सडकको अवस्थाको रेखदेख गर्ने जिम्मेवारी राज्यका कुनै निकायको भए पनि नेपालका सडकहरू सुरक्षाका दृष्टिबाट ‘भगवान’ भरोसे छाडिएका हुन्छन् । यसैले नेपालका सडकमा डरलाग्दा सडक दुर्घटनासमेत नियतिका रूपमा लिने गरिएको हुनुपर्छ ।
नेपालका सडकहरूमा हुने सडक दुर्घटनाहरू अब सामान्य समाचार बन्न थालेका छन् । खराब सडक, थोत्रा सवारीसाधन, लापरवाह चालकजस्ता कारणले त दुर्घटना हुने गरेकै थिए यसपटक सडकमा लत्रिएको तारबाट करेन्ट लागेर ताप्लेजुङको फुङलिङ–१० मा भयावह दुर्घटना भयो ।
पाथीभरा माईको दर्शनका लागि गएका दर्शनार्थी सवार गाडीमा बिजुलीको तारबाट आगो लाग्दा ४ जनाले ज्यान गुमाए भने २ जना गम्भीर घाइते भए । सडकको बीचमा बिजुलीको पोल ढल्नु र त्यसरी ढल्दा पनि विद्युत् प्रवाह नरोकिनु र दुर्घटना हुनुलाई भवितव्यमात्र मान्न सकिँदैन ।
नेपालका सडकमा सामान्यतः यात्रुले सुविधाको अनुगमन हुने गर्दैन । ट्राफिक प्रहरीले गर्ने सवारी ‘चेकजाँच’ चालकको कागजपत्र र पहिलेकहीँ बत्तीहरूको अवस्था जाँच्नमा सीमित हुन्छ । यसैले सडकमा लत्रेको बिजुलीको तारबाट भयावह ‘दुर्घटना’ हुँदा पनि दोषी को भनेर खुट्याउने र सजाय गर्ने परम्परा छैन ।
यथार्थमा राज्यको संरचनागत लापरवाहीको कारण यस्ता घटना हुनेगर्छन् । तर, सरकारी कर्मचारीमा भने सडक यात्रा पनि सुरक्षित र सुविधाजनक हुनुपर्छ र त्यसको प्रत्याभूति राज्यले गर्नुपर्छ भन्ने दायित्वबोध नै देखिँदैन । अनि कसरी होस् त सडक सुरक्षित ?
सडकको अवस्थाको निगरानी र मर्मतसम्भारको जिम्मा जुनसुकै सरकारी निकायको भए पनि वास्तविकता के हो भने नेपालका सडकहरू आज पनि ‘भगवान भरोसा’मै चलेका छन् । नियमन र उत्तरदायित्वको अभावले संस्कृतिले गर्दा नै डरलाग्दा दुर्घटना पनि ‘नियति’ वा ‘भवितव्य’ मानिने गरिएको हो ।
फुङलिङ दुर्घटना सडकमा ढलेको बिजुलीको पोलमा लत्रिएको तारबाट प्रवाहित बिजुलीका कारण भएको हो । सडकमा बिजुलीको पोल ढलिसकेपछि कतै न कतै त बत्ती गयो नै होला । त्यसको कारण खोजिएको भए सडकमा पोल ढलेको पक्कै थाहा हुनेथियो र तत्काल बिजुली काटेको गाडीमा आगो लाग्ने थिएन ।
ढलिसकेको पोलमा पनि विद्युत् प्रवाह भइरहनु ‘भयावह प्राविधिक कमजोरी’ त हो नै हेलचेक्य्राइँजन्य ‘अपराध’ पनि हो । यसैले कसैलाई दण्डित गर्ने नियत नराखे पनि यसका लागि उत्तरदायी को हो भन्ने किटान गरिनुपर्छ । जनताले चर्को आन्दोलन नगर्दासम्म बेवास्ता गर्ने प्रवृत्ति लोकतान्त्रिक होइन ।
फुङलिङको जस्तो दुर्घटना दोहोरिन नदिन सडक विभाग, विद्युत् र ट्राफिक प्रहरीले संयुक्तरूपमा अध्ययन गरेर समाधान पहिल्याउनु उचित हुनेछ । यस्तै लापरवाही दोहोरिइरहेमा जनताको शोक आक्रोशमा परिणत हुनसक्छ । स्थिति धेरै नबिग्रँदै र थप क्षति नहुँदै सरकारले अग्रसरता देखाओस् ।