site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
के–के देखिने छ त्रिविमा नयाँ ? क्लबहरूबीच ब्रान्ड एम्बासडर र गीत सार्वजनिक गर्ने होड
तस्बिर : नेपाल क्रिकेट संघ (क्यान) ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा  हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) हरेक नेपालीको जिब्रोमै झुन्डिएको छ भन्दा फरक नपर्ला । 

मंसिर १५ गतेदेखि सुरु हुने प्रतियोगिताको अन्तिम तयारीमा क्यान लागिरहेको छ । प्रसारण अधिकार भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सलाई दिएर चर्चा कमाएको क्यान हाल ट्रफीका कारण पनि बहसको विषय बनेको छ । 

प्रतियोगिताको पहिलो संस्करणमा सहभागी आठ टिमले राम्रा विदेशी खेलाडी भित्र्याउने होड नै चलाएका छन् ।

Dabur Nepal
NIC Asia

भारतीय पूर्वओपनर ब्याटर शिखर धवन, न्युजिल्यान्डका मार्टिन गप्टिल र जिम्मी निसम, वेस्ट इन्डिजका चान्डविक वाल्टन, अस्ट्रेलियाका बेन कटिङ, उन्मुक्त चन्द जस्ता विदेशी खेलाडीको आगमनले पनि प्रतियोगिताको पहिलो संस्करणलाई चर्चाको शिखरमा पुर्‍याएको छ । 

के–के देखिने छ त्रिविमा नयाँ ?
क्यानले एनपीएलकै लागि भनेर ६ महिनाअघिदेखि त्रिवि क्रिकेट मैदानको स्तरोन्नति सुरु गरेको बताउँछन् प्रवक्ता छुम्बी लामा । 

प्रतियोगिताअघि क्यानले त्रिवि मैदानको बाउन्ड्री लाइन केही बढाएको छ । टेलिभिजनमा प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएसँगै प्रतियोगितामा करिब २० वटा क्यामराको प्रयोग हुने पनि प्रवक्ता लामाले खुलाइसकेका छन् । 

त्रिवि मैदान पुग्ने समर्थकले एनपीएलमा पहिलोपटक डिजिटल स्कोर बोर्डमा रन, विकेट र ओभर देख्न पाउने छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्रिविमा डिजिटल स्कोर बोर्डको काम सम्पन्न गरिसकेको छ । 

यस्तै, क्यान यसअघिका प्रतियोगितामा पटक–पटक भोग्दै आएको गेट भत्कने समस्याको निकास खोज्ने प्रयास गरेको छ । त्यही समस्यालाई ध्यानमा राख्दै क्यानले पहिलोपटक त्रिवि मैदानमा समर्थकका निम्ति फरक–फरक फ्यान जोन तय गरेको छ । जसअनुसार खेल हेर्न पुग्ने समर्थकले फरक जोनमा पुग्न फरक–फरक गेटको प्रयोग गर्नुपर्ने छ । क्यानले भीआईपी दर्शकलाई अस्थायी प्यारापिटको समेत व्यवस्था गरेको छ । 

“विगतमा देखिएका समस्या र चुनौतीहरूलाई मध्यनजर गर्दै प्रतियोगिताको यस संस्करणमा हामीले व्यवस्थापनका केही उपाय अपनाएका छौँ,” प्रवक्ता लामाले भने, “यसपटक त्रिवि क्रिकेट मैदान पुग्ने समर्थकले केही फरक अनुभव गर्नेछन् । क्यान त्यसमा दत्तचित्त भएर लागेको छ ।”

कति पाउनेछन् विजेताले पुरस्कार ?
क्यानका प्रवक्ता लामाले पुरस्कारको विषयमा अन्तिम छलफल भइरहेको बाह्रखरीलाई बताए । “पुरस्कार रकमलाई लिएर अन्तिम छलफल भइरहेको छ । हामी अबको एक–दुई दिनमा यसबारे आधिकारिक जानकारी दिनेछौँ,” प्रवक्ता लामाले भने ।

यसअघि क्यानको तत्वावधानमा भएको नेपाल टी–२० मा विजेतालाई ५५ लाख रुपैयाँको पुरस्कार राशी राखिएको थियो ।

ब्रान्ड एम्बासडर र आधिकारिक गीत सार्वजनिक गर्ने होड
प्रतियोगिताका आठै टिम ब्रान्ड एम्बासडर र टोलीको आधिकारिक गीत सार्वजनिक गर्ने होडमा छन् । प्रतियोगिताका निम्ति कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, विराटनगर किंग्स्, लुम्बिनी लायन्स, चितवन राइनोज, पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजले धमाधम क्लबको सद्भावना दूत र गीत सार्वजनिक गरिरहेका छन् ।

प्रतियोगिताका निम्ति केही क्लबले कलाकारलाई ब्रान्ड एम्बासडर बनाएका छन् । यस्तै, केही क्लबले पूर्व तथा वर्तमान खेलाडीलाई प्राथमिकतामा राखेका छन् ।

प्रतियोगितामा विराटनगरले कलाकार दयाहाङ राईलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । यस्तै, ‘भ्वाइस अफ विराटनगर’ मा र्‍याप गायक कुशल पोख्रेल तथा ‘फेस अफ किंग्स’ मा गायिका रचना रिमाल छिन् ।

जनकपुर रोयल्सको ब्रान्ड एम्बासडरमा पूजा महतो छिन् । पूजा नेपाली यू–१९ महिला क्रिकेट टिमकी कप्तान समेत हुन् ।

लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बासडर बनाएको छ । पोखरा एभेन्जर्समा कलाकार सन्दीप क्षेत्री ब्रान्ड एम्बासडर छन् । काठमाडौंले नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मालाई नै ब्रान्ड एम्बासडर बनाएको छ ।

कर्णालीले नायिका स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडर र युवामाझ चर्चित भ्लगर सिसन बानियाँलाई ‘युथ आइकन’को रूपमा भित्र्याएको छ ।

यस्तै, सुदूरपश्चिमले तेक्वान्दोका पूर्वखेलाडी तथा ओलम्पियन दीपक बिष्टलाई ब्रान्ड एम्बासडर बनाएको छ । चितवनले भने हालसम्म ब्रान्ड एम्बासडरमा कुनै पनि व्यक्तित्व सार्वजनिक गरेको छैन ।

त्रिवि क्रिकेट मैदानमा कुल २१ दिनसम्म सञ्चालन हुने प्रतियोगिताभर ३२ खेल हुनेछन् । जसमा लिग चरणमा २८, प्लेअफमा तीन र एक फाइनल खेल समावेश छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro