खेल
काठमाडौं । लामो समयबाट रोकिएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी साउन दोस्रो हप्ताबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप)को आयोजनामा दुईवर्षपछि महिला क्रिकेट प्रतियोगिता हुन् लागेको हो ।
राखेपको आयोजनमा हुन् लागेको प्रतियोगिता आगामी साउन आठ गतेबाट ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ । दक्षिण कोरियामा भएको सन् २०१४ मा भएको इन्चोन एसियाडपछि नेपाली टोलीले कुनै पनि अन्तर्रा्िष्ट्रय खेल खेलेको छैन । त्यस्तै घरेलु लिग तथा प्रतियोगिता भएको छैन ।
टि–२० फम्र्याटमा सञ्चालन हुने यस प्रतियोगितामा पाँच बिकास क्षेत्र र सशस्त्र प्रहरी बल(एपिएफ) को महिला टोली सहित ६ टिमले सहभागिता जनाउने राखेपले जनाएको छ । यस राष्ट्रिय प्रतियोगिताका लागि राखेपले असार २८ गते २२ जिल्ला तथा ३० र ३१ गते क्षेत्रीय टोलीको छनोट पाँचै बिकास क्षेत्रको क्षेत्रिय खेलकूद बिकास समितिको आयोजनामा सम्पन्न भई खेलाडी छनोट गरेको थियो ।
यस प्रतियोगिता लिग चरणमा दूई समुहमा टिम बिभाजन गरि लिग प्रतियोगिता बाट शीर्ष दुई टिम फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
सिनियर महिला क्रिकेटको इतिहासमै पहिलो पटक बिजेता टिमले नगद १ लाख तथा उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सवूमन, उत्कृष्ट बलर, उदयमान खेलाडी आदि बिधामा पनि पुरस्कृत गरिनेछ ।
प्रतियोगितालाई आइसीसी महिला विश्वकप छनोट २०१६ को लागि खेलाडी छनोटको रुपमा हेरिएको छ । प्रतियोगिताबाट २४ उत्कृष्ट खेलाडी छनोट गरी श्रावणको अन्तिमबाट बन्द प्रशिक्षणमा राखिने राखेपले जनाएको छ । इंग्ल्यान्डमा अर्को वर्ष हुने आइर्सीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले हङकङ, चीन र थाइल्याण्डसंँग प्रतिस्पर्धा गर्ने छ ।
नेपाल सम्मलित एसियाली छनोटको आयोजना हङकङमा आगामी अक्टोबरमा हुनेछ । एसियाली छनौटमा आयोजक हङकङसँगै नेपाल, चीन र थाइल्याण्डले राउण्ड रोबिनका आधारमा खेल्नेछन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले छनोट खेल अक्टोबर ९ देखि १५ मा हुने जनाएको छ । तर, आइसीसीले खेल तालिका भने सार्वजनिक गरेको छैन ।
एसियाली छनोटको शीर्ष स्थानमा रहने टोली २०१७ मा हुने ग्लोबल छनौटमा भाग दिनेछ । ग्लोबल छनौटमा १० टोलि सहभागी हुनेछन् । ग्लोबल छनौटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपमा छनोट हुनेछ ।
प्रकाशित मिति: सोमबार, साउन ३, २०७३ २०:२०
प्रतिक्रिया दिनुहोस्