बर्मा पुगेको भोलिपल्ट अर्थात् २०५६ पुस १३ गते बिहान हामी बर्माको राजधानी रङ्गुन (याङ्गुन) को छेउछाउ घुम्न भनेर निस्कियौँ । हामीसँग हामीलाई गाइड गर्न राजदूतावासका द्वितीय सचिव हरिश्चन्द्र घिमिरे पनि हुनुहुन्थ्यो ।
बजारमा हामी घुम्दै जाँदा रङ्गुनको रामजानकी मन्दिर भएको ठाउँनिर पुग्यौँ । विदेशमा हिन्दू धर्मको परम्परा अनुसार स्थापना भएको मन्दिर देख्दा कुन हिन्दू धर्मावलम्बीलाई आनन्द आउँदैन र ?
मेरो त अनुभव के छ भने नेपाल र भारतको भूमि छाडेपछि भगवानको मन्दिर देख्न पाउनु दुर्लभ नै हुन्छ । भगवानका मूर्तिहरू खोज्दा पनि भेटिँदैनन् । बौद्ध धर्मलाई हिन्दू धर्मबाट पृथक गरेर हेर्ने परम्परा भएकोले यस्तो भएको हुनसक्छ ।
हामीले बौद्ध धर्मलाई हिन्दू धर्मभित्रको धर्मको रूपमा लिए पनि संसारले यसलाई स्वीकारेको चाहिँ छैन । बर्मा जस्तो बौद्धमार्गी देशमा हिन्दू परम्परा अनुसार स्थापना भएको मन्दिरको दर्शन गर्दा मलाई बडो आनन्दको अनुभूति भयो । मलाई लाग्छ, म सँगसँगै जानु भएका डा. तुलसीप्रसाद भट्टराईलाई पनि त्यस्तै अनुभूति भएको हुनुपर्छ ।
सबैभन्दा आनन्दको कुरो के लाग्यो भने त्यहाँको पुजारी समेत नेपालबाट गएका नेपाली थिए अर्थात शान्तिराम भट्टराई । एकछिन पुजारीसँग भलाकुसारी गरेर हामी मन्दिरबाट निस्क्यौँ ।
रामजानकी मन्दिरको छेउमा पोखराबाट गएका ओमप्रकाश भट्टराईको डेरी सामान बिक्रीको दोकान रहेछ । रङ्गुनमा रामजानकी मन्दिर दर्शन गर्न जाने जो कोही नेपाली पनि ओमप्रकाश भट्टराईको दोकानमा प्रवेश गर्छन् नै ।
रङ्गुनको माझमा एउटा नेपालीले व्यवसाय गरेर बसेको देख्दा कुन नेपालीलाई आनन्द लाग्दैन ? हामीलाई पनि विदेशमा एउटा नेपालीले राम्रो व्यवसाय गरेर जीविकोपार्जन गरेको सुन्दा हेरुँ हेपरुँ लाग्नु स्वभाविक नै भयो ।
हामी मन्दिरबाट सिधै ओमप्रकाश भट्टराईको डेरीको दोकानमा गयौँ र उनीसित केही बेर भलाकुसारी गर्यौँ । पोखराबाट भट्टराईको परिवार मेम्यो आएको रहेछ र त्यसको केही वर्षपछि रङ्गुन बसाइँ सरेको कुरा उनीबाट ज्ञात भयो ।
उनी रङ्गुनको राम्रो डेरी व्यवसायीको रूपमा गनिँदा रहेछन् । अक्सर नेपालीहरू बर्मामा डेरीको व्यापारमा लिप्त रहेछन् । भट्टराईको एउटा विशेषता के रहेछ भने उनी सामाजिक सेवा लगायत अन्य क्रियाकलापमा पनि अत्यन्त सक्रिय रहेछन् ।
ओमप्रकाश भट्टराईसँग फेरि भेट्ने बाचा गर्दै हामी उनको दोकानबाट निस्क्यौँ र रङ्गुन शहर एक फन्को लगाई डेरातिर लाग्यौँ । पुस १३ गते दिनभरि खासै कार्यक्रम थिएन । साँझपख महामहिम राजदूत सच्चित शम्सेरले श्री ५ महाराजाधिराज सरकारको शुभ जन्मोत्सवको उपलक्ष्यमा पाँच तारे होटेलमा स्वागत कार्यक्रम राख्नु भएको थियो ।
दिनभरि के गर्ने ? विचार मन्थनपछि महामहिम राजदूतले बर्माको सबैभन्दा ठूलो आकर्षक बुद्धको मूर्ति हेर्ने हामीलाई सल्लाह दिनुभयो र त्यसको गाइड गर्नका लागि राजदूतावासका एकजना कर्मचारी मधुकर प्रधानलाई अह्राउनुभयो ।
