site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नग्नतादेखि नग्नतासम्म 
Sarbottam CementSarbottam Cement

अमेरिका न्युयोर्क सहरको टाइम स्क्वायरनजिकै एउटी सुन्दर युवती सम्पूर्णरूपेण निर्वस्त्र उभिएकी थिइन् । सर्वांग दिगम्बर उनी मधुर मुस्कान छर्दै थिइन् ।

मानिसहरूको उल्लेखनीय भीड थियो । लाग्दथ्यो, आफूले गर्न नसकेका कुरा अरूले गरेको देखेर उत्सुक थिए सबै । उनीसँग फोटो खिचाउनेले स्वेच्छाले दश–बीस डलर दिइरहेका थिए ।

‘कहाँकी होलिन् यी सुन्दरी ?,’ कसैले जिज्ञासा राखेको सुनियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी पूर्वी युरोपतिरकी गोरी रे ! सुन्दरी अनेक हाउभाउ र मनोहारी कटाक्ष गरिरहेकी थिइन् । उनी नजिक जानेलाई हाय भन्दै मधुर मुस्कान पोख्थिन् । किन्तु, उनलाई कसैले छुँदैनथ्यो ।


त्यस्तैमा एकजना भारतीय अधबैँसेले भनेको सुनियो, ‘ब्युटी इज टु सी नाट टु टाच ।’

Global Ime bank

न्युयोर्क सहरले स्वीकार गरेको दृश्य थियो त्यो । तथापि, अर्ध निर्वस्त्र आधुनिक अमेरिकीहरू पनि पूर्ण निर्वांगताप्रति विस्मित नै थिए ।

त्यही सहरमा कुनै समुदायका नारीहरू कालो बुर्काभित्र सर्वांग आवरणमा थिए भने उनी सर्वांग निरावरणमा मस्त हाँसिरहेकी थिइन् । त्यहाँ न घना श्यामल लिबासभित्र सम्पूर्ण शरीर लुकाउने गलत थिइन् न त देखाउने नै । महत्त्वपूर्ण कुरा आवरण या अनावरण नभई सोचाइको थियो ।

त्यहाँ कसैले ‘छ्या’ भन्नु सान्दर्भिक थिएन । छ्याको भावना राख्ने मान्छे त्यहाँ अडिनु नै उचित थिएन ।

त्योभन्दा केही समयअघिको कुरा हो । नोकरीको सिलसिलामा भरखरभरखर काठमाडौं उपत्यकामा बस्न थालेको थिएँ । एक दिन एउटा आधुनिक रेस्टुरेन्टमा जाने मौका जुर्‍यो । मेरा लागि आधुनिक रेस्टुरेन्ट मात्र नभई आधुनिक परिधान पनि रहस्यमय थियो ।

उमेर पाकेकाहरू अचेलका केटीहरू छाडा भए भन्दै थिए । ‘सभ्यता डुब्यो, धर्मको मर्ममा प्रहार भयो, मान्यजनको इज्जत रहेन, खानदान र कुलको नाक रहेन !’

यहाँको वातावरण हेर्दै थिएँ, दुई जोडी आइपुगे । युवकहरू कोटप्यान्टमा र युवतीहरू हलुका सर्ट एवम् हाफप्यान्टमा । मसँगै बसेका वरिष्ठ नागरिकले सुस्तरी भने, ‘हेर हेर... लाज नभएका केटीहरू !’

म केही बोलिनँ ।

त्यहाँ अश्लीलता छँदै थिएन, बरु सौन्दर्य, शालीनता र कोमलता थियो । विशिष्ट किसिमले शारीरिक सौन्दर्यको प्रकटीकरण थियो त्यो ।

त्यो परिधान त प्रचलित संस्कृतिको उचित सम्मान र प्रकृति प्रदर्शनको संगम थियो । त्यहाँ लज्जाहीनताको कुरा थिएन, बरु प्रकृतिप्रदत्त सौन्दर्यप्रति संयमित र सम्यक् मान राखिएको थियो ।

एक दिन समुद्र किनारमा जाने मौका मिल्यो । ‘बिच’मा सयौँ युवायुवती मात्र होइन, वृद्धवृद्धा पनि कथित ‘प्राइभेट’ अंगलाई थोरै मर्यादाभित्र लुकाएर बिन्दास पारामा विचरण गर्दै थिए ।

