेडियो नेपाल गीत–संगीतको केन्द्र थियो । गीतकारदेखि गायक÷गायिकासम्मको तीर्थस्थल नै थियो । एकातिर उनी गीत–संगीतको व्यापारिक कार्यक्रम चलाउँथे, अर्कातिर साहित्यिक कार्यक्रम ‘काव्यकुञ्ज’ । अहिलेको जस्तो रेकर्डेड गीत हुँदैनथे । ट्र्याक सिस्टम थिएन । रेडियो नेपालबाट बजाउने गीत वाद्यवादकसँग लाइभ गाउनुपथ्र्यो । यादव सम्झिन्छन्, “२० को दशकसम्म पनि रेडियोमा कुन दिन कसले गाउने भनेर पालो टाँसिएको हुन्थ्यो । आफ्नो पालोमा आएर गायक/गायिकाले गीत गाउनुहुन्थ्यो,” यादव सम्झिन्छन्, “अहिलेको जस्तो रेकर्ड गर्ने प्रविधि थिएन । लाइभ गाउनु पथ्र्यो । स्टुडियोमा अहिलेको जस्तो आफ्नै हातमा फेडइन र अफ हुँदैनथ्यो । ‘ए तबला कता गयो ? खोजेर ल्याऊ न हो’ भन्दा त्यही आवाज पनि कति पटक अनएयर भएको छ ।”

\"\"

रेडियो क्रेज

अहिले सिनेमा खेल्ने हिरो हिरोइन सेलिब्रिटी भएजस्तो त्यो बेला रेडियोमा बोल्ने मान्छे सेलिब्रिटी हुन्थे । यो अनुभव यादवले पनि सँगाल्न पाए । दिनहुँ थरीथरीका व्यक्तिले पठाएका पत्र देशभरबाट आउँथे । भेटौं भन्ने प्रस्ताव आउँथे । कति पत्रलाई रेस्पोन्स गर्न सम्भव हुन्थ्यो, कतिलाई हुँदैनथ्यो । एउटा टेलिफोन हुन्थ्यो । त्यसमा पनि फोन आइहरन्थ्यो । यादवले पनि केही ठाउँमा रेडियो सेलिब्रिटी हुनुको फाइदा उठाएका रहेछन् ।

नागरिकता लिन यादव अञ्चलाधीशको कार्यालय पुगे । क्लर्कले नै ‘कागजपत्र पुगेन, श्री ५ को सरकारको सिफारिस चाहिन्छ, लिएर मात्रै आउनुस्’ भन्यो ।

यादवले भने, “म एकपटक अञ्चलाधीशलाई भेट्छु ।”

लीलाराज विष्ट अञ्चलाधीश थिए । उनले नमस्कारमात्रै के गरेका थिए, विष्टले भने, “ए ! तपाईं रेडियोमा बोल्ने यादव खरेल होइन ?”

यादवले ‘हो’ भनेपछि विष्टले चिया खुवाए । ‘के कति कामले आउनुभयो ?’ भनेर सोधे । त्यो बेलाका अञ्चलाधीशले राजपरिवारका सदस्य र राष्ट्रिय पञ्चायतका सदस्यबाहेक कसैलाई गन्दैनथे ।

यादवले भने, “नागरिकता बनाउन आएको । अधिकृतको सिफारिस पनि चाहिने रहेछ । त्यो पनि चाहिन्छ भन्ने थाहै भएन ।”

विष्टले भने, “हो । सिफारिस त चाहिन्छ ।”

यादवले भने, “तपाईंले मलाई चिनिहाल्नुभयो । भेटघाट भयो । गफगाफ भयो । मप्रति विश्वास भइगयो । तपाईं नै सिफारिस गरिदिनुस् न ।”

विष्ट मुसुक्क मुस्काए । सिफारिस लेखिदिए । यादव नागरिकता लिएरै घर फर्किए । १८ वर्ष हुँदाको प्रसंग सुनाए उनले ।

०१६ मा रेडियो नेपाल प्रवेश गरेका यादवले ०२५ सम्म काम गरे ।

बीबीसीमा अनौठो प्रवेश

फिल्म पढ्न यादव सन् १९६९ मा लन्डन पुगे । बीबीसी नेपाली सेवा भर्खर शुरु भएको थियो । चार्टर्ड अकाउन्ट पढ्न लन्डन पुगेका पुरण अग्रवालले बीबीसी नेपाली सेवा चलाइरहेका थिए । बीबीसी नेपाली सेवा शुरु भएको केही हप्तामात्रै भएको थियो । उसलाई रेडियोमा काम गर्ने मान्छे चाहिएको थियो तर कोही भेटिएका थिएनन् । बीबीसीले दूतावासका प्रथम सचिव ईश्वरीराज पाण्डेलाई भनेको रहेछ, “बीबीसी नेपाली सेवा चलाउन सक्ने कोही नेपाली छ भने खबर गर्नू है !”

