काठमाडौं । अन्तर्राष्ट्रिय म्याराथन धावक सन्तोष राई “सेलिब्रिटी सम्मान”बाट सम्मानित भएका छन् । सेलिब्रिटी समाज, नेपालले शनिबार राईलाई सम्मान गरेको हो । एथ्लेटिक्सका पूर्व खेलाडी ओलम्पियन मुकुन्दहरि श्रेष्ठले “सेलिब्रिटी सम्मान” पत्रले राइलाई सम्मानित गरे ।
नेपालको चर्चित दौड नेवाः च्यारिटी, धरानका संस्थापक राईले स्वास्थ नै जीवन हो र मानिस स्वस्थ रहनका लागि दौडनु पर्छ भन्ने सन्देशका साथ म्याराथन मार्फत नेपाल र नेपालीको नाम अन्तराष्ट्रिय स्तरमा उच्च राख्न सफल भएको भन्दै सेलिब्रिटी समाज, नेपालले सम्मान गरेको हो ।
विश्वको सम्मानित ६ म्याराथन लण्डन म्याराथन २०१७ र स्कटल्याण्ड म्याराथन, २०१७, बेलायत, बर्लिन म्याराथन २०१७, जर्मनी, बोस्टर्न म्याराथन २०१८, सिकागो म्याराथन २०१८ र न्यूयोर्क म्याराथन २०१८, अमेरिका पुरा गरेका राइ २०१९मा जापानमा भएको टोकियो म्याराथनमा ३८ हजार सहभागी मध्येबाट उत्कृष्ट ७ सयमा पर्न सफल भइ मेडल समेत प्राप्त गर्न सफल भएका थिए ।