साहित्य
कतिपय लेखकहरू यस्ता छन्, जो जीवित रहँदाभन्दा मृत्युपश्चात् चर्चामा रहन्छन् । लेखकको मृत्युपश्चात् नै उनीहरूका कृतिबारे बढी चर्चा हुने गर्छ ।
यसै सम्बन्धमा समीक्षक आडम किस्र्च भन्छन्, “कोही लेखकहरू यति भाग्यमानी हुन्छन् कि उनीहरूको निधन भएको पचासौँ वर्षपछि पनि उत्ति नै चर्चामा हुन्छन्, कोही त उत्ति नै प्रिय लाग्छन् तर मृत्युपश्चात पनि विवादित भइरहने लेखक भने कमै हुन्छन् ।”
किस्र्चले मृत्यु भएको आधा शताब्दी नाघिसक्दा पनि विवादमा आइरहने फ्रान्सेली मूलका अल्जेरियाली लेखक अल्बर्ट कामुको उदाहरण प्रस्तुत गर्दै यस्तो टिप्पणी गरेका हुन् । बीसौं शताब्दीको राजनीतिक तथा सामाजिक इतिहासलाई आफ्ना कृतिहरूमा प्रस्तुत गरेका कामु अल्जेरियाली भइकन पनि अल्जेरियाली स्वतन्त्रताका पक्षमा समर्थन नगरेको भन्दै आलोचित भइरहन्छ ।
कामुको जन्म सन् १९१३ मा अल्जेरियाको राजधानी अल्जियर्समा भएको थियो । उनका बुबा कृषि कामदार थिए र प्रथम विश्वयुद्धमा उनले ज्यान गुमाएका थिए । बुबाको निधनपश्चात् उनले मानसिक रूपमा अशक्त आमाका साथ आफ्नो बाल्यकाल बिताएका थिए । अल्जियर्स विश्वविद्यालयमा छात्रवृत्ति पाएर भर्ना भएका कामु सानैदेखि फुटबलप्रेमी थिए । उनी विश्वविद्यालयमा रहँदा विश्वविद्यालय टिमका सशक्त गोलरक्षक थिए । सन् १९३० मा टीबीबाट संक्रमित भएपछि उनी फुटबल छोड्न बाध्य भएका थिए । टीबीकै कारण उनले आफ्नो अध्ययनलाई पनि पार्टटाइम अध्ययनमा सीमित गरेका थिए । जीवन निर्वाहका लागि उनले ट्युसन पढाउनेदेखि कारको पार्टपुर्जा पसलमा समेत काम गरे । सन् १९३५ मा उनले दर्शनशास्त्रमा बीए पास गरे भने १९३६ मा एमएसरहको शिक्षा हासिल गरे ।
कामु राजनीतिक रूपमा पनि सक्रिय भएर नै लागेका थिए । सन् १९३५ मा उनी फ्रेन्च कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए । उनले अल्जेरियामा युरोपेली समुदाय र अल्जेरियाली समुदायबीचमा रहेको आर्थिक तथा सामाजिक असमानताका विरुद्ध आवाज उठाएका थिए । सन् १९३६ मा अल्जेरियिन कम्युनिस्ट पार्टीको स्थापना भए पनि कामु अल्जेरियन पिपुल्स पार्टीमा संलग्न भएका थिए । सन् १९३५ मा वर्कर्स थियटर स्थापना गरेका कामुले त्यसलाई टिम्स थियटर नाम दिएका थिए, जुन सन् १९३९ सम्म सक्रिय थियो ।
सन् १९३७ देखि १९३९ सम्म उनले समाजवादी पत्रिका अल्जर रिपब्लिकनका लागि काम गरे । केबिलमा रहेका गरिब किसानहरूका पक्षमा उनका लेखहरू केन्द्रित हुन्थे । किसानहरूको पक्षमा आवाज उठाएकै कारण उनले जागिरबाट हात धुनुपर्यो । सन् १९४० मा उनले सोइर रिपब्लिकन पत्रिकामा काम गरे । उनले फ्रान्सेली सैन्य सेवामा प्रवेश गर्ने प्रयास पनि गरेका थिए, तर टीबीको संक्रमणका कारण उनलाई अयोग्य ठहर गरियो ।
