साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ ले १९ करोड कलेक्शन गरेको छ । भदौ २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा’ ले कात्तिकको दोस्रो हप्ताको सप्ताहन्तसम्म १९ करोड कलेक्शन गरेको हो ।
“काठमाडौं उपत्यका र बाहिर गरेर करिब १९ करोड कलेक्शन भइसक्यो,” ‘छक्का पञ्जा’ का वितरक गोपाल कायस्थले भने, “यो अनपेक्षित व्यापार हो ।” सुरुका चलचित्र जति प्रचार नै नगरी रिलिज भएको यो चलचित्र “माउथ पब्लिसिटीले नै चलेको कायस्थले बताए ।
यसअघि सबैभन्दा बढी कलेक्शनको रेकर्ड श्रीकृष्ण श्रेष्ठको ‘कोहीनुर’मा सँग थियो । ‘कोहीनुर’ले करिब ११ करोडको व्यापार गरेको थियो ।
यसबीचमा रिलिज भएका आधा दर्जनभन्दा धेरै नेपाली तथा हिन्दी चलचित्रलाई पछि पार्दै एक छत्र व्यापार गरेको हो । यसबीचमा प्रदर्शनमा आएका ‘गाँठो’, ‘झुम्की’, ‘सफर’ ‘सत्यदीप’, ‘किस्मत–२’ ‘राधा’ लगायतका नेपाली चलचित्रले अपेक्षित व्यापार गर्न सकेनन् । दसैं र तिहारमासमेत दर्शकको भीड ‘छक्का पञ्जा’ मै देखिएको थियो ।
दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, शिबहरी पौडेल, प्रियंका कार्की, वर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्रमा आर्यन सिक्देल अतिथि कलाकारका रुपमा छन् । लक्ष्मी पूजाका दिन ५१ औं दिन मनाएको ‘छक्का पञ्जा’ ले आधा दर्जनभन्दा बढी सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा ५१ औं दिन मनाइसकेको छ ।
चलचित्र ‘छक्का पञ्जा’ वैदेशिक रोजगारीको विषय उठान गरेको चलचित्र हो । समीक्षकहरुबाट समेत राम्रो प्रशंसा पाएको चलचित्रले पछिल्ला दिनमा भने गहन विषयबस्तुलाई सस्तो रुपमा चित्रण गरिएको टिप्पणी हुँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३ १३:१२
प्रतिक्रिया दिनुहोस्