पाण्डेले बीबीसीलाई भनेछन्, “रेडियो नेपालमा ९ वर्ष काम गरेका यादव खरेल पढ्न आएका छन् ।”

बीबीसीले यादवलाई खबर गर्‍यो र भन्यो, “नेपाली सेवाको पूरै जिम्मा लिइदिनुपर्‍यो ।”

ब्रिटिस काउन्सिलको पूर्ण छात्रवृत्तिमा पढ्न लन्डन गएका यादले त्यहाँ काम गर्न पाउँदैनथे । बीबीसीले नै यादवको राहदानी लगेर काम पनि गर्न सक्ने व्यवस्था मिलाइदियो । लन्डन फिल्म स्कुलले उनलाई शुल्कबाहेक हप्ताको १६ पाउन्ड दिन्थ्यो । बीबीसीले पनि त्यत्ति नै सुविधा दिने व्यवस्था मिलाइदियो ।

तर, समस्या आयो अर्को । बीबीसी भन्थ्यो, “पूर्णकालीन जागिर भएपछि पूरै समय कार्यालयमा बस्नुपर्छ ।”

यादवले भने, “साप्ताहिक कार्यक्रम हो । मैले पूरै समय दिनु पर्दैन । म विद्यार्थी पनि हुँ । त्यसैले भ्याउँदिनँ । तर, मलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निभाउँछु ।”

बीबीसीले भन्यो, “त्यसो भए केही हप्ता हेरौं, त्यसपछि सक्ने/नसक्ने मूल्यांकन हुन्छ ।”

यादव राजी भए । रेडियोमा दशक बिताएकाले उनमा अनुभव थियो । बीबीसीको क्रेज उनलाई थाहा थियो । त्यसैले पनि उनले मेहनत गरे । बीबीसीलाई उनको काममा चित्त बुझ्यो ।

अहिलेको जस्तो दैनिक कार्यक्रम थिएन, साप्ताहिक थियो । समसामयिक गतिविधि, प्रश्नोत्तर, अन्तर्वार्ता हुन्थ्यो । कार्यक्रम एउटै भए पनि दुई दिन प्रसारण हुन्थ्यो । त्यही कार्यक्रम हङकङबाट पनि प्रसारण हुन्थ्यो । महत्वपूर्ण कार्यक्रम नेपालबाट रेडियो नेपालले पनि बजाउँथ्यो ।

यसको अन्तर्वार्ता लेऊ वा यस्तो गर भनेर कसैले भन्दैनथ्यो । के समेट्ने र कसको अन्तर्वार्ता लिने यादव आफैं निर्णय गर्थे ।

\"\"

राजा महेन्द्रको पहिलो अन्तर्वार्ता

यादवले सुने— राजा महेन्द्र लन्डन आउँदै छन् । उनमा महेन्द्रको अन्तर्वार्ता लिने लोभ जाग्यो । तर, उनले चाहँदैमा राजाको अन्तार्वार्ता लिन पाइँदैनथ्यो । राजा, त्यो पनि महेन्द्र । त्यसमाथि उच्च महत्वाकांक्षा पालेका पञ्चायतका राजा । दूतावासका सचिव ईश्वरीराज पाण्डेलाई भने, “राजाको अन्तर्वार्ता लिनुपर्‍यो । समय मिलाइदिनुपर्‍यो ।”

पाण्डेले भने, “मैले समय लिन सक्दिनँ । राजाका सचिवलाई भन्नुपर्छ ।” बाटो सचिवतर्फ तेर्सियो ।

बीबीसीको अफिसनजिकै रहेको पाँचतारे होटलमा बसेका थिए महेन्द्र । यादवले राजाका सचिवलाई भेटेर भने, “म श्री ५ को अन्तर्वार्ता लिन चाहन्छु । हजुरले महराजमा यो कुरा जाहेर गरिदिनुपर्‍यो ।”

राजाका सचिवले भने, “म आज डिसिजन दिन सक्दिनँ । श्री ५ मा जाहेर गरेर तपाईंलाई भोलि फोन गर्छु ।”

