विशेष
यथार्थमा थोरै कल्पनाशिलताको जलप लगाइएको अनुप्रासयुक्त छोटा–छोटा हरफहरूको कलात्मक संयोजन नै सायद गीत होला । गीतको सर्वमान्य परिभाषा छैन, त्यसैले सबै स्वतन्त्र छन् यसलाई परिभाषित गर्न, जसरी लेख्न स्वतन्त्र छन् ।
पछिल्लो पुस्तामा सबैले चिनेको र भिजेको नाम हो एकनारायण भण्डारी । जसका थुप्रै गीत छन्, जुन तपाईं हाम्रो जीवन संघर्ष, माया प्रेम र यथार्थ भोगाइका पलपललाई समेटिएको छ ।
कसरी जन्मिन्छ गीत, जन्माइन्छ कि आफैं जन्मिन्छ, कति महिना भ्रुण अवस्थामा रहन्छ या पलभरमै सिर्जना हुन्छ, गीत लेख्नै भनेर बस्नुहुन्छ कि अन्तरहृदय बालेपछि लेखिदिनु हुन्छ ?मेरा थुप्रै प्रश्नको बीचमा घेरिएका एकनारायण आफ्नै हिसाबले गीतको गर्भको कुरा गर्छन् ।
“आमाले शिशु जन्माएजस्तै रहेछ गीत, तर यति नै महिना लाग्छ जन्मिन भन्ने कुनै समयावधि भने नहुँदो रहेछ,”एकनारायण भन्छन्, “कहिले क्षणभरमै जन्मिन्छ, कहिले हातमा कलम कपी बोकेर दिनहुँ घोत्लिँदा पनि एउटै गीत सकिँदैन, गर्भमै रहन्छ ।”
सायद होला उनको भनाइमा सत्यता । चलचित्रका गीत निश्चित समयमासक्नुपर्ने भएकाले केही तनावमा लेख्छन् गीतकार । त्यसलाई एकनारायणले पनि पुष्टि गरे । विषयवस्तु र समयको घेराबन्दीमा केही असहज हुन्छ । तर, पनि शब्दहरूसँग खेल्न थालेपछि दुई तीन दिनमा गीत बन्छ, भलै त्यसमा केही साजसज्जा गर्ने ठाउँहरू किन नहुन् ।
कसरी खेल्छन् शब्दसँग एकनारायण ? “दोबाटोलाई मनको बाटो बनाउँछु होला, आँखाको हेराइलाई मनको हेराइ बनाउँदा राम्रो सुनिएला, पर्यायबाची शब्द, श्रुतिसमभिन्नार्थक शब्द, लय र अनुप्रासयुक्त शब्दहरूसँग खेलिन्छ जस्तो लाग्छ,” उनी भन्छन् ।
गीत भनेको लय संगति, ताल र सुरको सुन्दर संयोजन हो, त्यसमै तलमाथि गर्ने हो, अघिपछि गर्ने हो । वास्तविक जीवनकको यथार्थपरक चित्रणबाट भागेर गीत बन्दैन, त्यो त केवल आत्मरतिमात्रै हो । सितार र गितारको धुन मिसाएर गाउँदैमा गीत हुँदैन त्यो त भुलभुलैयामात्रै न हो । यो सत्यबाट उनी टाढिएनन्, त्यसैले त उनी गीतकार भए । जनजनको जिब्रोमा झुण्डिए ।
एकनारायण प्रेममा पागल भएकाहरूको आत्मामा एकछिन सुटुक्क छिर्छन् । बिछोडको, दर्दको अनुभूत गर्छन्, अनि लेख्छन् वियोगको पीडामा छटपटाइरहेका नव यौवनाहरूका कथा । त्यही बन्छ गीत, अनि हुन्छ लोकप्रिय ।
मरुभूमिमा पानी खोज्ने औंसीको रातमा छायाँ खोज्ने
म त पागल हुँ, यो स्वार्थी दुनियाँमा चोखो मायाँ खोज्ने, म त पागल हुँ ।
श्रीखण्ड भनी रोपेको थिएँ, अैंजेरु बनी पलायो,
आखिरीमा मायाले पनि डढेलो बनी जलायो