नवीन संस्कृतिसँग परिचित नभएकाहरूका लागि त्यो अश्लीलता थियो भने परिचित र अभ्यसित सबैका लागि जीवनको एक अंग । जीवनका अनेकौँ झन्झट र जन्जालको दुःखबाट एकक्षणका लागि प्राप्त सुखदायी मुक्ति थियो त्यो । एक किसिमले भन्ने हो भने पोसाक पनि एउटा भारी नै त हो ।

मनुष्यको सहज प्रवृत्ति हो, नग्नता । ज्यादा खुसीमा खेलाडीले पोसाक फाल्दछ । उत्तेजक क्षणमा दर्शकहरू पनि उन्मादी हुन्छन् । ज्यादा क्रोधमा लुगा च्यात्न मन लाग्छ ।

केही समयअघि त हो, संसद्मा निर्वाचित प्रतिनिधिले सर्ट फालेर आफ्नो उपल्लो अंगको प्रदर्शन गरेको । ‘एङ्जाइटी’मा रहेको मानिस प्रकृतिभित्र प्रवेश गरेको घटना हो त्यो ।

कथित सभ्य आलोचना त होसोहवासमा गरिएको सांस्कृतिक टिप्पणी मात्र हो । क्रोध, विद्रोह र विपत्तिमा कोरीबाटी गरेको केश पनि स्वतःस्फूर्त फुकाउने प्रवृत्ति हुन्छ ।

पागलपन चढेर संस्कृति बिर्सेको मान्छे सर्वांग निर्वांग भएर सरेआम हिँडिदिन्छ । संस्कृति नबिर्सेका मानिसहरू छ्या भन्दै उसको अंगप्रत्यंगको अवलोकन गर्छन् ।

मनुष्यलाई आफूसँग भएको मूल्यवान् कुरा देखाऊँदेखाऊँ लाग्छ रे !

धन, मान, सम्पदा र परिवार जे छ, देखाउन मन लाग्छ । केही नहुनेसँग शरीर हुन्छ, जो कुनै समयमा फस्टाउँछ । सभ्यताको सुरुआतअघि मनुष्यको सम्पत्ति नै आफ्नो शरीर हुन्थ्यो । जति शारीरिक श्रम गर्न सक्यो त्यति नै पोषण ।

आजको युगमा पनि शरीर एक सम्पदा हो, धन, मान र खानदानभन्दा ठूलो । आफूसँग भएको कुरा म पनि केही हुँ भनेर प्रदर्शन गर्नुलाई कसरी गलत भन्न मिल्ला र !

यो प्राकृतिक सहज प्रवृत्ति पशुमा पनि हुन्छ । टम्मको ज्यान भएको एउटा घोर्ले वानर आफ्नो समुदायको अगाडि ढलकमलक गर्दै सानसँग हिँड्छ । कुखुराको भालेले आफ्नो उन्नत शरीर देखाएर मात्र होइन, बासेर पनि अस्तित्व प्रदर्शन गर्छ ।

नर मयूरले नाचेर मादालाई आकर्षण गर्छ । बहर गोरुले सिउरी खेलेर र खुरले गोधूलि उडाएर आफ्नो सामर्थ्य देखाउँछ । बहरलाई सुन्दर पोसाक पहिर्‍याइयो भने ऊ उल्टै कुरूप हुनेछ । सारा जीवजगत् प्रकृतिस्थ छ, एक मनुष्य मात्र परिधानभित्र ।

मनुष्यले लाज लागेर पोसाक लगाउन थालेको होइन । महादेव करिबकरिब नांगै विचरण गर्थे । त्यसै हुनाले त उनलाई दिगम्बर पनि भनिन्छ । उनी निरावरणमै सुन्दर थिए ।

लज्जा एक मानवनिर्मित संस्कृति हो । प्राकृतिक अवस्थामा सौन्दर्यको मानक परिधान, गहना र शृंगार थिएन । त्यस बखतको सौन्दर्यको मानक दैहिक स्वस्थता र शारीरिक सौष्ठव नै थियो । नग्नताको विचार त मनुष्यले सिर्जना गरेको काल्पनिक प्रपञ्चबाट विकसित हुँदै आएको परम्परा मात्र हो ।