दोस्रो विश्वयुद्धको सुरुवातमै नाजी जर्मनहरूद्वारा सञ्चालित फ्रान्सेली सरकारद्वारा फ्रान्सेली लेखक तथा नेता ग्याब्रियल पेरीको हत्या भएको थियो, जुन हत्याका प्रत्यक्षदर्शी थिए कामु । त्यो हत्याले कामुलाई मात्र होइन, सम्पूर्ण फ्रान्सेली नागरिकहरूलाई जर्मन तानाशाहीका विरुद्ध आक्रोशित बनाएको थियो । कामु परिवर्तनका पक्षधर भए पनि हत्या र हिंसाको बाटोबाट परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता भने राख्दैनथे । सन् १९४५ अगस्ट ८ मा अमेरिकाले जापानको नागासाकी सहरमा एटम बम खसालेर ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको थियो । त्यसपछि कामुलगायतका केही फ्रान्सेली सम्पादकले मात्रै अमेरिकाको सशक्त विरोध गरेका थिए ।
कामु फ्रान्समा रहेको जर्मन तानाशाहीको प्रतिरोधमा लागेको भूमिगत पत्रिका ‘कम्ब्याट’का सम्पादक थिए । जर्मनहरूको पराजयपछि पत्रिका व्यावसायिक रूपमा अगाडि बढेकाले उनले सम्पादकबाट राजीनामा दिए । त्यसपछि उनी लगातार लेखक तथा दार्शनिक ज्याँ पौल सात्र्रको सम्पर्कमा रहे । उनीहरूको नियमित भेटघाट स्थल थियो क्याफे दि फ्लोर । कम्युनिस्ट पार्टीमा संलग्न भए पनि कामु कम्युनिस्ट सिद्धान्तका आलोचक थिए । त्यसैले पार्टीमा रहँदा साथीहरूसँग उनको सम्बन्ध राम्रो थिएन । सन् १९४९ मा उनलाई फेरि टीबीको संक्रमण भयो । उनी दुई वर्षसम्म एक्लै बस्न बाध्य भए । तर, उनले आफ्नो लेखनलाई भने निरन्तरता दिई नै रहे । सोही समयमा मानवीय अवस्था र दर्शनले भरिएको निबन्धात्मक कृति ‘द रिबेल’ लेखे । पुस्तकमा साम्यवादको आलोचना र विद्रोह तथा क्रान्तिको दार्शनिक व्याख्या गरेकै कारण सात्र्रसँगको सम्बन्धमा दरार आएको थियो भनिन्छ ।
कामुका बायोग्राफर ओलिभर टोडका अनुसार पुस्तकहरूका अतिरिक्त कामु निकै रोचक प्रेमपत्रहरू लेख्थे । टोडले ‘अल्बर्ट कामु ः अ लाइफ’मा भनेअनुसार कामु आफ्नो छोटो जीवनकालमा पनि धेरै महिलासँगको सम्बन्धमा थिए । यही सम्बन्धकै कारण उनकी दोस्रो श्रीमतीले मानसिक सन्तुलन गुमाएको टोडले उल्लेख गरेका छन् ।