अचानो बनी चोट खप्ने खुकुरीको नै नाम जप्ने
म त पागल हुँ, यो स्वार्थी दुनियाँमा चोखो माया खोज्ने
अँध्यारोमा डोरीलाई साँपजस्तै मान्दा रहेछन् ।
कलियुगमा मायालाई पनि पापजस्तै ठान्दा रहेछन् ।
विषैको बोटमा पानी हाल्ने, सर्पलाई दूध खुवाएर पाल्ने मत पागल हुँ
‘अध्याय’ एल्बममा उनले लेखेको यो गीत बिछोडिएका प्रेमीप्रेमिकाका लागि सधैं ढुकढुकी बनिरहने गीत छ । आफ्नै प्रेम सम्बन्ध बोल्ने गीत हो यो ।
उनैले लेखेको अर्को गीत छ–
मलाई जसले पनि किन रुवाउँछ
सायद मेरा आँखामा आँसु सुहाउँछ
यसलाई वियोगान्त गीतमा अर्को एउटा नमुनाभन्दा सायद फरक नपर्ला । यस्ता गीत कसरी लेख्नुहुन्छ, जुन गीत लेख्यो त्यही लोकप्रिय हुनुको कारण ? “गीतको पनि भ्रुण हुँदोरहेछ, जसरी मानिस तथा जनावरमा भ्रुण बसिसकेपछि त्यो विस्तारै बढ्दै जाने क्रममा अंगहरू विकास हुँदै जान्छ, त्यस्तै हो गीतको सिर्जनाको क्रम पनि,” एकनारायण गीत लेखनको अनुभव सुनाउँदै भन्छन्,“गीतको भ्रुण भनेको झिल्को हुँदारहेछ, भ्रुणजस्तै कुन बेला बस्छ थाहै नहुने । दिमागमा झिल्को बसेपछि त्यसलाई अंगको रूप भने विस्तारै दिँदै जाने हो । यसक्रममा आफूले देखेका, भोगेका र सुनेका घटना क्रमलाई शब्द चयन गर्दै राख्ने हो ।त्यसमा साजसज्जाको काम आधुनिक गीतमा हुने नै भयो ।”
० ० ०
एकनारायण सानैदेखि प्रशंसाको भोगी थिए । कसैलै प्रशंसा गरिदियोस् भन्ने उनको चाह हुन्थ्यो । उनी बुबाआमाको स्याबासी र गाउँलेले क्या बलियो एक नारायण त भन्ने शब्द सुन्न ठूलो भारी भए पनि बोक्थे । कक्षामा शिक्षकको माया पाउनकै लागि मात्रै भए पनि पढ्थे ।
स्कुलमा शुक्रबारे कार्यक्रममा विजेता भएर लगाएको अविर दुई दिनसम्म नपखाली बस्ने र घरघर चहारेर देखाउने उनको बानी थियो ।
उनी सानो हुँदा एफएम रेडियोहरूथिएनन् । रेडियो नेपालमात्रै थियो । उनको घरमा पनि रेडियो थियो । रेडियोमा झुम्मिरहन्थे । गीत उनलाई खुब मन पथ्र्यो । रेडियो नेपालले कलाकारहरूसँग अन्तर्वार्ता लिन्थ्यो । उनलाई आफूले सुरुमा रामकृष्ण ढकाल, प्रेमराजा महतको अन्तर्वार्ता सुनेजस्तो लाग्छ ।
कलाकारहरूलाई कार्यक्रम प्रस्तोताले भगवानसरह व्यवहार गर्र्थेे, कलाकारले स्रोताको अगाध माया, स्नेह पाएको बताउँथे, उनीहरूका गीत सुन्न फर्माइस आउँथे । एकनारायणलाई त्यो सुनेर म पनि यस्तै हुन पाए, अन्तर्वार्ता दिन पाए ओहो ! त्यो पो जिन्दगी यो के जिन्दगी भन्ने लाग्थ्यो । मनमनै संकल्प गर्थे, म पनि एक दिन यस्तै अन्तर्वार्ता दिने मान्छे बन्छु ।