महिला र पुरुषहरूले कपाल र कानमा फूल सिउरेर हिँडे होलान् । सायद त्यो सौन्दर्य चेत नभई विपरीत लिंगीको ध्यान आफूतर्फ मोड्ने चेष्टा थियो । त्यहाँ शृंगारिक सौन्दर्यको कुनै महत्त्व थिएन ।

अपितु, शारीरिक बलिष्ठता र बहादुरीको ठूलो मूल्य हुन्थ्यो । मृत पशुका तिखा हड्डीका मालाहरू सुन्दरताका लागि नभई आत्मरक्षाका लागि लगाइन्थे । लुगा त किराको टोकाइ र जाडो एवम् गर्मीबाट जोगिन मात्र लगाउन थालिएको हो ।

सभ्यताले मानवेतर जड या चेतन अस्तित्वको सामुन्नेमा लाज मान्ने संस्कृतिको विकास गरेको छैन । लज्जाको अनुभूति तब मात्र हुन्छ, जब एउटा मनुष्य अर्को मनुष्यको सामुन्नेमा हुन्छ ।

५० वर्षअघि भारतको लखनऊ सहरको कलेजमा अध्यापन गर्ने एक महिला प्रोफेसरको अवस्थाबारे एउटा लेख पढेको थिएँ । उनी रिक्सा चढेर कलेज जाने गर्थिन् । जेठाजुको कडा आदेश थियो, ‘रिक्सामा एउटा पर्दा बाँधेर कसैले देख्न नसक्ने गरी मात्र जानू ।’

अचेल महिलाको सन्दर्भमा जति ज्यादा अंग प्रदर्शन गर्न सक्यो, त्यति नै ‘बोल्ड’ भन्ने चलन छ । त्यसबखतमा एउटी महिलाले एमए पढ्नु र कलेज पढाउन जानु नै ‘बोल्डनेस’को प्रतीक थियो ।

तैपनि, जेठाजुले आफ्नो निम्छरो हैकम देखाउने प्रयत्न गरिछाडे । रिक्साले घर कम्पाउन्ड छाड्नासाथ उनी पर्दा हटाउँथिन् । आज त्यही सहरमा तिनै जेठाजुकी नातिनी मजाले सर्टप्यान्ट पहिरेर कार हाँकेर हिँड्छिन्, तापनि उनलाई बोल्ड भनिँदैन ।

उनकी छिमेकीलाई बोल्ड भनिन्छ, किनकि उनी प्यान्टमाथि छोटो र हलुका पोसाक लगाउँछिन् । आजको बीस वर्षपछि छिमेकीको पहिरन पनि बोल्ड्नेसमा दरिने छैन ।

तीसपैँतीस वर्षअघि यही काठमाडौं सहरको समाजले नांगो शरीर देखिनुलाई मात्र होइन, अपरम्परागत पोसाक पहिरनुलाई समेत नग्नता नै मान्दथ्यो । नग्नता एउटा तात्कालिक र तदर्थ सोच मात्र हो । यसको कुनै मानक र मानदण्ड हुँदैन ।

समाजले स्वीकार गर्दै गएपछि नग्नता पनि जीवनको सामान्य पहलुजस्तै लाग्न थाल्दो रहेछ । पाश्चात्य समाजमा सौम्य नग्नतालाई यौनिक आह्वान या अपिलको रूपमा हेर्नु हुँदैन भन्ने मान्यता छ ।

प्रकृतिवादीहरू त प्राकृतिक अवस्थामा रहन चाहनुलाई मनुष्यको नैसर्गिक अधिकार मान्दछन् । समय गतिमान् छ । हिजोको जस्तो मानवीय सोच आज छैन र आजको जस्तो भोलि रहने छैन ।

तथापि, पश्चिमा देशहरूमा पनि पूर्ण नग्नतालाई स्थानिक र सामाजिक अभ्यासमा सीमित गर्दै अन्य सबै सार्वजनिक स्थानमा सौम्य र शालीन नग्नतालाई मात्र स्वीकार गर्नुपर्ने अभिमत रहेको पाइन्छ ।