टोडले जनाएअनुसार कामुका समकालीन लेखक ज्याँ पौल सात्र्रलाई उनको उपन्यास ‘द फल’ अत्यधिक मन परेको कृति थियो । कामुको जीवनलाई ‘द फल’ मार्फत राम्रोसँग बुझ्न सकिने सात्र्रको भनाइ थियो । सन् १९५६ मा प्रकाशित ‘द फल’मा एकजना वकिलको जीवनलाई प्रस्तुत गरिएको छ, जसमा डुबिरहेकी महिलाको उद्धार गर्न नसक्दा वकिललाई आइपरेको संकट छ । उपन्यासमा डुबिरहेकी महिला पात्र कामुकै दोस्रो पत्नीको प्रतीकात्मक रूप हो भनिन्छ । दुई सन्तानकी आमा फ्रान्किनले कामुलाई धेरै वर्षसम्म स्वतन्त्र छाडेकी थिइन् तर पछि कामुको अन्य महिलासँगको सम्बन्धका कारण मानसिक सन्तुलन गुमाउन पुगेकी थिइन् ।
कामुका लेख–रचनाहरूले अस्तित्ववादी र विसंगतिवादी सिद्धान्त तथा दर्शनलाई सम्बोधन गरे पनि उनी आफू भने दार्शनिक नभएको अभिव्यक्ति दिन्थे । उनले आफूलाई लगाइने अस्तित्ववादीको बिल्ला पनि मन नपरेको बताउँथे । पाश्चात्य साहित्य–समालोचनाका सन्दर्भमा ‘अब्सरडिज्म’ अर्थात विसंगतिवादको प्रवर्तन ज्याँ पौल सात्र्रले गरे पनि यसको व्याख्या विश्लेषण गर्ने कामचाहिँ कामुले गरेका हुन् भनिन्छ । उनको निबन्धात्मक कृति ‘द मिथ अफ् सिसिफस’मा विसंगतिपूर्ण मानव जीवनका विविध आयामलाई केलाइएको छ । विसंगतिवादले मानव जीवनप्रतिको नकारात्मक तथा निराशाजनक दृष्टिकोण राख्छ । यो वादमा टेकेर कलम चलाउने लेखकहरूमा सात्र्र, कामुलगायत स्यामुयल बेकेट, विलियम आई ओलिभर, फ्रान्ज काफ्काको नाम अग्रपंक्तिमा आउँछ । यी लेखकमध्ये कामुको ‘मिथ अफ सिसिफस’ र बेकेटको ‘गोदतको प्रतीक्षामा’ विसंगतिवादको प्रयोगका दृष्टिले सशक्त कृति मानिन्छन् ।
नित्शेले ईश्वरको मृत्युको घोषणा गरेकाले विसंगतिवादी लेखकले मानव जगत् कसैबाट नियन्त्रित नभएको र संसार विसंगतपूर्ण क्रियाकलापले आक्रान्त भएको जिकिर गरेका थिए । यस्तो अवस्थामा मानव जीवन अर्थहीन र उद्देश्यविहीन रहेको उनीहरूको तर्क छ । यस्तो अवस्थामा मानव जीवनको अस्तित्व खोज्ने काम मूल्यहीन रहेको तर्क विसंगतिवादीहरूले गर्ने गर्छन् ।
अहिले पनि हामी अस्तित्वको अर्थबारे घोत्लिरहेका हुन्छौं । चाहे त्यो स्वयंको अस्तित्व होस् वा समाज तथा राष्ट्रको । कामुले आफ्ना उपन्यास, नाटक तथा निबन्धहरूमा अस्तित्ववादलाई प्रस्ट्याउने प्रयास गरेको पाइन्छ भलै उनको दृष्टिकोण निराशावादी देखिन्छ । उनी मानव जीवनको कुनै अर्थ नरहेको ठान्छन् र संसारमा मानव जीवनको अर्थ बुझ्न सघाउ पु¥याउने कुनै चिज नरहेको उनको तर्क छ । यदि जीवन विसंगतिपूर्ण र अर्थहीन छ भने बाँच्नुको के अर्थ छ ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो र उनले यो प्रश्नलाई सम्बोधन गर्दै ‘मिथ अफ सिसिफस’मा भनेका छन्, “संसारमा एउटै मात्र गम्भीर दार्शनिक समस्या छ, त्यो हो आत्महत्या ।” उनलाई आत्महत्या विसंगतिपूर्ण जीवनप्रतिको एउटा बौद्धिक प्रतिक्रिया हुन सक्छ कि सक्दैन भन्ने कुराले निकै नै सतायो । तर, कामुले मानव जीवन जन्मँदै अर्थहीन रहेको बताएका छन् ।