उनका बुबा भाका हालेर सिलोक गाउँथे । एकनारायण ध्यान दिएर सुन्थे । उनलाई त्यो गीतजस्तै लाग्थ्यो । यसरी पो गाउनुपर्ने रहेछ गीत भन्ने सोच्थे । उनको घरमा एउटा भैंसी थियो । दूध त दिने तर पग्रिन झन्डै एक घण्टा लाग्ने ।आमाले पगारेर बस्न नभ्याउने । सधैं एकनारायणले नै पगार्नुपर्ने । हरेक दिन करिब एक घण्टा भैंसी पगार्दा उनी लय हालेर गीत गाउँथे । उनलाई यो बानी नै प¥यो । विद्यालय जाँदा प्रत्येक दिन डेढ घण्टा हिँड्नु पथ्र्यो । बाटोमा उनी कि गीत गाउँथे कि कविता सोच्दै हिँड्थे ।
उनी सानैदेखि कथा कविता लेख्थे । विद्यालयमा एकनारायण परीक्षामा मात्रै पहिलो दोस्रो होइन, कविता र वक्तृत्वकलामा पनि सधैं पहिलो वा दोस्रो नै हुन्थे । स्कुलमा उनलाई शिक्षकले माया गर्थे । अरुले होमवर्क नगर्दा कुटाइ खाए पनि एकनारायणलाई भने शिक्षकले कुट्दैनथे । “गुमान सिंह राना भन्ने एक जना शिक्षक हुनुहुथ्यो, उहाँले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । अरुलाई होमवर्क गर्दा कुटे पनि मलाई भने कहिल्यै नकुट्ने,” उनले स्कुले जीवन सम्झिँदै भने, “छुच्चोपन बाल विद्यार्थीहरूको स्वाभाव नै हो । एकनारायणले पनि होम गरेको छैन किन नपिट्नु भएको भनेर प्रश्न गर्थे । उहाँले उसले होमवर्क नगरे पनि कथा, कविता वा गीत लेखिरहेको हुन्छ भन्नुहुन्थ्यो । यसले पनि मलाई लेख्न उत्साहित बनाउँथ्यो ।”
स्याङ्जामा एक पटक राजनीतिक कार्यक्रम लिएर त्यतिबेलाका जल्लाबल्दा गायक बुद्धिसागर बस्याल गए। रेडियो नेपालमा गीत बज्ने र अन्तर्वार्ता दिने बस्याललाई आफ्नै अगाडि देखेका एकनारायणले भेट्ने मौका गुमाएनन् । उनले बस्याललाई भेटेनन् मात्रै दुई वटा गीत पनि दिए । बस्यालले एक नारायणको गीत मन पराए । काठमाडौंआएर बस्यालले एकनारयणको गीत गाए । गीत थियो–‘देउरालीमा हावा चल्यो... ।’
करिब एक वर्षपछि बुद्धिसागरको गीति क्यासेट स्याङ्जा पुग्यो । क्यासेटमा उनको गीत मात्रै कहाँ थियो र नाम पनि थियो । गीत हिट भयो । गाउँभरी उनको चर्चा हुन थाल्यो । उनले खोजेको प्रशंसा पाउन थाले । रेडियो नेपालले गीतकार एकनारायण भनेर उनको गीत बजाउन थाल्यो । उनलाई अब गीत नै लेख्नुपर्छ भन्ने लाग्यो । एउटै गीतले उनमा गीतको लत बस्यो ।
० ० ०
०५९ सालमा गीतकार बन्ने सपनाको छड्के झोला भिरेर एकनारायण काठमाडौं पसे । त्रिचन्द्र कलेजमा साइन्स लिएर पढ्न थाले । पढाइसँगै उनलाई काठमाडौंमा जीवन चलाउनु थियो । ट्युसन पढाउन थाले । गीतको प्यास मेटिने कुरै थिएन त्यो त भर्खर ट्रयाक पो खोलिँदै थियो । उनी बुद्धिसागरलाई खोज्न थाले । फोननम्बर थिएन । लोकेशन थाहा थिएन । पर्यो आपत !
उनले बस्यालको एल्बम हेरे । उनका गीत रिमा रेकडिङ् स्टुडियो र म्युजिक नेपालमा रेडर्क भएका हुन्थे । एकनारायण रिमा रेकर्डिङ स्टुडियो पुगे । एक जना भाइले नम्बर त दिए तर,फोन गर्दा सधैं गलत नम्बर भन्ने । फेरि उनी रिमा गएर नम्बर लिए । गलत नम्बर परेको रहेछ । पछि फोन उठ्यो । बस्यालले एकनारायणलाई आफ्नै कोठामा बोलाए । उनी बुद्धनगर पुगेर भेटे ।सँगै गीत गर्ने कुरा भयो । एकनारायणलाई लोकगीत भन्दा पनि आधुनिक गीत धेरै मन पथ्र्यो । बस्याल लोक गीतका भेट्रान ।
बस्यालले एकनारायणलाई मन पर्ने गायक तथा संगीतकार सुरेश अधिकारीसँग भेटाइदिए । उनलाई अधिकारीका ‘म मरेको पल’, ‘एक धर्को सिन्दुर’ निकै मन पथ्र्यो । अधिकारी संगीतका तीनै विधाका सिद्धहस्त जस्तो लाग्थ्यो एकनारायणलाई । एकनाराणले आफ्ना गीत देखाउँदै अधिकारीलाई भने, “म गीतकार बन्न सक्छु कि सक्तिन, स्पष्ट भन्दिनुस् सक्छु भने यही क्षेत्रमा लाग्छु, हैन भने अरु नै बाटो समाउनुपर्छ ।” आफ्नै घरसिनामंगलआइपुगेको एकनारायणलाई अधिकारीले हप्ताको एक पटक मलाई भेट । तिमी मलाई भेट्न आउँछौ कि म तिमीलाई भेट्न आउँ भने ।
हिँड्ने बेलामाअधिकारीले विद्यार्थी मान्छे पैसा छैन होला भन्दै गोजीबाट पैसा निकाले । जम्मा ५० रुपैयाँ रहेछ । २५ रुपैयाँ दिँदै टेम्पो चढेर जाउ भन्दै दिए । त्यही पैसाले भाडा तिरेर एक नारायण बसुन्धरास्थित आफ्नो कोठा पुगे ।
बस्यालसँग उनको सहकार्य भयो । ‘बुढेसकालैमा...’, ‘डाँफे नाचेर...’ लगायतका गीत लोकप्रिय भए । साथी सर्कल विस्तार हुँदै गयो । उनले किशोर रानाको चलचित्र ‘बन्दकी’का लागि गीत लेखे । तर त्यो आशातित सफल भएन । लगत्तै ‘धड्कन’का लागि लेखेको ‘मेरो मनैको फूल टिपी...’ लोकप्रिय भयो ।
समयले एकनारायणलाई गायक हेमन्त शर्मासँग भेटायो । हेमन्तले गीत लेखिदिन भने । एकनारायणले हेमन्तलाई गीत लेखिदिए । ‘मूल हो भने रसाइदेउ...’ र ‘आउँदै गर मालती...’ । गीत हिट भए ।
जगदिश समालका लागि पनि उनले गीत तयार पारे । गीतको बोल थियो, ‘आओ यादहरू हो आओ..।’ गीतले अपेक्षा गरेभन्दा पनि बढी सफलता पायो । एकनारायणको चर्चा गायकको जति त नहोला तर म्युजिक साथी संगतीभित्र हुन थाल्यो । उनको माग बढ्न थाल्यो ।तर, समस्या थियो पारिश्रमिकको । गायकले तत्काल पैसा पाउने तर गीतकारलाई पैसा नदिने । गीत चल्यो भने बल्ल पैसा दिने त्यो पनि कतिले पैसा उठ्न बाँकी छ भन्दै टार्थे । दिनेले पनि वषौैंपछि खाममा हालेर दिन्थे । त्यो पैसा निकै कम हुन्थ्यो । त्यसले एक महिनाको कोठा भाडा तिर्न पनि पुग्दैनथ्यो ।
० ० ०
एकनारायण प्रत्येक तीन–तीन महिनामा घर जान्थे । एक दिन गाउँकै मधुसुदन कोइराला र सुशील अर्यालले किन तँ घर आइरहन्छस् भने । उनले पैसा लिन आउँछु भने । यत्तिका गीत हिट छन् पैसा हुँदैन भनेर सोधे । उनले खाम भित्र हालेर दिएको पैसाले नपुग्ने बताए ।
उनै मधुसुदन कोइराला र सुशील अर्यालले २५/२५ हजार दिन्छौं, आफैं एल्बम निकाल भने । एकनारायणले पनि आँट गरे । ‘छमछम पाउजु’ एल्बम निकाले । ‘देउरानु ल्याउ देवर भन्छिन् घरमा भाउजुले...’ भन्ने गीत हिट भयो । करिब २० हजार क्यासेट बिक्यो ।एकनारायणले मधुसुदन र सुशीलको ५० हजार फिर्ता गरे ।
गोपाल पाण्डे र ज्ञानु गैरेले ‘रारा म्युजिक’ खोले । एकनारायणले त्यही कम्पनीका लागि गीत तयार गर्न थाले । दुई वर्षको अवधिमा रारामा ५ जना सेयरहोल्डर पुगे ।
यो बेलासम्म उनको पढाइमा पूर्णबिराम लागिसकेको थियो । बीएससी पहिलो र दोस्रो वर्ष पास गरेका थिए । तेस्रोवर्षको परीक्षा आउन लागेको थियो । एडमिसन र परीक्षा फर्म भर्न भनेर उनी घर गए । बुबाले २० हजार रुपैयाँ दिए । एकनारायण २० हजार बोकेर काठमाडौं लागे । पाइन्टको भित्री खल्तिमा राखेको पैसा बाटोसम्म पनि थियो, उनले बेलाबेलामा छामिरहेका थिए । कलंकीमा गाडी रोकियो । उनी अरु यात्रीसँगै ओर्लिए । पैसा छाम्दा खल्ति रित्तो !
