site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
उत्सुकता
Sarbottam CementSarbottam Cement

वातावरण निकै शान्त र मधुमय थियो ।

एउटा पेन्सिल, इरेजर र सानो कापी किनेर छोराको खुल्दुलीमा बुजो लाइदियो हर्षलालले । छोरा भने साँच्चै स्कुल जान पाइने महान् उत्सुकताले देदीप्यमान थियो । बाबाको इजलासमा बिनासंंकोच आफ्नो आकांक्षा परिपूर्ति हुने कुराले अन्तरात्मादेखि नै आशा उमारेको थियो । बाबालाई भने छोराको दिन बिराएर आउने प्रस्तावले मनमा अन्तद्र्वन्द्व चलेको थियो ।

स्कुल जाने कुराले छोरा अनुद्विग्न थियो । त्यही कुराले बाबाआमा उद्विग्न । छोराको मन उत्कण्ठाले भरिएको थियो । आमाबाको मन बेचैनीले ।

Prabhu Bank
Agni Group
NIC Asia

शैक्षिकसत्रको अन्त्य हुन लागेको बेला भर्ना नगर्ने आमाबाबुको मनसायमाथि तारन्तार धावा बोलिरहेको थियो, छोराचाहिँ । छोराको दैनिकी नै भएको थियो, स्कुल जानलाई कस्सिएको ।

अनुनय रातभरि सुत्नै सकेन । आधा रातसम्म ननिदाएरै रह्यो । आमाबा निद्रालोकमा लीन थिए ।

Global Ime bank

बिहान उठेदेखिन् उसको मन काबुमा थिएन । मन उथलपुथल थियो । आमाबाले स्कुल पछि जाने भने पनि उसले आजैदेखि स्कुल जाने आफ्नो पुरानै मान्यतालाई यथावत् राख्यो ।

अदम्य उत्सुकताका साथ अनुनय स्कुल जान हतारियो । आफूसरहका सबैजना स्कुले झोला बोकेर लुखुरलुखुर स्कुल गएको देखेपछि आफू पनि भर्ना नभएरै स्कुल जान कस्सियो ।

बाआमासँगको घुर्क्याइमा सफल भएपछि उसले स्कुल जाने भिसा पायो ।

छिमेकी दिदीसँग ऊ स्कुल गयो ।

दश बजेको घण्टी बज्यो ।

लाइन लाग्न विद्यार्थीहरू तँछाड मछाड गरे । अनुनय आफूजस्तै फुच्चाफुच्चीहरूको लाइनमा मिसियो ।

“कभर अप !,” प्रार्थनाभन्दा पूर्व सामान्य अभ्यासको सुरुआत भयो ।

“कभर अप !,” एकजना मास्टर जुँगाको ताउ मिलाउँदै चिच्याउँदा अनुनय झन्डै तर्सेर भाग्यो । सबैले दुवै हात सिधा अगाडि पारेर रहरलाग्दो बनाएको देखेर आफूले पनि त्यसै गर्न खोज्यो ।

तर, एउटा हात तल र अर्को माथि भयो । उसको नमिलेको हात कसैले हेरेन ।

“डाउन !”

छेउमै आएको मास्टरले फेरि उसको कानको जरा उखेलेर लग्यो कि जस्तै गरी चिच्यायो । ऊ एक्कासि झसंग हुँदा कसो पछाडिको साथीलाई उछिट्टिएर धकेलेन ।

डाउन शब्दका साथ सिधा हातहरू एकैचोटि गिरिप्प तल झर्दा उसले पनि हतारोमा हात तल झारेर यताउति हेर्‍यो ।

स्कुलको प्रांगणमा भएको यो अनौठो खेल अनुनयको जीवनको अत्यासलाग्दो र डरलाग्दो खेल थियो । उसको अधिकांश समय अलमलमै बित्यो । उसले सकभर सिको गर्न खोज्यो । जति कोसिस गरे पनि मरिगए मिलाउन सकेन ।

विस्तारै उसको उत्साह खलबलियो । झर्को मानीकन बाँकी समय समाप्तिको व्यग्र आशामा आँखाहरू मास्टरको मुखतिर घुमायो ।

वातावरण अझै जाडोमय थियो । चिसो मौसममा घामको न्यानोपना बिर्सी नसक्नुको थियो । मास्टरको कर्कश ध्वनि बुझ्न नसकेर अलमलमै उभिरहेको अनुनयलाई साथीहरूको लैलैमा ताल मिलाउन खोज्दा सपनामा ऐँठन भएझैँ भयो ।

आफूजस्तै साना नानीहरूको स्कुले झोला बोक्ने र स्कुल पढ्ने रहर अब भने पछुतो र विरक्तमा अनुवाद हुन थाल्यो । अनुनयको दायाँबायाँ र अघिपछिका सबैले आफूमाथि ध्यानकेन्द्रित गरेको कुरा उसलाई हेक्का हुन थाल्यो । हुन पनि अरू लाइन लाग्न सिकेका सबै उसलाई हेरेर मुखामुख गर्थे ।

साथीहरूको लाइन रहरलाग्दो लागे पनि जुँगामुठे मास्टरको कर्कश बोलीसँग पहिलो साक्षात्कार गरेको उसलाई मनोवैज्ञानिक रूपमा दबाब परेको थियो । स्कुलको प्रथम अनुभवमै मास्टरको बोलीमा भुइँचालोको आभास पायो ।

अनि, उसले बिहानको त्यो शारदीय प्रार्थनालाइनलाई आलोचनात्मक समर्थन गर्न बाध्य भयो ।

राष्ट्रियगान सुरु भयो ।

‘सयौँ थुंगा फूलका हामी...
मेची महाकाली...’

सबैजना लयमा लय मिलाउँदै थिए ।

अनुनय अरूले राष्ट्रियगान गाउँदा एकचोटि झन्डै नाच्न थाल्यो । नाच्ने बेला मिसले ननाच्ने संकेत गरेपछि ऊ एकछिन चुप लाग्यो ।

अरूले गाएका राष्ट्रियगान उसलाई रमाइलो लाग्यो । आफूलाई सम्हाल्न नसकेपश्चात् उसले पनि निकै गाउन जानेजस्तो गरी गायो— 
सय सय ठूगा...
लाला लाला लि लु...

गाउँदा गाउँदै बीचैमा ऊ रोकियो । वरिपरिको वातावरणलाई अचम्म मानेर हेर्‍यो । दुईजनाले आफूलाई हेरेर हाँसेको उसले थाहा पायो । आफू हास्यपात्र भइरहेको उसलाई विस्तारै बोध हुन थाल्यो ।

हुन त ऊ राष्ट्रियगानमा आफूले पनि सुरमा सुर मिलाउँदा अत्यन्तै संवेदनशील स्वरयन्त्रमा नियन्त्रित भएर नै गाएको हुँ जस्तो गर्दै थियो ।

प्रार्थनालयको न्यायालयले उसको अन्जानमा घटित भुल गायकीपनमा कुनै दण्डसजायको वकालत गरेन । राष्ट्रियगानको चौतर्फी हर्षध्वनिबीच उसको अबोधयुक्त लाला...लुलु गीत पनि बिनासुरताल समाप्त भयो ।

जीवनमा पहिलोपटक यो शारदीय प्रार्थनाको लाइनमा लामबद्ध हुँदा उसलाई अलिकति लज्जाभाव, अलिकति दरिद्रताभास र अलिकति एक्लोभासको नपत्याउँदो अनुभव भयो ।

“गोडा फाट् !”

जुँगामुठे मास्टरको कानको जाली च्यातिने कर्कश ध्वनिले परिवेश नै गुञ्जायमान भयो ।

सधैँ स्कुल जाने भन्ने अनुनयको त्यो प्रतीक्षाको दिन पनि आज समाप्त भयो ।

वातावरण सहज भए पनि मास्टरको कर्कश बोली उसलाई प्राणघातकजस्तै लाग्यो । सबै मास्टरहरू यस्तै त्रासदीयुक्त स्वरका प्रतिविम्ब नै हुन् कि भन्ने कुरो उसको बालसुलभ हृदयमा बेस्मारी हुँडलियो ।

अगाडि हेर्‍यो । पछाडि हेर्‍यो । दायाँ हेर्‍यो । बायाँ हेर्‍यो । सबैले खट्टा फट्ट्याको र हात पछाडि बाँधिएको झैँ देख्यो । अनि, आफूले पनि त्यस्तै गर्ने भरपुर कोसिस गर्‍यो ।

सबैको ड्रेस एकैनासको देख्दा उसलाई आफूलाई आउट ड्रेसमा हाँसको बीचमा बकुल्लो अनुभव गर्‍यो । यद्यपि, आफूजस्तै अरू आठ—दशजना पनि अर्कै लुगामा देख्दा भने उसको मनको एक कुनामा सन्तोष महसुस भयो ।

“सतर्क !”

