काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुकका सीईओ मार्क जुकरबर्गसँग भेटवार्ता गरेका छन् । जुकरबर्गलाई ट्रम्पले नै फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा डिनरका लागि निम्तो दिएको ट्रम्पको दोस्रो कार्यकालका लागि डेपुटी चिफ अफ स्टाफ नियुक्त भएका स्टेफन मिलरले जानकारी दिएका छन् ।
मिलरका अनुसार जुकरबर्ग ट्रम्पको आर्थिक योजनालाई समर्थन गर्न चाहन्छन् । ट्रम्पसँगको खराब सम्बन्धपछि टेक सीईओहरूले आफ्नो कम्पनीको छवि सुधार्ने प्रयास गरिरहेका छन् ।
सन् २०२१ को जनवरीमा यूएस क्यापिटलमा भएको हिंसापछि जुकरबर्गले ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामा प्रतिबन्ध लगाएका थिए । जुन प्रतिबन्ध दुई वर्षपछि २०२३ मा हटाइयो । जसका कारण ट्रम्प र जुकरबर्गबीचको सम्बन्ध बिग्रिएको थियो ।
जुकरबर्गले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उमेदवारलाई खुलेर समर्थन गरेका थिएनन् । यद्यपि, उनले ट्रम्पमाथि भएको घातक हमलाप्रति ट्रम्पको प्रतिक्रियाको प्रशंसा गर्दै उनका लागि प्रार्थना गरेका थिए ।
ट्रम्पले जुकरबर्गमाथि निरन्तर शाब्दिक हमला गर्दै आएका छन् । हालैको चुनावी अभियानका क्रममा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा सन् २०२० को चुनावमा ठगी गर्नेहरूलाई जेल पठाउने धम्की दिएका थिए । यसमा ट्रम्पले जुकरबर्गलाई ‘जुकरबक्स’ उपनाम दिएका थिए ।
बिजनेस टुडेको रिपोर्ट अनुसार, जुकरबर्गले पछिल्ला केही महिनामा ट्रम्पसँग धेरैपटक कुरा गरेका छन् । ट्रम्पसँग जुकरबर्गको भेटलाई ट्रम्प प्रशासनमा चुनौतीबाट बच्ने रणनीतिका रूपमा हेरिएको छ ।
बीबीसीबाट ।