उनी छाँगाबाट खसेजस्तै भए ।सबै सपना हुरी झैं उडेर कलंकीकै आकाशमा बिलिन भए । एडमिसन फि, घरभाडा, पसलको उधारो सबै आँखाअगाडि झल्झल्ति आयो । आँखा आँसुले डम्म भरिए । उनी सिधै साथीको कोठातिर लागे । आफ्नो कोठाका जान कोठा भाडा तिर्नलाई पैसा थिएन । एक महिना साथीकहाँ बसेपछि बल्ल उनी पैसाको जोहो गरेर कोठा गए । परीक्षा भने दिनै पाएनन् ।
रारामा काम गर्दै गर्दा उनको भेट विन्ध्यबासिनी म्युजिकका सुवास रेग्मीसँग भयो । उनले एकल एल्बम गर्न आग्रह गरे । एकनारायणले पनि हुन्छ भने । गीत लेखे । ‘ओ ढलेँ म ढलें...’, ‘भिरमा जन्मेको मान्छे...,’ ‘आमाले घाँस काट्दै गर्दा...’ गीत रहेका उनकै संगीतमा सुवास एल्बम तयार भयो । गीत निकै लोकप्रिय भए ।
० ० ०
एकनारायणलाई लाग्न थाल्यो जिन्दगी भनेकै पैसा रहेछ । पैसा नभए केही नहुने । मान, सम्मान, इज्जत प्रतिष्ठा सबै पैसा रहेछ भन्ने उनले बुझ्दै गए । गाडी लिएर पारिश्रमिक माग्ने गीतकार र चप्पल पड्काउँदै पैसा उठाउन हिँड्ने गीतकारमा हुने भेद उनले देखिसकेका थिए ।
त्यसैले उनलाई लाग्यो अब केही आफ्नै गर्नुपर्छ । जिन्दगीको उर्जाशील समय रगत पसिना बगाएको सांगीतिक क्षेत्रमै केही गर्नुपर्छ भन्ने सोचेर ‘सितारा म्युजिक’ कम्पनी खोले । सँगै उनले विकल्पको रूपमा त्यही समय राहदानी पनि बनाए । गीत निकाल्दा फाइदा भएन भने विदेश जाने सुरले राहदानी बनाए ।
०६४ सालमा आफूले जम्मा गरेको ६५ हजार थियो । बाँकी पैसा खोजेर उनले गीत निकाले ‘सुपारी चाम्रो...’ गीत हिट भयो । प्रत्येक हप्ता हजारका दरले क्यासेटको माग हुन थाल्यो । २० लाख रुपैयाँ त्यसबाट उनले कमाए । ‘लालु पाते नुग्यो भुइँतिर...’ निकाले त्यो पनि सुपरहिट भयो । एकनारयाणले हरियो पासपोर्ट देखाएर अध्यागमनको झन्झट बेहोर्नु परेन । करिब तीन सय गीत लेखेका उनी अहिले वर्षको दुईटा गीत आफ्नै कम्पनीबाट आफ्नै मात्र गीत निकालेर सांगीतिक क्षेत्रमै छन् ।
एकनारायण भन्छन्, “हामी गीतकारलाई एउटा फाइदा हुँदोरहेछ अरु दुःखमा, वियोगमा आँसु खसालेर बस्छन् तर, हाम्रा लागि त्यही बियोगको पीडा वियोगान्त गीत बन्दोरहेछ ।”
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३ १५:०१
प्रतिक्रिया दिनुहोस्