अर्को दिन सचिवले भने, “श्री ५ अन्तर्वार्ता दिन तयार होइबक्सिन्छ । भोलि आउनू,” समय तोकेरै भने ।

फोटोग्राफरसहित अर्को दिन यादव अन्तर्वार्ता लिन राजा महेन्द्र बसेको होटल पुगे । महेन्द्रका एडीसी जर्नेल शेरबहादुर मल्लले उनलाई रिसिभ गरे । बैठक कोठामा लगेर राखे । एकछिनमा राजा महेन्द्र आए । यादवले उठेर अभिवादन गरे ।

शुरुमा महेन्द्रले नै यादवको अन्तर्वार्ता लिए—

— लन्डनमा के गरिरहेका छौ ?

— के पढिरहेका छौं ?

— कति भयो आएको ?

— कस्तो छ पढाइ ?

— कस्तो छ काम ?

— लन्डनमा बस्ने नेपालीको अवस्था कस्तो छ ?

यादवले खरर जवाफ दिए । राजाका जिज्ञासा सकिएपछि यादवले अन्तर्वार्ता लिन शुरु गरे ।

अन्तर्वार्ताको सबै कुरा त यादवलाई अहिले सम्झना छैन तर त्यो बेलाको राजनीतिक व्यवस्था, विकास, समृद्धि, शिक्षालगायत विषयमा अन्तर्वार्ता केन्द्रित थियो भन्ने याद भने मेटिएको छैन । बीबीसीले लिएको राजाको त्यो पहिलो अन्तर्वार्ता थियो ।

त्यो अन्तर्वार्ता लिँदाको गज्जवको दुर्लभ प्रसंग सम्झिए यादवले, “जर्साबले मलाई बस भने । म बसें । राजालाई सोफा थियो । राजाको सवारी भयो । मैले कुर्सीबाट उठेर अभिवादन गरें । राजाले बस भने । म त्यही कुर्सीमा बसें । म बसेपछि राजाका एडीसी शेरबहादुर मल्लले राजा महेन्द्रलाई भने, ‘सरकार ! मैले उसलाई यो कुर्सीमा बस भनें ।’ मलाई अनौठो लाग्यो । म कुर्सीमा बसेको त राजाले देखेकै छन्, किन भनिरहनुपथ्र्यो र ? पछि थाहा पाएँ— राजा बसेको सोफाभन्दा म बसेको कुर्सी थोरै अग्लो रहेछ ।”

रेडियो नेपालले महेन्द्रसँगको त्यो अन्तर्वार्ता पटक–पटक दोहोर्‍याएर बजायो । ‘गोरखापत्र’ले अद्योपान्त ट्रांस्काइभ गरेर छाप्यो । त्यो अन्तर्वार्ताको पूर्ण पाठ कस्तो थियो, यादवलाई अहिले खोजेर सुन्ने मन छ । तर दुर्भाग्य, त्यसको अर्काइभ हुन सकेन । त्यसैले ‘गोरखापत्र’मा छापिएको प्रिन्ट भर्सन मात्रै भए पनि उनलाई पढ्ने रहर छ ।

अन्तर्वार्ता सकिएपछि पनि यादवसँग महेन्द्र लामो समय गफिए । विशेषगरी सिनेमामा उनको गहिरो चासो थियो । नेपालमा सिनेमा कसरी बनाउन सकिन्छ भन्नेमा उनको रुचि थियो । त्यसैले यादवलाई भने, “तिमी लन्डन स्कुलमा फिल्म पढिसकेर नेपाल फर्किएपछि मलाई भेटन् आउनू । नेपालमा सिनेमाको क्षेत्रमा देखिने गरी केही उल्लेख्य काम गर्नुपर्छ ।”

भारतीय कला–संस्कृतिले नेपाली कला–संस्कृतिको अतिक्रमण हुन सक्नेमा महेन्द्रको चिन्ता थियो । त्यसैले उनी नेपालमा चलचित्र उद्योग स्थापना गरेर नेपालबाट भारतीय चलचित्र र त्यसले पार्ने नकारात्मक सांस्कृतिक प्रभाव विस्थापित गर्न चाहन्थे ।

(पछि यादव नेपाल फर्किएपछि राजा महेन्द्रलाई भेटे । शाही नेपाल चलचित्र संस्थान गठन भयो । भलै त्यो बेला महेन्द्रको निधन भइसकेको थियो । तर, उनकै अगुवाइमा सबै तयारी भइसकको थियो । महेन्द्रको मृत्युलगत्तै राजा वीरेन्द्रले संस्थान गठन गरे । त्यसको संस्थापक कार्यकारी अध्यक्ष नै यादव भए । अनौठो त के थियो भने २९ वर्षका यादव अध्यक्ष हुँदा उनको उनको कार्यसमिति सदस्यमा बालकृष्ण सम, माधव घिमिरेलगायत थिए । माधव करिब ६० वर्ष र सम त्योभन्दा बढी उमेरका थिए ।)

० ० ०

सन् १९७१ सम्म बीबीसीमा काम गर्दा यादवले तत्कालीन युवराजधिराज वीरेन्द्र वीरविक्रम शाहको पनि अन्तर्वार्ता लिए । तर, त्यो अन्तर्वार्ता न रेडियो नेपालले प्रसारण गर्‍यो न त ‘गोरखापत्र’ले नै ट्रांस्काइभ गरेर छाप्यो । कारण— त्यो अन्तर्वार्तामा यादवले केही क्रिटिकल प्रश्न सोधेका थिए । भर्खरै नयाँ शीक्षा नीति जारी भएको थियो । यादवले ‘यस्तो शिक्षा नीति कसरी जनतामा प्रभावकारी हुन्छ ?’ भनेर सोधेका थिए । किन रेडियोले बजाएन र पत्रिकाले प्रकाशन गरेन, यादवले सोधेनन् तर उनले लगाएको अनुमानअनुसार आलोचनात्मक प्रश्न नै एकमात्रै कारण हो ।

मदनमणिसँग जागिर माग्दा 

पञ्चायतकाल थियो । समसामयिक राजनीतिक घटनाक्रमलाई प्राथमिकता दिएर पत्रपत्रिका निकाल्न चुनौती थियो । त्यसैले पञ्चायतको कालखण्डमा समाचारप्रधानभन्दा साहित्यिक पत्रिका धेरै निस्किन्थे । ‘मुकुट’, ‘बिहानी’लगायतका साहित्यिक पत्रिका थिए । गीतकार यादवलाई ती पत्रिकाले पनि आकर्षित गरेका थिए । त्यसैले उनी पुगे कमल घिमिरे प्रकाशक तथा प्रधान सम्पादक रहेको पत्रिका ‘बिहानी’मा । त्यसको सम्पादक भएर केही समय काम गरे ।

पत्रकारितामा यादवका आदर्श मदनमणि दीक्षित थिए । उनी भन्छन्, “मलाई उहाँ आदर्श लाग्नुका कारण छन् । उहाँमा पत्रकारिताको सिद्धान्त र आदर्शमा कहिल्यै विचलन आएन । सत्ता र शक्तिको पछि लागेर लाभ लिनुपर्छ भन्ने उहाँमा कहिल्यै पनि आएन । उहाँले ‘समीक्षा’ साप्ताहिक निकाल्नुहुन्थ्यो । उहाँले दिने समाचार र लेख्ने सम्पादकीय लोभलालचभन्दा पनि माथि सिद्धान्तमा अडिग हुन्थे । त्यसैले अहिले पनि म उहाँलाई आदर्श मान्छु । त्यो बेला दरबारबार कुरा दूतावासमा र दूतावासका कुरा दरबारलाई लगाएर शक्ति र आर्थिक लाभ उठाउने पत्रकार थुप्रै थिए । सत्ता र शक्तिको पछि लागेर कति आकाशमा हेलिकप्टरबाट फन्को लगाउँथे । तर, त्यस्तो विचलन मदनमणिमा कहिल्यै पनि आएन ।”

०३७ मा यादव मदनमणिको ‘समीक्षा’मा पुगेर भने, “मलाई तपाईंको पत्रिकामा काम दिनुपर्‍यो ।”

मदामणिले भने, “ल, तपाईं काम गर्नुहुन्छ भने रिपोर्टर भएर रिपोर्टिङ गर्नुस्, समाचार लेख्नुस् ।”

दुई दिन उनले प्रयास पनि गरे तर उनलाई लाग्यो— यो मेरो प्रकृतिले नदिने रहेछ । हुँदैन । छोड्छु ।

‘समीक्षा’मा दुई दिन काम गरेर उनी फर्किए ।

\"\"

० ० ०

०४१ सालमा पुग्दा यादवमा पनि प्रकाशनको लोभ पलायो । ‘घुएँत्रो’ दर्ता गराए । प्रकाशक र प्रधान सम्पादक आफैं थिए । दुई वर्षसम्म नियमित प्रकाशन भयो । १ लाख २३ हजार रुपैयाँ खर्च भयो ।

