
अस्ट्रेलिया । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा भर्खरै आएका नेपाली युवालाई सामुद्रिक पानीमा सुरक्षित रहनेबारे व्यावहारिक ज्ञान आवश्यक रहेको बताइएको छ । ‘वाटर सेफ्टी’ अथवा ‘बिच सेफ्टी’बारे ज्ञान दिनुपर्ने आवश्यकता देखिएको एनआरएन एनसडब्लूका सचिव कल्याण खड्का बताउँछन् ।
अध्ययनका लागि आएका नेपाली विद्यार्थी नेपालमा पौडी खेले पनि यहाँको अवस्था र समुद्रको बहावका बारेमा अनभिज्ञ हुने गरेको उनको भनाइ छ । एकै छिनमा ठूला छालहरू आउने र त्यसले गहिराइतर्फ धकेल्ने हुनाले त्यसबाट बच्ने उपायबारे सुरुसुरुमा जानकारी नहुने उनी बताउँछन् ।
समुद्री किनारहरूमा तोकिएको सुरक्षित स्थान र समयमा पौडी खेल्दा ज्यान जाने खतरा कम हुने उनले बताए । तर, हरेक वर्ष दुखद् घटना हुने गरेको उनले बताए ।
नेपाली नयाँ वर्षको दिन, उत्तरी न्यु साउथ वेल्समा रहेको न्युकासलस्थित जेनिथ बिचमा डुबेर २४ वर्षीय नेपाली युवकको मृत्यु भएको थियो । अर्का एक युवकलाई गम्भीर अवस्थामा उद्धार गरिएको थियो । यस्ता घटना नेपाली समाजमा पटकपटक हुने गरेका छन् ।
हरेक वर्ष कम्तीमा ६ भन्दा बढी नेपाली विद्यार्थीको डुबेर मृत्यु हुने गरेको छ । समुद्रको बहाव, छाल र गहिराइ नबुझेका नेपाली रमाइलोका नाममा समुद्रमा असुरक्षित अवस्थामा जथाभावी पौडी खेल्न जादाँ दुर्घटना हुने गरेको सचिव खड्का बताउँछन् ।
तोकिएको स्थान र समयमा पौडी खेल्दा दुर्घटना भए पनि उद्धारकर्ताहरूले तुरुन्तै उद्धार गर्ने हुँदा ज्यान जाने जोखिम कम हुन्छ ।
पछिल्लो हप्ताको घटनामा सिड्नीबाट करिब तीन घन्टाको यात्रामा पुगिने जेनिथ बिचमा नेपाली विद्यार्थीको एक टोली पुगेको थियो । साँझ पख हावाको बेग बढेको र समुद्री किनारमा छाल पनि बढेको अवस्थामा पौडी खेल्दा दुई युवा डुबेका थिए ।
जेनिथ बिचका स्थानीय युवाले उद्धार गर्ने क्रममा एकजनाका घटनास्थलमा मृत्यु भएको थियो ।
“हरेक वर्ष हामी यस्ता घटनाहरू सुन्छौँ । सचेतनाका कैयन कार्यक्रम पनि गर्छौँ । तर, अझै पनि यो दुर्घटनाको क्रम भने रोकिएको छैन,” सचिव खड्का भन्छन् ।