लज्जा प्रकृतिको सिर्जना होइन । सानो बालक कुरीकुरी भनेर उसकै जननेन्द्रिय देखाउँदा हाँसिदिन्छ । ऊ हाँस्छ, किनकि नग्नतासँग उसको परिचय हुनै बाँकी छ । त्यही बालक वयस्क भएपछि आफ्नो सानो शिशुलाई कुरीकुरी भन्न थाल्छ ।

सुरुमा बालकलाई लाग्दछ, प्रजनन अंग मात्र कुरीकुरीमा पर्ने कारण के होला । सायद सृष्टि कार्यमा सरिक हुने गुह्य अंग भएको हुँदा गुप्त राख्ने परम्परा बस्यो ।

सभ्यताले गुप्त राख्न भने पनि कताकता प्रदर्शन गर्ने उत्कण्ठा र उत्सुकताको अवस्था आउनु सरल मानवीय भाव हो । किनकि, आदिम मनुष्यले बुद्धिमान् मानव (होमो सेपियन्स)को स्वरूप पाएको करिब डेढ लाख वर्ष बितिसक्यो भने लज्जा सिकेको केही हजार वर्ष मात्र । अर्को कुरा, गुप्त रूपमा जतनले राखिएको चिजप्रति ज्यादा चासो हुनु पनि स्वाभाविकै हो ।

स्वस्थानी कथामा दिगम्बर महादेवको शारीरिक सुगठन र पौरुष देखेर ऋषिपत्नीहरू फिदा भएको विवरण पढ्न पाइन्छ । कहाँ बलिष्ठ र सुन्दर मनोहारी महादेव, कहाँ कृषकाय ऋषिहरू ।

महादेवको सौन्दर्य बनावटी नभई नैसर्गिक थियो । उनी निर्वस्त्र थिए, तर त्यो नग्नता थिएन । महादेव परिधान संस्कृतिबाट अलग प्राकृत अवस्थामा विचरण गर्दथे । ऋषिपत्नीहरू आसक्त भएर पछि लाग्दा महादेवलाई दोष लाग्यो । उनको यौनांग देखेर आफ्ना पत्नीहरू मोहित भएको आरोप ऋषिहरूले लगाए ।

वास्तवमा त्यहाँ यौनांगको सवाल नै थिएन, सवाल थियो त केवल सांस्कृतिक भिन्नताको । नग्नताको परिभाषा तयार गरेर त्यसैअनुसारको विचार बनाएका ऋषिहरूको शंका यौनांगतिर गयो । 

यथार्थमा त ऋषिपत्नीहरू महादेवको प्राकृत शरीरबाट मोहित भएका थिए । पोसाक लगाउनेले पोसाकको आकार घटाउनु पो अंगप्रदर्शन हो । जो सम्पूर्णतः निर्वस्त्र छ, त्यहाँ केको अंग प्रदर्शन ?

ओशो प्रवचनमा एउटा प्रसंग सुनेको थिएँ । एक दिन दुईजना साधु नाटक हेर्न गएछन् । नचनीहरूले पहिरेको पोसाक एकएक गर्दै फाल्दै गए, फाल्दै गए ।

साधुहरूमध्ये एकजना ‘अश्लील अश्लील !’ भन्दै आडम्बर गर्दै थियो । लज्जाहीन भन्दै ऊ त उठेरै हिँड्यो ।

नर्तकीहरू पोसाक फाल्दै गए । अब अन्तिम पोसाक पनि फाल्छन् भन्ने बेला हुँदा पर्दा खस्यो । बेलुका कुराकानीका सिलसिलामा भाग्ने साधुले अन्तिमसम्म बस्नेलाई सोध्यो, ‘त्यसले अन्तिम पोसाक फाली कि फालिन हँ ?’