यो आवाजले अनुनय साँच्चै तर्सेर झसंग हुँदा पछाडिका साथीसँग टाउको ठोक्कियो । दुईजनै भुइँमा लडे । कसैले देख्यो कि झैँ गरी दुवै एकसाथ हठात् उठेर अरूले जस्तै सर्तक अवस्थामै उभिए ।

अनुनयले जतिसुकै स्वाभाविक अभिनय गर्न खाजे पनि उसको मुहारविन्दको यान्त्रिकता छताछुल्ल पोखिएको थियो । रहरलाग्दो पाठशालाको पहिलो कार्यक्रममै उसले आफूलाई संसारकै सबैभन्दा क्षीणहीन र निरीह प्राणी पायो ।

उसको आत्मविश्वासमाथि जुँगामुठे मास्टरको कर्कश बोली तगारो भयो । अघिसम्म स्कुल भनेपछि हुरुक्क हुने त्यो उत्साहको इन्द्रेणी यतिखेर गायब भइसकेको थियो । त्यो चञ्चलता, त्यो रौनक, त्यो खुल्दुलीपना यतिखेर त्यही मास्टरको कर्कश बोलीमा गोडा फाट् र सतर्कले खै कहाँ खेद्यो कहाँ !

अनुनयलाई आजको यो प्रार्थनालाइन एउटा डरलाग्दो जात्राजस्तै भयो । आफू स्कुल हतार आउनुको आत्मग्लानिमय खिचडी मनभित्र पाकिरह्यो । हठात् ऊ अतीतको गर्तमा लीन भयो ।

अनुनय हिउँमा खुब खेल्दै थियो । आफूजस्तै अरू बच्चाहरूसँग लहसिएर हिउँमा आनन्दानुभूतिको रसपान लियो । हिउँ खेलुन्जेल उसलाई चिसोको कुनै प्रवाह भएन ।

हिउँलाई मूर्तिको स्वरूप दिइएको खुब मन पर्‍यो उसलाई । त्यसको सिको गर्दै आफैँ पनि बनाउने कोसस गर्‍यो । तर, हँुदै नभएपछि जस्तो भएको छ, त्यस्तैमा मन मनाउन राजी भयो । पछि हात ठिहिर्‍याएर उधुमले रोयो । घरमा आमासँग रुँदै रहेको बेला एउटा जुँगामुठे मान्छे आफ्नो बुबासँग रक्सी खाँदै गरेको देख्यो ।

“बाबुलाई साह्रै चिसो भयो कि क्या हो ?,” त्यो जुँगामुठे बोल्यो ।

“दिनभरि हिउँमा नखेल्, चिसोले नराम्रोसँग पिराउँछ भन्दा मान्दै मानेन, अहिले ठिहिर्‍यायो भनेर रुन्छ,” बाबाचाहिँले रक्सीको एक चुस्की लिँदै छोरातर्फ फर्केर अनाकर्षक अभिव्यक्ति ओकल्यो !

“यो त ज्ञानी मान्छे हो नि, यसलाई बेलैमा स्कुल पठाउनुपर्छ है,” जँुगामुठे घिच्रो तन्काउँदै बोल्यो । रक्सीसँग मासुको सितन मुखमा हाल्यो । फेरि बोल्यो, “ओइ कान्छा, अब स्कुल गएर पढ्नुपर्छ है ! म तिमीलाई पढाएर ठूलो मान्छे बनाउँछु ।”

“छोरोलाई आउँदो शैक्षिकसत्रबाट स्कुल भर्ना गर्छु । स्कुले डेरेस किन्दिन्छु । स्कुले झोला किन्दिन्छु । कलम, कापी, किताब सबै चाइने चिज किन्दिन्छु । गाउँको सबैभन्दा विद्वान् बनाउँछु,” बाबुले जुँगामुठेलाई रक्सी थपिदिँदै बोल्यो ।