मधुकर प्रधान, राजदूतावासको सबैभन्दा पुरानो र पाको कर्मचारी हुनुहुँदो रहेछ । बर्मामै जन्मी, हुर्की दुई पुस्ता काटिसकेका मधुकर प्रधानसित रङ्गुनको बजार र स्वेडागन पागोडा तीर्थस्थल घुम्दाको आनन्द आफ्नै किसिमको रह्यो ।
रङ्गुनको एक एक कुरासँग परिचित प्रधानले हामीलाई स्वेडागन पागोडा लिएर जाँदा, तिनको विशेषता बारेमा बखान गर्दा मलाई बुद्धको त्यो पागोडा हेर्ने कौतुहलता यस्तो लाग्यो कि तुरुन्तै त्यहाँ पुगौँ पुगौँ जस्तो लाग्यो ।
वास्तवमा बुद्धको त्यो पागोड़ा दर्शनीय नै छ । बुद्धको त्यो पागोडा हेरेपछि मोहित नहुने कोही हुँदैन । समुद्रबाट १९० फिटमाथि अवस्थित बुद्धको पागोडाले सम्पूर्ण रङ्गुन शहरलाई नै डोमिनेट गरिराखेको आभाष हुन्छ । त्यत्रो ठूलो र भीमकाय बुद्धका पागोडा सुनैसुनले जडित छ ।
हजारौं एकड जमिनमा अवस्थित पागोडाको वरिपरिको सफाइ उदेकलाग्दो छ । मान्छेले गरे नहुने के चिज रहेछ तर यही कुरा हामी नेपालीहरूमा लागू हुँदैन ।
हाम्रा मन्दिरहरूमा सबैभन्दा ठूलो तीर्थस्थल पशुपतिनाथ मन्दिरको छेउमा रहेको वागमती नदीमा रहेको प्रदूषणलाई समेत हामीले सफा गर्न सकेका छैनौँ । हामी नेपालीहरू साँच्चै कृतघ्न छौँ । प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथको वरिपरि त हामीले सफाई गर्न सक्दैनौँ भने देशलाई राम्रोसँग संचालन गर्न सक्छौँ भनेर संसारलाई कसरी आश्वस्त गर्न सक्छौँ ? खैर यस विषयमा पछि लेख्दै गरौँला ।
स्वेडागन पागोडाको विचित्रता आफ्नो ठाउँमा छँदैछ । विचित्रता मलाई तब लाग्यो जब पागोडाको नजिकै स्वेडागनमा आङसान सुकीको नेशनल लिग फर डेमोक्रेसीको कार्यालय देखेँ । करिब आधा किलोमिटर टाढादेखि बाटो बन्द गरिएको सुकीको घरमा अवस्थित त्यो कार्यालय हेर्ने मेरो लालसा नेपालदेखि नै थियो ।
स्वतन्त्रताका प्रत्येक पुजारीले रङ्गुन गएपछि त्यस पागोडाको अतिरिक्त सुकीको घरलाई पनि टाढैबाट, निश्चय पनि अवलोकन गर्छन् नै । बुद्ध हाम्रो लागि दर्शनीय त छँदैछ, सुकी पनि हाम्रो लागि अत्यन्त प्रिय नाम हो ।
सुकीको लेट्स भिजिट नेपाल पढेपछि कुन नेपालीलाई सुकीप्रति हार्दिकता जाग्दैन ? सुकी साँच्चै भन्ने हो भने नेपालीहरूको मनमस्तिष्कमा गहिरो रूपमा बसेको छ । यस्ता सुकीलाई त्यहाँको जुन्ता सरकारले यातनापूर्वक राख्दा हामी नेपालीको मन दुख्नु स्वभाविकै छ ।
पागोडाको दर्शन नजिकबाट गरे पनि सुकीको घर अर्थात स्वतन्त्रताको स्थललाई टाढाबाट नमस्कार गरेर हामी आफू बसेको स्थलतिर फर्कियौँ तर डेरातिर फर्कंदा मेरो मनमा एउटा प्रश्नले ज्यादै घोचिरह्यो, त्यो के हो भने ठूल्दिदी (सुकी) को सपना बर्मामा कहिले पूरा होला ?
के ठूल्दिदीले प्रजातन्त्र र स्वतन्त्रताको कुरा गर्नु पनि एक्काइसौं शताब्दीको लागि अभिशाप हो ?
संसारमा स्वतन्त्रता र प्रजातन्त्रप्रेमी मुलुकहरूले सुकीको लागि कस्तो नीति अख्तियार गर्नेछ, त्यो भने हेर्न बाँकी नै छ । त्यसका लागि नेपालीहरूले पनि ठूल्दिदीको लागि एउटा आन्दोलन गर्नुपर्ने हो कि ? एउटा जिज्ञासा मेरो मनमा उठेको छ ।
(रावलको नियात्राकृति ‘ठूल्दिदीको देश’बाट ।)