पूरा नाटक हेर्नेले सारा कुरा नाचघरमै छाडेर आएको थियो । पाखण्ड गर्दै भागेर हिँड्ने भने जिज्ञासा बोकेर तनावमा बसिरहेको रहेछ । ती नर्तकीहरू नग्नताका प्रतीक नभई कलाकार मात्र थिए भन्ने कुरा भगुवा साधुले बुझ्नै सकेन ।

नारीलाई सौन्दर्यको खानी मानिएको छ । सायद सत्य हो । यहाँ मैले ‘सायद’ शब्द प्रयोग गरेको छु, किनकि सौन्दर्यको मानक नारीले नभई पुरुषले निर्माण गरेको हो ।

पुरुषप्रधान संस्कृतिमा नारी अस्मिताको अपमान र अवहेलना धेरै भयो र हुँदैछ । वाल्मीकि रामायणमा सीताका कोमल अंगहरूको सुन्दर तर उत्तेजक वर्णन गरिएको छ ।

पुरुषप्रधान संस्कृतिमा सत्ता मात्र होइन, कलम र कुची पनि पुरुषको हातमै थियो । राजा, सेनापति, तपस्वी, शिक्षक, विद्यार्थी, कवि र व्यापारी सबै पुरुष । यदि, सत्ता, शक्ति र सम्पदामा नारीको प्रभुत्त्व भएको भए ? त्यस्तो हुँदो हो त सायद साहित्यमा पुरुषको सौन्दर्य, बलिष्ठता र धूर्तताको वर्णन हुने थियो ।

महाभारतकी विद्रोही नारी द्रौपदीलाई भरी सभामा नांगो पार्ने प्रयत्न हुँदा महात्मा विदुरबाहेक कसैले विरोध गरेन । त्यो घटना नारीप्रति पुरुषको मलिन सोचको प्रमाण हो ।

त्यहाँ एउटी नारीलाई घिसार्दै ल्याएर उसको शरीर हेर्ने प्रयत्न भयो । फूलको सुन्दरता हेर्न चाहनेले कोपिला च्यातेर त्यसभित्र फूल खोज्नु जघन्य पाप हो ।

गान्धारीका उनान्सय पुत्रहरूले युद्धमा वीरगति प्राप्त गरिसकेका थिए । जीवनभर आँखामा पट्टी बाँधेकी उनले छोराहरूलाई वाणीले मात्र चिन्थिन् । स्वेच्छाले चर्मचक्षुलाई आवरणले छोपे पनि उनमा पुत्रको शरीर हेर्ने इच्छाचाहिँ रहेछ ।

सायद माता गान्धारीको अन्तिम इच्छा एकपल्ट जेठो छोरा दुर्योधनको निर्वांग शरीर हेर्ने थियो । उनले दुर्योधनलाई गंगास्नान गरेर जन्म हुँदाको समयमा जस्तो थिइस्, त्यही अवस्थामा आउनू भनेर अह्राएकी थिइन् ।

दुर्योधन पनि निर्वांग नै आउँदै थिए । किन्तु, कृष्ण कन्हैयाले भाँजो हालिदिए, ‘तिमी बालक होइनौ । तिमीले त्यो बीभत्स अंग आमालाई देखाउने ?’

दुर्योधन वनस्पतिको पत्रले गुप्तांग छोपेर माताको अगाडि उभिन्छन् । माता छोराको सर्वांग शरीरलाई प्राकृतिक अवस्थामा देख्नबाट वञ्चित हुन्छिन् ।

नग्नता शारीरिक मात्र हुँदैन । जहिलेदेखि सभ्यताले शारीरिक नग्नतालाई अस्वीकार गर्‍यो, तहिलेदेखि वैचारिक र सांस्कृतिक नग्नताको प्रादुर्भाव भयो । शरीर मात्र होइन, वाणीमा पनि आवरण चाहिन थाल्यो । सत्य कटु र झुट स्वादिलो हुन थाल्यो । नग्न कुरा बोल्नु अनम्रता मानियो ।

दक्ष प्रजापतिको यज्ञमा दुवै पक्षले भनेका कुरा सत्य थिए । किन्तु, ती नग्न थिए । संस्कृतिले तिनमा आवरणको लेप माग्दथ्यो । केवल भनावैरीकै आधारमा त्यति ठूलो युद्ध भयो ।

सभ्यताले केही कुरा सत्य नै भए तापनि ओकल्न मनाही गर्दछ, ‘त्यति मात्र बोल, जति सभ्यताले स्वीकार गर्दछ ।’

दक्ष युद्धको अन्तिममा महादेव पक्षको जित भयो । महादेवका गणहरूले कुनै देवताका दाँत झारिदिए, कसैको चिउँडोमा बोकाको दाह्री जोडिदिए । कतिको अंगभंग भयो । कोही त्राहित्राहि भन्दै भागाभाग भए ।