विभिन्न कालखण्डमा घटेका युद्धले हाम्रो सोच र विश्वासमा परिवर्तन आएको छ । धर्मप्रतिको बढ्दो अनास्था र बढ्दो अविश्वासले हरेक चिजलाई शंकाको घेरामा पु¥याइदिएको छ । हामीले गरेका हरेक प्रयासहरू ग्रिसेली मिथकमा वर्णित सिसिफसको कथाजस्तै भएको छ । सिसिफसले आफ्नो कामको परिणाम थाहा पाउँदा पाउँदै पनि अर्थहीन कामलाई निरन्तरता दिएको हुन्छ । जीवनप्रतिको मायाले गर्दा ऊ भगवानले नर्कमा बस्न दिएको आदेशलाई स्वीकार्दैन । ऊ भगवानप्रति विद्रोही देखिन्छ । फलस्वरूप उसलाई पहाडको टुप्पोमा ढुंगो धकेल्ने सजाय दिइन्छ । जब ऊ टुप्पोमा पुग्छ, ढुंगो खसेर तल आइपुग्छ । उसले पटक–पटक सोही काम दोहो¥याइरहन्छ । सिसिफसको कामजस्तै मानिसले गर्ने हरेक कामहरू औचित्यहीन रहेको तर्क कामुलगायत अन्य विसंगतिवादी लेखकहरूको तर्क छ । सिसिफसजस्तै हामी पनि हाम्रो भाग्यविधाता हामी आफै नै हौँ भन्छन् कामु । सिसिफसले जसरी आफ्नो भाग्यरेखा कोर्ने काम आफैं गर्यो, त्यसरी नै मानिसहरू पनि आफ्नो भाग्य आफैं कोरिरहेका हुन्छन् । मानव जीवन त्यस्तो कुनै अदृश्य तथा अलौकिक शक्तिको नियन्त्रणमा हुँदैन । हरेक वस्तुको अन्त्य स्वाभाविक रहेकोले मानिसले आफ्नो मृत्युलाई पनि स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्र्ने भन्दै कामु भन्छन्, “जबसम्म मानिस मृत्युको डरबाट मुक्त हुन सक्दैन, त्यहाँ कुनै स्वतन्त्रता नै हुँदैन । हरेकले चित्त नदुखाइकन साहसी तवरले मृत्युलाई पर्खन सक्नुपर्छ ।”
कामुका हरेक कृतिमा मृत्युमा गरिएको चिन्तन पाइन्छ । उनको पहिलो उपन्यास ‘अ ह्याप्पी डेथ’मा मानिसको जीवनको उद्देश्य नै दुःखी हुनु रहेको बताएका छन् र हाँसी–हाँसी मृत्युलाई स्वीकार्नुपर्ने बताएका छन्, जुन उनको मृत्युपश्चात् प्रकाशित भएको थियो । उनको उपन्यास ‘द स्ट्रेन्जर’, नाटकहरू ‘क्यालिगुला’, ‘द मिसअन्डरस्ट्यान्डिङ’, ‘स्टेट् अफ् सिज’ पनि सुखद् मृत्युमै केन्द्रित छन् ।
कामुको तर्क छ– यदि कोही खुसीसाथ मर्न चाहन्छ भने ऊ सर्वप्रथम विद्रोही बन्न सक्नुपर्छ । उनले जीवनमा आउने हरेक परिस्थितिलाई सहजै स्वीकार्नुपर्ने बताउँछन् । भन्छन्, “हामीमध्ये थोरै मात्रलाई सुखद् मृत्युको अनुभव हुन्छ किनकि हामी हाम्रो जीवनको महत्वपूर्ण घटना मृत्युको योजना नै बनाएका हुँदैनौं ।”
मृत्यु र मानव जीवनप्रतिको गहिरो र फरक चिन्तनका कारण उनी दार्शनिक हुन् भन्ने आधार थुप्रै छन् तर पनि उनी आफैं भने आफू दार्शनिक नभएको र आफूले केवल मानवीय अवस्था र चेतनाको मात्रै विश्लेषण गरेको ठान्छन् । उनीमात्रै होइन, उनको जीवनी लेखेका लेखक रोबर्ट जारेस्की पनि भन्छन्, “पेरिसको कुनै क्याफेमा बसेर चुरोटको धूँवा उडाउँदै र कफीको चुस्की लिँदैमा दार्शनिक हुन् भन्न मिल्दैन । त्यस्तै ज्याँ पौल सात्र्रको निकट सम्बन्धले पनि उनी अस्तित्ववादी हुन भन्न मिल्दैन ।”
कामुका कृतिहरू संख्यामा थोरै प्रकाशित भएका छन् तर व्यावसायिक रूपमा अत्यन्त सफल भएका छन् । ‘द स्ट्रेन्जर’ तथा ‘द प्लेग’ले व्यावसायिक सफलता मात्रै होइन, समीक्षकहरूको प्रशंसा पनि बटुलेका थिए । ‘मानवीय चेतनामा रहेको समस्यालाई केलाउन सफल रहेको’ भन्दै सन् १९५७ मा उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । उनी रुडयार्ड किपलिङपछि नोबेल पुरस्कार पाउने सबैभन्दा कम उमेरका लेख हुन् ।
कामुले नोबेल पुरस्कार ग्रहण समारोहमा बोल्दै लेखकको राजनीतिक कर्तव्य स्वतन्त्रताका लागि लड्ने र शोषण र अन्यायका विरुद्ध प्रतिरोध गर्नु रहेको बताएका थिए । अल्जेरियाको स्वतन्त्रताका लागि समर्थन नगरेको भन्दै आलोचना हुने गरे पनि उनले आफू सुधारको पक्षमा रहेको तर हिंसा हत्याको पक्षमा नरहेको बताएका छन् । उनी भन्छन्, “मैले सधैं आतंकवादको आलोचना गर्ने गरेको छु, मैले यसलाई निरुत्साहित गर्ने काम गर्नुपर्छ । अल्जियर्सको गल्लीहरूमा आतंक व्याप्त छ र यसले कुनै दिन मेरो परिवार र आमालाई निसाना बनाउन सक्छ । म न्यायमा विश्वास गर्छु तर मैले न्यायभन्दा पहिला आमाको रक्षा गर्नुपर्छ ।”
प्रतीकात्मक रूपमा युद्ध, मानव जीवन र दर्शनलाई सम्बोधन गरिएका कामुका थुप्रै लेख रचनाहरू प्रकाशित छन् । जसरी कामुको जीवनमा रोग, निर्वासन र विछोडले महत्वपूर्ण भूमिका खेलेका छन्, त्यसरी नै उनका उपन्यासहरूमा पनि यी विषयले विशेष भूमिका खेलेका छन् । ‘द प्लेग’ प्लेग रोगको बारेमा केन्द्रित जस्तो देखिए पनि प्रतीकात्मक रूपमा यसले फ्रान्सेली नागरिकले युद्धका क्रममा भोगेका पीडा र ज्यादती बोलेको छ । उनको मृत्यु हुँदासम्म पूरा नभएको अन्तिम उपन्यास ‘द फस्र्ट म्यान’ सन् १९९४ मा प्रकाशित भएको थियो र तत्काल बेस्ट सेलरको सूचीमा सूचीकृत भएको थियो । सन् १९६० मा आफ्ना प्रकाशकसँगै कारमा यात्रा गरिरहेका कामुको सडक दुर्घटनामा निधन भएको थियो । मृत्यु भएको ६ दशक पुग्न लाग्दा पनि दर्शन, विचार र राजनीतिक आस्थाका कारण उत्ति नै चर्चामा छन् उनी ।
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३ ११:१४
प्रतिक्रिया दिनुहोस्