“भो भो, धेरै भो,” जुँगाको ताउ मुसार्दै जुँगामुठे बोल्यो । एकछिन केही सोचेझैँ गरेर भन्यो, “दुनियाँका छोराछोरी पढाएर के–के बनाइयो भनेदेखुन्, यो तपाईंको छोरालाई मान्छे बनाउने जिम्मा मेरो भो ! म पढाउँछु यसलाई कखरा ।”

अनुनय यतिखेर स्वाभाविक अवस्थामा आइपुगेको थियो । बुबा र जुँगामुठेको कुराले भित्रभित्रै कुतूहल छाएको थियो । अघिको उसको रुवाइ कता हरायो कता । दुवैजनालाई पालैपालो हेर्‍यो । 

अनुनयले तल्लो घरको विराटलाई सानो चिटिक्क परेको स्कुले झोलामा चिरिच्याँट्ट परेर हातमा टिफिन बक्स लिएर आफ्नै दिदीको अघिअघि लुखुरलुखुर स्कुल गएको हेर्दा आफू पनि स्कुल जाने मिठो सपना बुन्यो । बाबा र जुँगामुठेको लोभलाग्दो गफ सुनेर ऊ प्रफुल्लित भइरहेको थियो ।

“आमा, म पनि स्कुल जाने । झोलामा किताब, कलम राख्ने,” केही बिर्सेजस्तो गरी, केही सम्झेझैँ गरी उसले फेरि भन्यो, “म’नि टिफिन लगेर स्कुल जाने ।”

अनुनय ठ्याक्कै पाँच वर्ष भएको थियो । सामान्यतया कखरा त कहिलेकाहीँ घरमै सिकेको थियो । लेख्न भने अलि सकिरहेको थिएन ।

“तेरो गुरु, मास्टर उहाँ नै हो, तँलाई पढाउने,” बाबाचाहिँले अनुनयलाई जुँगामुठेतिर औँल्याउँदै बोल्यो । मास्टरले जुँगैजुँगाले घेरिएको थुतुनो अनुनयतिर सोझ्याउँदै हेर्‍यो ।

अनुनय अलिक तर्सियो । मास्टरहरू यस्तै डरलाग्ने हुन्छन् कि भनेर ऊ झसंग भयो र उसलाई आजैदेखि मनको बाघले खाइहाल्यो ।

“बाबु, याँ आइज,” मास्टर बोल्यो । जाऊँ कि नजाऊँको दोधारमा अनुनयले आमाको मुखतिर पुलुक्क हेर्‍यो । हेर्दा त डरलाग्दो छ, झन् छेउमै भए त के गर्दाे हो ! यस्तै सोच्यो उसले ।

“आइज, म तँलाई चकलेट दिन्छु,” मास्टरले गोजी छामछाम छुमछुम गर्न खोज्यो । गोजी छाम्दा पनि हात लागिरहेको थिएन । तर पनि भित्री खोजीबाट एउटा चकलेट झिक्यो ।

अनुनय चकलेटको आसले मनको बाघलाई वास्ता नगरी मास्टरकहाँ गयो । मास्टरले काखैमा बसाल्यो । चकलेट खाँदै गर्दा मास्टरको जुँगाले अनुनयको गालामा च्वास्स घोच्यो ।

“ऐया...!”

अनुनय झसंग भयो । याद गर्दा ऊ स्कुलको प्रांगणमा आतंकित भएर लाइनमा हराइरहेको थियो ।

जुँगामुठे मास्टरको आतंकमय ध्वनि तरंगबाहेक उसलाई स्कुल रमाइलै भएको थियो । यद्यपि, मास्टरको कर्कश बोलीमा पनि आशातीत करुणामय नजर र दयालु मुस्कान पायो उसले ।

सबै पालैपालो आ–आफ्ना कक्षाकोठामा गए । अनुनयले पनि आफूजस्तै साना साथीहरूको बीचमा विराटलाई खोज्यो । विराट अनुनयभन्दा दुई–चारजना अगाडि थियो । अनुनय विराटकै पछिल्लो लाइनमा थियो । ऊ साथीहरूकै पछिपछि उत्सुकताको लहरमा लहरिँदै अज्ञात कक्षाकोठातिर हान्नियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !