– कोमल फुयाल
असिम माया बोकेर आएको थियो मेरो सन्ध्या
तिमीलाई एक झोला कोसेली
मलाई एक सुइय्याँ स्वास।
न तिमीले पर्खेर बस्न सक्यौ
न जूनले माया बाँड्न सक्यो
यो वर्ष पनि त्यस्तै भयो−थाहा नपाउँदै।
बादलका चाङहरूले विभिन्न आकृति बनाएको साँझ
तिमीले मलाई पुतलीको गीत सिकायौ
कसका लागि गाउने हो मैले ?
अलमल्ल परेको बिहान
तिमीले असरल्ल फुलेका पैयूँका फूलहरू देखायौ
र फूलहरूको तालमा नाच सिकायौ ।
मैले सिकेको सङ्गीत आज पनि त्यस्तै झुल्छ
मिर्मिरेमा भजन बनेर
मेरो भित्री झङ्कारसँगै चढ्छ र झर्छ
आफ्नै लयमा गुञ्जन बनेर
र, रून्छ निःशब्द निस्सासिएर
उही जूनमुनि सुँक्क सुँक्क ।
बादलका चाङहरू अहिले पनि देखिन्छन्
बारीका डिलमा बस्दा
सन्ध्या उस्तै बग्छ सललललललल
भेटिन्छन् होला ती आकारहरू अहिले पनि
गलाले अझै समात्न सक्छ नयाँ सुर
नुनले वर्षैं भिजे पनि स्वर यन्त्र ।
आजको साँझ बादलहरूभित्र नियाल्छु
मैले समाएका साना औँलाहरू
रूमल्लिरहेछ सङ्गालिएको मन
स्वर मागिरहेछन् मनहरू एकै स्वरमा
भेट्दैछु एउटा आकृति
सायद, बादल मन बन्छ मन बादल भएपछि ।