
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्कन नसकेको बताएका छन् । मंगलबार (वैशाख ९) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
माओवादी नेपाली कांग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको उनले उल्लेख गरे । उनले ‘कांग्रेसको वर्तमान नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन् ?’ भन्दै प्रश्न गरे ।
उनले कांग्रेस लायक पार्टी नभएको टिप्पणी गरे । “मैले पटक–पटक भन्ने गरेको छु– कांग्रेस पार्टी भनेको न लायक पार्टी हो न नालायक पार्टी हो,” उनले भने, “त्यो अरू नालायक भए भने लायक भएर देखिन्छ, अरू लायक भए भने त्यसको महत्त्व नै रहँदैन ।”
माओवादीले गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्र गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको भन्दै उनले यसबाट देश नबन्ने बताए । “माओवाद भनेर नाम राखेको छ । के हो माओवाद ? व्याख्या पनि गर्न सक्दैन । किन राखेको हो थाहा छैन,” उनले भने, “लुकिङ लन्डन, टकिङ टोकियो ! माओवाद भनेको यता हेरेर उता कुरा गर्ने । सिद्धान्त कता हो थाहा छैन ।”
उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हाल देशभर नै नारा लगाइएको भन्दै जनतामा विश्वास नरहेको जिकिर गरे । त्यसको जवाफमा वैशाख ११ गते ‘जनसागर’ उतार्ने कुरा गर्नु दुःखद भएको उनले बताए ।
उनले प्रदर्शनमा आउनेले ‘आई लभ यू केपी बा’ नभई क्रान्तिको हिसाब माग्नुपर्नेमा जोड दिए ।
महासचिव भुसालले देश डुबिरहे पनि ‘दलाल पुँजीपति’हरू फाइदामा रहेको बताए । उनले नेता सफल तर देश असफल भइरहेको जिकिर गरे । न्युज एजेन्सी नेपाल