सभ्यताका अगुवा र संरक्षक दक्षलाई मूर्खताको प्रतीक बोका सरी बनाइयो । त्यहाँ आवरणमा रहनेहरू निरावरणसँग पराजित भए । सत्य पनि महादेवझैँ नग्न हुन्छ । आवरण बनावट हो भने निरावरण शाश्वत । त्यसैले सत्यको अर्को नाम नग्न पनि हो ।

विदुरले हमेसा सुन्नेलाई नग्न लाग्ने खालको सत्य बोलिरहे । धृतराष्ट्रलाई पनि युद्धमा आफ्ना पुत्रहरूको हार हुँदै छ भन्ने कुरा थाहा थियो । किन्तु, उनी अरूको मुखबाट कौरव पक्षको विजय हुनेछ भन्ने वाक्य सुन्न चाहन्थे ।

उनको चर्मचक्षु मात्र होइन, प्रज्ञाचक्षु पनि कमजोर थियो । नग्न सत्यलाई केही समयका लागि भए पनि आवरणले छोपछाप गरेर क्षणिक थामथुममा निमग्न हुन चाहन्थे उनी । आवरणमा रमाउने मनुष्य सत्यबाट भयभीत हुन्छ ।

एक दिन व्यास मुनिका किशोर अवस्थाका छोरा शुकदेव तप गर्न जान्छु भन्दै घरबाट निस्के । पिता व्यास वत्सल्यले द्रवीभूत भएर नजाऊ नजाऊ भन्दै पुत्रको पछि लागे ।

अलि पर एउटा जलाशय थियो, जहाँ केही रमणीहरू निर्वस्त्र जलक्रीडा गरिरहेका थिए । जब उनीहरूले नग्न शुकदेवलाई देखे, आफ्नो नग्नताको वास्तै गरेनन् । त्यहाँ नग्नता पनि नग्नता थिएन, किनकि विरक्त शुकदेवसँग लाज या भय मान्नुपर्ने कारण नै थिएन । किन्तु, जब आवरणयुक्त व्यासजीलाई देखे, उनीहरू झट्ट लुकिहाले ।

वयोवृद्ध उमेरका चार्ली च्याप्लिनले आफ्नी छोरी जेराल्डिनलाई अनेकौँ उपदेश दिँदै एउटा चिठी लेखेका थिए । उनले पत्रको अन्त्यतिर लेखे, ‘तिमीले आफ्नो वस्त्रहीन शरीर त्यो व्यक्तिलाई मात्र सुम्पिदिनू, जसले तिम्रो निर्वस्त्र शरीरको नभई नग्न आत्माको सच्चाइसँग प्रेम गर्दछ ।’

चार्लीले त्यस चिठीमा जीवनका विभिन्न पहलुबारे गम्भीर चर्चा गरेका छन् । प्रेम के हो ? के प्रेम तात्कालिक शारीरिक भोक मेटाउने उपक्रम हो ? कतिपय मानिसले त्यही भोक मेटाउने चेष्टालाई प्रेमको आवरण दिएर धोका दिन्छन् । चार्ली च्याप्लिनले छोरीलाई यस्ता कुरामा सावधान हुने सल्लाह दिएका छन् ।

कतै एउटा कथा पढेको थिएँ । एक दिन सच्चाइ र झुट निर्वस्त्र भएर सँगसँगै नदीमा नुहाउन गएछन् । नुवाइधुवाइ गरेर झुट बाहिर निस्केछ र सच्चाइको लुगा लगाएर हिँडेछ । केही बेरपछि सच्चाइ पनि नदीबाट बाहिर निस्क्यो । कपडा राखेको ठाउँमा हेर्छ त आफ्नो लुगा गायब छ । उसले झुटको लुगातिर यसो हेर्‍यो मात्र, किन्तु पहिरन सकेन ।

झुटको परिधानभित्र लुकेर बाँच्नुभन्दा बरु नांगै बाँच्नु बेस । सच्चाइ त्यहाँबाट निर्वस्त्र हिँड्यो ।

अहिले पनि सत्य निर्वस्त्र विचरण गरिरहेको छ । उता झुट भने सत्यको आवरणमा बडो सानले दुनियाँलाई मूर्ख बनाइरहेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement