खेल
एजेन्सी । विश्वकप फुटबलमा सर्वाधिक गोलकर्ता जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोसले खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन् । राष्ट्रिय टोलीबाट यसअघि नै सन्यासको घोषणा गरिसकेका क्लोसले क्लब फुटबलबाट पनि सन्यास लिएका हुन् ।
खेल जीवन अन्त्य गरेसंगै ३८ वर्षीय क्लोसले अब प्रशिक्षण बन्ने योजना बनाएको अन्तराष्ट्रिय समाचार सस्थाहरुले जनाएको छ । जर्मन फुटबल संघलाई उद्रित गर्दै अन्तराष्ट्रिय समाचार सस्था गार्जियनले क्लोसले खेलाडी जीवनबाट सन्यास लिएको र अब प्रशिक्षणतर्फ लाग्ने तयारी गरेको समाचार लेखेको छ । त्यस्तै गार्जियनले क्लोसले अब जर्मन राष्ट्रिय टोलीको प्रशिक्षक जोचिम लोउको सहायक प्रशिक्षक भएर काम गर्ने समेत समाचार लेखेको छ ।
गत वर्ष इटालीको लाजियो क्लबले सम्झौता नविकरण नगरेपछि क्लोस क्लबबिहिन बन्दै आइरहेका थिए । क्लोसले क्लब फुटबलमा ५ सय २९ खेलमा २ सय १३ गोल गरेका थिए । जर्मन क्लब वायर्न म्युनिखले दुई पल्ट बुन्डेस लिगाको उपाधि जित्दा क्लोस क्लबका प्रमुख सदस्य थिए ।
सन् २००१ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका क्लोसले सन् २०१४ मा जर्मनीलाई विश्वकप उपाधि दिलाएपछि अन्तर्रािष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । सन् २०१४ को विश्वकप फुटबलको उपाधि जर्मनीलाई जिताउन महत्वपूर्ण योगदान गरेका क्लोसले विश्वकपमा सर्वाधिक १६ गोल गरेका छन् । त्यस्तै उनी जर्मनीको सर्वाधिक गोलकर्ता पनि हुन् । क्लोसले १ सय ३७ अन्तर्राट्रिय य खेलमा ७१ गोल गरेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ १७:४१
प्रतिक्रिया दिनुहोस्