ताजिना कस्तूरी
आँगनको डिलमा अचेल
वृद्ध चाँपहरू फुल्न छोडेका छन्
कलिला चाँपहरू चुपचाप छन्
खै किन हो, रिसाएका छन्
तुसारोजस्ता मान्छे
कोटकोटो बगाउँछ
अश्रुधारा खस्रुका पातहरूबाट तप्प... तप्प
म स्तब्ध हुन्छु
मान्छे मान्छेजस्ता लाग्दैनन्
मूल डाँडा र कपासे भञ्ज्याङहरू
उराठउराठ देखिन्छन्
जंगली काँडाले घोचेझैँ
मुटु घोच्छ मेरो
बिचरी माली गाई,
घाँस चपाउन नसकेर झोक्राइरहेकी छ
त्यो अमिलो दृश्य देखेर
म निःशब्द हुन्छु ।
कस्तूरी चर्ने सेल्मेका चौरहरू
विकासे बुलडोजरले
खण्डहर बनाएको छ
माथि गुरासेडाँडाबाट बगिरहेका
रगतका भेलहरू
साखोलामा मिसिएपछि
भक्कानिएको छ छाती
म स्तब्ध हुन्छु
मेरा भिजेका परेलाहरू
वृद्ध चाँपका हाँगाहरूमा झुन्डिन्छन्
र, सम्झिरहन्छु म उही घरछेउको
पुरानो वृद्ध चाँप ।
(इटहरी)