site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘सी’ डिभिजन क्लब र एन्फाबीच खेल सुचारु गर्न सहमति 

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगका क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच लिगका खेल सुचारु गर्न सहमति भएको छ । आरसी–३२ फुटबल एकेडेमीलाई कारबाही नगरेको भन्दै सहिद स्मारक ‘सी’ डिभिजन लिगका क्लबहरूले खेल खेल्न अस्वीकार गरेपछि एन्फा र क्लबहरूबीच भएको वार्ताबाट लिग सुचारु गर्ने सहमति भएको हो ।

लिगमा आज दिउँसो १ बजेदेखि स्वयम्भू क्लब र सामाजिक युथ क्लबले प्रतिस्पर्धा गर्ने तालिका थियो । तर, हालसम्म दुवै क्लबले मैदान उत्रिन अस्वीकार गरेपछि खेल एक घण्टा अवरुद्ध बनेको थियो । तर, वार्तापछि खेल दिउँसो २ बजेदेखि सुरु गर्ने सहमति भएको एन्फाले जनाएको छ । 

Argakhachi Cement Island Ad

आजै हुने दोस्रो खेलमा आरसी–३२ फुटबल क्लबले सोसल वेलफेयर स्पोर्ट्स सेन्टर क्लबविरुद्ध खेल्ने तालिका छ । दिनको दोस्रो खेल पनि निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी सुरु हुने एन्फाले जनाएको छ । “हाम्रो उजुरीमा एन्फाले भोलिसम्म छानबिन गर्ने बताएपछि क्लबहरूले आजको खेल खेल्ने निर्णय गरेका हुन् । यदि भोलिसम्म पनि उजुरीप्रति एन्फाले कदम नचालेमा लिगका अरु खेल नखेल्ने क्लबहरूको निर्णय छ,” ‘सी’ डिभिजन लिगका संयोजक तथा महावीर स्ट्डिज एन्ड एथ्लेटिक्स एसोसियसनका अध्यक्ष दिवाकर घलेले बाह्रखरीसँग भने । 

यसअघि लिगका नौ क्लबले गत सोमबार लिगमा आबद्ध क्लबहरूले आरसी–३२ फुटबल एकेडेमीले अर्को क्लबमा आबद्ध खेलाडीलाई नियमविपरीत खेलाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ध्यानाकर्षण पत्र बुझाएका थिए । 

लिगका नौ क्लबले एन्फालाई खेलाडी दर्ता नियमावलीमा एक खेलाडी एक क्लबमा मात्र दर्ता भएर खेल्न सक्ने नियम स्मरण गराउँदै आरसी–३२ ले ‘बी’ डिभिजन क्लब झापा फुटबल क्लबमा दर्ता भएका सुमनबहादुर मगरलाई खेलाएको भन्दै कारबाहीको समेत माग गरेका थिए । एन्फा अध्यक्षलाई पत्र बुझाउनेमा महावीर क्लब, खालीबारी युवा फुटबल क्लब, स्वयम्भू क्लब, सामाजिक युवा क्लब, झम्सीखेल युथ क्लब, मनोहरा एकीकृत युवा क्लब, पुल्चोक स्पोर्ट्स क्लब, गोलबजार स्पोर्ट्स क्लब र समाज कल्याण खेलकुद केन्द्र छन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्