विज्ञापनबाहेक आयस्रोत अर्को थिएन । सिद्धान्त र निष्ठालाई तिलाञ्जली दिएर पत्रकारिता गरे त्यताबाट पत्रिका चलाउन सकिन्थ्यो, जुन यादवको नैतिकताले दिँदैनथ्यो । विज्ञापन माग्न गयो भने ‘हाम्रै विरोधमा समाचार लेख्ने, तपाईं किन दिऊँ विज्ञापन ?’ भनेर प्रश्न गर्थे । ‘हाम्रो बारेमा राम्रो लेख, अनि दिन्छु’ भन्थे । तर यादव पैसामा बिक्री भएनन् । आदर्श, तत्थ्यभन्दा टाढा गएनन् ।

अहिलेको जस्तो सूचना विभागले पैसा दिँदैन थियो । सर्कुलेशनबाट विक्रीको लगानी पनि उठ्दैन थियो । त्यसैले उनले दुई वर्षमा उनले ‘घुएत्रो’को प्रकाशन बन्द गरिदिए ।

० ० ०

नेपालमा पहिलोपटक निजी क्षेत्रको लगानीमा स्याटलाइट टेलिभिजन ‘च्यानल नेपाल’ (सन् २००१) स्थापना भयो । जमिम शाह सञ्चालक थिए ।

यो टेलिभिजनमा पनि यादवले आफ्नो दक्षता देखाए । समसामयिक विषयमा अन्तर्वार्ता लिने कार्यक्रम थियो । नाम थियो— ‘अग्निपरीक्षा’ । जल्दोबल्दो विषयमा सम्बधित क्षेत्रका जानकार तथा विज्ञसँग अन्तर्वार्ता लिन्थे । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमम्मको अन्तर्वार्ता लिए ।

त्यही टेलिभिजनमा उनले टेलीचलचित्र पनि निर्माण गरे । हप्तामा तीन वटासम्म टिभी सिरियल उत्पादन गर्थे । उनी आफैं त भ्याउँदैनथे निर्देशन गर्न, त्यसैले आफ्नो चलचित्र निर्माण कम्पनी क्रिएटिभ मुभिजमार्फत ‘फुमन्तर’, ‘कथा सुखदुःख’, ‘जीवनचक्र’ निर्माण गरेर प्रसारण गर्थे ।

अहिलेको पत्रकारिता

समयको प्रवाहसँगै पत्रकारिताको स्वरूपमा परिवर्तन आयो । छापाबाट शुरु भएको पत्रिकारिताले डिजिटल अनलाइनसम्मको यात्रा तय गरिसक्यो । मिडियाहरू मल्टिमिडियामा गइसके । एउटै सञ्चारमाध्यमले अक्षर, अडियो र भिडियो सबै उपलब्ध गराउन थालिसके । इन्टरनेटले संसार व्यक्ति–व्यक्तिको हत्केलामा सीमित भयो ।

‘पब्लिक ओपिनियन मेकर’का रूपमा तत्कालीन समयमा सरकारी सञ्चारमाध्यम थिए । अहिले त्यो अवस्था सरकारको पञ्जाबाट फुत्किएर निजी क्षेत्रमा गइसक्यो । विषयमाथिको नियन्त्रण सरकारले गुमाइसक्यो । आयामिक परिवर्तन भयो । तर, केही कुरा भने यादवलाई खड्किएको छ । पहिला अक्सर सेवाभावले पत्रकारिता हुन्थ्यो । पत्रकारिताप्रतिको लगावले यो क्षेत्रमा आएका व्यक्ति हुन्थे । तर, अहिले पत्रकारिता सेवामूलक उद्योगबाट अलग्गिएर उद्योगमात्रै बनेको उनको गुनासो छ ।

“अहिले नैतिक स्तरमा ह्रास आएको छ । पहिला पनि केही थियो तर त्योभन्दा धेरै अहिले एम्बेसीमा गएर पैसा थाप्ने धेरै भए,” उनी भन्छन्, “अहिले पत्रपत्रिकाको समाचार हेर्ने हो भने कुन पत्रिका कुन अर्गनाइजेसनबाट सञ्चालित छ र उसले किन यो स्ट्यान्ड लिएको छ भन्ने थाहा हुन्छ । पत्रकारिताको मूल आत्मा तटस्थता हो । त्यो लुज भएर उद्योग भइसक्यो । उद्योगको उद्देश्य आर्थिक फाइदा लिने हुन्छ ।”

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC